१०- १६ जेठ २०७२ | 24-30 May 2015

यी धन्दाहरु हुन्

Share:
  
- महेश थापा
हल्लाले सातो टिपेका मनुवा छत, झ्याल जे पायो त्यसैलाई स्पि्रङबोर्ड बनाएर एक फड्कोमा कान्लामुनिको फराकिलो बारीमा पुग्दा रहेछन्।

भूकम्प मत्थर हुँदै गए पनि हल्लाजीवीहरूले मनकम्पनलाई मलजल गरिदिंदा ओलम्पिकका बाधादौड पदकधारीलाई समेत चित् पार्ने उछलकुद जारी छ। भूकम्पले धरती हल्लाउनुअघिसम्म समाधिमा लीन औतारीहरू यतिबेला भविष्यवाणीको पसलमा जमेकै छन्। ज्योतिष र पत्रकारजन्य यी नवपसलेहरू विज्ञानको बुताले नभ्याएको विषयमा एकाएक पराविज्ञको रूपमा छाउँदा बरा भूगर्भविद्हरू लिलिपुटे ऐरे–गैरे हुन पुगेका छन्। त्यसमाथि पश्चिमा पण्डाहरूको पल्टनै थपिएको छ, जो नेपालीले टुच्च–टुच्च छाड्ने निजी ऊर्जाले पनि 'टेक्टोनिक टेन्सन' बढाइरहेको हुनसक्ने सम्भावनामाथि गहन अध्ययनमा लागेको गाईंगुईं छ।

यस्तो गाईं र गुईंले स्वदेशी भूकम्प–ज्योतिषलाई त्रासको बाली लुँड्याउन सघाउने नै भयो। यीमध्येका अग्रणी श्री कम्पदेवले दुःखीजनको कालसर्प योग, साढेसाती, अढैया, शनि लगायतका ग्रहदशादि पन्छाउँदा पन्छाउँदै आफ्नो जीवनलाई सबभन्दा झ्कास् बनाइरहेका छन्। वैशाखे महाभूकम्पले धकाधक् धक्का ठेलिरहेको बेला तिथि, घडी, पला समेत तोकेर धडाधड भूकम्पको भविष्यवाणी गरेर टोलवासीलाई बारीको बास गराएको सफलताबाट उनलाई 'कम्पदेव' उपमा दिइएको हो।

कम्पदेव महाराजको भ्रान्तिमाथि व्यावसायिक प्रतिभाले पूर्ण केही पत्रकारले समाचार क्रान्ति गर्न खोज्दा उनी रातारात त्रिकालदर्शी दरिन पुगे। यस्ता त्रिकालदर्शीहरूको खोजीकै लागि धर्तीमा ओर्लेका हुन् कि झैं लाग्ने शहरवासीहरू कम्पदेवको मुखारविन्दबाट एकवचन सुन्न लर्को लाग्ने नै भए। “म अहिले ठूलो भूकम्पको सम्भावना नकार्दिनँ। गत केही वर्षबाट विद्यमान जलवायु परिवर्तनको कुप्रभावले तापक्रममा ल्याउने प्रतिकूलताले सबैतिर अशान्ति छाउने गरी फलित गणितले देखाइरहेको सम्भावनाको पनि कदर गर्छु”, कम्पदेव बोले।

वाह्, क्या गहिरो, क्या दुर्लभ भविष्यवाणी। र त, उनको धन्दा तेजीमा छ। ग्रह र नक्षत्र संख्या थाहा नहुँदै ज्योतिष हुनपुगेका कम्पदेवले वातावरणविद्, अर्थशास्त्री सबै भइसकेको छनक छोडिरहेका छन्। उनको फलित गणितले अब देशमा आयातमुखी निर्यात वृद्धि हुने र मोर्चाबद्ध भएर देहाती खलिफा झैं तिघ्रामा माटो दल्दै मल्लयुद्धरत दलहरू अब अँगालोमा बाँधिएर मार्चपासरत हुने पनि देखेको छ। र, उनको भविष्यवाणी गर्दा विश्वस्त हुने भीड फर्सीको गट्टो झैं हलहली आकार लिंदो छ। विक्रम सम्वत् २०७२ को वैशाखलाई १९१ वर्षपछि आएको सबभन्दा शुभ महीना भएको यिनैले खुट्याएका थिए, २०७१ को चैत अन्तिम साता। उनका पछिल्ला भविष्यवाणीहरूले पनि सबैलाई कान नछामी कागको पछाडि चल्ते बनाएकै छ।

'ताक परे तिवारी, नत्र गोतामे' शैलीको भविष्यफल बताएर ज्युनार गर्न अभ्यस्त ज्योतिषमध्येका केहीले २९ वैशाखको कम्पलाई हल्का बतास बराबर मान्दै २ र ५ जेठ सुमर्न दह्रो तयारी गर्नुपर्ने भनेर भत्भती बनाएको माहोलमा कम्पदेवले शनि र मंगलको पेलान–ठेलान मंसीरसम्मै रहने देखिएकाले असली भूकम्पको दर्शन बाँकी नै रहेको क्षेप्यास्त्र फालेका थिए। 'आज चाहिं के कसो होला त, प्रभु?' भन्दै आतंकितमध्येका एक जना आँटी आस्थावानले रुन्चे जिज्ञासा राख्दा कम्पदेवले भने, “हरेक ११:५६ बजेपछि चंख भई बस्नू, अरू बेला ढुक्क रहनू।”

सुनिदिने, पत्याइदिने भएपछि सुनाउनेहरूको कमी हुन्न। नाक तेर्स्याइदिनुपर्छ, त्यसलाई सटक्क काटेर सिंगान पुछिदिनेहरू कति, कति! तिर्ताले कम्पदेवहरूलाई समाजमा डर बढे शुभलाभ हुन्छ। पत्रुकारहरुलाई आफ्नो कुसंचारमाध्यम हिट बनाउनु छ। यी धन्दाहरू हुन्– थर्काउने र कुम्ल्याउने। हामी थर्केसम्म, हल्लेसम्म यी हुल्लडहरू थामिनेवाला छैनन्। तर, यो धन्दालाई नसबन्दी गर्लान् भनेका प्रधानमन्त्री नै 'गुगलब्वाई' को शरणमा पसारिएपछि सकिगो'नि!

प्रधानमन्त्री सुकोको शरण समाचार सुुनेर गद्गद् ज्योतिष कम्पदेव थप भविष्यवाणीको तयारीमा थिए, त्यही बेला भीडमा कोही ख्वाक्क खोकेर मर्‍यो। कम्पदेव बुर्लुक्क उफ्रिए। त्रिकालदर्शी स्वयं असिनपसिन भएको देख्दा शरणागत भीड अलमलमा पर्‍यो। ऐनबक्तमा आएको सानो कम्पले भित्तोमा झ्ुण्डिरहेको कम्पदेवको फोटोलाई लिखिर–लिखिर पार्‍यो, यता भुईंमा कम्पदेव स्यान्टिफ्ल्याँट। गुरुको दशा देखेर तत्कालै अब ८ म्याग्निच्यूड आउने निर्क्योल गरेको भीड आ–आफ्नो टोलतिर छरियो।

comments powered by Disqus

रमझम