२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

मनका धनी धनका गरीब

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
महाविपत्तिमा मनमनमा सहयोगी भावना उर्लेको छ। राहत जुटेको छ। तर, यहीबेला थुप्रै धनीको मानसिक दरिद्रता पनि देखिएको छ।

डम्बरकृष्ण श्रेष्ठ
महाभूकम्पको १० दिन बितिसक्दा पनि राहत नपुगेको गाउँ खोज्दै हामी रसुवा र मकवानपुर जाँदैथियौं। विपत्तिले मलाई एकैपटक दोहोरो भूमिकामा खटाएको थियो; एक पत्रकार, अर्को राहतकर्मी। चिनजानका मनकारीहरुको सहयोगमा जुटेको राहत लिएर रसुवा, नुवाकोट र मकवानपुर हिंडेका थियौं।

२३ वैशाखको मध्याह्न हामी नुवाकोटको गेर्खु गाउँ पुग्यौं। हामी पुग्नासाथ चार बीस कटेकी जस्ती देखिने महिला (हे. तस्वीर) “म बूढीको यो संसारमा कोही पनि छैनन्, साह्रै दुःख पाइरा'छु” भन्दै हाम्रो गाडीछेउ आइन्। यात्राले थाकेका हामी भोकाएका पनि थियौं। केही खाएर राहत वितरण गर्ने हाम्रो सोचाइ थियो। तर, ती वृद्धाको अवस्था देखेपछि मैले आफूलाई रोक्नै सकिनँ। एउटा चाउचाउ र दुई प्याकेट बिस्कुट उनको हातमा राखिदिंदै भने, “अहिले यो खाँदै गर्नुस् अरु पछि दिउँला।” तर, चाउचाउ मात्र आफूसँग राखी उनले भनिन्, “बाबु, मलाई किन यति धेरै दिएको? बिस्कुट अरुलाई देऊ!”

हाम्रा गाडी चालक सानुकान्छा तामाङले रु.५५ निकालेर दिन खोज्दा वृद्धाले 'पैसा किन दिन पर्‍यो मसँग राख्ने थैली पनि छैन' भन्दै पटुकीतिर राखिन्। त्यहीबेला हिमालकी फोटो पत्रकार देबकी बिष्टले 'आमैको घर कहाँ हो?' भन्दै अँगालो मात्र के हालेकी थिइन्, हत्तपत्त हात तल झार्दै उनी 'लौ नानी यो के गरेको? म त दमिनी हुँ, नछोऊ' पो भन्न थालिन्। वृद्धाको कुरा र व्यवहारले हामी हेरेको हेर्‍यै भयौं।

“आमाको नाम के हो? कति वर्ष पुग्नुभयो?” मैले सोधें। “खोई नाम त थाहा छैन्, ९० सालमा भुईंचालो जाँदा चार वर्षकी थिएँ”, उनले यति भन्दासम्म मेरा आँखा रसाइसकेका थिए। देबकीको हालत पनि त्यस्तै थियो। अरु साथी अचम्म मानिरहेका थिए। जतिबेला पनि हँसाइरहने हास्यकलाकार मनोज गजुरेल समेत गम्भीर देखिन्थे।

महाभूकम्पको राष्ट्रिय संकटमा धेरै मनकारी उद्धार र राहतमा होमिएका छन्। कति प्रवासी नेपाली राहत बोकेरै स्वदेश फर्किएका छन् कतिले उतैबाट दिल खोलेर सहयोग गरिरहेका छन्। तर, यस्तो बेला पनि मानिसमा स्वार्थी प्रवृत्ति सकिंदो रहेनछ।

राजधानीमा अपार्टमेन्ट र सग्लै घरमा बस्नेहरुले राहतको पाल हारालुछ गरेको दृश्यले यस्तै मानसिक दरिद्रता देखाउँथ्यो। 'मसँग छ तर ऊसँग छैन, मलाई होइन, उसैलाई दिनुहोला' भन्ने ती वृद्धाको जस्तो मन भएकाहरु दुर्लभ देखिए।
अघिल्लो दिन नुवाकोटकै बट्टारमा चिया पिउन रोकिएको हाम्रो गाडी राम्ररी चियाउने त्यहींका एक किराना पसले थिए। गाडीमा झूल देखेपछि विना लाज भने, 'माथि रसुवातिर मच्छर लाग्दैन, यी झूल हामीलाई दिनुस्।' त्यहाँका केटाकेटीलाई बिस्कुट बाँड्दा हात थाप्ने धेरै अधबैंसे नै थिए।

पोखराका युवा उद्यमीहरुले रसुवामा राहतका लागि ल्याएका पाल र खाद्यान्न पहिल्यै राहत पाइसकेकाहरुले 'तपाईंहरु जानुस् हामी आफैं बाँड्छौं' भन्दै कब्जामा लिएका थिए। बल्लतल्ल उनीहरुबाट फिर्ता पाएको ४० प्रतिशत सामान लिएर ती दुई राहतकर्मी पनि हामीसँगै गेर्खु पुगेका थिए। कलाकार गजुरेल र रमेश बरालले पनि सिन्धुपाञ्चोकका केही स्थानमा टाठाबाठा गाउँलेद्वारा भएका यस्तै घटना सुनाइरहेका थिए। मन्द विषसरह नेपालीमा फैलिरहेको 'म खाऊँ, मै लाऊँ' मानसिकताले समाज कुरुप र संवेदनाहीन बनाइरहेको छ।

महाभूकम्पको कहरपछि देश सम्हालिंदैछ। विपत् व्यवस्थापनमा अझ धेरै कठिनाइ छन्। विपत्को दुई सातासम्म पनि कति ठाउँमा पीडितले राहत देख्नै पाएका छैनन् भने खोसेरै दोहोरो–तेहरो बटुल्ने पनि हाम्रै वरिपरि छन्।

गेर्खुमा पनि त्यस्तै देखियो, पाल र खाद्यान्न पहिल्यै लिइसकेकाहरु समेत 'हामीले पनि पाउनुपर्छ' भन्दै अड्डी कस्न थाले। भीड निकै बढेको थियो। नाक, कान र घाँटीमा सुन ढल्काएकाहरु पनि 'यो चाहियो र त्यो चाहियो' भन्दै हारालुछ गर्न थाले। हामीले बाँडेको राहत सामग्री न सरकारको थियो न कुनै संस्थाको। देश–विदेशमा रहेका मनकारीहरुले वास्तविक पीडितसामु पुर्‍याउन व्यक्तिगत रुपमा उठाएको रकमबाट किनिएको थियो।

हुनेखानेको भीडमा म ती वृद्धालाई खोज्दैथिएँ। तर, उनी देखिइनन्। हामीले स्थानीय युवा दामोदर घिमिरेलाई आमैका लागि खाद्यान्न, ब्ल्यांकेट दिन भनेर छुट्याइदियौं। एक्लो र जसले दिन्छ उसैको घरमा बस्ने भएकाले उनलाई पाल छाड्नु परेन।

थामिनसक्नुको भीड बढेपछि बाँकी राहत सामग्री गाडीमा हालेर हामी फर्कियौं। कच्ची सडकमा धूलो उडाउँदै गाडी गुडिरहँदा मैले समाजको त्यस्तो विभेद सहेर पनि अरुका लागि सोच्ने उनै मनकारी आमैलाई सम्झों। धन भएका तर मन नभएकाहरुसँग ती आमैको तुलना गर्न पटक्कै सकिनँ।

comments powered by Disqus

रमझम