३-९ जेठ २०७२ | 17-23 May 2015

भूकम्पपछि तुरुन्त अल्ट्रासाउण्ड

Share:
  
- डा. सुमनराज ताम्राकार
महाभूकम्प पीडित गर्भवतीहरूले पहिल्यै अल्ट्रासाउण्ड गराइसकेको भए पनि गर्भे शिशुको अवस्था बुझ्न यथाशक्य चाँडो फेरि एकपटक अल्ट्रासाउण्ड गराउनै पर्छ।

१२ वैशाखको महाभूकम्पपछि काठमाडौं उपत्यकाका प्रसूति गृह र नर्सिङ होमहरूमा बढेको गर्भवती महिलाहरूको चाप राम्ररी घट्न नपाउँदै र २९ गतेको अर्को ठूलो कम्पनले गर्भमा मृत शिशु लिएर आउने संख्या फेरि एकपटक ह्वात्तै बढायो।

चिली र हाइटीमा ठूल्ठूला भूकम्पपछि गरिएका अध्ययनहरूले समयभन्दा अगावै र कम तौलका बच्चा पाउने महिला अत्यधिक देखाएका थिए। नेपालमा भने गर्भभित्रै शिशु मरेको 'केस' बढी पाइयो, जुन निःसन्देह रूपमा खतरनाक संकेत हो। यसको सटिक कारण अहिले नै भन्न नसकिए पनि एक्कासीको कम्पनबाट उत्पन्न त्रासले गर्भवती महिलामा उत्पन्न तनावले गर्भे सालमा चाँडै बेथा लगाउने एकखाले रसायन उत्पादन भएर रक्त प्रवाह घट्दा यस्तो भएको विश्वास गरिएको छ।

गर्भमै शिशु मर्नुभन्दा कम खराब स्थितिमा शिशु समय अगावै जन्मन सक्छ। आमालाई समयअगावै बेथा लागेर जन्मेका वा कम तौलका शिशुले दूध तान्न सक्दैनन्। त्यस्ता नवजात शिशुको शरीरमा ग्लुकोजको कमी भएर तापक्रम व्यवस्थापन गर्न सक्ने क्षमता न्यून हुन्छ। जण्डिस, फोक्सोमा विभिन्न खाले संक्रमण, क्याल्सियमको कमी आदिका कारण त्यस्ता शिशुको मृत्युदर बढ्छ। गर्भावस्थाको जाँच गराउन जाने चलन भर्खर शुरू भएको नेपालमा यस्तो सेवा पाइने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू पनि कमै रहेकोमा ती सब महाभूकम्पको चपेटामा परे।

महाभूकम्पपछि सबै घरबारविहीन भएकोले गर्भवतीहरू पनि पालमुनि पुगेका छन्। पालको बासमा खानपिन र आरामदेखि नियमित गर्भ जाँचसम्मको कुरा बेठेगान हुन पुगेको छ। त्यसमाथि, लगातार आइरहेको पराकम्पन र अझ् ठूलो भूकम्प आउँदैछ भन्ने जस्ता बेतूकका हल्लाले पार्ने मानसिक त्रासको दबाब छ। यसले गर्भको शिशुलाई नकारात्मक असर पार्ने नै भयो। यो अवस्थामा जति नै हप्ताको गर्भ भए पनि र पहिले नै गराइसकेको भए पनि गर्भवती महिलाहरूले आफ्नो गर्भमा शिशुको स्वास्थ्य कस्तो छ भनेर नजिकको स्वास्थ्य संस्थामा एकपटक भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गराइहाल्नु बुद्धिमानी हुन्छ।

सामान्यकालमै पनि ४० हप्ताको गर्भ अवधिमा कम्तीमा चारपटक गर्भ जाँच गराउनैपर्छ। गर्भको अवस्था थाहा पाउन तथा बेथा लाग्दा र सुत्केरी भएपछि आमा र नवजात शिशु पूर्ण स्वस्थ रहुन् भन्नका लागि गर्भवतीको नियमित जाँच गरिन्छ। गर्भ रहेदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्तासम्मको अवधिलाई दोस्रो त्रैमासिक र २९ हप्तादेखि ४० हप्तासम्मको अवधिलाई तेस्रो त्रैमासिक भनिन्छ। हरेक जाँचमा गर्भवतीको तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता र खुट्टा सुन्निए/नसुन्निएको जाँच्नुपर्छ। सँगसँगै गर्भवती महिलाको शरीरमा हेमोग्लोबिनको अवस्था कस्तो छ भनेर हेर्नुपर्छ। मधुमेह, हेपाटाइटिस बी, एचआईभी लगायतका रोगहरू नभएको निर्क्योल गर्ने ल्याब परीक्षणहरू पनि गराउनुपर्छ।

गर्भवती महिलालाई मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग छ भने कलेजो, मिर्गौला, रगत बग्ने/जम्ने क्षमता सम्बन्धी थप जाँचहरू गराउनुपर्छ। गर्भवती महिलाको रगत नेगेटिभ समूह र उनको श्रीमान्को रक्तसमूह पोजेटिभ छ भने पेटभित्रको बच्चामा कुनै नराम्रो प्रतिक्रिया भयो कि भनेर रगतको विशेष जाँच गराउनुपर्छ।

पहिला पटक–पटक गर्भ खेर गएकी महिला दोस्रो गर्भावस्थाको शुरूतिर विभिन्न भाइरल संक्रमणको जोखिममा हुन्छिन्। त्यसैगरी, गर्भावस्थामा हेपाटाइटिस–ई संक्रमण खतरनाक सावित हुन सक्छ। त्यसैले, भाइरल संक्रमणसँगै हेपाटाइटिसको अवस्था हेर्नुपर्छ। हेपाटाइटिसमा पनि ई प्रकारको हेपाटाइटिस छ/छैन जाँच्नुपर्छ। यसको अलावा गर्भावस्थाको हरेक त्रैमासिकमा हेमोग्लोबिन र पिसाबको सामान्य जाँच गराउनैपर्छ। अहिलेको विपत्मा त झ्न् गर्भवती महिलाहरूको शारीरिक तौलमा अनपेक्षित परिवर्तन आएको हुन सक्छ। खुट्टा सुन्निएको वा रक्तचाप घटबढ भएको हुन सक्छ। त्यसकारण यो समयको गर्भ परीक्षणमा गर्भवतीको पिसाबमा एल्बुमिन भन्ने प्रोटिन छ/छैन भनेर पनि अनिवार्य रूपमा जाँच्नुपर्छ। त्यस्तै, रगतमा क्रोमोजोम हेर्नुपर्छ। डप्लर अल्ट्रासाउण्ड गराउनुपर्छ।

महाभूकम्पपछिको तहसनहसमा धेरै कुरा गर्न सकिंदैन। अहिले नगरिएका धेरै थोक पछि राम्ररी गर्न सकिन्छ, तर स्वास्थ्य परीक्षण; त्यसमा पनि गर्भवतीहरूको, आजै नगरे भोलि धेरै ढिलो भइसकेको हुन सक्छ।

comments powered by Disqus

रमझम