२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

क्यान्सरको दुश्मन सावरसुप

Share:
  
- जीवनप्रसाद राई
नेपालको तराई र मध्यपहाडमा राम्ररी सप्रने सावरसुप क्यान्सर रोक्ने रामबाण साबित भएको छ।

क्यान्सर नियन्त्रणमा उपयोगी मानिंदै आएको सावरसुपको वैज्ञानिक परीक्षण भएको सन् २०१२ जनवरीमा मात्र हो। बेलायतका वैज्ञानिक क्रिस्टोफर सिल्भरटन थोङ्गले गरेको परीक्षणले सावरसुप फललाई क्यान्सरमा गरिने फिजियोथेरापीको विकल्प प्रमाणित गरेको छ। परीक्षणमा सावरसुपको एउटा पाकेको फललाई एक लीटर पानीमा फिटेर जुस बनाई क्यान्सरका बिरामीलाई खुवाउँदा एक पटक थेरापी गरे बराबरको नतीजा देखिएको समाचार छ। सावरसुपको पात सुकाएर ग्रीन टीको रूपमा नियमित सेवन गर्दा शरीरमा क्यान्सरका सेल बढ्नै नपाउने ललितपुर भैंसेपाटीका डा. जगन्नाथ राई बताउँछन्।

रामबहादुर तामाङ दम्पतीले फलाएको सावरसुप।

मेक्सिको, थाइल्याण्ड, सिंगापुर, मलेशिया लगायतका देशमा परम्परागत रूपमा पेट सम्बन्धी रोग, टाउको दुख्ने, ज्वरो आउने, वाक्वाकी लाग्ने र गर्भ सुरक्षाको लागि प्रयोग गरिंदै आएको यो वनस्पति अन्नोनासी परिवारमा पर्छ। यसको वैज्ञानिक नाम अन्नोना म्युरिक्याटा हो। यसको फल, पात र बोक्रामा धेरै औषधीय गुण हुन्छ। सावरसुपको फलमा कार्बोहाइट्रेड, भिटामीन सी, बी, र बी–२, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, पोटासियम र फस्फोरस पाइन्छ। सावरसुपको जूस, क्याण्डी, वाइन, सर्बत, आइसक्रिम, चकलेट, जेली, जाम र भिटामिन सिरप चल्तीमा छ। सावरसुपको फल सुगरका बिरामीका लागि बढी उपयोगी मानिन्छ।

नेपालमा सावरसुप

पूर्वको रमणीय शहर धरानमा नै हुनुपर्छ, नेपालमा संभवतः पहिलो पटक सावरसुपको बिरुवा रोपिएको। धरान उपमहानगरपालिका–१७ स्थित रामबहादुर र जोशिला तामाङ दम्पतीले रोपेको सावरसुप फल्न थालेको तीन वर्ष भयो। धरान–१७ का शिव वान्तवाले पनि सावरसुप रोपेका छन्। के फल हो भन्ने थाहै नपाई यो बिरुवा धरानका निकै घरमा फैलिएको पाइयो। यता काठमाडौं उपत्यकामा भेटेरिनरी डाक्टर राईले सावरसुपको बिरुवा लगाएका छन्। दक्षिणपूर्वी एशियाका सिंगापुर, थाइल्याण्ड, मलेशिया लगायतका उष्णप्रदेशीय देशहरूमा सावरसुवको एउटा फल ३० डलरमा बिक्री हुने गरेको डा. राई बताउँछन्।

समुद्री सतहबाट एक हजार मीटरसम्मको उँचाइमा खेती गर्न सकिने यो फलको रूख मध्यम उँचाइको हुन्छ। एक रोपनीमा १०/१५ बोट लगाउन सकिने सावरसुपले रोपेको ५/६ वर्षमा दुई केजीसम्मको काँडेदार फल दिन्छ। एउटा रूखमा बढीमा १५–२० वटा फल्छ। नेपालको तराई, भित्रीमधेश तथा नदीका किनारा एवं खोंच र बेंसीहरूमा यसको व्यावसायिक खेतीको सम्भावना देखिन्छ। काठमाडौं उपत्यका लगायत मध्यपहाड र तराईका शहरहरूमा पनि घरघरै रोपेर सावरसुपको उपयोग गर्न सकिन्छ।

नेपालमा सावरसुपको व्यावसायिक खेती गर्न सक्दा स्वास्थ्य रक्षासँगै विदेशी मुद्रा आर्जन र समृद्धिको अर्को टेवा हुनेछ। तराईमा यसको व्यावसायिक नर्सरीको संभावना धेरै छ। यसको लागि नेपाल सरकारको कृषि मन्त्रालयले थप अनुसन्धान तथा व्यावसायिक खेती विस्तारको नीति ल्याउनुपर्छ। त्यो अवस्थामा नेपाली कृषि अनुसन्धान केन्द्र, कृषि वैज्ञानिक र किसान पनि नयाँ काममा उत्साहित हुने नै छन्।

comments powered by Disqus

रमझम