२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

पुर्खाको त्यो तत्वबोध

Share:
  
- भरत शर्मा
नेपालको भूखण्ड उच्च भूकम्पीय जोखिममा पर्छ भन्ने थाहा पाएरै पुर्खाले आफ्नै ढाँचा र शिल्पका संरचना बनाएका थिए। त्यसलाई बेवास्ता गर्दा नै हो, आज हामीले विनाश भोग्नुपरेको।

गोपेन राई
पाटन दरबार स्क्वायर।
भौगर्भिक अवस्थितिमा भारतको उत्तरी भाग बिहार र उत्तरप्रदेशसँगै नेपाल पनि जोन–फाइभ अर्थात् एकदमै नाजुक क्षेत्रमा पर्छ। यहाँ लगभग प्रत्येक सय वर्षको अन्तरालमा टेक्टोनिक प्लेटको ऊर्जा उत्सर्जन भइरहेको छ। त्यस्तो अवस्थामा धर्ती कम्पन हुन्छ, त्यसैलाई हामी भूकम्प भन्छौं।

हाम्रा पहाड नयाँ छन्। यी यूरोपका एन्डिज जस्ता पाका होइनन्। हाम्रा पहाड त लाखौं वर्षदेखि यहाँको भूखण्डले भोग्दै आएका यिनै भूकम्पका उत्पादन हुन्। यही प्रक्रियाको श्रृंखला पछ्याउँदै १२ वैशाखमा नेपालको मध्यपहाडी भूगोलको गर्भ बेस्सरी हल्लियो। र, ठूलो जनधनको क्षति गरायो। धर्तीभित्रको ऊर्जा उत्सर्जन क्रम रोकिएको छैन। ७.८ म्याग्निच्यूडको मुख्य कम्पनपछि लगातार पराकम्पन भइरहेका छन्। गर्भमा उत्पन्न ऊर्जाको पूर्ण उत्सर्जन नभएका कारण यसो भइरहेको हो।

हाम्रो भूखण्डमा भूकम्पको लामो लिखित इतिहास छ। जसबाट हामी अत्यधिक भूकम्पीय जोखिमको क्षेत्रमा अवस्थित छौं भन्ने स्पष्ट हुन्छ। जस्तो भूगोल त्यस्तै बसोबास हुनुपर्छ। पुर्खाले यसलाई राम्ररी आत्मसात् गरेका थिए, त्यही भएर ठूल्ठूला भूकम्प आउँदा पनि समाज र संस्कृति जोगियो। भूकम्पीय जोखिमकै आधारमा पुर्खाले पारम्परिक घरको ढाँचा र शिल्पको विकास गरेका थिए, प्रकृतिसँग जोरी खोज्नुहुँदैन भन्ने तत्वबोध उनीहरूमा थियो। मोटो गारो, होचो घर, स–साना झयाल–ढोका, काँचो ईंट र माटोको जोड, जोडिएका घर, बज्रको प्रयोग, खुला चौर सहित उँचो स्थानमा बसोबास र होचो स्थानमा खेतीपाती– यस्ता थुप्रै ढाँचा, शिल्प र बसोबासको शैली समाजमा त्यतिबेलै विकास भएको थियो, जतिबेला हामी नयाँ निर्माण सामग्री, प्रविधि आदिसँग साक्षात्कार थिएनौं।

हिजो मन्दिरका गजुरले काठमाडौंको घरको अग्लाइ सीमित तुल्याएको थियो। गजुरभन्दा अग्लो घर बनाउनुहुँदैन भन्ने मान्यता थियो। झ्ट्ट सुन्दा धर्मभीरु जस्तो लाग्न सक्छ, तर अत्यधिक भूकम्प प्रभावित काठमाडौंको जमीनमा अग्लो घर टिक्दैन भन्ने बुझाउन नै त्यसो भनिएको थियो। ३०–४० वर्ष अघिसम्म पनि काठमाडौंमा बसोबास कम थियो र खुला ठाउँ धेरै थिए। तर पछिल्ला वर्षहरूमा हामीले काठमाडौंको बसोबास शैली पूरापूर बिगार्‍यौं। डोल, सीम, गैह्रीखेतमा समेत माटो भरिकन अग्ला अग्ला घर बनाउन थाल्यौं। जबकि हिजोको निर्माण सामग्री, सीप कृषियोग्य जमीन अवरोध नपुर्‍याई उपयोग गर्ने खालको थियो।

यसैको परिणाम; ७.८ म्याग्निच्यूडमा कंक्रिट र रडको सहारामा ठडिएका घरहरू अडिएनन्। घर बनाउनै नहुने ठाउँमा बनाइएका अधिकांश अग्ला पक्की घरहरू ढले। खेतीपाती गरिने जमीनमा माटो भरिएर बनाइएका घरहरू टिकेनन्। पानी कम हुँदा जमीन तल धसिने समस्या हुन्छ। काठमाडौंको बढ्दो जनसांख्यिक चापले जमीन मुनिको पानी झ्नै तल लग्दैछ। माटोमा पानीको मात्रा कम हुनु भनेको माटो खुकुलो हुनु हो।

कसैले भन्न सक्छ, धेरै त पुरानै शैलीका घर नै भत्किएका छन्। गाउँका गाउँ, टोलका टोल सकिएका छन्। हो छन्, ती धेरै पुराना, उपचार नगरिएका रोगी घर भएर भत्किएका हुन्। घर अमर हुँदैन, त्यसको पनि उमेर हुन्छ। घरलाई भत्काएर फेरि पुरानै प्रविधि र शैलीमा निर्माण गरिनुपर्थ्यो। तर, यहाँ त्यसो गरिएन।

दुई–तीन तलासम्मका मात्रै घर रहेका पुराना बस्तीहरूमा पनि पुरानै शैलीका नाममा चार–पाँच तले घर बन्न थाले। तला थप्नु सामान्य मानियो। मर्मत भने गरिएन। सम्पदास्थलका कलाकृतिको पनि यस्तै हालत थियो। हामी ऐन, नियम बनाउँछौं तर कार्यान्वयन गर्दैनौं। समस्या त्यहींनेर छ।

महाभूकम्प मौका पनि हो, गल्ती सुधार्दै शहर दुरुस्त बनाउने। अहिले शहरको ठूलो हिस्सा भग्न छ। तर विश्वसम्पदाको उत्कृष्ट नमूना यो शहर हामीले दुरुस्त पार्नै पर्छ। पुरानो वास्तुकला यहाँ फर्कनै पर्छ। पुनःनिर्माण पनि उही वास्तुकला फर्काउने तरीकाकै हुनुपर्छ। कंक्रिटको ब्यारेक न यहाँको भूगोलले सहन्छ, न त समाजले।

(आर्किटेक्चर तथा प्लानिङ विषयमा विद्यावारिधि शर्मासँगको कुराकानीमा आधारित।)

comments powered by Disqus

रमझम