३-९ जेठ २०७२ | 17-23 May 2015

भुङ्ग्रोमा पर्ने डर

Share:
  
- मिलन बगाले
भूकम्पले चिराचिरा परेका घरहरूलाई विज्ञले नजाँची टालटुल गरेर बस्दा 'तावाबाट भुङ्ग्रो' को नियति भोग्नुपर्ने हुन सक्छ।

मिलन बगाले
१९९० सालको महाभूकम्पको धुमिल कथा सुन्दै हुर्किएको पुस्ता २०७२ सालको वैशाख दोस्रो साता अकल्पनीय कम्पनको भुक्तभोगी बन्न विवश भयो। दिन बित्दै जाँदा विनाश विवरण बढ्दो छ। गृह मन्त्रालयको ३१ वैशाखसम्मको विवरण अनुसार निजी र सार्वजनिक गरी पूर्ण क्षति भएको घर संख्या ४ लाख ८८ हजार ५२९ छभने २ लाख ५९ हजार ८९७ घरमा आंक्षिक क्षति पुगेको छ। ज्यान गुमाउने नेपालीको संख्या ८ हजार ३०९ पुगेको छ।

९० सालको भुईंचालोमा झैं यसपालि पनि भाग्यवश पशुपति क्षेत्र अलि जोगिएको छ। सम्पदा स्थलबाट एउटा ईंटा र्झ्दा पनि दुख्ने मनहरू यसपालि भग्न भएका छन्। आँखा अगाडि ईंटा, माटो र टायल आदिको रूपमा सम्पदाको थुप्रो लागेको छ। एकैछिन हल्लिएको पृथ्वीले मान्छे, तिनका सम्पत्ति, सन्तति र सम्पदालाई सोत्तर पार्‍यो। मलमविना समय मात्रै बित्यो भने घाउ निको हुन्न। यतिबेलाको चासो यही हो। राहत, पुनर्स्थापना, पुनःनिर्माण र चेतना विस्तारको पहल कमजोर बन्नुहुन्न, अब।

तावाबाट भुङ्ग्रो!

महाभूकम्पको ६ दिनपछि म तनहूँ र लमजुङ पुगेको थिएँ। लमजुङको सोतीपसल बजारका ढुंगा–माटोका घरहरू चर्किएछन्। त्यहाँ सबै क्षतिको प्रकृति ठ्याक्कै एउटै छ। ढुंगा कुँदेर, माटोको राम्रो मसाला (कुसुम―भुस, पराल, खर र चिम्ट्याइलो माटोको मिश्रण) हालेर, ठाउँठाउँमा नस राखेर, दुई गारोबीच जोर्नीहरू राम्ररी बाँधेर बनाई लिपपोत गरिएको गारो अलिअलि चर्किएको मात्रै छ। तर, कोठा पुगेन भन्दै बेढंग साथ गाँसिएका नयाँ घर र कोठाहरू लडेका छन्। गोला, चेप्टा, बाङ्गाटिङ्गा ढुंगालाई गिलो माटोमा टाँसेर उभ्याइएका, पुराना किसिमका घरहरूमा गारोलाई दलिनले नबाँधिएको भाग ढलेका छन्। घर बनाउनेहरूको स्वीकारोक्ति छ― लापरबाही साथ लगाइएका गारो भुईंचालोले छानीछानी फाले झैं भयो।

तनहूँको क्यामिन, कमलटारीमा त भग्नावशेषलाई भत्कनु अगाडिको शैलीमा उभ्याउन खोजिएको पनि देखियो। किन त? त्रिपाल एकादेशको कथा भैगो, राहतभन्दा पहिला बर्खा आउँछ। त्यसकारण, जति सक्यो छिटो लडेको घरलाई टालटुल पारेर बस्ने। अभावमा अचेतना मिसिएपछि मान्छे मृत्युलाई सिरानी हालेर सुत्न बाध्य हुन्छ। यो अवस्था महाभूकम्पबाट बेस्सरी प्रभावित अरू जिल्लाहरूमा पनि देखिएकै होला। काठमाडौंमा त कतिपय हाउजिङले हतार–हतार टालटुल थालेका समाचार पहिल्यै आएको थियो। तर, भाँचिएको हड्डी बाहिर छाला सद्दे भएर हुँदैन। भत्केका पर्खाललाई विना जग मर्मत गरेको थुप्रै ठाउँमा देखिएको छ। त्यो हड्डी बाहिर छाला टालेको जस्तो मात्र हो। यसमा सरकारी निकायको ध्यान जाओस्।

बर्खायाममा खोला नाच्ने बगरछेउ बस्ती बढ्ने क्रम अब शुरू हुन सक्छ। नदी किनारै किनार खोलिएका सडकहरूमा देशैभर बस्ती बसेको छ। सुरक्षित घडेरी छोडेर सडकतिर बस्ती सर्ने खतरा यो महाभूकम्पले झ्न् बढाएको छ। मेरै छिमेकी ओझ्ा गाउँको एक घर बाहेक सबै खोलाछेउको पाखुरी चोकमा झ्रेछन्। जबकि, गाउँको जमीन भास्सिएको, चिरिएको क्यै छैन। भत्केको ढुंगा–माटोको गारो हो, जमीन हैन। खोलाछेउको पाखो र बगर हिउँदमा सुरक्षित जस्तो देखिए पनि बर्खामा ठाडो खोलाले गर्ने विध्वंसबारे गाउँलेले विचारै नगरेको देखिन्छ। अन्यत्र पनि खोलाछेउमा बस्ती सरेको समाचार आएको छ। यसले दार्चुलाको दशा निम्त्याउने खतरा छ। भुईंचालोले हल्लाएर त्यसै पनि जमीनलाई कमजोर पारेको छ। यसपालिको बर्खायाममा बाढी–पहिरोले पहिलेभन्दा बढी बिगार गर्ने आकलन सहजै गर्न सकिन्छ।

भुईंचालोको पराकम्पन शान्त हुँदै गर्दा बर्खायामलाई ध्यानमा राखेर मजबूत स्थानमा सुरक्षित आवासको प्रबन्ध मिलाउने, पालमा बसेकालाई पानी छेक्ने छानोको व्यवस्था गर्ने र बगरलाई बजार बन्नबाट रोक्न सबैको ध्यान जाओस्। तावाबाट उम्केर भुङ्ग्रोमा पर्ने अवस्था रोक्नेहरूको जय होस्!

comments powered by Disqus

रमझम