सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बारम्बार आएको भूकम्पले जिल्लालाई तहसनहस बनाइदिएको छ। १२ सय घरधुरी भएको थाङ्पालधापमा मुश्किलले १२ वटा घर सद्दे होलान्। राहत बाँड्न हिंडेका हामीले मेलम्चीबाट माथि इन्द्रावतीको किनारै किनार १६ किलोमीटरमा तीन वटा घर मात्र साबुत देख्यौं। यो क्षेत्रमा मरेकाहरूलाई बाँचेकाले घरका भग्नावशेषबाट निकालिसके पनि गाईबस्तु पुरिएकै छन्। पूरै गाउँ सिनोको दुर्गन्धले प्रदूषित छ।
१२ वैशाख दिउँसो भूकम्प आएपछि गाउँलाई धूलोले पूरै अँध्यारो बनायो, सबैतिर कोलाहल मात्र सुनियो। के गर्ने, के नगर्ने केही मेसो नै नपाई दुई घन्टा बितेको धापका नवराज खड्काले बताए। “धूलोको मुस्लो पातलो भएपछि कहाँ के भयो भनेर हेर्दा सर्वस्व भइसकेछ, अनि सबै युवा मिलेर कुनै जात–धर्म नहेरी मरेका गाउँलेलाई भत्केका घरहरूबाट निकालेर गाड्यौं”, खड्काले भने, “मरेका बस्तुभाउ विस्तारै निकाल्दैछौं।”
यो प्राकृतिक प्रकोपले देशका १५ पहाडी जिल्लालाई बिर्सनै नसकिने पीडा दिएर गयो। विपत्को शोक सबै नेपालीलाई परेको छ। एक नेपाली विपत्मा पर्दा अर्को नेपालीलाई दुख्ने सत्य पनि पुनःस्थापित भएको छ। सबैले आ–आफ्नो ठाउँबाट गच्छे अनुसारको सहयोग गरिरहेका छन्। कतैबाट राहत सामग्री नपुगेको अवस्थामा त्यहींका बासिन्दाले खोलेफाँडो बाँडीचँुडी खाएको पनि देखियो।
भूकम्पले विनाश गरेको गाउँबस्तीमा पहिलो काम हुन आउँछ उद्धारको। त्यसपछि गाँस र बासको। जसको लागि आन्तरिक र बाह्य स्रोत जुटिरहेको छ। यसबीचमा सरकारी निकाय मार्फत वितरण गरिएको राहतले सरकारी समझ्को खिल्ली पनि उडाएको छ। १४ परिवारको लागि ३० किलोको एक बोरा सरकारी चामल आउँदा राहत होइन, पीडा महसूस हुँदोरहेछ। निजी स्तरबाट गएको राहत पनि 'आफ्नो मान्छेलाई' र संस्थागत राहत 'संस्था नजिककालाई' भएको छ।
यस्तो नातावाद, कृपावाद र भेेदभावको आधारमा बाँडिएका राहत कसैले नौ महीनाको लागि पुग्ने पाएका छन् भने कसैले एक दाना पनि पाएका छैनन्। धादिङको जीवनपुर–२ मा तीन पटक राहत सामग्री पुगिसक्दा एक नम्बर वडावासी भोकै–प्यासै बस्न बाध्य भए। व्यक्तिगत, राजनीतिक आस्थाका कारण एउटै गाविसमा यस्तो भेदभाव हुन पुग्यो।
हामी त्रिपाल दिन अघिसरेको गाउँठाउँमा किलाकाँटी र मार्तोल दिने बुद्धि पुगेन। धेरैजसो जस्ताको छाना भएका सिन्धुपाल्चोकका गाउँहरूमा त्रिपाल भन्दा किलाकाँटी र मार्तोल बढी उपयोगी हुने देखियो। ती चिज भए पालभन्दा बढी भरपर्दा घर बनाउन सजिलो हुनेरहेछ, गाउँलेलाई। उनीहरूसँग भत्केका घरमा जस्तापाता र काठहरू छँदैथिए। कतिले पाल भए बिस्कुन सुकाउन र गोठको छानो बनाउन सजिलो हुनेथियो पनि भने।
भूकम्पपछि देखिएको अर्को ठूलो समस्या हो– बालबालिकाको पढाइ। नयाँ शैक्षिक शत्र शुरू भएको छ, तर अधिकांश विद्यालय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन्। अब पढाउने कहाँ? यो गर्मी र घाममा खुला चउरमा पढाउनु सम्भव नै छैन। फेरि मनसुन पनि शुरू हुनै लागेको छ। तर, भूकम्पको गीत गाएर धेरै दिन बस्न पनि नसकिने भएकोले अब सरकारले राहत बाँड्ने जिम्मेवारी संघ–संस्थालाई दिएर भौतिक संरचना निर्माणमा केन्द्रित हुनुपर्छ। सरकार र योजना आयोगले पनि काम देखाउने बेला यही हो।