२०-२६ वैशाख २०७२ | 3-9 May 2015

सिन्धुपाल्चोकमा कहाली

Share:
  

भुईंचालोको भासः फुलपिङ–२, सिन्धुपाल्चोक।

मानेश्वरा गाविसबाट ७ दिनपछि ३ घण्टा बोकेर परिमाया तामाङ आफ्नी बहिनी सोममायालाई बाह्रबिसे अस्पताल ल्याउँदै।

मान्खा–१ सौराकी कान्छी तामाङ (७०) भुईंचालो जाँदा हात भाँचिएर सात दिनपछि उपचारका लागि लामोसाँघुमा। श्रीमान् भने घर भत्किएर च्यापिंदा थला परेका छन्।

लामोसाँघुमा मरेका कुखुराका चल्ला फ्याँकेर पिउनेपानी समेत दूषित भएको छ।

तीन दिनदेखि खाना र पानी समेत राम्ररी नपाएकी लामोसाँघुकी सिर्जना, गायत्री परिवारले बाँडेको रोटी खाँदै।

भुईंचालोपछि सात दिनसम्म पनि छोरा देवलालको खबर नपाएकी बाह्रबिसेकी गणेशमाया श्रेष्ठ।

बाह्रबिसेका घरविहीन बासिन्दा।

संजिता अधिकारी तीनवर्षे भाइलाई भुईंचालोबाट जोगाउन खोज्दा आफैं घाइते भइन् तर भाइलाई बचाउन सकिनन्।

हात र खुट्टा भाँचिएका दीपक आमासँग उपचारका लागि लामोसाँघुमा।

खाडीचौरमा घर भत्किएपछि खेलिरहेका बालबालिका।

जुरे पहिरोको पीडाबाट तङ्ग्री नसकेको सिन्धुपाल्चोक अहिले अर्को दुस्वप्नमा छ। महाभूकम्पको चपेटामा परेको यो जिल्लामा सरकारले न उद्धार अभियान चलाउन सकेको छ न औषधि–उपचार र राहत दिन। भूकम्पमा भाँचिएको हात देखाउन ६ घण्टा हिंडेर लामोसाँघु झ्ारेकी मान्खा–१ सौराकी कान्छीमाया तामाङले आफ्ना श्रीमान् दमाइ साइला तामाङ घरमा च्यापिएर थला परेको बताइन्।

सिन्धुपाल्चोकका घुम्थान, मानेश्वरा, गाथी, बाह्रबिसे, रम्चा र कर्थली गाविसमा २०४ जनाको मृत्यु भएको छ। चल्तीको बाह्रबिसे बजार ध्वस्त छ। पहिरोले गर्दा जान नसक्दा लिस्थी र तातोपानी गाविसको क्षति थाहै नभएको प्रहरी निरीक्षक मञ्जिल मुकारूङ बताउँछन्। १२ वर्षीया बहिनी सोममाया तामाङलाई तीन घण्टा बोकेर बाह्रबिसे ल्याएकी मानेश्वराकी परिमायाले १९ वर्षकी अर्की बहिनीको घरमै च्यापिएर मृत्यु भएको र बुबा घाइते भएको बताइन्। खुट्टा भाँचिएकी छोरीको उपचार गराइरहेकी मान्द्राकी सन्ता ल्हामु शेर्पाले गाउँमा कसैको घर बाँकी नरहेको बताइन्।

हात–खुट्टा भाँचिनु र औषधोपचार नपाउनु सिन्धुपाल्चोकवासीका लागि सामान्य भएको छ। गाउँमा मान्छे र गाईबस्तु पुरिएका छन्। बाँचेकाहरू सडकमा निस्केर राहत पर्खिरहेका छन्।

शब्द/तस्वीरः देबकी विष्ट, सिन्धुपाल्चोकमा

comments powered by Disqus

रमझम