२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

हामी उठ्नेछौं

Share:
  
- महेश थापा
पिलन्धरेपनमा ख्यातनामा हुन पुगेको यो सरकारले संकट आइपर्दा यसरी कन्दनी कस्ला भन्ने त शुभशंकै थिएन, वाई!

युथ डेभलपमेन्ट फोर्स जनकपुरले गोर्खाको ताप्लेमा राहत बाँड्दै।
नेपाल देश उक्सेरो लाग्नु र स्यालको सिङ उमि्रनु एउटै कुरा मान्ने बुद्धिधारी बग्रेल्ती भेटिन्थे। पण्डाहरूले लैबरीवादी राजनीतिलाई दसीका रूपमा पेशेर नेतृत्वलाई पुङमाङ सावित गरे'सि हामी बबुराहरू कक्रक्क थियौं। जग मक्किएको नेपाललाई संकटको सानो झ्ोक्काले नै गर्लम्म पार्छ भन्दै दागा धर्नेको पनि कौनो कमी थिएन। तर, १२ वैशाखको महाकम्पनसँगै आएको विनाशले हाम्रो भौतिक संरचना भत्काए पनि समाजको जगमाथि केही लछारपाटो लगाउन सकेन।

कम्पनका बीच हजारौं अस्ताए, लाखौंको उठिबास भयो। फिस्टे फ्लुका सामु लड्खडाएको सरकारले भीमकाय विपत्ति आइलाग्दा धर्मराएरै सही, गजबै गर्‍यो। कति गर्‍यो भने, यत्ति गर्ला भन्ने हाम्ले कल्पेकासम्म थिएनम्। यत्रो विपत्को बीच मरन्च्याँसे सरकारले भग्नावशेषबाट मान्छेहरूलाई जीवितै उद्धार गर्‍यो, सडक सुचारु राख्यो, संचारको नसा छिनिन दिएन। आफैंमा जोखिमको पुरिया विद्युत्लाई भन्नुहुन्छ भने, रोक्ने बेलामा ठ्याक्क रोक्यो अनि छोड्ने बेलामा सलक्क छोड्यो।

ढुङ्गो घोटेर आगो सल्काउन भर्खरै जानेको प्रस्तरयुगीन मनुवा माफिकको प्रशासनिक संयन्त्रले बिजुली गतिमा मिलिक्क राहत जुटायो– राहतको रटना लगाएर सरकारलाई थप आहत पार्ने खेती चलिरहे पनि। लाग्छ, यी खेतीवालहरूलाई सरकारले उल्टै राहत मागेर दोजात्रा गराएको हेर्न उधुम रहर छ। दातासामु रोएर, कराएर, गिडगिडाएर होस् वा धूलोमा लडीबुडी गरेरै भए पनि सबैलाई राहतको गन्ध सुँघाएरै बालुवाटारे बुकुरो छाड्ने प्रधानमन्त्रीको उच्च मूल्यांकन हुनेवाला छैन, यी खेतीवालहरूबाट। बूढा त्यसै पनि जनताले खाई/नखाई तिरेको कर रकमबाट राहत बाँड्ने मूर्ख्याइँ नगरी 'अनिकालमा बीउ जोगाउने' विद्वत्मार्गमा छन्।

उता, दलहरूले बण्डा नमिलेसम्म डेग नचल्ने राष्ट्रिय राजनीतिक संस्कृतिलाई महाविपत्का बीच समूल मासिन दिएनन्। दलीय संयन्त्रले सदरमुकाममा थुप्रिएको राहत सामग्री माथि कुण्डली मारेर पीडितलाई हिस्याएको परिदृश्य विछट्टको रह्यो। जनसेवामा हिरिक्क हुने स्थानीय राजनीतिक संयन्त्रबाट अन्तर्राष्ट्रिय स्वयंसेवीहरूले केही शिक्षा लिएकै हुनुपर्छ। राहत वितरणमा दलीय सहमति कायम गर्ने पौंठेजोरीले संविधान झैं राहत सामग्री पनि समयमै प्राप्त हुनेमा विश्वस्त भई सर्वसाधारणलाई आफ्नो गुजेस्ताको जोहो आफैं मिलाउन प्रेरित समेत गर्‍यो।

दलहरूको लागि मुलुकको पीडा 'हाम्रा, तम्रा एवम् राजनीतिक लाभ/हानिको विषय' बने पनि सर्वसाधारणका लागि भने यो साझ्ा बन्न पुग्यो। जाति, धर्म, भाषा, क्षेत्र वा लिङ्गका आधारमा पीडाको भाग लागेन। पहाडलाई दुख्दा मधेश तिल्मिलायो, हिमालको दुःखमा पहाड–मधेश जुट्यो। नेपालीहरूले विरासतमा पाएको आफू मर्दामर्दै अरूलाई बचाउने उच्च संस्कार प्रदर्शन गरे। यो सहयोगी संस्कारका सामु राज्य नाथेको सेवा उस्तो अनिवार्य भएर मरेन, भत्कोसेहरूले जे–जे दाबी गरे पनि।

खासमा, हल्लन्टाट्हरूको हल्लुँडे राजनीतिमा हराबरा खेल्न अभ्यस्त भएका हामीलाई भूकम्पले धेरैबेर रिंग्याउन नै सकेन। राजनीतिक नेतृत्वलाई यसको जस नदिनु कृतघ्नता ठहर्नेछ। राजनीतिप्रति निस्पृह रहँदै 'गरे गरुन्, नत्र लडेरै मरुन्' भन्दै आपसी सरसहयोगमा आ–आफ्नो सुतिथाती गरेर खाएका जनतालाई खासमा राजनीतिक साँढहरूबाट खास आशा पनि थिएन। नभन्दै, भूकम्पे संकटमा पनि जनता आफैं उठे, आफैं जुटे। सरकारको भरोसामा परेको भए त हताहतीले पनि नेटो काट्नेथियो। सरकारको आश गर्दा बाटोको बास हुने भलिभाँती बुझेको नेपाली समाज हातेमालो गर्दै जुर्मुरायो। यसअघिका विपत्तिहरूमा नेपाली समाज आफैं उठेर उभिएको हो। सामुदायिक सद्भाव र भाइचाराको यो गुण नै समाजको मेरुदण्ड हो। विदेशी बुटी सुँघेर हामीसँग रहेको संजीवनी हरण गर्ने नियतलाई परास्त गर्नु वैशाखे महाभूकम्पको अर्को उपलब्धि रह्यो।

ध्वंश नगरी विकास नहुने मान्यता बोक्ने स्कूलका गुरुजीहरूले पनि नेपालमा योभन्दा बढी विनाशको कल्पना नगरेको अपेक्षा राखौं। कसैले चाहेर वा नचाहेर पनि नेपाल अब निर्माणको चरणमा प्रवेश गर्नेछ। युद्धभूमिमा पुर्खाले आर्जेको वीरताको ख्यातिलाई हामी राष्ट्र–निर्माणको मैदानमा सावित गर्नेछौं। कसले के गर्‍यो वा गरेन भन्दै औंला भाँच्नुको सट्टा आपसी आडभरोसामा बाँच्न जानेका हामी एकअर्काको घाउमा मल्हम लगाउँदै अब उठ्नेछौं। अवरोधक गर्ने मूलंखरेहरू हाम्रो सामाजिक शक्तिमा लतारिने छन्।

comments powered by Disqus

रमझम