नेपाल आएका ब्रिटिश रेजिडेन्टहरू आफूखुशी यताउता पहाडतिर घुम्न, त्यताको आवहवा बुझन चाहन्थे। जंगबहादुरले त्यस्तो छूट दिएका थिएनन्। उनीपछि भने अलि खुकुलो भयो। रेजिडेन्टहरू सरकारलाई सोधेर नगरकोट, ककनीतिर जान्थे। एकपटक हावापानी बदल्न महाराज देवशमशेर नगरकोट जाँदा रेजिडेन्टले पनि ककनी जाने अनुमति पाएका थिए।
त्यतिबेला ब्रिटिश–भारतमा भिक्टोरिया स्मारक कोष (फण्ड) मा चन्दा उठाउने लहर चलेको थियो। चन्दा आह्वान हुनासाथ कास्मीर, ग्वालियर आदि भारतीय राज्यका राजाहरूले फटाफट १०–१५ लाख दिन थाले। देवशमशेरले भने जम्मा रु.५ हजार पठाइदिएछन्। त्यसमा रेजिडेन्टको चित्त नबुझेर त्यो त अति थोरै भो भन्न पुगे। महाराजले 'उनीहरूले आफ्नो सकले धेरै दिए, वायसरायले पनि आफ्ना तर्फबाट दश हजार दिएकाले मैले पाँचहजार दिएँ' भने।
रेजिडेन्टले 'ती त ब्रिटिश अधीनका राजा हुन्, वायसराय पनि ब्रिटिश सरकारको कर्मचारी भएकोले तीसँग महाराजको दाँजो हुँदैन' भन्दै थप कर गरे। उनले 'महाराजले चन्दा उठाएर दिंदा पनि हुन्छ' भनेर सुझाए पनि। तर, महाराजले जनतासँग त के आफ्नै भाइसँग पनि चन्दा उठाउन नमिल्ने बताए। नापी गरेर मालपोत बढाउँदा त जनता नाखुश छन् भने ब्रिटिश सरकारसँग मेरो मात्र सरोकारको कुरामा अरूलाई किन मुछ्ने? भन्ने महाराजको भनाइ रह्यो। उनले 'सारै थोरै भो भन्नुहुन्छ भने महारानीतर्फबाट पाँच हजार थपिदिन्छु' भन्दै आखिरमा टारेरै छाडे।
यही कारण हुनसक्छ, शिक्षाको कुरामा रेजिडेन्टले आफ्नो राय आफैंसँग राखे। देवशमशेरले खोलेका पाठशालामा संस्कृत, नेपाली र अलिअलि हिसाबकिताब पढाइन्थ्यो। नेपालमा पनि भारतमा जस्तै अंग्रेजी पढाइ होस् भन्ने अंग्रेजको चाहना थियो नै। तर, रेजिडेन्टले 'ठीकै छ, यही पढाइले पनि कारिन्दा त तयार भैहाल्छन्' भने। भारतमा अंग्रेज शासन स्थापनापछि धेरै कर्मचारी आवश्यक परेर कस्तो शिक्षा दिने भन्ने बहस चल्दा कसैले संस्कृतमा जोड दिए भने कसैले उर्दू, फारसीको कुरा गरे। भारतीय भाषामै शिक्षा दिनुपर्छ भन्नेहरू पनि थिए। अन्ततः ब्रिटिश सरकारका तर्फबाट मेकालेले अंग्रेजीमै शिक्षा दिंदा भारतमा अंग्रेज संस्कृति–सभ्यतामा घुलमिल भएको अनुकूल जनशक्ति तयार हुन्छ, अंग्रेज शासन स्थिर हुन्छ भनेर जोडदार वकालत गरेपछि सोही अनुसारको शिक्षानीति लागू भएको थियो।
नेपालमा न त्यस्तो बहस भयो न त कुनै आयोग गठन गरेर शिक्षानीति निर्धारण गरियो। राय दिनेहरू चाहिं त्यो बेला पनि थिए। तीमध्ये संस्कृतमा शिक्षा दिनुपर्छ भन्नेहरू धेरै थिए। बझ्ाङ्गी राजा जयपृथ्वीबहादुर सिंह नेपालीमा शिक्षा दिनुपर्छ भन्थे। चिनियाँ भाषा जानेका भैरवबहादुर गडतौलाले चिनियाँ भाषा पढाउनुपर्छ भनेका थिए। तर, भर्खर खोलिएका पाठशालाहरूमा शिक्षक, पाठ्यपुस्तक पाउन गाह्रो थियो। जयपृथ्वीबहादुर सिंहले नेपालीमा केही पाठ्यपुस्तक लेखेका पनि थिए। त्यसमा उनले जापानका सम्राटलाई मिचेर शासन गर्ने 'सोगुन' का कथा लेखिदिएछन्। यसले राणालाई पेच पारेको थियो। नभन्दै, उदारवादी देवशमशेरको शासन चार महीनामै समाप्त भयो, चन्द्रशमशेरले जयपृथ्वीबहादुर सिंहलाई निकालिदिए।
तक्मा, चन्दा र नेपालमा देवनागरीमै शिक्षा दिनेबारे देवशमशेर र रजिडेन्टबीच भएका कुरा
जेष्ट वदी ४ रोज् ४ का दीन श्री ३ महाराज् श्री कम्पाण्डर ईन चीफ मे.क. भैरवबहादुर साथ्मा लीबक्सी दीन्को २ बजे रजीडेन्सीमा सवारी भैबक्संदा रेजीडेन्ट साहेबसँग भयाका कुराकहानी...
श्री ३ महाराज– आज यांहा गारत् खडा रहेनछन्. अघीदेखी चलिआयाको हिसाब्ले गारत् रहनु पर्ने हो...१
रजिडेन्ट– यांहाको दस्तुर मैले पाय्को छैन. तर राजपुतानातरफको नेटीभ् इष्टेट्हरूमा प्राइभेट् मुलाकात् हुँदा गारत् रहदैनथ्यो...२
श्री ३ महाराज– हुन्छ. साहेबलाई तेस्तो दस्तुर गर्नाको मन् छ भने म यांहा आउंदा पनी गारत् नरहोस्. मकाहा तपाई आउनुहंदामा पनी गारत् रहने छैन...३
रजिडेन्ट– होइन. महाराज पुरानु दस्तुर बदल्नाको मेरो इरादा छैन भनी तुरंत रजिडन्सीमा गारत्लाई खबर गर्न पठाइ गारत् खडा गराउन लायाँ...४ तपाई नगर्कोट् जानुहुन्न के...५
श्री ३ महाराज– पर्सि सुक्रवार जान्छु...६
रजिडेन्ट– म पनी १।२ हप्तालाई ककनी जाने हिसाबमा छु. सो ठाउ अल्गो मजाको छ. हेमाल् पनि राम्रो देखींछ भंछन्...७
श्री ३ महाराज– यांहाको अव्हवा तपाईलाई कस्तो लाग्यो...८
रजिडेन्ट– बहुतै बढीया लाग्यो...९
श्री ३ महाराज– मेम्साहेबलाई पनी यांहाको आवहवाले बढीयै गर्ला भने ठानेको छु...१०
रजिडेन्ट– मेम्साहेबले पनी आवहवा पसंद गरेका छन्. फाइदा पनी गर्ला भन्ने उम्मेद छ...११
तपाईसंग १।२ कुरा प्राइभेट्मा गर्नु थियो...१२
स्वर्गेवासी माहाराज्बाट पाइबक्सेको जि.सी.यस् आईको तग्माहरू फिर्ता गरी दीनुहुन्छ की...१३
श्री ३ महाराज– फिर्ता गर्नालाई सो माल तयार छ. साहेब् जैले भन्नुहुन्छ तैले पठाइदिन्छु...१४
रजिडेन्ट– तपाईलाइ पनी नाइट् हुनाको मन् छ की...१५
श्री ३ महाराज– मन् छ...१६ मेरा बाबु दाज्युहरूले धेरैले कसैले कुनै कसैले कुनै किसीम्को तग्माहरू पायाका थिया...१७
यति कुरा गरीसकेपछी फेरि यौटा कुरा तपाईसंग प्राइभेट्मा गर्नु छ भनि दौहर्याई भंदा मेजर भैरवबहादुरलाई बाहिर जानाको हुकुम भयो र निज मेजर गयेपछी भयाको कुरा
रेजी– भिक्टोरिया मेमोरियल् फण्डमा धेरैजना राजा महाराजाहरूले धेरै धेरै रुपैया दिये तपाईबाट पनी केही दिनु हुनुपर्ला भने कुरा तपाईलाई लेखुंला भंने इच्छा थियो. तेस्तै बखत्मा सो फण्डमा दिनालाई ५००० हजार्मात्र पठाउनू भयाको तपाईको चीठि आउदा केही लेखनसकी तपाईसंग भेट भयापछी खुद आफै कुरा गरुला भने मन् गरें सो फण्डमा कंटिव्यूशन् ज्मा गर्नालाई भ्यायसरायबाट बहुतै दील् दिनुभयेको छ. अरु अरु राजा महाराजाहरूले कैयौ रुपैया दियाकोमा तपाईका तर्फबाट ५००० हजारमात्र जानू नराम्रो होला भन्ने मेरो चीत्तले देख्दा भनेको हु तपाईलाई मैले यस्मा कर्लायेको होइन. दोस्त हुनाले आफुले देखेको कुरा भनेको हुं...१८
श्री ३ महाराज– हो. हिन्दुस्थान्का राजा महाराजाहरूमा कस्मिर ग्वालीयर जैपुर्का माहाराजाहरूले १५ लाख १० लाखका हिसाबले सो फण्डमा रुपैया दिये तापनी भ्यायसरायबाट मन्जुर गर्नु नभै येक् जनासंग उपल्लो लाखदेखी बढ्ता नलीने हीसाब गर्नु भयो. आफ्नु मुलुकको गछें नाघी दीयाको भ्यायसरायलाई मंजुर रहेनछ भ्यायसयासेबाट १० हजार दिनु भयेकोमा बाहाको बरोबरै गरी दिनालाई बेठीक् देखी मैले ५००० हजार मुनासीब् ठानी पठायाको हुं...१९
रेजी– भ्वायसराय र तपाईमा फरक छ. उनी सर्कार्को नोकर भै नोकरीमा कां गर्ने हुं. तपाई मुलुकको माहाराज् हुनु हुन्छ. तपाईको खुद आफ्नो तर्फबाट ५००० हजारै मात्र भयो. नेपाल राज्यतर्फबाट पनी अरु अरु नेटीभ् इष्टेट्ले दीया झै दीनुपर्ने जस्तो लाग्छ. आम नेपालका दुनियांबाटै पनी चंदा उठाउनु भयो असल् हो. नेपाल् स्टेट पनी अघीभन्दा धेरै धनी भयाको छ ...२०
श्री ३ महाराज– यो इष्टेटको आमदानी उस्तो बढेको छैन. नापी डोर्तोड हुंदा केही पोत बढे तापनी दुनीया यस्बाट राजी भयाको छैनन्. पूर्व १ नम्बरमा जाच नापी हुंदा दुनियां साह्रै चिडिरहेछ. याहाका दुनियासंग चंदा उठाउने कुरालाई पनी बृटिस् गभर्मेन्टको मैसंग मात्र सरोकारछ. मबाहेक मेरा भाई कम्याण्डर इन चीफको पनी सरोकार रहदैन. अरु सो फण्डमा मेरा बडा महारानीतर्फ बाट पनी केही दिनेछु...२१
रेजी– तपाईबाट यांहा धेरै इस्कूल खडा गर्नु भयो भने सुन्दछु. तेस्मा के के पढाउंछ...२२
श्री ३ महाराज– हो प्राइमरी येजीकेसन् दिनालाई ३४ इस्क्ल खडा भयेको छ तेस्मा देवनागरी लेख्पढ् र केही हिसाब र केही संस्कृत पढाउदछन्...२३
रेजी– बढिया हो. अंग्रेजी नपढाउनु होला. यहीको इलम् सिकाउनु भया लेखन्दास बनाउनलाई मानिस् सोही स्कूलबाट तालीम् हुनेछ...२४ अडाखानामा कां गर्ने टाइम् बन्दोबस्त गरीदीनु भयेछ यसले दुनिया राजी नै भयाका होलान्...२५
श्री ३– राजी नै भयाको बुझीन्छ...२६