मजलिसको आँखा– १४ (बागदरबारका दुई मन्दिर)

Share:
  

९० वर्ष जति अघि धरहराको माथिबाट ती अंग्रेज फोटोग्राफरले काठमाण्डू शहरका जे–जस्ता दृश्य खिचेका छन् तिनमा त्यसै धरहरामुनिको गिर्दा बाहिरका दुई तीनोटा फोटोहरूले हामीलाई बताउँछन् हामीले हाम्रो राजधानीलाई कति फेरेछौं। ती फेरफार र 'संशोधन' कति असल या खराब भए भन्ने फैसला दिने अधिकार सके यस स्तम्भलाई छैन। त्यसै हुँदा राम्रो नराम्रो क्यै नभनी कुरो मात्र कोट्याऊँ।

सुन्धारा–धरहराको दक्षिणपट्टि मुख्तियार भीमसेन थापाको निवास थियो 'जनरल बाग' (जनजिब्रोमा 'बागदरबार')। त्यस दरबारको प्रशस्ति उसै बेला कवि यदुनाथ पोखरुर्‍यालले गरेका छन्। बाबुराम आचार्यको 'पुराना कवि र कविता' (१९९९) मा ती कविका 'स्तुति पद्य १' मा बडीबाग भनेर बागदरबारको वर्णन पढ्न पाइन्छ १२/१५ श्लोक। एउटा श्लोक हेरूँ नमूनास्वरूप :

“बडी बागमाहा बडी शिश्रुमहल्रुको

बखान् क्या नगर्नू बन्याका पहल्रुको।

अनेक् लालटेन् छन् फनुस् मोमबाती

दिनैझै उज्यालो जहाँ हुन्छ राती।।” ...इत्यादि।

पहिले र अहिलेः भीमसेन थापाको निवास 'जनरल बाग' परिसरका दुई मन्दिर शिव र राधाकृष्ण।

कपिल तिमिल्सिना

त्यो बागदरबार अब छैन। भीमसेनको पतनपछि कैले कसको कब्जामा आयो इतिहास क्यै बोल्दैन। तर, भीमसेनको अन्त्यपछि उनी र उनका शाखासन्तान सबैको सर्वस्वहरण भयो। हरण भएका सम्पत्तिमा सरकार लाग्यो। त्यतिबेला सर्वेसर्वा भएकी जेठी (?) महारानीले बागदरबार माहिला साहेबज्यू उपेन्द्रविक्रमलाई बकस दिइन्। पछि यो उनका सन्तान रामराजाको भयो, त्यसपछि श्यामराजा, शंकरराजाको स्वामित्वमा पुगेका बखत त्यो दरबार परिसर महाराज जुद्धशमशेरका हातमा आयो, सके बिक्री नै भएर। अनि उनले त्यो आफ्ना साहिला छोरा हरिशमशेरलाई बकस दिए अंशका रूपमा। श्री ५ महेन्द्रकी रानी रत्नाको बाल्यकाल त्यहीं बितेको हो, त्यो बुबाको दरबारमा (२००७ सालमा त्रिभुवन नेपाल छाडेर जाँदा नाति ज्ञानेन्द्र समेत त्यही बागदरबारमा पालिएका थिए)। सात सालपछि त बागदरबार टुक्राटुक्रा भएर बिक्री हुन थालिहाल्यो। दर्जनौं भवन ठडिएका छन् ऐले त्यहाँ। पैले निकै वर्ष अर्थ मन्त्रालयले चर्चेको एउटा सानो भाग मात्र यतिखेर काठमाडौं महानगरपालिका भएर पुरानो गौरव कायम राखिरहेछ।

यी सबै कुरा आजको हाम्रो विषयवस्तुसँग सम्बन्धित होइनन्, सान्दर्भिक भएर मात्र आएका हुन्। हाम्रो आजको विषय भनेको त्यस कम्पाउण्डमा ठडिएका दुइटा मन्दिर मात्र हो (हेर्नू फोटो)। ती दुईमध्ये एउटा मन्दिर शिवको हो, अर्को विष्णुको। शिवको मन्दिर भीमसेन थापाले निर्माण गरेको हो। भीमसेन थापाको शिलापत्रले नै त्यो प्रमाणित गर्छ। त्यो शिलापत्र त्यसै मन्दिरको उत्तरतिर निर्मित पाटी (धर्मशाला) को भुईंतलामा स्थापित थियो भन्छन् भीमसेन सन्तति (भीमसेनका भाइका सन्तान) अर्थशास्त्रका प्राध्यापक सुशीलविक्रम थापा। ऐले त त्यो शिलापत्र खण्डित र बेवारिसे रूपमा शिव मन्दिरको उत्तर पेटी मुन्तिर भुईंमा लडेको देखिन्छ। १८७९ सालमा स्थापित त्यो शिलापत्र भन्छः

“स्वस्ति श्री शालिवाहनशाके १७४४ श्रीविक्रमादित्य संवत् १८७९ साल फागुनका दिन १७ जाँदा बुधबार चैत्र कृष्ण २ का दिं सहर कान्तिपुरमा श्री जनरल भींसेन थापा आफूले बनायाका जनरल बागमा श्री भीमभक्तेश्वर महादेवको स्थापना गरी देवालय आभूषण संपूर्ण बनाई देवताका निमित्त नित्य नैमित्तिक पर्व पर्वका पूजा जोगी सन्यासी फकिरलाई नित्य सदावर्तलाई गुठी पूजाहारी टहलुवा गुठियार साझ बिहान भजन गर्न्या बाजा बजाउन्या बढार्न्या के षानगी षर्चको तजबिज गरी षेत षुवा गुठी राष्याको...”

यी सबै कार्यका लागि भीमसेन थापाले राखेको 'खेत खुवा' को संख्या यति धेरै छ त्यो ऐलेका हिसाबले बताउनै सकिन्न। ती सबैको नामनामेसी र क्षेत्रफल त्यो शिलालेखमा दर्ता छ। तर ती सबै ऐले कहाँ छन्, कसको जिम्मा, कसको स्वामित्वमा? गुठी संस्थानको लगतमा त छ रे यो मन्दिर तर त्यसको पूजाआजाको जिम्मा गुठीले लिएको देखिंदैन। भए पनि, मन्दिरमा बिहान बिहान एकसरो पूजा भने त्यहीं नजिकैको नेवा किचेनकी साहूनीले गराइराखेको बुझिन्छ।

खण्डित र बेवारिसे रूपमा शिव मन्दिरको उत्तर पेटी मुन्तिर भुईंमा लडेको भीमसेन थापाको शिलापत्र।

त्यो त भयो शिवमन्दिरको कथा। सँगैको मन्दिरचाहिं राधाकृष्णको हो भनिन्छ तर पूजा गर्नेबाहेक त्यहाँभित्र अरूको प्रवेश निषेधित छ। ढोकामा ताल्चा मारेको छ! त्यहाँ वरपर कुनै शिलालेख पनि कतै देखिन्न। त्यो मन्दिर भीमसेन थापाले राखेको हैन रे! प्रा. सुशीलविक्रमको भनाइमा त्यो चाहिं भीमसेनको पतनपछि बागदरबारका मालिक भएका उपेन्द्रविक्रम साहेबज्यूले निर्माण गरेका हुन्। त्यस मन्दिरको बाहिरपट्टि पूर्वमा गरुड र हनुमानका पत्थरका दुई मूर्ति छन्। तिनलाई रातो वस्त्रले बेरिएको देखिन्छ बाहिरबाटै। तर त्यहाँ जाने ढोकामा समेत ताल्चा मारेको फेला पर्छ! शिव मन्दिरमा त नब्बेसालको भैंचालोले अलिकति चर्किने बाहेक अरू ठूलो क्षति भएनछ। तर विष्णुमन्दिरको भने माथिल्लो भाग नै ढालेछ। महाराज जुद्धशमशेरले उपत्यकाका अरू भत्के–बिग्रेका मन्दिरहरूको जीर्णोद्धार गराउँदा यो विष्णुमन्दिरको पनि एक तला घटाई पुनरुद्धार गरिएको हो भन्छन् वरिपरिका बूढापाकाहरू। केही वर्षअघिसम्म 'बाग गुठी' भन्ने शाहहरूको एउटा संस्थाको जिम्मामा थियो त्यो। तर गुठी संस्थानले हात हालेपछि भने ऐले बेवारिसे जस्तो रहेको बुझिन्छ।

माथि नै भनियो शिवमन्दिर चाहिं भैंचालामा भत्किएन, चिरियो मात्रै। तर चिरिएका ठाउँबाट वर्षाको पानी छिरेर रहँदाबस्दा पीपलहरू उम्री मन्दिरमा नराम्रोसँग खती गरुर्‍यो। त्यो देखेर थापा खलककै केही व्यक्तिहरू मिली खडा गरेको 'राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान' ले धेरै श्रम र धन लगाई मन्दिरलाई पुरानै रूपमा फर्काएको हो भन्छन् प्राध्यापक सुशीलविक्रम। अभिलेखका लागि गत वैशाख १२ को भूकम्पपछिको दुवै मन्दिरको फोटो पनि माथि दिइएको छ।

comments powered by Disqus

रमझम