२०-२६ वैशाख २०७२ | 3-9 May 2015

प्रकोपको पाठ

Share:
  
- प्रा. चैतन्य मिश्र
भूकम्प जस्ता प्रकोप पाठ सिकाउने घटना हुन्। यसले हाम्रा कमजोरी, गर्न सकिने र भविष्यमा गर्नुपर्ने कुराबारे एकैपटक शिक्षा दिन्छन्।

देवकी बिष्ट
भूकम्पको त्रासका कारण कलंकी हुँदै राजधानी बाहिरनेहरु।
भुईंचालो– समाज, अर्थतन्त्र, राजनीति नभई प्रकृतिको उपज थियो। यसले समाजका प्रत्येक संस्थालाई असर गर्‍यो/गर्छ। तर, असर समाजपिच्छे भिन्नाभिन्नै हुन्छ। स्वाभाविक हो, शासन पद्धति राम्रो भएको वा यसविरुद्ध सुरक्षा अपनाइएको ठाउँमा असर धेरै कम हुन्छ।
भुईंचालोको असर सहन परिवार, नाता र छिमेक जस्ता सामाजिक अंगको भूमिका ठूलो हुन्छ। अहिले काठमाडौंसँगै गाउँघरका हजारौं घर भत्किएका छन्। तर, त्यहाँ उद्धारकर्ताको कमी छ। किनभने उद्धार गर्न सक्ने अधिकांश युवा विदेश पलायन भएका छन्। जनसांख्यिक चाप बढी भएको राजधानी उद्धारका लागि जति छिटो तयार भयो, गाउँमा त्यस्तो नहुनुको अर्थ युवा नहुनु नै हो।

हामी लोकतान्त्रिक देशका बासिन्दा हौं। स्थानीय निकायमा जनप्रतिनिधि हुँदासम्म नेपाल दक्षिणएशियामै प्रभावकारी सरकारी–संयन्त्र भएको देश मानिन्थ्यो। तर, विगत १३ वर्षदेखि स्थानीय निकाय खाली छ। हुँदो हो त त्यहाँका जनप्रतिनिधि राहत र घाइतेको मलमपट्टीमा अग्रपंक्तिमा रहन्थे। उद्धार र राहतमा सरकार पुग्न नसक्नुको कारण यो पनि हो। सरकारबाहेक अन्य अंगको उपस्थिति पनि गाउँमा न्यून छ। यसले समग्रमा क्षति बढाएको छ। जनप्रतिनिधि अभावमा स्थानीय प्रशासनिक निकाय जनताका सहारा बन्नपुग्छन्। तर, प्रकोपले यस्ता निकायको कार्यक्षमताको राम्रै लेखाजोखा गर्छ।

आफ्ना बाँचेका नातागोता भेटिहालौं भनेर धेरैले राजधानी छाडिरहेका छन्। यही बेला विद्यालय बन्द भए, निःशुल्क यातायात सुविधा पनि पाइयो! गाउँघर नफर्किएकाहरूमा भने 'किनसिप बन्ड' कमजोर हुनसक्ने सम्भावना छ। 'यस्तो दुःख पर्दा पनि एकचोटि भेट्न आएन' भन्ने खालका कुराले परिवारको एकतामा दरार ल्याउन सक्छ। सरकार र समाजका अरू अंगभन्दा परिवार (नातागोता, छिमेक) सुदृढ भएका छन्। विश्वसनीय संगठनको त खडेरी नै छ। कसलाई, कसरी र कहाँ सहयोग गर्ने भनेर अलमल हुनुको कारण पनि यही हो।

घर कहाँ र कस्तो बनाइएको छ भन्नेले पनि भुईंचालोको असरमा फरक पार्छ। गरीब वा दलितका घर प्रायः गहिरो र पहिरो जानसक्ने ठाउँमा हुन्छन्। त्यसो हुनाले उनीहरू नै भूकम्पका पहिलो प्रहार बन्न पुग्छन्। हाम्रो सामाजिक संरचनाका आधारमा भुईंचालोले सबैभन्दा बढी महिला र बालबालिकालाई असर पारेको छ। तथ्यांक पछि आउलान्।

भूकम्पले जीवनको समान यथार्थ प्रकट गर्छ। किनभने, यो बेला सबै वर्ग, जात र धर्मका मान्छेले एकैठाउँ शरण लिन पुग्छन्। सद्भाव बढ्छ। तर, मानवताका सारा भेदभाव मेटिन भवितव्य पर्याप्त हुँदैनन्।

कर तिरे पनि दैनिक गुजाराको लागि सरकारको मुख ताक्ने संस्कार हामीकहाँ छैन। 'सरकारबाट मैले पाउनैपर्छ' भन्ने दावा पनि हामी गर्दैनौं। तर, भैपरी आउँदा सरकारले केही गर्ला कि भन्ने आश भने हुन्छ। तर, भूकम्पले सरकारका विभिन्न अंग र निर्वाचित नेतृत्वको निष्त्रि्कयता उदांगो पारिदिएको छ। दलका नेता, कार्यकर्ता कुन दुलोमा लुके? जनता बेखबर छन्। यसले सरकार र जनताबीचको सम्बन्ध कतिविघ्न टुक्रिएको रहेछ भन्ने देखायो।

यतिबेला थुप्रै भौतिक संरचना भत्किएका छन्। ती संरचनाको पुनःनिर्माणले नयाँखाले विकासको सुरुआत गर्न सक्छ। यसका लागि रोजगारमुखी र समतामूलक नीति अपनाउनुपर्छ।

यस्तो प्रकोप समाजको सबल र कमजोर पक्ष केलाउने अवसर पनि हो। अंग्रेजीमा 'टिचिङ मोमेन्ट' (पाठ सिक्ने बिन्दु) भनेको यही हो, यस्तो अवस्थाले हामीलाई गर्न सक्ने र गर्नुपर्ने कुरा के के हुन् भनी बुझाउँछ। भवितव्यलाई सम्बोधन गर्न पनि प्रकोप पाठ बन्न सक्छन्।

(वार्तामा आधारित)

comments powered by Disqus

रमझम