३-९ जेठ २०७२ | 17-23 May 2015

एउटा परिवर्तनको कथा

Share:
  
५० वर्ष पुरानो अस्पताल भवनलाई भूकम्प प्रतिरोधी बनाउन खोज्दा 'बौलाहा' समेत भनिएका विजयबहादुर माली (६१) अहिले दूरदर्शी कहलिएका छन्।

बिक्रम राई
रेट्रोफिटिङ गरिएको छत्रपाटी निःशुल्क चिकित्सालय अगाडि अध्यक्ष विजयबहादुर माली।
१२ वैशाखको महाभूकम्पले काठमाडौंमा मात्रै करीब ३७ हजार घर भत्किए, ५० हजारभन्दा बढी चर्किए। तर, काठमाडौं छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको तीनतले भवनमा भने ७.८ र त्यसपछिका शक्तिशाली पराकम्पनको पनि केही जोर चलेन। कतै सानो चिरा समेत परेन। कारण एउटै थियो, तीन वर्ष पहिले मात्र 'रेट्रोफिट' गरी अस्पताल भवन भूकम्प प्रतिरोधी बनाइनु।

करीब १० आना जग्गाको यो भवनलाई भूकम्प प्रतिरोधी नबनाइएको भए कति जनधनको क्षति हुन्थ्यो, त्यो कल्पना गर्दा समेत अस्पताल सञ्चालन समितिका अध्यक्ष विजयबहादुर मालीको आङ सिरिङ्ग हुन्छ। किनभने २०१९ सालमा बनेको यो भवन २०४२ सालतिर तीनतले बनेको तीनदशकदेखि अस्पतालमा कार्यरत मालीलाई थाहा थियो। तर, २०६० सालमा अस्पताललाई सामुदायिक प्रकोप व्यवस्थापन केन्द्रका रूपमा स्थापना गर्ने योजना बनेपछि मात्रै भवनलाई भूकम्प प्रतिरोधी बनाइएको थियो। “भूकम्पबाट अस्पताल भवन नै ढले समुदायले कसरी सेवा पाउलान् भन्ने लाग्यो।”, माली भन्छन्।

तर, योजना कार्यान्वयनमा आउन सात वर्ष लाग्यो। वरिष्ठ इन्जिनियर मनोहरराज भण्डारीको डिजाइनमा भवनको रेट्रोफिटिङ र मर्मत गर्न नै रु.५२ लाख लाग्यो। हुँदाछँदाको भवन भताभुङ्ग पारेर बेकारमा त्यत्रो खर्च गरेको भन्दै केही स्थानीयले मालीलाई 'बौलाएर भएको भवन बिगार्‍यो' समेत भन्न भ्याए। “तर भूकम्पपछि तिनै मानिस यहीं बस्न आएका छन्”, गर्वका साथ उनी भन्छन्।

सामुदायिक प्रकोप व्यवस्थापन केन्द्र बनेको छत्रपाटी अस्पतालले महाभूकम्पबाट बच्न तयारी समेत गर्दै आएको थियो। भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) को सहयोगमा २०० जना युवालाई भूकम्प चेतना र उद्धारबारे तालीम दिइएको थियो। यसपटकको भूकम्पमा तिनै युवा तत्काल उद्धारमा खटिए। अस्पतालमा भूकम्पका लागि पहिल्यै स्थापित आपत्कालीन उद्धार सामग्री भण्डारमा रहेका उपकरणले समेत उद्धारमा ठूलो भरथेग गर्‍यो। बेलायत सरकारले प्रदान गरेका ती उद्धार सामग्री चिनियाँ टोलीले प्रयोग गरेको माली बताउँछन्।

छत्रपाटी अस्पताललाई भूकम्प प्रतिरोधी बनाएलगत्तै माली देशभरकै अस्पताल र सरकारी भवन भूकम्प प्रतिरोधी बनाउनुपर्छ भनेर वकालत गर्दै आएका थिए। भूकम्पका बेला 'सर्च एण्ड रेस्क्यू' का लागि नगर प्रहरीलाई तालीम दिनुपर्छ भन्ने उनको आग्रहको पनि सुनुवाइ भएन।

१ असोज २०६८ मा संविधानसभा भवनमा बैठक चलिरहँदा भूकम्प आए पनि सरकारको आँखा नखुलेको उनी बताउँछन्। भन्छन्, “भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी सरकारको प्राथमिकतामा कहिल्यै परेन, त्यसैले आजको दुर्दिन देख्नुपरेको हो।”

मालीले दुई वर्षअघि आफ्नै चारतले घर बनाउँदा समेत सम्भावित भूकम्पलाई ध्यान दिए। भूकम्पबाट घर भत्किएकाहरूलाई उनको सुझाव छ, “नयाँ बनाउन लाग्ने खर्चको ४० प्रतिशतले रेट्रोफिटिङ हुन्छ भने पुरानैलाई बनाए हुन्छ।”

आफ्नै इच्छाशक्तिको बलमा भूकम्प प्रतिरोधी बनेको छत्रपाटी सामुदायिक अस्पताल महाभूकम्पका बेला गतिलो 'परिवर्तनको कथा' बनेको छ। र, अस्पतालका अध्यक्ष माली त्यसका सूत्रधार।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम