९० सालको महाभूकम्पले पनि यस्तै पीडा दिएको थियो। राजधानीको शान धरहरा यसैगरी भत्केको थियो, नेपालका अनेकौं चिनारी यसरी नै माटो बनेका थिए। हजारौंको ज्यान गएको र हजारौं घाइते बनेका थिए। कैयन् घर भत्केका थिए।
तर, त्यो क्षति र पीडाबीच जुर्मुराउन नेपालीलाई खासै समय लागेन। तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले महाभूकम्पको चार वर्षपछि सार्वजनिक वक्तव्य दिंदै पुनःनिर्माणका क्रममा पहिलेभन्दा राम्रा संरचना बनेको बताएका थिए। जबकि, त्योबेला एकतन्त्रीय र जहानियाँ राणाशासन तथा संसारबाटै अलग झैं रहेको नेपाल अहिले धेरै अनुकूल अवस्थामा छ। देशी–विदेशी सहयोगको प्रभावकारी परिचालन र जनताको होस्टेमा हैंसे मात्रले पनि देशले काया फेर्न सक्छ।
फड्को मार्ने अवसर
दोस्रो विश्वयुद्धको पराजयपछि जापानले प्रगति गरेको मानिन्छ। दोस्रो विश्वयुद्धसम्म अहिलेको सुपरपावर चीन पिछडिएको मानिन्थ्यो। चीनका थुप्रै भाग जापानसहित अरू देशहरूले कब्जा जमाएका थिए। त्यो पीडा सम्झेर उनीहरूले योजना बनाए, कठोर परिश्रम गरे। र, अहिले संसारमै उदाहरण बनिरहेका छन्।
लामो समय अभाव र गरीबीमा रहे पनि नेपालले कहिल्यै उपनिवेश भोग्नुपरेन। १०४ वर्षसम्म जहानियाँ राणाशासन, ३० वर्षीय एकतन्त्रीय शासन र २०५२ देखि शुरू भएको दशवर्षे हिंसात्मक द्वन्द्वले नेपालीलाई पर्याप्त आहत दिएको थियो। तर पनि ग्रामीण अर्थतन्त्रमा टिकेको मुलुकको जीवन जसोतसो चलेकै थियो।
उपनिवेश र भीषण दुःख भोगेको मुलुकले प्रगति गरेका प्रशस्त उदाहरण हाम्रासामु छन्। भारत यसको गतिलो उदाहरण हो। अफगानिस्तान, कम्बोडिया, दक्षिणकोरिया जस्ता देशले पनि हामीलाई जीवनसँग कहिल्यै नहार्न गरेको संघर्ष सम्झाउँछन्।
भूकम्पको घटना बिर्सन सम्भव छैन तर यो महासंकटबाट उत्पन्न क्षतिलाई पुरेर बढ्न नसक्ने कुनै कारण देखिंदैन। जीवनका लागि कठिन संघर्ष, आँट र बहादुरीमा नेपालीले संसारमै नाम कमाएका छन्। अब मात्र सक्षम नेतृत्वको खाँचो छ।
गल्ती नदोहोर्याऊ
यो क्षति र पीडालाई काठमाडौं, अन्य शहर र गाउँका भौतिक संरचनालाई वैज्ञानिक तवरले पुनःनिर्माण गर्ने दुर्लभ अवसरका रूपमा बदल्नुपर्छ। संरचना निर्माणमा हामीले गरेको गल्ती सुधार्ने सही समय यही हो।
यो भूकम्पले हामीलाई सबै शहरमा खाली ठाउँको आवश्यकता महसूस गरायो। त्यसो गर्दा आपत् पर्दा बस्ने ठाउँ मात्रै नबनेर शहर आकर्षक बन्छ।
धरहरा जस्ता ऐतिहासिक धरोहर पुनःनिर्माण गर्दा परम्परागत शिल्प कायमै राख्दै नयाँ प्रविधि प्रयोग गरिनुपर्छ। विकसित मुलुकहरूले धरहराभन्दा अग्ला टावर बनाइसकेकाले पनि यो असम्भव छैन। अन्य ऐतिहासिक तथा सांस्कृतिक सम्पदा बनाउँदा पनि यही तथ्य बिर्सनुहुन्न। निजी घर पुनःनिर्माणमा गल्ती दोहोर्याउनु हुन्न। आधुनिक प्रविधिबाट बनाइएका घरमा क्षति कम भएको यही भूकम्पले पनि देखाएको छ।
प्रविधि आधुनिक नै भए पनि अग्ला र ठूला घर भने काठमाडौं उपत्यकाका लागि उपयुक्त देखिएनन्। अपार्टमेन्ट र मलमा भएको क्षतिले तिनमा ग्राहकको आकर्षण घट्ने देखिन्छ। त्यसैले पनि अपार्टमेन्ट संस्कृतिका पक्षधरले पनि अब सुरक्षाका थप उपाय सोच्नुपर्नेछ। उपत्यकाको माटो अपार्टमेन्ट अनुकूल छैन भने ठूला संरचना निर्माणमा तत्काल रोक लगाइनुपर्दछ। त्यसो होइन भने निर्माण प्रक्रियामा कडा अनुगमन चाहिन्छ।
भूकम्पले गाउँमा माटो र ढुंगाले बनेका अधिकांश घर भत्कायो। नभत्किएका घर पनि चर्किएका छन्। त्यसैले अब घर बनाउँदा ढुंगा र माटोको साटो बाँस र सिमेन्ट प्रयोग गर्ने वा फलामका पाइप वा रड प्रयोग गरी आधुनिक तथा हल्का घर बनाउनु उपयुक्त हुन्छ। यस्तो घर निर्माणमा प्रोत्साहन गर्न ऋणमा सहुलियत वा अनुदान दिन सकिनेतर्फ सरकारले पहल गर्नुपर्छ।
यसरी हेर्ने हो भने विपत्तिले संकट मात्रै होइन, अवसर पनि ल्याउँछ। संकटबीच सही, नेपालीलाई यो अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्ने बाहेकको विकल्प हामीसँग छैन।