संसारमा दैवी र मानुषिक विपत्ति परिरहन्छन्। अकाल मृत्यु, रोग, दुःख, कष्ट आदिलाई त साधारण भने हुन्छ। ठूल्ठूला सामूहिक मृत्युपछिका विपत्ति पनि परी नै रहन्छन्। आन्तरिक विद्रोह, कलह, बाहिरी युद्ध, अशान्ति, आगलागी जस्ता विपत्ति मानुषजन्य हुन् भने बाढी, पहिरो, हुरीबतास, अतिवृष्टि, अनावृष्टि, दुर्भिक्ष, रोगव्याध, महामारी, भूमिकम्प आदि दैवी वा प्राकृतिक प्रकोप हुन्।
कतिपय प्राकृतिक प्रकोप आज मानुष प्रयासबाट हटाउन, रोकथाम गर्न सकिने भएका छन् भने कति नसकिनेमा मुख्य भूकम्प हो। यसले प्राणीको जीवनसँगै मन्दिर, मूर्ति, कलाकृति, आवास, ठूल्ठूला विकास परियोजना सबैलाई एकैछिनमा, एकै धक्कामा माटोमा मिलाइदिन्छ। यो वैज्ञानिक युगमा पनि भूकम्पको पूर्वसूचना दिने उपकरण बन्न सकेको छैन। पृथ्वीमा सानातिना भूकम्पको धक्का परी नै रहे पनि महाभूकम्प धेरै वर्षको अन्तरालमा आउँछ।
उत्तरी भारत र नेपालमा १९९० सालमा आएको महाभूकम्पको विनाशलीला प्रत्यक्ष देख्ने, भोग्नेहरू अझ्ै छन्। त्यसको सय वर्ष पहिले १८९० सालमा त्यस्तै महाभूकम्प गएको थियो। त्यसले साधारणतः सय वर्षमा महाभूकम्प आउँदोरहेछ भन्ने भान जनमानसमा पारे पनि त्यो आउने कुनै निर्धारित समय हुने होइन। १८६८ सालमा पनि नेपालको सुदूरपश्चिमाञ्चलमा महाभूकम्प गएको थियो ९० सालयताको ५५ वर्षमा पूर्वी नेपालले त्यस्तै मार खानुपर्यो।
५ भदौ २०४५, आइतबारको बिहानी पहर फाट्दा नफाट्दै, भुईं अकस्मात् हल्लिन लाग्यो र सारा मानिसलाई एक्कासी निद्राबाट बिउँझायो भने ७२१ जनालाई चिरनिद्रामा सुतायो। त्यसमा बिहारका पनि २५० जति मानिस परे। बिहारमा मृतकका परिवारले केन्द्र र राज्य सरकारबाट भारु १५ हजारका दरले राहत पाए हाम्रोमा चाहिं प्रति परिवार रु.२ हजार। त्यसपछि २६ वर्ष ८ महीना पुग्नै लाग्दा गोरखाको बारपाकलाई केन्द्र बनाएर १२ वैशाख २०७२ मा त्योभन्दा विनाशकारी महाभूकम्प आयो। १९९० सालमा ८.४ रिख्टर, २०४५ सालमा ७ रिख्टर र अहिलेको महाभूकम्प ७.८ रिख्टर स्केलको थियो। यसले गोरखा, सिन्धुली र दोलखामा अत्यधिक विध्वंसलीला मच्चायो। २९ वैशाखको ७.३ को धक्का ठूलो घाउमा नूनचूक भयो। घरसंख्या थोरै भएको ९० सालमा नेपालमा मात्रै आठ हजार मानिस मरेका थिए। अहिले मृतक संख्या त्योभन्दा माथि पुग्दैछ। घाइते संख्या पनि १८ हजार माथि नै पुग्ने देखिन्छ।
एउटा संजोग भनौं वा भवितव्य, नेपाल एकीकरणको सफल अभियानले गोरखाली र गोरखा राज्यको यति महत्व बढ्यो कि संसारभरमै नेपाली र नेपाल राज्यको पर्याय बन्यो– गोरखा। अहिले 'गोरखा' प्रवासी नेपालीको मुख्य पहिचानको प्रतीक हो। पहिले गोरखाली वीरता र ठूलो सानको द्योतक थियोभने गोरखा न्यायको प्रतीक। तर, २०५८ लाग्दालाग्दै गोरखाली शाहवंशको छत्रभङ्ग भयो। अहिले त्यही गोरखालाई महाविपत्तिले केन्द्रबिन्दु बनायो।
९० सालको महाभूकम्प
१९९० सालको महाभूकम्पको क्षति र त्यसको पुनरुद्धार कसरी भयो भन्ने जनाउ दिन हाम्रासामु नयाँसडक (जुद्धसडक) छ, भूगोलपार्कमा अभिलेख छ। पाटनको मंगलबजारमा रहेको भूकम्प स्मारक र शारदा स्तम्भलेखले बढीभन्दा बढी जुद्धशमशेरको कीर्तिगाथा गाए पनि भूकम्प पीडितहरूको उद्धारकथाको स्मरण पनि गराउँछन्। त्यस महाभूकम्पमा पीडितहरूलाई तत्काल सहायताका लागि साढे पाँच लाख र पुनःस्थापनामा रु.५० लाख सरकारी खर्च भएको जनाउ तिनले दिन्छन्। चन्दा पनि त्यही कोषमा जम्मा पारेको र रु.३० लाख जति ऋण बाँडिएको भन्ने खुल्छ। पछि महाराज जुद्धशमशेरले सबै ऋण माफ गरिदिए। त्यो बेलाको ५० लाख भनेकै अहिलेको हिसाबमा कति बढी हुन्छ कति। त्यसबेलाको एक रुपैयाँमा आउने एक तोला चाँदीलाई अहिले रु.७–८ सय पर्छ। त्यति धनले उसबेला जति काम हुन्थ्यो, त्यति काम गर्न अहिले कति खर्च गर्नुपर्ला?
नेपालीले ९० सालको महाभूकम्पको पीडा भोगेको ८२ वर्ष लाग्यो। त्यसको अघिल्लो सालमा जन्मेको म त्यस फालबाट धन्न बचेको थिएँ। सो महाभूकम्पमा देशले भोगेको पीडा सुने जानेकै कुराभित्र पर्दछ। वि.सं. १८६८, १६६४, १४६५, १४०१ र १३१२ का महाभूकम्पका कथा त नेपालका कतिपय इतिहासकार र भूगर्भविद् बाहेक अरूले नसुनेका हुनसक्छन्। म त्यही चर्चा गर्न लागेको छु।
इतिहासका महाभूकम्प
भूगोलपार्कको अभिलेखमा १८९० र त्यसभन्दाअघि शक्तिसिंहका पालाको महाभूकम्पको स्मरण गरिएको छ। शक्तिसिंहरामका पालाको भुईंचालोको स्मरण वंशावलीका आधारमा गरिएको हो। कुनै–कुनै भाषा वंशावलीका पाठमा भने वि.सं. १४६५ (ने.सं. ५२८) मा शक्तिसिंहका छोरा श्यामसिंहका पालामा त्यो महाभूकम्प गएको भनिएको छ। श्यामसिंहले नेपालमा राज्य गरेको केही प्रमाण छैन। त्यस बेलाका अभिलेख र चीनको इतिहासबाट प्रमाणित छ– ने.सं. ५२८ मा शक्तिसिंह पलाञ्चोकमा राज्य गर्दथे।
ने.सं. ५२८ मा जयस्थिति मल्लका छोरा भक्तपुरको मूल गद्दीमा थिए। त्यही बेला नेपालभरमा उग्र दिन आई अधिक भाद्र शुक्ल १२ उत्तरषाढा नक्षत्र सोमबारका दिन महाभूमिकम्प भयो। मल्लकालमा यस्ता निकै वटा महाभूकम्प गएको सूचना मिलेको छ। १३१२ र १४०१ सालको भूकम्पको चर्चा गर्नुभन्दा पहिले १५६४ ताका गएको भैंचालोको चर्चा गर्नु प्रासङ्गिक हुन आउँछ। चाँगुनारायण मन्दिरको भण्डारभित्र राखिएको राजा यक्ष मल्लकी पनातिनी, राय मल्लकी नातिनी देवकीदेवीको सुवर्णपत्रमा सोह्रौं शताब्दीमा गएको भूकम्पको प्रसङ्ग छ :
“भूकम्पेन विदारितं हरिगृहोद्धारं प्रचक्रे तया” “श्रीश्रीश्री गरुडनारायण देवल भूमिकंपन स्वङाव श्रीश्री देवी ठकुरिणीस्यं ल्हङा जुरो” (नेपाल वृत्तान्तको नेवारी पाठ) त्यस बेलाको भैंचालोमा मानिसका घर र देवताका मन्दिरहरू भत्केको सूचित हुन्छ। त्यसबेला भत्किएको चाँगुनारायणको जीर्णोद्धार १५६४ असारमा देवकीले गराएको सुवर्णपत्रमा लेखिएको हुँदा त्यो भूकम्प निकै ठूलो थियो भन्ने बुझिन्छ।
नेपालमा ७४२ र ६५३ वर्ष पहिले महाभूकम्प आएका ऐतिहासिक प्रमाण छन्। त्यतिबेला पूर्व, पश्चिम र दक्षिणबाट लगातार आक्रमण भइरहन्थे। आन्तरिक संघर्ष पनि कम थिएन। आन्तरिक संघर्ष र बाह्य युद्धबाट नेपाल जीर्ण–शीर्ण थियो। अभय मल्लका पालामा त दैवी विपत्ति पनि अनेकौं खनिए। अतिवृष्टि, अनावृष्टि, सलह, महामारी, दुर्भिक्ष आदिले उनको शासनकाललाई संकटमय बनाएको थियो। राजाको नाम अभय भए पनि जनताले भयमै बस्नुपरेको थियो।
अभय मल्ल वृद्धावस्थामा पुग्दा भक्तपुरसँग बनेपा राज्यको संघर्ष चलिरहेको थियो। त्यस्तैमा जयदेवले १३११ आश्विनमा पशुपतिको देउपाटनमा छुट्टै सिंहासन कायम गरी राज्याभिषेक लिए। त्यसको एक वर्ष पनि नपुग्दै नेपाल विनाशकारी महाभूकम्पको मारमा पर्यो। राजा, प्रजा सबैको सत्यानाश पार्यो। वि.सं. १३१२ आषाढ शुदि ३ सोमबार आएको त्यस महाभूकम्पले राजाका दरबारदेखि जनताका घर–कटेरासम्म ध्वस्त बनायो। पशु चौपायाको त के लेखा, तीन भागमा एक भाग जनता थिचिएर–किचिएर मरे। स्वयं राजा अभय मल्ल भक्तपुर दरबार भत्किँदा किचिएर मरे।
ठूलो भूकम्पपछि सानातिना कम्पहरू धेरै दिनसम्म भइरहन्छ। ९० साल माघको महाभूकम्पपछि वैशाखसम्म सानातिना कम्प आएको भुक्तभोगी बताउँछन्। त्यस्तै, पुराना संस्कृत र नेवारी वृत्तान्तका दुई ठाउँमा १३१२ को महाभूकम्पको वर्णन पाइन्छ– 'राजा जयदेव भए, वर्ष २ महीना ८ तिनको राज्यमा ठूलो भुईंचालो गयो, ठूलो दुःख भयो, महामारी दुर्भिक्ष भयो, प्रजाको नाश भयो, आषाढ शुक्लद्वितीया सोमबार पुनर्वसुनक्षत्रदेखि महीनौंसम्म भुईं हल्लिरह्यो।' त्यस्तै, गोपाल वंशावलीको नेपाल वृत्तान्तमा भनिएको छ– 'राजा श्री जयदेव वर्ष २ मा ८ तस्य राजें बृहद्भूमिचालनं महासन्तापं, महा(मा)री दुर्भिक्ष प्रजाक्ष्ययो भवति। सम्बच्छर तृसप्त पञ्चआषाढ शुचि द्वितीया पुनर्व्यसु सोमवासरेत्यादि चालन चतुर्मासा।'
धनवज्र बज्राचार्यले उपर्युक्त वृत्तान्तको पाठमा 'महामारी दुर्भिक्ष प्रजा ष्येश्चा भवति' भनेर पढेका थिए। त्यसको खण्डन गर्दै महेशराज पन्तले 'प्रजा पापो भवति' भनेर पढे। दुवै पाठको अर्थ संगति नहुँदा मैले 'प्रजा दुःखी भए' भन्ने अर्थ मिलाउन 'प्रजा दीना' भन्ने अनुमान गरेको थिएँ। परन्तु, शंका समाधानार्थ मूल हेर्दा 'प्रजाक्ष्ययो भवति' भन्ने पाठ भेटिंदा यहाँ सच्याएर दिएको छु। ती घटना अभय मल्लका पालामा भएको लेखिएको छ। अर्को पाठमा अनावृष्टिबाट दुर्भिक्ष भएको र भूमिकम्पबाट छत्रभङ्ग (राजाको मृत्यु) भएको कुरा सूचित गरिएको छ।
वि.सं. १३१२ को महाभूकम्प जयदेवको राज्यकालमा गएको भनियो, अरू संस्कृत पाठ र नेवारी भाषामा अभय मल्लका पालामा भनियो। वास्तवमा भुईंचालोका दिनसम्म भक्तपुरको मूल गद्दीमा अभय मल्ल थिए, जो दरबार भत्कँदा पुरिएर प्राणान्त भए। त्यसको ९ महीनाजति अघि वि.सं. १३११ आश्विन वदि २ मा देउपाटनको दरबारमा जयदेवको अभिषेक भएको थियो। यसै कारण कतै जयदेव कतै अभय मल्ल लेखिनु स्वाभाविकै हो।
त्यसको ९८ वर्षपछि वि.सं. १४०१ आश्विन शुदि ७ मा पुनः ठूलो भूकम्प भयो। यसबेला देउपाटनको दरबारमा रुद्र मल्लले स्थापना गरेका राजा जयारि मल्ल विराजमान थिए भने भक्तपुरको मूल गद्दीमा रुद्र मल्लकै छोरी नायकदेवी। उनका तेस्रो पति राजकुमार जगतसिंह बूढी महारानी देवलदेवीको सल्लाहले शासन संचालन गरिरहेका थिए। भूकम्पको भोलिपल्ट जयारि मल्लको देउपाटन दरबारमा मृत्यु भएको देखिएकोले यसपालामा पनि राजा किचिएरै मरेको अनुमान हुन्छ। नेवारी भागमा यसको संक्षिप्त चर्चा यस्तो छ– 'ने.सं. ४६४ (वि.सं. १४०१) आश्विनशुदि सप्तमीको दिन तीन पहर जाँदा ठूलो भूकम्प गयो। यसको भोलिपल्ट देउपाटनमा श्रीजयारि मल्लदेवको अस्त भयो।'
आश्विनशुदि ७ भनेको दशैंको फूलपातीको दिन पर्यो। त्यसबेला प्रजाको कस्तो दुर्दशा भयो, त्यसको चाहिं वर्णन गरिएन। महाभूकम्प र राजाको मृत्यु भन्नेवित्तिकै त्यसको भयङ्करता र महाविनाशको आभास हुन्छ।
१८६८ सालको जुम्ला भुईंचालो : अर्जि उप्रान्त फागुणका दिन ३ जादा बुधबार आउसिका दिन विहान ८ घरि ४० पला दिन जादा भूमिकम्प हुदा छिनाछिना सिम गरि १ सिजाका गढि २ गमको गढि १ तिप्रिकोटको गढि १ भर्जुम्लाको खबर आइपुग्याको छैन. नजिकपुढो बिग्र्याका घर नौसय पैतिस ९३५ मिचिमर्याका मानिस येक् सय चालिस् १४० उचाउचा पर्वत बन्द भैरह्याछन्. छिनाछिनको बाहिर गढि र भित्रि किल्ला ई सबै गारद भया भैरवनाथ कम्पनिको कोतकिल्ला भित्र थियो र किल्ला गारद हुँदा तद्वीरसंग निसान र तासरमार्फ झ्िकिउ. उपर्खर्खजना सबै मिच्यो. पछि उकास्ता साबुत रह्याको बिम्बा भयाको गारद् भै गयाको खरजानाको तपसील उतारि चह्राइ पठायाको छ. हजुरमा दाखिल होला. गढी किल्ला बनाउनालाई भन्या मूलुकमा झारा लाञा. चाहिन्या सैसरजाम र खैखर्चको रुक्का लेखि चह्राइ पठाहुदो हो. जो हुकुम सो सहि. मिति फागुन सुदि ४ रोज १ शुभम् इत सेवक जसिवन्त थापा कर्णवीर अधिकारिको कोटि कुर्णेस बन्दगी सलाम सलाम सलाम (पीठमा जैसीकोठा) साल ६८ का भरफागुनका महासुर सुवेदारका चिठी जुम्लाका चिठी समेत भन्ने उल्लेख छ। यही मितिमा भीमसेन थापा र रणध्वज थापालाई लेखेको सुब्बा जसिवन्तको पत्र पनि पाइन्छ। केन्द्रबाट किल्ला बनाउनू भन्ने रुक्कापत्र गयो।
१९९० को उद्धार सहायता कार्य : श्रीगणेशाय नमः श्रीशारदादेवी नमः श्रीभगवती नमः श्री काजी बालनरसिंह कुँवर राणाको कान्छा छोरा श्रीकम्याण्डरइनचीफ धीरशमशेर जंगबहादुर राणाको रानी श्रीजोहारकुमारीदेवीबाट सम्वत् १९३२ सालमा पैदा भएको कांछा छोरा श्रीजुद्धशमशेर जंगबहादुर राणा सम्बत् १९४६ सालदेखि ललितपुर जावलाखेलमा घरद्वार गरी जमाई राज भयो। वहाको वीवाहिता रानी श्रीपद्मकुमारीदेवीबाट छोरा ६ पैदा भएमध्ये हाल जीवित माहिला श्रीबहादुर शमशेर, साहिला श्रीअग्नि शमशेर, काहिला श्रीहरि शमशेर, ठाहिला श्री सुर्य शमशेर र कान्छा श्रीनारायणशमशेर समेत् ५ छोरा छन्। वहाँबाट ललितपुर सहरको सबै कामको अखत्यारी पाउनुभयो। वहाँ पूर्वतरफका कम्याण्डिङ्ग जर्णेल् भएको १।२ वर्षपछि श्री ३ महाराज चन्द्रशमशेर दाजीको मदत्का निमित्त सहरमा कवाज्को काममा झ्िकीयो। सम्बत् १९७० सालमा श्रीपश्चिमतर्फको कम्याण्डिङ्ग जनरल हुनुभयो, साह्रा पल्टन् फौजको काम थपियो। श्री ३ महाराज चन्द्रशमशेर जंगबहादुर राणा सम्वत् १९८६ साल मार्ग १० गते स्वर्गे भएपछि वहा श्री कम्याण्डर इनचिफ हुनुभयो, जंगी फौजको र निजामति अदाखाना गैह्रको काम्को अभिभारा उठाउनुभयो। श्री ३ महाराज भीमशमशेर जंगबहादुर राणा सम्बत् १९८९ साल भाद्र १७ गते स्वर्गे भएपछि उहाँबाट नेपालराज्यको ठूलो अभिभारा उठाउनुभयेकोले राजचिन्ह झ्न्डाले ललितपुर सहर सोभायेमान हुन गयो।
श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणाबाट नेपालराज्यको अभिभारा उठाइबक्सेको ८ वर्ष भयो। उहाँबाट ऐलेसम्म नेपालमुलुकको उन्नती र दुनिञाको भलाईको निमित्त गर्नुभएको काम सबैको बयान् ञाहाँ लेखी साद्य छैन। मुख्य दुर्योगवश सम्बत् १९९० साल् माघ २ गते भयानक भूकम्पले कान्तिपुर र ललितपुर सहर तिनै र गाउगिराउ पहाड मधेश जताततै नष्ट भ्रष्ट पारिदियो धेरै मानिस मर्यो। उस्बखत् निरुत्साह भैरहेका दुनिञादार प्रजाको उत्साह भै हुनेसम्म मदत् गरी सकल प्राणिको रक्षा गर्नुभयो। महाकालीमा सहस्र गौदान् गर्नुभयेको थियो। तेस्को पुण्यफल पनी सो भूकम्पले मरेका प्राणीको उद्धारको निमित्त अर्पण गरी दिनुभयो। ठूलो विवेक विचार रही तिनै सहर गाउ गाउका गरी निमुखालाई घर बनाउनमा चाहिदोजति रुपैञा वर्ष ४ लाई निर्व्याजी सरसापटी बक्सनुभयो। शहरगाउ घरहरू पनी चाडो बनी तयार भएको मात्र नभै अघीभन्दा पनी राम्रो हुनगयो। भक्तपुर सहर ता चोला बदली नञा नै बनेको जस्तो भयो। लाखन् रुपैञा खर्च गरी नञा बनाउनु भयो। कान्तिपुर सहरबारे ता लेखी साद्य नै छैन। नञा सडक पार्क इत्यादि अनेक नञा बने।
भूकम्पले भताभुङ्ग लथालिङ्ग भएका घरवार फेरी खडा गरी सबैले चाडो विश्राम गर्न पाउन् भन्नानिमित्त चारभञ्ज्याङ्भित्र र पाहाद् मधेसको समेत् जंगल खोलिदिई दुनिञालाई लखन रुपैयाको काठपात बेदाममा छोडिदिनुभयो। नगद् रुपैयाको मदतलाई बिनाब्याजमा ४ वर्षसम्मलाई चाहिदो हेरि सापत दिनालाई सरकारतर्फबाट मोहर ५० लाख पर सारी 'भूकम्पपीडितोद्धारक संस्था' खोलिदिनुभयो।
आफ्ना इच्छा श्रद्धा गरी अर्पण गरी दियेको श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणा श्री ३ बडामहारानीबाट र स्वर्गवासि श्री ३ महाराज भीमशम्शेर जंगबहादुर राणाका श्री ३ बडामहारानीबाट औ कम्याण्डर इन चीफ पद्मशमशेर जंगबहादुर राणा र श्री पच्छिमतर्फका कम्याण्डिङ्ग जनरल मोहनशमशेर जंगबहादुर राणा, श्रीपूर्वतर्फका कम्याण्डि इ. जनरल बबरशमशेर जबरा, श्रीदक्षिणतर्फका कम्याण्डिङ्ग जनरल केसरशमशेर जबरा, श्रीजनरल सिंहशम्शेर जबरा, श्री ले. जनरल शंकर शम्शेर जबरा, श्री मे. जनरल मदनशम्शेर जबराहरूसमेतबाट गरी मोरू. १०,४०,०००, विदेश रहेका नेपाली र नेपालमा रहेका गुरु प्रोहित भारदार दुनियाहरूका औ नेपालमा रहेका विदेशीहरूबाट गरी मोरू. ३४,९१३ नोट कं. रु. ४,२९४ औ ब्रिटिश, जापानी र हिन्दुस्थानी सज्जनहरूले पठाएको नोट क.रु.२३,०३७ समेत गरी मोरू. १०,७४,९१३ नोट कम्पनी रु.२७,३३१ जम्मा हुन आयेको सो पनी फन्डैमा जम्मा भए। सो चंदाबाट उठेको मोरू. १०,७४,९१३ नोट कं. रु. २७,३३१ मध्ये सहर गाउगाउका दीनदुःखीहरूलाई अन्न वस्त्र बाडेको गरीव प्रजाको भत्केका घर बनाउनलाई नगद रुपैया बाडेका सडकको माटो मिल्काएको इत्यादि काममा ज्या. मोरू. ५,४४,४९२ नोट कम्पनी रु.३,८४२ खर्च भयो। संस्थातर्फबाट रैती दुनिञालाई ज्मा मोरू. २९,८२,३१६ सापटी गयाकोमा सो फण्डको जगेरामा रहन आयाको नोट् कम्पनी समेतको गरी मोरू. ५,६०,९५६ भर्ना गरी बाँकी रहन आयाको तमसुकी सापटी मोरू. २४,२१,३६० ज्मै माफी गरीदिनुभयो। सापटि सोध भर्ना गरीसकेको पनी सबैलाई फिर्ता गरीदिनुभयो। सारा प्राणिले जयजय मनाए।
पछि जन्मनेजति प्राणी सबैको पनि परन्तुसम्म स्मरणको निमित्त स्मारक एक खडा गर्न कर्तव्य समझि ललितपुर शहरवासी प्रजा सबै मिलि शुभ सम्वत् १९९७ साल फागुण गते २० सोमबारका दिन यो सिलापत्र खडा गरेका हौं। शुभम् अभिलेख सं. ८– नेपालनिरुपण