त्यो बेला भूकम्प पीडितलाई नेवारहरूको गुठीले राहत वितरण र उद्धारमा अगुवाइ गरेका थिए। महांकाल मन्दिरको माथिल्लो तलामा शेषराज दली र सिद्धिचरण श्रेष्ठको समूहले खोलेको 'भूकम्प पीडित उद्धार संघ अड्डा' ले पनि निकै सहयोग पुर्यायो। त्यो बेलाको टुँडिखेल एशियाकै ठूलो परेड ग्राउन्ड भनेर चिनिन्थ्यो। काठमाडौंका सारा मान्छेलाई यसैले शरण दिएको थियो। त्यहाँ मान्छे कोरा कपडा टाँगेर बसेका थिए, पाल त छँदै थिएन। वरिपरि झाडी भएकाले दिसा–पिसाब गर्न सजिलो थियो। खाना र पानीको पनि सुबिस्तै थियो।
श्री ३ जुद्धशमशेर शिकारको लागि नयाँ मुलुक (पश्चिम तराई) गएको बेला भूकम्प आएको थियो। यहाँबाट गएका सूचकले सात दिनमा खबर पुर्याएपछि उनी दिवंगत आत्माको चिरशान्तिका लागि एक हजार कैली गाई दान गरेर भारतको बाटोहुँदै फर्किए। त्यो बेला सरकारले तत्कालै अड्डा खडा गरेर पीडितहरूलाई खाँडी कपडा र चामल बाँडेको थियो। कसको घर कति चर्किएको, भत्किएको छ, मर्मतका लागि मोटामोटी कति रकम लाग्छ भनेर अड्डाका कारिन्दाहरूले टिपेर लगेका थिए। त्यसकै आधारमा सरकारले निर्ब्याजी ऋण उपलब्ध गरायो, जुन जुद्धशमशेरले राजकाज छोड्ने बेला मिनाहा गरिदिए। उनले सबभन्दा बढी रु.३ लाख चन्दा पनि दिएका थिए। अरू भाइहरूको समेत जोड्दा राणा परिवारबाट रु.५० लाखजति चन्दा संकलन भएको थियो।
उसिना चामल, जस्तापाता र सिमेन्ट ९० सालको भूकम्पपछि नेपाल भित्रिएको हो। उसिना चामल बर्मा, जस्तापाता बेल्जियम र सिमेन्ट बेलायतबाट झ्िकाइएको थियो। त्यसअघि हामीले यी चिजबिज देखेका थिएनौं। त्यसपछि काठमाडौंमा टाउन प्लानिङ आयो। टुँडिखेलको मूल ढोकादेखि जुद्धशमशेरको सालिकसम्मको बाटो फराकिलो पारेर 'नयाँसडक' भनियो। त्यसको दायाँ–बायाँ दुई–तीन तले घरहरू बने। त्यसअघि काठमाडौंमा त्यति अग्ला घरहरू थिएनन्।
९० सालमा भत्किएको पाटनको तलेजु भवानी यसपालि जोगियो। त्यो बेला बचेका कृष्ण मन्दिर आसपासका चार नारायण, भीमसेन, हरिशंकर मन्दिर भने यसपालि भत्किए। घर, मठ–मन्दिरलाई बेला–बेलामा मर्मत–सम्भार नगर्दा यस्तो भयो। ९० सालपछि बनाएको मेरो घरमा बाहिरबाट पक्की ईंटा र भित्र कच्ची माटो प्रयोग गरिएको छ। अहिले चर्किएर बस्न डरमर्दो भएको छ। धरहरामा कच्ची माटोको सट्टा बज्र प्रयोग गरिएको थियो। ८० वर्षसम्म ठिङ्ग उभिएको त्यो संरचना बाहिरबाट सद्दे देखिए पनि भित्र निकै कमजोर भएकाले ढल्यो।
पहिले सरकारप्रति गुनासो गर्ने साहस जनतामा थिएन। 'नल बोक्नेले दरबारको चिन्ता गरेर हुन्छ?' भन्ने भनाइ प्रचलित थियो। अहिले सरकार र सरोकारवाला निकायसँग मजाले आफ्ना कुरा राख्ने वातावरण छ। हामीले भूकम्पबाट क्षति पुगेका विश्व सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारका लागि युनेस्कोलाई झ्कझ्क्याउनुपर्छ। यसमा ऊ आफैं पनि गम्भीर होला। त्यसो भइदिए झ्न् सजिलो हुन्छ।
जापानमा भूकम्प आइरहन्छ, तैपनि जापानीहरूले आफ्नो देश बनाएकै छन्। यो विपत्मा हाम्रो सरकारले पनि सक्दो गरिरहेकै छ भन्नुपर्छ। सरकारलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ। भूकम्पले भत्काएको हाम्रो देशलाई सबै मिलेर टाल्ने हो। नेताहरूले अब चार अक्षरको 'सहमति' गरिदिनुपर्छ, किनभने देश बनाउनैपर्ने बेला आइसक्यो।
(९६ वर्षीय संस्कृतिविद् जोशीसँगको कुराकानीबाट)