२०-२६ वैशाख २०७२ | 3-9 May 2015

जुर्मुरायो विश्व

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
महाभूकम्पबाट नेपालीलाई परेको पीडामा मलम लगाउन पूरै विश्व अघिसरेको छ।

'नेपाल अहिले भयावह मानवीय संकटमा पर्दा डेभिड क्यामरुन सरकारले ५० लाख पाउण्ड र आठ जनाको सहयोग टोली पठाउने घोषणा गर्‍यो। ५० लाख पाउण्ड, अर्थात् एक ब्रिटिश नागरिकबाट १२ पेन्स! तर, अरू अंकहरू गतिला छन्– हामीले दुई सय वर्षका युद्धहरू लड्न नेपालको जनसंख्याबाट युवाहरू छानेर लियौं, जसमध्ये दुइटा महायुद्धमा मात्र ४३ हजार मारिए। विश्वका धनी देशको सूचीमा हामी नेपालभन्दा १४१ स्थान अगाडि छौं...।'

जोन्ना लुम्ले।

प्रबल गुरुङ

रियल मड्रिड फूटबल टीम।

नेपालमा महाभूकम्प गएको चार दिनपछि ब्रिटिश लेखिका तथा स्तम्भकार क्यारोल क्याडावालाडरले दी गार्जियन पत्रिकामा यसरी बेखुशी जनाइन्। त्यसको भोलिपल्ट अभिनेत्री जोन्ना लुम्लेले बेलायतका १३ वटा प्रमुख परोपकारी संस्था आबद्ध 'डिजाष्टर इमर्जेन्सी कमिटी' को तर्फबाट नेपालमा सहयोग बढाउन आह्वान गरिन्, जुन बीबीसी, आईटीभी, च्यानल–४, च्यानल–५ र स्काई टेलिभिजनबाट प्रसारण भयो। त्यसलगत्तै ब्रिटिश अभिनेता इवान म्याकग्रेगोरले पनि युनिसेफको तर्फबाट नेपालका भूकम्प पीडितलाई सहयोग गर्न अपील गरे। परिणाम, १५ र १६ वैशाखको २४ घण्टामै ब्रिटिश नागरिकहरूबाट रु.२ अर्ब ९७ करोड सहयोग संकलन भयो।

१२ वैशाखमा नेपालमा गएको महाभूकम्पपछि उद्धार र राहत सहयोगका लागि विश्व यसरी जुर्मुराएको छ। विश्वका सरकारहरू मात्र होइन, चर्चित र धनाढ्यहरू पनि नेपालीको पीडामा मलम लगाउन अघिसरेका छन्। हङकङका अर्बपति ली का सिङले १० लाख डलर (रु.१० करोड) सहयोग घोषणा गरे भने सामाजिक सञ्जाल फेसबुक का प्रमुख कार्यकारी अधिकृत मार्क जुगरवर्कले रु.१२ करोड। अमेरिकाका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले पनि रु.१० करोड सहयोग जुटाउने भएका छन् भने कुरियर सेवा युपीएस ले दुई लाख डलर सहयोग गर्ने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानी प्रधानमन्त्री छिरिङ तोब्गे र हङकङका अर्बपति ली का सिङ (बायाँबाट)।

नेपालमा महाभूकम्प आएको आधा घण्टामै ट्वीट गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपालको साथमा रहेको मात्र बताएनन्, आपत्कालीन सहयोगको लागि विमान र हेलिकोप्टर सहितको उद्धार टोली पठाए। भारतीय लोकसभाले नेपालको महाभूकम्पमा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गर्दै सबै विधायकको तर्फबाट एक महीनाको तलब राहत कोषमा पठाउने निर्णय गरे। महाभूकम्पको दुई दिनमा भूटानी प्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आएर रु.१० करोडको चेक हस्तान्तरण गरे।

मार्क जुकरबर्ग।

भारतीय अभिनेत्री आलिया भट्टले नेपालका भूकम्प पीडितका लागि युनिसेफको सहयोगमा राहत संकलन गर्ने भएकी छन् भने अभिनेताहरू अमिताभ बच्चन, शाहरूख खान, हलिउड अभिनेत्री सेलेना गोमेज, फूटबल स्टारहरू क्रिष्टियानो रोनाल्डो, डेभिड बेकह्याम, विश्व बक्सिङका वेल्टरवेट च्याम्पेन म्यानी प्याक्विआओ लगायतले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वार्सिलोना र रियल मड्रिड जस्ता विश्व चर्चित फूटबल टीमले भूकम्पमा परेका नेपालीलाई सम्झ्ँदै खेलअघि मौन धारण गरे भने स्पेनिस फूटबल टीम रियल मड्रिड 'हामी नेपालको साथमा छौ' लेखिएको जर्सी लगाएर खेल मैदानमै देखियो।

यता, गैर–आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले रु.२ करोड, संस्थापक अध्यक्ष उपेन्द्र महतोले रु.१५ करोड र उपाध्यक्ष भुवन भट्टले रु.१ करोड सहयोग गर्ने भएका छन् भने विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूबाट करिब रु.८ अर्ब सहयोग घोषणा भइसकेको छ। सर्च इन्जिन गुगल र सामाजिक सञ्जाल फेसबुकले नेपालमा भएको विनाशकारी भूकम्पमा सहयोग पुर्‍याउने उद्देश्यले 'भिजिट सेफ्टी चेक' र 'पर्सन फाइन्डर' नामको टुल प्रयोगमा ल्याएका छन्। फेसबुकको सेफ्टी चेक टुलले आफू सुरक्षित रहेको खबर चाहेको ठाउँमा पुर्‍याउँछ भने गुगलको पर्सन फाइन्डरले कुनै व्यक्तिको नाम टाइप गरेर सर्च गर्दा उसको तत्कालीन लोकेसन बताउँछ। त्यस्तै, इन्टरनेट फोन कलका लागि प्रख्यात स्काइप र भाइबरले नेपालको ल्याण्डलाइनमा समेत निःशुल्क फोन गर्ने सुविधा दिएका थिए।

comments powered by Disqus

रमझम