३-९ जेठ २०७२ | 17-23 May 2015

निन्दक व्यवस्थापन

Share:
  
- महेश थापा
महाभूकम्पले मच्चाएको ताण्डवमाथि उर्लिएको निन्दाको उफान 'रिलिज' गर्ने घच्चीको उपाय छ।

“तुइलामे सरकार भएको देश अब कसरी उठ्दो र'छ हेरम्ला!”

“बिजुलीको खाँबो उठाउन नसक्ने देशले कसरी ठड्याउँछ धरहरा?”

“एउटा गणतन्त्र स्तम्भ बनाउन नसक्ने नेताले सम्पदा बनाउने रे!”

सरकार र राजनीतिक नेतृत्वलाई खुइल्याउने निन्दकहरू यतिबेला बडो डटान्मा छन्। गीताङ्गे सूरदासले समेत रसहरूको सरदार मानेको निन्दारसको प्रताप यहाँका बेसुराहरूमा नपर्ने कुरै भएन। अभाव, अफाप, अनिष्ट र अकर्मीहरूको उर्वराभूमि नेपाल उँभौली यात्रामा लम्कनै नसक्ने ठोकुवा गर्दै पेटुजीदेखि निरामिष ढाँचाका निन्दकहरू निन्दाको सागरमा अभूतपूर्व उत्साहका साथ हेलिएका छन्।

निन्दकहरूको कोटरी उस्तै देखिए पनि सूक्ष्म विश्लेषण गर्दा यिनलाई बाह्रमासे, मौसमी, हुइयाँ र टपरटुइयाँ गरी चार श्रेणीमा विभाजन गर्न कर लाग्छ। बाह्रमासेहरू उपल्लो कोटिका निन्दक हुन्। योग्यता र ज्ञानयुक्त यिनीहरूले निन्दालाई गजब व्यवसाय बनाएका छन्। निन्दास्त्र प्रहारमा विशिष्टता हासिल गरेका यिनीहरू राजनीतिक दल, गुट, उप–गुट आदिलाई लाभ/हानि पुर्‍याउन तैनाथ हुन्छन्। शब्दको बान्की मिलाएर बाह्रमासेहरू बम्कन्छन्, “भूकम्प पीडितको उद्धारमा सुरक्षा संयन्त्र उम्दा देखियो, तर त्यो राज्य नामको नाडर खोइ?”

मौसमी निन्दकहरूलाई भने अमूकवाद, विचार वा राजनीतिक रंगसँग बालै हुन्न। यिनीहरू आफ्नो पेशा–वा व्यवसायको शुभलाभ निम्ति निन्दाबजार चलाउँछन्। नाफा/नोक्सानप्रति विचारी भई तीर सोझयाउनुपर्ने हुँदा यिनीहरू पल्टा खानमा माहिर हुन्छन्। मौसमी निन्दकहरू झयाली पिट्दा छन्– सरकार भ्रष्ट, राजनीतिक नेतृत्व जाली, कर्मचारी बेइमान र नागरिक समाज लम्पट भएकाले नेपाली स्वयंले अब नेपाल बनाउनै सक्दैनन्। उसो'भे कसले नापिदिन्छ त? उनीहरू भन्छन्, “त्यो ल्याकत विदेशका दाता–भ्रातासँग छ।”

नभन्दै, मौसमी निन्दकहरू अहिले राहत तथा पुनःनिर्माणको एकद्वार नीति विरुद्ध कन्दनी कसेर लागेका छन्। उनीहरूलाई जसरी हुन्छ, प्रधानमन्त्री राहत कोषको विश्वसनीयतामा बट्टा लगाउनै परेको छ, अहिले। मौसमी महोदयहरूका लागि कागजी विकास गर्ने नानाथरि संस्था विश्वसनीय, जनप्रतिनिधि र सरकार चाहिं अविश्वसनीय। यिनलाई डामेको साँढे झैं हरियो चउरमा चरचर्ती चर्न जो बितेको छ।

जे भन्दा हौवा मच्चिन्छ, तदनुरुप दुन्दुभि बजाउनु हुइयाँहरूको जातीय गुण हो। आफ्नो अभीष्ट अनुसार सरकारी निकायहरूको दोहोलो काढ्नु यिनको दैनिक उद्यम हो। हुट्टिट्याउँले सगर थामेको ठान्ने हुइयाँहरू अहिले यति वटा गाउँमा घर बनाइदिने, उति वटा जिल्लालाई उक्सेरो लगाउने, यति सय मान्छेको पालनहार बनिदिने लगायतका खोकानग्रस्त देखिन्छन्। लास्टाँ गएर यिनीहरूले दीनबन्धु पण्डितको सप्ताहमा दानवीर भई टोपल्ने दातारूप धारण गर्ने पक्का छ। उनीहरूको अन्तिम खोकी हुनेछ– “पुनःनिर्माण त जुलूमसँग गर्दिन्थें, तर क्यार्नू? राज्यले गरिखानै दिएन।”

महाभूकम्पपछिको सनसनीपूर्ण मौसममा सामाजिक सञ्जालदेखि चोक–गल्लीका चियापसलसम्म व्यापकिएको टपरटुइयाँहरूको अर्को टोली छ। यो निन्दक टोली तीन–त्रिलोक, चौध–भुवन कतै राम्रो देख्दैन। राज्यका अवयव त भालुभुत्ते भइगए, सिङ्गो समाजलाई भ्रष्टहरूको भकारो ठान्छ, यो समूह। स्यालहरू सिनोको जोहोमा लागे झैं यो समूह अहोरात्र नकारात्मक समाचारको खोजीमा खट्छ र सुसमाचार प्राप्त भए पनि त्यसलाई कुसमाचारमा रूपान्तरण गरी चौतर्फी बनाउँछ।

घरको फोहोर सडकमा छारष्ट पारेर कुकाउँछन्– “यस्तो निकम्मा राज्यमा मैले मात्र सफा गरेर के हुन्छ?”

टोलका भुस्याहा कुकुरले उक्त फोहोरलाई गिजोलेको तस्वीर 'अपलोड' गर्दै टपरटुइयाँहरू ट्वीट्छन्– 'भूकम्पले रहम गरेकाहरूलाई पनि महामारी फैलाएरै मार्ने भो यो सरकारले!'

मण्डली राहत वितरण स्थलहरूमा हूलहुज्जत गर्दै भ्याएसम्म सामग्री सोहोर्न खटिरहेका हुन्छन्, टपरटुइयाँ। आफ्नो दुरुस्त घरको छताँ राहतको पाल टाँगेर ओत लाग्दै फेसबुकाँ भँडास पोख्छन्– 'राहत वितरणमा घपलाको बबाल, राज्यले दिएन भूकम्प पीडितलाई एउटा त्रिपाल!'

गम्भीरतापूर्वक गम्ने हो भने यतिबेला नेपालमा उद्धार, राहत र पुनःनिर्माण भन्दा ठीक अढाइगुणा कठिन समस्या बनेको छ सलह झैं सल्बलाएका निन्दकहरूको व्यवस्थापन। यिनको व्यवस्थापन नकारात्मक जिनिसलाई सकारात्मक प्रयोजनमा उपयोग गर्ने फर्मूला फिट नगरी गर्न सकिन्न। त्यसका लागि तत्कालै एउटा निन्दक प्रतियोगिता आयोजना गरेर अब्बल भएका निन्दकहरूलाई झ्ट्पट् 'इपिसेन्टर' तिर पठाउनुपर्छ। त्यसपछि महाविपत्बाट उक्सिन प्रयत्नरत समाजले त्राण पाउने त छँदैछ, अब्बल निन्दकहरूको निन्दाबाट अत्तालिएर भूकम्पले नै यो भूगोलबाट टाप कस्ने बोनस फाइदा पनि प्राप्त हुन बेर लाग्ने छैन।

comments powered by Disqus

रमझम