यसैगरी, महाभूकम्पपछि घरबारविहीन बनेका धमिलीकुवा गाविसका भोजराज चिलुवालले बाँस र त्रिपालबाट अस्थायी घर बनाइसकेका छन्। उनले पालको भए पनि आउँदो वर्षात्लाई समेत ध्यानमा राखेर परिवार अनुसार कोठा र चूला समेत बनाएका छन्। आफ्नो लागि कोही आएर घर बनाइदेला भनेर बस्दा बर्खामा बिजोग हुने देखेर आफैं जाँगर चलाएको उनी बताउँछन्। “फेरि सबैतिर उस्तै छ, कसले कसको घर बनाइदेओस्!” भोजराजले भने, “सरकारले त पछि सहयोग गर्दा पनि हुन्छ।” हुन पनि, लमजुङमा मात्र ११ हजार २८२ घर भत्केको जिल्ला दैवी प्रकोप उद्धार समितिको पछिल्लो तथ्यांकले देखाउँछ। उद्धार समिति आफैं कसरी पुनःनिर्माण गर्ने र सरकारको विशेष कार्यक्रम कहिले आउला भनेर पर्खिरहेका बेला गाउँतिरका भूकम्प पीडितहरू आफैं घर बनाउन कस्सिएका छन्।
हामी मगन्ते होइनौं
पाल, खानेपानी, लत्ताकपडा, चामल, चाउचाउ लगायतका राहत सामग्री लिएर लमजुङको तार्कुघाट आएको ट्रकबाट स्थानीयवासीले पाल मात्र लिए। स्थानीय समाजसेवी विष्णुमाया धितालका अनुसार, बाँकी कुनै पनि सामान नलिई ट्रकलाई भूकम्पबाट बढी प्रभावित ठाउँमा जान भन्दै फिर्ता गरियो। “घर–घरमा खानेपानी पुगेको छ, अन्नको भकारी जोगिएकै छ”, विष्णुमायाले भनिन्, “त्यसकारण, पाल बाहेक अरू सहयोग लिएनौं।”
चिती गाविसका भूकम्प पीडितहरूले घर–घरबाट चामल संकलन गरेर खाद्यान्न नपुगेको ठाउँमा पठाउन जुटेका छन्। घर भत्किएर पालमा बसिरहेका चितीका रुद्रनिधि तिवारीले आफूहरूसँग भएको चिज नभएका अरूलाई दिन पाउँदा सबैलाई खुशी लागेको बताए। दक्षिण–पश्चिम लमजुङको भोर्लेटारका श्रीकृष्ण लामिछाने आफूहरूले सरकारलाई घर बनाइदेऊ नभनी सहुलियतको ऋण सहयोग गर मात्र भनेको बताउँछन्। “अरू खर्च आफ्नै बलबुतामा जुटाएर आफ्नो घर आफैं बनाउन हामी सक्षम छौं, समयसालमा ऋण पनि तिर्छौं”, श्रीकृष्णले भने, “हामी न मगन्ते हौं न त कसैले सित्तैंमा बनाइदिएको घरमा बस्नु छ।”
भलायखर्कका वेदप्रसाद रिजालले आफूहरूलाई पनि सरकारी राहत चाहिएको, तर बढी क्षति पुगेकाहरूले त्यस्तो सुविधा पहिले पाउनुपर्ने बताए। गाउँघरमा समस्या पर्दा एकले अर्कोलाई सहयोग गर्ने परम्परा रहेको र बढी पीडामा परेकाले पहिले मलम पाउनुपर्ने उनको भनाइ छ। त्यस्तै, जेष्ठ नागरिक संघ लमजुङका अध्यक्ष पशुपतिनाथ न्यौपानेले नेपालीहरूको यो विशेषता यसपालिको महाभूकम्पपछि देशैभर देखिएको विभिन्न उदाहरण दिए। “विपत्तिमा पनि सबैले ठूलै मन देखाएका छन्”, उनी भन्छन्।
लम्बिंदो राजनीतिक संक्रमणसँगै दलीय रूपमा विभाजन हुँदै गएका लमजुङेहरू अहिले एकैठाउँमा उभिएका छन्। भार्ते गाविसको बेलघारीस्थित रत्न प्राविकी शिक्षिका सरस्वती पण्डितले प्राकृतिक विपत्तिको बेला सबै आफ्नो भएको बताउँछिन्। लामो समयदेखि टाढा–टाढा बसेका परिवारका सदस्य र आफन्तहरूलाई पनि यो महाभूकम्पले मिलन गराइदिएको बताइन्।