२२ वैशाख बिहान हामी पुग्दा रत्न श्रीमतीको नुन फुकाउन पँधेरा गएका थिए। उनका तीन छोरी ६५ वर्षीया हजुरआमासँग पालमुनि थिए। न्वारान नहुँदै आमा गुमाएकी नवजात नातिनीलाई हजुरआमाले पाउडर दूध खुवाउँदै थिइन्। लत्ताकपडा सहित सबै खाद्यान्न घरमा पुरिएपछि शिशुलाई पाउडर दूध खुवाउने पैसा समेत बानियाँ परिवारसँग छैन। आमाबाबु गुमाएका र रेखदेख गर्ने कोही नभएकालाई कसरी सम्हाल्ने भन्ने चिन्तालाई यतिबेला उद्धार र राहतको चर्चाले ओझ्ेलमा पारेको छ।
गोरखा केन्द्रबिन्दु बनाएर १२ वैशाखमा आएको ७.८ म्याग्निच्यूड र सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएको १३ वैशाखको ६.६ म्याग्निच्यूडको भूकम्पले सबभन्दा बढी क्षति यही दुई जिल्लामा पुर्याएको छ। सिन्धुपाल्चोकभित्र सबभन्दा धेरै मानवीय क्षति भएको साँगाचोक–९ का ११ वर्षीय दीपक माझीले भूकम्पमा आमाबाबु गुमाए। आमाबाबु गुमाएको ११औं दिनमा हामीले भेट्दा चार कक्षामा अध्ययनरत दीपक बाख्रा चराइरहेका थिए। गत चैतमा एसएलसी परीक्षा दिएकी साँगाचोक, माझीगाउँकी अम्बिका माझीको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ। उनलाई पुरिएको दुई घण्टापछि गाउँलेले घरबाट निकालेका थिए। भूकम्प आएको थाहा पाएर चार र दुई वर्षका भाइलाई बाहिर निकाल्दै गर्दा उनलाई छिमेकीको घरले आँगनमा थिचेको थियो। “मेरो होश खुल्दा काखमा सानो भाइको मृत्यु भइसकेको रहेछ”, अम्बिकाले भनिन्, “अर्को भाइ थिलथिलो भएर बाँचेको छ, औषधि किन्न पैसा नभएर जडीबुटी गरिरहेका छौं।”
अम्बिकाकी छिमेकी मैयाँ माझीले आठ महीनाकी छोरी र ससुरा गुमाइन्। उनी भने छोरीलाई सुताएर मल बोक्न गएकीले बाँचिन्। माझीगाउँका ३५ वटै घर भत्किएका छन् भने १० जनाको ज्यान गएको छ। उता, धुन्थाङ–७ का दीर्घबहादुर देउजाले यो महाभूकम्पमा श्रीमती, १६ दिनकी सहित तीन छोरी गुमाए। राहत लिन एक घण्टा हिंडेर बसेरी आएका देउजाले भने, “११ वर्षको छोरोलाई हेरेर मन बुझाएको छु।”
उता, फुल्पिङडाँडा–४ स्थित मल्ल ठकुरीको टोल आँपबोटेमा सबै अर्थात् १५ वटै घर भत्केका छन्। त्यसमध्ये इन्द्रबहादुर ठकुरीकी एक महीनाकी छोरीको ज्यान गयो। दूध खुवाएर घरभित्र सुताएकी आफ्नी छोरीको टाउकोमा लागेको दलिन हामीलाई देखाउँदा इन्द्रबहादुर ठकुरी तरुक्क रोए। छोरीलाई जीवितै उद्धार गर्न नसकेपछि उनकी श्रीमती माइत गएकी छन्। ठकुरीले छोरीको प्राण गएको घरका काठपात र जस्ता जोरजाम गरेर टहरो बनाएका छन्। बेघर भएका अधिकांश सिन्धुपाल्चोकवासी नजिकिंदो बर्खालाई ध्यानमा राखेर ओत लाग्ने ठाउँ बनाउन लागिपरेका छन्।
सिन्धुपाल्चोकका ६६ हजार ६३८ मध्ये ६२ हजार ६७२ घर भत्किएका छन्। ज्यान गुमाउनेको संख्या २३ वैशाखसम्ममा २ हजार ९३९ पुगिसकेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीका अनुसार, केही स्थानमा उद्धार बाँकी रहेकाले मृतक संख्या बढ्ने सम्भावना छ। उद्धारमा जिल्ला प्रशासन प्रभावकारी नभएको भन्दै नाराबाजी भएपछि गृहमन्त्रालयले सह–सचिव स्तरका अर्का कर्मचारीलाई अनुगमनका लागि सिन्धुपाल्चोक पठाएको छ। प्रजिअ ज्ञवालीले धेरै ठूलो क्षति भएको जिल्लाका दुर्गम गाउँहरूमा अपेक्षाकृत ढिलो काम भएको स्वीकारे। प्रजिअ ज्ञवालीले सबै ठाउँमा उद्धार र राहत पुर्याइसकेपछिको अवस्थामा गर्नुपर्ने पुनर्वासबारे पनि सोच बनाउन थालेको बताए। “बर्खा छिट्टै शुरू हुने भएकाले कम्तीमा ६ महीना बस्न मिल्ने गरी अस्थायी बसोबासको व्यवस्था मिलाउने चुनौती छ”, ज्ञवाली भन्छन्।
प्रधानमन्त्री सुशील कोइराला महाभूकम्पको १० दिनपछि सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुग्दा पनि धेरैजसो पीडितले सरकारी राहत भन्दा ओतकै लागि सहयोग माग गरेका थिए। प्रधानमन्त्रीले भने सबैलाई एकैपटक घर दिन नसकिने संकेत गर्दै 'तपाईंहरूको मात्रै होइन, मेरो निवास पनि चर्किएको छ, नपत्याए बालुवाटार आएर हेर्नुस्' भन्दै निराश पारेका थिए। अवस्था चाहिं कस्तो छ भने, फुर्पिङडाँडा–४ रोक्काटोलका मीनबहादुर रोक्का भत्किएको घर बनाउन सहयोग गर्ने कोही भेटिएला कि भनेर दुई घण्टा तलको बलेफी झ्रेको भेटिए। रोक्काटोलका सबै पीडित बलेफी जाने गरेको उनले बताए। अब भूकम्पले असर नगर्ने घर बनाउन चाहेको बताउँदै उनले भने, “काठको घर बनाउन पाए भत्किन्थेन कि!”
सामुदायिक पहल
महाभूकम्पको कहरमा परेको मेलम्ची क्षेत्रले सामुदायिक पहलबाट त्राण लिंदैछ।
सइन्द्र राई, मेलम्ची, सिन्धुपाल्चोक
विष्णुकुमारीकी छिमेकी गोमा कट्वाल त्यहीछेउको टहरामा खेलिरहेको पाँच वर्षको नाति विराजलाई हेरेर टोलाइरहेकी थिइन्। दिनभर साथीहरूसँग यसरी भुले पनि रात परेपछि नातिले आमा खोज्ने उनले बताइन्। भूकम्पमा घरले थिचेर विराजकी आमा हिमा (२६) र एक वर्षको भाइ विक्रमको मृत्यु भएको बताएपछि ५२ वर्षीया गोमाले आँसु थाम्न सकिनन्। एक वर्षअघि नयाँ घर र खुला दिसामुक्त क्षेत्र घोषणाको क्रममा पक्की शौचालय बनाउँदाको ऋण तिर्न छोरा रामहरि (२६) गत पुसमा मलेशिया गएको गोमाले बताइन्। “छोराले प्रेम गरेर अर्घाखाँचीबाट ल्याएकी बुहारी साह्रै असल थिइन्, मेलाबाट फर्केकी बुहारीसँग दलानमा बसेर बात मार्दैमार्दै भूकम्प आयो, नाति र म बाँच्यौं, उनलाई घरले भेटिहालेछ।”
रामपुरका १८० घरमध्ये एउटै सग्लो छैन। गोठमा पुरिएका गाईबस्तु गन्हाउन थालेका छन्। शोकमा डुबेको गाउँमा भोक टार्ने समस्यासँगै रोग भित्रने त्रास बढेको कुमार कट्वाल (२८) बताउँछन्। उनका अनुसार, धेरै युवक वैदेशिक रोजगारीमा गएकाले गाउँमा अस्थायी टहरा बनाउन पनि जनशक्ति अपुग छ। “भएकाहरूले बर्खी समेत बार्न पाएका छैनन्”, कुमारले भने, “कोही घाइते लिएर शहर जानुपर्यो, कोहीले महिला, बालबालिका र वृद्धवृद्धाका लागि टहरा बनाउनुपर्यो।”
उद्धार कार्यमा पनि उनीहरू सामूहिक रूपमै लागे। एक भएर लागेकैले उद्धार छिटो भएको गाउँलेले सुनाए। मेलम्ची नगरपालिकामा घरभित्र पुरिएका २३ जनालाई स्थानीय समुदायले नै सकुशल निकालेका थिए। बेपत्ता २४ जनाको खोजीमा सघाउन अहिले सेना, प्रहरी आइपुगेका छन्। महाभूकम्पमा परेर मेलम्ची क्षेत्रमा अहिलेसम्म २७४ जनाको ज्यान गुमेको पुष्टि भएको छ। मृत्यु हुनेहरूमा ६० प्रतिशत भन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धा रहेको मेलम्ची नगरपालिकाका निमित्त प्रमुख कृष्णबहादुर ज्ञवालीले बताए।
७९ वर्षकी आमा, १७ वर्षीया बहिनी, २० वर्षकी सुत्केरी बुहारी र दुई दिनको नाति गुमाएकी भगवती रोका (६०) ले छोडी जानेहरूलाई भुल्न मनलाई निष्ठुर बनाउन खोज्दै गरेको बताइन् भने कुमार कट्वालले भाइको घरबाट निकालेको अन्न बाँडेर खाइरहेको बताए। २१ वैशाखमा हामी रामपुर पुग्दा अर्का छिमेकी सुमन अधिकारी (२३) विदेशमा रहेका काकाको परिवारलाई टहरा बनाइदिंदै थिए। भूकम्प पीडितका लागि सरकारी तथा गैर–सरकारी क्षेत्रको एउटै त्रिपाल नआएको बताउँदै सुमनले भने, “गाउँमा जस्तापाता र भकारीको चलन भएकोले आपतमा टहरा बनाउन सजिलो भएको छ, बरु किलाकाँटी पो पाइएन।”
केही महीनाअघि मेलम्ची नगरपालिकामा गाभिएको तालामाराङ, सिन्धुकोट, मेलम्ची, बासबारी, फटकशिला, शिखरपुर र ज्यामिरेका करीब १६ सय घरमध्ये ९५ प्रतिशत ध्वस्त छन्। बचेका घरहरू पनि बस्न लायक छैनन्। तर, नआत्तिकन टहरा बनाउन व्यस्त छन्, यस क्षेत्रका बासिन्दा। १३ वैशाखबाट यही क्षेत्रमा रहेका सभासद् तामाङले तत्काललाई स्थानीय समुदाय नै जुटे पनि खाद्यान्न, लत्ताकपडा सबै भूकम्पमा पुरिएकाले सरकारबाट कम्तीमा ६ महीना धान्ने राहत उपलब्ध हुनुपर्ने बताए।
९० सालको महाभूकम्प खेपिसकेका मेलम्ची–९ का ९२ वर्षीय यदुनाथ चालिसेले यो पटक सरकारको चाईंचुईं नसुनेको बताए। उहिले भूकम्पले भत्काएको घर सरकारले बनाइदिएको, तर यसपटक सरकार अझै आइनपुगेको बताए। वयोवृद्ध चालिसे जस्तै मेलम्चीका धेरैलाई महाविपत्तिमा सरकारको अनुपस्थिति निकै खट्केको छ। मेलम्ची बजारसम्म आएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रधानमन्त्री कार्यालयका सह–सचिव शंकर सुवेदी लगायतले काठमाडौं फर्केर केही नपठाएको उनीहरूको गुनासो छ।
विपत्मा एक
महाभूकम्पको भग्नावशेषमाथिबाट जीवनलाई अगाडि बढाउन अग्रसर छन्धापवासी।
किरण नेपाल, थाङ्पालधाप, सिन्धुपाल्चोक
धापमा महाभूकम्पको धक्का अकल्पनीय थियो, तर सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ स्तरीय अण्डर–ट्वान्टी फूटबल प्रतियोगिताको फाइनल खेलका कारण भग्नावशेषमाथि छाप्रा उठाउने बलिष्ठ पाखुराहरूको कमि रहेन। ११:५६ बज्नु केही अघिमात्र हाफटायमको ह्वीसील बजेकाले दर्शकदेखि खेलाडीसम्मको ठूलो संख्या खुला चौरमा थियो। नवाहको सातौं दिनको कथा सुन्न छिमेकी गाविस ज्यामिरे, लागर्चे, भोटेनाम्लाङ, गुन्सा, बाँसखर्कदेखि भोताङसम्मबाट आएका करीब तीनसय जना चौर नजिकै काली थानमा थिए। गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर त्यहीबेला आएको ७.८ म्याग्निच्यूडको भूकम्पले थाङ्पालधापको थुम्कोमा रहेका दुवै समूह त्रासदी झेलेर पनि सकुशल रहे। मन्दिर क्षेत्र विस्तार तथा जीर्णोद्धारका लागि लगाइएको नवाहमा आएकामध्ये दुई जना भने मन्दिर भत्किंदा च्यापिएर दिवंगत भए।
चौरका मानिस सम्हालिंदासम्म त्यसभन्दा निकै तलको २, ३ र ४ वडामा भने ठूलो क्षति पुगिसकेको थियो। तीनवटा वडामा करीब २१५ घरमध्ये ५–६ वटा छाडेर सबै धूलिसात भइसकेका थिए। त्यसमा ५४ जनाले ज्यान गुमाए। स्थानीय विमल कार्की भन्छन्, “शनिबार दिउँसो फूटबल र नवाह नपरेको भए कतिसम्म हुन्थ्यो, सम्झ्ँदा पनि कहाली लाग्छ।”
समुचित राहतको पर्खाइः सिन्धुपाल्चोकको एउटा प्रमुख बजार मेलम्चीबाट करीब १६ किलोमीटर उत्तरको थाङ्पालधाप महाभूकम्पको ११औं दिनमा जनजीवनले जीवन्त रूप लिइसकेको देखिन्थ्यो। न उद्धार, न राहत र पनि गाउँलेहरू विपत्बाट आफैं सम्हालिंदै आ–आफ्नो मेलोमा जुटिसकेका थिए। उनीहरू यतिबेलाको प्रमुख कृषि उपज गहुँ काट्ने, आलु खन्ने र मकै गोड्ने चटारोमा परिसकेका थिए। भत्केका स्कूलका बरण्डाहरूमा आश्रय लिएर भग्नावशेषमा आवश्यक सामग्री उधिन्दै अस्थायी बासको तारतम्य मिलाउनेहरू पनि उत्तिकै देखिए। तीन वटा वडाका १५० घरधुरीका लागि शहीद गंगालाल अस्पतालका डा. रामेश कोइरालाको पहलमा लगिएको राहत सामग्रीमध्येको हम्मर र किला लिंदै धाप–४ का राम श्रेष्ठले भने, “यति भएपछि बर्खा धान्ने छाप्रा बनाउन समस्या रहेन।”
मेलम्चीबाट ज्यामिरे, खाल्टे, तिपेनी, महादेवखोलाहुँदै जाने बाटोमा पर्ने घर–गोठमा चौपायाहरू पुरिएका कारण दुर्गन्ध फैलिएको थियो, तर धापमा चौपायाहरू निकालिसकिएकाले त्यस्तो थिएन। धापवासीले राहतको नाममा सैनिक हेलिकोप्टरले खसालेको पाँच बोरा चामललाई कलहको बीउ भन्दै स्कूलको एउटा कोठामा थन्क्याएका थिए। राहत चाहिएको त छ, तर आशा छैन। पहाडबाट झ्रेका ढुंगा र भत्किएका घरले पुरेको सडक पन्छाउने डोजर सहितका सेना–प्रहरी भने महाभूकम्पको ११औं दिनमा धाप कटेर भोताङतर्फ लागिसकेका थिए। यसले गर्दा राहत बोकेका गाडीहरूलाई उत्तरी सिन्धुपाल्चोक उक्लन सजिलो भएको छ।
“अब गर्ने के त?” प्रश्न सोधिनसक्दै धाप–४ का सामाजिक कार्यकर्ता शिशिर वाइवा बोले, “फेरि बनाउन शुरू गर्ने हो नि, सर! तर ढुंगाले घर नबनाउने।”
तीन बाली अन्न हुने खेतबारी, दुई–दुई वटा माइक्रो हाइड्रोबाट वितरीत विद्युत्, सडक, खानेपानीको पाइपलाइन, आ–आफ्नै गोबरग्याँस प्लान्ट भएको ठाउँमा भूकम्पले बनाएको भग्नावशेषमा उभिएर शिशिरले दिएको जवाफले धेरै कुरा भनिरहेको थियो। कामका लागि विदेश धाउनु नपर्ने गरी जीविका चलाएको यो गाउँलाई अब पहिले भन्दा बलियो बनाउने शिशिरले बताए। सोत्तर भएका ढुंगा–माटोका घरमाथि उभिएर उत्तरी सिन्धुपाल्चोकको यो बोलीलाई ७.८ म्याग्निच्यूडको कम्पनमा काँपेका अधिकांश पहाडी गाउँको आवाज मान्नुपर्छ।
भग्न भए पनि यी गाउँहरूमा खाद्यान्न अभाव छैन। अभाव छ त, अस्थायी बसोबासका लागि आवश्यक सर्जामको। त्यसमा पनि अस्थायी बास निर्माणको सामग्री तत्कालै चाहिएको छ। गाउँलेहरू चाँडोभन्दा चाँडो अस्थायी बास बनाएर खेतबारी पुग्न हतारिएका छन्।
बेहालमा साहस
महाभूकम्पको चपेटामा परेका धादिङवासी मनभरि वेदना बोकेर आपसी सद्भावसँगै दैनिकी सामान्य बनाउँदै छन्।
तुफान न्यौपाने, धादिङबेंसी
आमाको बेहालः मलेखुको ब्राइट फ्युचर स्कूलमा कक्षा ३ मा पढ्ने नलाङ–९ का विनम गुरुङ (९) शनिबार ६० वर्षीया हजुरआमा दिलकुमारी सहित ९ जना आफन्तसँग टीभी हेरिरहेका थिए। त्यही बेला महाभूकम्प आएकोले घर भत्किंदा सबै पुरिए। त्यसबेला विनमकी आमा विमला बारीमा थिइन् भने बाबु धनबहादुर साउदी अरबमा। घरले पुरिएकामध्ये कुसुम गुरुङ (१९ महीना), विराज गुरुङ (८), आशिष घले (८) र सुजन गुरुङ (१६) लाई मात्र जीवितै निकाल्न सके, गाउँलेहरूले।
छोराको शव अँगाल्नेबित्तिकै बेहोश भएकी विमला होशमा आउँदा विनमको दाहसंस्कार सकिइसकेको थियो। उनी अहिले रुन पनि सक्दिनन्। मुख चल्छ, तर आवाज आउँदैन। आमा, छोरा, दुई ठूलीआमा र माइजू गुमाएका धनबहादुरले साउदीबाट १४ वैशाख साँझ् घर आएर भाइ–बुहारीहरूका परिवार र आफूलाई समेत बासको व्यवस्था गरेर पत्नीलाई अस्पताल पुर्याए। जिल्ला अस्पतालका डाक्टरले विमलालाई तुरुन्त काठमाडौं लैजान भने पनि मरेर गएकाहरूको किरियाकर्म नसकी हिंड्न नमिलेको धनबहादुरले बताए। “मरेकाहरूको किरियाकर्म पनि गर्नु पर्यो, बाँचेकाहरूलाई पनि मर्न दिनु भएन”, विपत्मा उदाहरणीय साहस देखाइरहेका धनबहादुर भन्छन्, “जता हेर्यो सबैको उस्तै देख्छु, लत्तो छाड्नु त भएन नि!”
यता, ६ जेठमा घर आउने टिकट लिइसकेका दुबईमा कार्यरत छत्रेदेउराली–९ भञ्ज्याङपोखरीका भोलानाथ बाँस्कोटालाई श्रीमती गोमा (२८) ले घर मात्र भत्केको बताएकी छन्। महाभूकम्पले भत्काएको घरमा पुरिएका उनका छोरा जेम्स (५) र छोरी जेनी (८) मध्ये गाउँलेहरूले जेम्सलाई मात्र जीवितै उद्धार गर्न सके। “उहाँको मन मेरो भन्दा कमजोर छ, यहाँ आएर छोरी नभेट्दा कति रुनुहोला!” घर बाहिर रहेकीले बाँचेकी श्रीमती गोमा यति भनेर आफैं रुन थालिन्।
काठमाडौंमा सर्वस्वः नीलकण्ठ नपा–७ ठुटेटारकी मुना श्रेष्ठ (४७), छोरी प्रमिला (२४) को उपचारका लागि १० वैशाखमा काठमाडौं गएकी थिइन्। उनले घरमा श्रीमान् रामकृष्णलाई १२ वैशाखको बिहान ८ बजे फोन गरेर भोलि बेलैमा जँचाउन पाए साँझ्सम्म घर फर्कने बताएकी थिइन्। तर, त्यही दिउँसो भूकम्पले गाउँमा उत्पात मच्चाएपछि तारन्तार श्रीमती र छोरीलाई फोन गरेका रामकृष्णले आखिरमा कहाली लाग्दो समाचार सुन्नुपर्यो। “धरहरा ढल्नुभन्दा १५ मिनेट पहिले मुना र प्रमिला त्यहाँ गएका रहेछन्”, रामकृष्णले भने, “छोरीलाई घाइते अवस्थामा टिचिङ अस्पताल पुर्याइएको थियो रे, तर राति ११ बजेतिर बितेको खबर आयो, मेरो सर्वस्व धरहरामा पर्यो।”
परिवारै सकियोः १२ वैशाखको महाभूकम्पले परिवार तहसनहस पारेकामध्ये नेपाली सेनाका प्यूठ राजेन्द्र पाण्डे पनि पर्छन्। भूकम्पको एकै झ्ट्कामा उनले १६ महीनाको छोरो, २८ वर्षकी श्रीमती र ५१ वर्षीया सासू गुमाए। उनकी श्रीमती सुनिता आमालाई साथी र नजिकैको विद्यालयमा पढाउन पनि सजिलो हुने भएकाले धादिङको जीवनपुरमा बसिरहेकी थिइन्। तर, भूकम्पमा भाग्दाभाग्दै उनीहरू र छिमेककी सम्झ्ना ढुंगाना भत्किएको घरले पुरिए। अहिले रोल्पामा रहेको देवीदत्त गणबाट आएर परिवारलाई दागबत्ती दिएका राजेन्द्र भन्छन्, “अब त मेरो के बाँकी रह्यो र!”
ओतको चिन्ता
**अधिकांश घर भत्केको रसुवाको कटुञ्जे र नुवाकोटको गेर्खुमा तत्काल ओत चाहिएको छ। **
डम्बरकृष्ण श्रेष्ठ/देबकी बिष्ट, रसुवा
कालिकास्थान रसुवाकी इनाकुमारी देवकोटाको ८ जनाको परिवार पाल नहुँदा भत्केको घरमै बसिरहेको छ। भुईंचालोले घरसँगै भकारीलाई पनि माटोमा मिलाइदिएको भए पनि तत्काललाई पाल नै महत्वपूर्ण भएको बताउँदै इनाकुमारीले भनिन्, “नबसौं भने कहाँ जानु? बस्दा कुन बेला भत्केर ज्यान जाने हो भन्ने त्रास छ।” व्यक्तिगत रूपमा राहत लिएर राजधानीबाट आएका समूहबाट पाल पाएका कटुञ्जे–४ का सूर्यमणि खतिवडा (७५) ले भने मुन्टो घुसार्नलाई ठाउँ पाएको बताए। नेपाली सेना र सशस्त्र प्रहरीले थुप्रै राहत सामग्री कालिकास्थानमा थन्क्याएर राखेको गाउँलेले बताए। “मैले त्यहाँ पाँच दिन राहत सामग्री बोक्ने काम पाएँ, तर म आफैं खुला आकाशमुनि सुतिरहेको छु”, लहरे–८ का कृष्णबहादुर श्रेष्ठले भने “खै किन हो, बाँडेका छैनन्।”
अलिअलि भएको पैसा र अन्नपानी ढलेको घरबाट निकाल्ने प्रयासमा रहेका उनी श्रीमती सहित पाँच जनाको परिवारलाई केही नभएकोमा धन्य मानिरहेका छन्।
रसुवा र नुवाकोटका भूकम्पग्रस्त गाउँमा निजीस्तरबाट आएका सहयोगी भने थुप्रै भेटिए। रसुवामा काठमाडौं वनस्थलीको लायन्स क्लब अफ मखमलीले तीन डाक्टर, तीन नर्स र औषधि सहितको मोबाइल हेल्थ टोली परिचालन गरिरहेको छ। तर, अधिकांश भूकम्प पीडित भने ओत लाग्ने छानोकै चिन्तामा छन्। हुनेखानेहरूलाई पनि पालको अभाव देखियो। तत्कालको यो आवश्यकता पूर्तिका लागि सरकारदेखि संघ–संस्था र मनकारीहरूसम्मको थप सक्रियता आवश्यक छ।
चेतनाको उल्टो असर
काठमाडौंको साँखुमै पनि चौरमा फूटबल खेलिरहेका १०/१२ वर्षका १३ बालकमध्ये भूकम्पमा घरतिर दौडिएका ९ जनाको शव घरभित्रै भेटिएको थियो। अरुलाई भूकम्प–चेतना दिंदै हिंड्ने सिन्धुपाञ्चोक, मेलम्चीका एक तन्नेरी पनि आपत्मा घरभित्र खाटमुनि पस्दा उद्धार गर्न नसकिएको उनका भिनाजु रत्नप्रसाद श्रेष्ठले बताए।