'वर्गशत्रु' भूकम्पका केही दृश्य

Share:
  
- कनकमणि दीक्षित
भग्नावशेषबाट हामीले त्यसरी नै धूलो टकटक्याउँदै उठ्नुछ, जसरी हाम्रा पुर्खा उठेका थिए।

लाखौं डिजिटल तस्वीर तथा हजारौं भिडियोले २०७२ को महाभूकम्पलाई दस्तावेजीकरण गरेका छन्। पत्रिका, अखबार, अनलाइन पोर्टल तथा टेलिभिजनद्वारा तत्कालको व्यावसायिक प्रयोग भएको छ भने फेसबुक र ट्वीटर मार्फत पूरै नयाँ हिसाबले भूगर्भको यो प्रकोपको रेकर्डिङ भएको छ।

भविष्यको लागि पनि यी तस्वीर र भिडियो उपयोगी हुनेछन्– कसरी जनता र राज्यले महसूस गरे भूकम्प, कुन खालको मानवीय क्षति पुग्यो र हाम्रो 'रेस्पोन्स्' कति दह्रो थियो भनेर। १२ वैशाखको भुईंचालो र त्यसपछिका कम्पनको प्रतिनिधित्व गर्न सक्ने तस्वीर दशौं हजार भए पनि पंक्तिकार आफ्नो नजरको भरमा पाँच फोटो र दुई भिडियो पेश गर्दछ।

बच्चा र उद्धारकर्ताः भक्तपुरमा १३ गते उद्धार गरिएको बालकको तस्वीरले धेरै कुरा झ्ल्काउँछ, २२ घन्टा पुरिएको हृष्टपुष्ट बालकलाई भत्केको भवनले पनि पूरै सुरक्षित राखेको रहेछ। उसलाई माथि उचाल्ने सैनिक जवानको स्नेहस्निग्ध अनुहारमा देश–विदेशका उद्धारकर्तामा निहित मानवता, साहस र कर्तव्यनिष्ठता झ्ल्केको छ। मिडिया फोकसमा नआएका अरू सयौंको यसरी नै उद्धार भएको छ– धरहरादेखि धुन्चेसम्म, साधारण नागरिकदेखि सुरक्षाकर्मीद्वारासम्म।

र, यो तस्वीरले गाउँ–शहरमा ढुंगा, दलिन, बिम्–पिलरले पुरिएकाहरूको सम्झ्ना पनि दिलाउँछ। मर्नेको प्राण त गइहाल्यो, कति होलान् जो थिचिएर, च्यापिएर बसेका थिए भग्नावशेषको गर्भभित्र। ज–जसको मस्तिष्क चलायमान थियो, गुहार माग्दथे, तर उद्धार आउन सकेन। सकुशल उद्धार भएको एउटा बच्चाको तस्वीरले दिवंगत भएकाहरूको सम्झ्ना पनि दिलाउँछ।

टुँडिखेलको भिडियोः सार्क शिखर सम्मेलनमा जडान गरिएका ट्राफिक प्रहरीको सीसीटीभी क्यामेराले हामीलाई धेरै कुरा सिकायो, देखायो। जस्तै, त्रिपुरेश्वरमा त्रिभुवनको सालिक कसरी बच्यो, जब उसमाथि र वरिपरिको प्याभिलियन पूरै ध्वस्त भयो। ललितपुर, बखुन्डोलस्थित समिट होटलको स्वीमिङपुलको 'सुनामी' भन्नुस् वा बसन्तपुरको नौतले दरबार ढल्दाको सयौं परेवाको चक्कर; यी भिडियोहरूले काठमाडौं उपत्यकाको सार्वजनिक र सम्पदास्थल ढल्दाको अवस्था देखाउँछन्।

टुँडिखेल र नेपाल वायुसेवाको बीचमा उत्तरतर्फ चल्दै गएको ट्राफिकको दृश्य छ एउटा सीसीटीभी क्लिपमा– मोटरसाइकल, मिनीबस र सफा टेम्पोको लस्कर। शनिबार भएकोले एउटा पावर टिलर पनि उत्तर लाग्दैछ। गाडीका भँगालोबीच उभिएका छन् ट्राफिक प्रहरी, केही सोध्न एक महिला आइपुग्छिन्। ती महिलाले टुँडिखेल गेटतिर हेरेकै बेला कम्पन शुरू हुन्छ। टुँडिखेलको 'टप हेभी' त्यो गेट गर्लम्म ढल्छ। आत्तिएकी महिला प्रहरीको हात समात्न पुग्छिन्, खतराबाट बचाउने गरी। त्यही 'मिलिसेकन्ड्' मा टिलर चालक कंक्रिट र्झ्दै गर्दा पश्चिमपट्टि उछिट्टिएको देखिन्छ। धूलोको बादलबीच प्रहरी र महिला आ–आफ्नो बाटो लाग्दछन्। माइक्रोबाट सबै झ्रेर भाग्छन्। कन्डक्टर ठिटो भाग्दा भाग्दै 'स्लाइडिङ्ग' ढोका बन्द गर्न भने सम्झ्न्छ।

पूर्वी हावाले धूलो पन्छाउन थाल्छ, धेरै मानिस गेटको भग्नावशेष छिचोल्दै टुँडिखेलतर्फ लाग्दछन्। एकजना ढलेका टिलर चालकलाई उद्धार गर्न अग्रसर हुन्छन्, अर्को सघाउन आउँछ। अरू पनि सहयोगी हात थपिएपछि चालकलाई बोकेर अस्पतालतिर लगिन्छ। कुनै दिन यो टुँडिखेल गेट वरिपरि विपत्मा परेका पात्रलाई खोजेर भेट गराउन पाए कस्तो अनुभव–अनुभूतिको साटासाट हुँदो हो! https://www.youtube.com/watch?v=QxZx4T5bPUE

भक्तपुरको त्यो 'ह्यामक' शिक्षक सुजन चित्रकारले भूकम्पपछिको एक दिन आफ्नो फेसबुकमा लेखे, 'बाल्यकालमा भक्तपुरस्थित मामाघरमा राम्रो नेपाली बोल्ने जर्मन बस्थे। ती जर्मनले माथिल्लो तलामा आरामको लागि दलिनमा 'ह्यामक' बाँधेर राखेका थिए।' चित्रकारले फेसबुकमा राखेको तस्वीरमा त्यो झोलुङ्गे बिस्तरा बुईगलको दलिनमा साबुत देखिन्छ, तर बाँकी घर ध्वस्त।

तस्वीर एउटा मार्मिक निजी दस्तावेज त हुँदै हो। यसमा भक्तपुर र पूरै नेपालप्रति विदेशीहरूको लगाव पनि प्रतिबिम्बित हुन्छ। यो लगाव 'टुरिस्ट डेस्टिनेशन' सँगको अल्प सम्बन्ध नभई लामो र गहिरो हुने गर्छ। वास्तवमा, नेपालप्रति संसारको 'परक्यापिटा गुड्विल' अन्य कुनै पनि देशको भन्दा बढी छ, यो नेपालको पूँजी हो।

भक्तपुर शहरको सम्पदा तथा सर्वसाधारणको 'स्ट्रिटस्केप' बचाउन जर्मन अनुदानको रूपमा भक्तपुर विकास परियोजना (बीडीपी) आएको थियो, सन् ७० को दशकमा। त्यही बीडीपीले भक्तपुरलाई मनमोहक बनाइराखेको थियो भने अब यो प्राचीन शहरको पुनर्जागरण कसरी हुन्छ, अब विदेशीको मुख नहेरी लाग्नुपरेको छ।

बुङमती पुनःनिर्माणः डेनिस दूतावासका कूटनीतिज्ञ यान मोलर हान्सन्ले यसअघि नेपाली जनमानसको मानवीय संवेदनशीलता झ्ल्काउने धेरै तस्वीर खिचेका र प्रदर्शन गरेका छन्। महाभूकम्पपछि उनैले बुङमतीमा खिचेको यो दाजु–बहिनीको तस्वीरले विपत्बाट फुर्तीका साथ पुनर्जागरण हुने क्षमता दर्शाउँछ। भूकम्पले ढाल्न खोज्दा पनि नढल्ने, आफ्नै बलबुतामा पुनःनिर्माण गर्ने मुलुक र जनताको अठोट र क्षमता दर्शाउँछ।

दाजु–बहिनीले ठड्याएको इमारतको ईंटा नियाल्ने हो भने यसको तलतिर राणाकाल र तत्पश्चात्को 'देसी' ईंटा छन् भने माथितिर त्यसअघिको ऐतिहासिककालमा प्रयोग भएको अलि पातलो र चौडा रैथाने ईंटा छन्। अब ऐतिहासिक बुङमतीले आफ्नो पुनःनिर्माणमा परापूर्वकालदेखिका भाव र आधुनिक युगको मागबीच सामञ्जस्य कायम गर्नुपरेको छ।

प्रताप मल्लको हातः चर्चित फोटोपत्रकार दीपेन्द्र बज्राचार्य भुईंचालो पश्चात्को मानवीय तथा सम्पदाको क्षति रेकर्ड गर्नमा जुटे, र यस फोटोले दुवै पक्ष दर्शाउँछ। १७औं शताब्दीका काठमाडौंका 'सांस्कृतिक राजा' प्रताप मल्लको प्रार्थना मुद्राको मूर्ति २५ फुटको शिलास्तम्भमा काठमाडौं दरबार प्राङ्गणमा अवस्थित थियो। पाटनका सिद्धिनरसिंह मल्ल आफ्नो शिलास्तम्भबाट विस्थापित भए जस्तै भयो प्रताप मल्ललाई। शिलाको शीर्षभागले पूरै मूर्ति किचिंदा मात्र प्रताप मल्लको दाहिने हात देखापर्दछ, जसमा कालिगडले नङको रेखा समेत जीवित पात्रको जस्तो गरी बनाएको हामी देख्दछौं। नेपालको कालिगडी तथा वर्तमान मानवीय प्रकोप र विशेषगरी थिचिएर, च्यापिएर ज्यान जानेहरूको अवस्थाको प्रतिनिधित्व यस तस्वीरले गर्दछ।

दुई खापा, ओखरपौवाः काठमाडौंलाई बीचमा पारेर पूर्व र पश्चिम भूकम्पका केन्द्रबिन्दु रहे। उपत्यका शहरका भित्रीभाग जस्तै वरिपरिका गाउँघर ध्वस्त भए। विकास रौनियारको यस तस्वीरमा घर ढलिसकेको छ, तर दुई खापा पुनःनिर्माणको पर्खाइमा रहेका देखिन्छन्।

संसार डुवायो! को बाँच्यो, को मर्‍यो! दोलखा र सिन्धुपाल्चोक एक हिसाबले सम्पन्न जिल्ला, जहाँ जलविद्युत्को भण्डार छ, सामुदायिक वन अभियानको सुरुआत भयो। त्यहीं फेरि च्छो–रोल्पा हिमताल फुट्ला भन्ने त्रास, गत वर्षको जुरे पहिरोको विनाश। १२ वैशाखको झ्ट्का बेहोरेको यस क्षेत्रले १३ र २९ वैशाखमा पनि ठूल्ठूला कम्पन थेग्नुपर्‍यो। यस भूकम्पलाई 'विपन्न वर्गशत्रु' को संज्ञा दिन मिल्छ किनकि यसको विशेषता रह्यो– माटोको गारो रहेका शहर र गाउँका घरटहरा भत्काइदिने।

चूर्णप्रसाद श्रेष्ठको हातेफोनको क्यामेराले सिन्धुपाल्चोकको जलवीरे गाविसका डाँडापाखा देखाउँछ, १२ वैशाखमा भूकम्प जाँदाजाँदै। लेन्स् यता र उता मोडिंदा युद्धमैदानमा मोर्टार तोपको बमबारी भएजस्तो ठाउँ–ठाउँमा धूलोको फोहोरा उठेको देखिन्छ। धूलोका बादलले भत्किंदै गरेका घरघडेरी दर्शाउँछ, जसमा विपन्न गाउँले परिवारको ज्यान खतरामा परेको छ र बस्तुभाउ, अन्न र बीउ भण्डार ध्वस्त भएका छन्। www.youtube.com/watch?v=dc7mq4jkYTA डाँडाकाँडाका बासिन्दा कसरी सम्हालिन्छन्, कतिले आफ्नै थलोमा पुनःनिर्माण गर्लान्, रहनसहन र जीविकामा के–कस्तो फेरबदल आउला, आगामी दिनमा देखिने नै छ। यी तस्वीर र भिडियो सबैले सन्देश दिएको छ– भूगर्भ हल्लिन्छ, मानवीय क्षति पुग्छ। इतिहासकालदेखिको यो रितबाट हाम्रा पुर्खा धूलो टकटक्याउँदै आफैं उठेका थिए। हामी पनि उठ्नेछौं।

comments powered by Disqus

रमझम