भुईंचालो सवाल

Share:
  
- मिलन बगाले
भवन संहिता मिच्ने र मिच्न दिनेहरूले शहरमा सामूहिक चिहान खन्ने घातक काम गरेका छन्, जुन अब रोकिनै पर्छ।

वैशाख अन्तिम साता गोङ्गबु–माछापोखरीको क्षति हेर्न जाँदा जगैदेखि ढलेर अर्को घरमा अडिएको एउटा गेष्टहाउस हेरेपछि अलिअलि चर्केको आडैको अर्को साततले भवनमा पसेर यसो कुराकानी थाल्दा त्यसका निर्माताले भने, “अरूले धमाधम घाम छेक्ने घर बनाएपछि मैले पनि अग्लिनै पर्‍यो, भाडा पनि उठाएर खानै पर्‍यो।”

गोङ्गबु जस्तो कमलो धरातलमा यति अग्लो घर बनाएर महाभूकम्पपछि पछुताइरहेका ती घरधनीलाई महानगरपालिकाको निर्माण संहिताबारे कुरा कोट्याउँदा अमिलो हाँसो हाँसे। त्यसपछि उनले जे भने, त्यसले तर्सायो। उनको २.५ तलाको नक्शा पास गरिदिने महानगरपालिकाका इन्जिनियरले सातौं तलाको ढलानको सुपरभिजन पनि गरिदिएछन्। राम्रो सुपरभिजन भएकोले अहिले घर भत्केन, गहिरा र लामा चिरा पनि एकाध ठाउँमा मात्र देखियो। कालको मुखबाट बाँचेका ती घरधनीले नियम मिचेर 'धरहरा' ठड्याएकोमा पछुतो माने। मेरा प्रश्नको खुलस्त जवाफ दिने क्रममा उनले आफूले पैसा र महानगरका इन्जिनियरले नियम–कानूनको मुख नहेरेको बताए।

यसपटकको महाभूकम्पमा किन गोङ्गबु र माछापोखरी क्षेत्रमा बेस्सरी बिजाइँ भयो भनेर बुझाउन यो उदाहरण काफी छ। यो क्षेत्रमा नियम पालना गरेका घरहरू जोगिए, फुक्काफाल भएर सेखी देखाउन तम्सेकाहरूका 'धरहरा' भत्किए। धेरैले अनाहकमा ज्यान गुमाए।

चाहियो बुल्डोजर फोर्स!

काठमाडौं उपत्यकाका कुन–कुन घर ढल्न ठिक्क परेका छन् भनेर जान्न राम्ररी जाँचिराख्नै पर्दैन, बाहिरबाट पाँच―सात मिनेट राम्ररी हेर्दै भेउ पाइन्छ। १२ वैशाखको भुईंचालोबाट बेस्सरी लच्किएको बालाजु, बाइसधारा गल्ली नजिकैको घर २९ वैशाखमा ढल्यो। स्ट्रक्चरल इन्जिनियर प्रमोद न्यौपाने र मैले ढल्नुभन्दा दुई―तीन दिन अगाडि हेर्दा घरको पिलर र बीमका जोर्नी थिलथिलो भएका थिए। त्यो हेरेर हामीले सानोतिनो धक्काले लडाइदिन सक्ने अनुमान गरेका थियौं।

भत्कन भरेभोलि भएका घरहरू गोङ्गबु–माछापोखरी क्षेत्रमै धेरै छन्। गोङ्गबु, नयाँबजार, खुशिबुतिरका थुप्रै घरलाई काठका टेको दिएर अड्याइएको छ। सीतापाइलातिर पनि पिलर र बीमको जोर्नी फुटेका घरहरूलाई फलामका घोचाले अड्याइएको छ। तर, पाँचतले भग्न घरलाई पाँचथान घोचाले बचाउला त? यो प्रश्नले वरपरका बासिन्दालाई रात–दिन आतंकित पारेको छ। शहरभरि नै यस्तै छ। एकाध व्यक्तिले नियमको धज्जी उडाउँदा धेरैले आधामासु भएर बस्नु परेको छ।

यस्ता भग्न घरहरू ढलेर निम्तिने मानवीय क्षति रोक्न तत्कालै 'बुल्डोजर फोर्स' गठन गरेर परिचालन गर्नुपर्छ। त्यस्ता घर पहिचानका लागि शहरभर इन्जिनियर टोली खट्नुपर्छ। 'बुल्डोजर फोर्स' परिचालन गर्दा नक्शापास गरे बराबरको क्षेत्रफलको हिसाब निकालेर क्षतिपूर्ति दिनुपर्छ, सरकारले। डोजर लगाउन अलि समय लाग्ने घरहरूमा पुग्ने सडक बन्द गर्नुपर्छ। आडैका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्छ। यो काममा ढिलाइ भए मानवीय क्षतिको ठूलो खतरा छ।

माटो नजाँचेको देश

कृषिप्रधान देश नेपाल, तर कहाँको माटोको प्रकृति कस्तो छ, थाहा छैन। कहाँ के रोप्दा बढी फल्छ थाहा छैन। माटो नचिनेरै खेती गरिरहेका छौं। मुरी फल्ने ठाउँमा पाथी फलिरहे पनि खेती चलेकै छ। घर बनाउँदा पनि यस्तै बानी नियम जस्तो बनेको छ। सबभन्दा मलिलो र गिलो खेतमा बडेबडे भवन उमारिएको छ। गिलो माटोमा जबर्जस्ती घरको जग राख्ने चलन छ, काठमाडौंमा। राजधानीले चलाएको यो फेसन जिल्लामा नपुग्ने कुरै आएन। यसरी दहीमा गुच्चा अड्याए जस्तो गर्दा घरहरू भटाभट भास्सिन थालेका छन्। त्यसमाथि, मोटरले पानी तानेर जमीन भासिने क्रमलाई बल पुर्‍याइएको छ। यसरी निर्माण होइन, सामूहिक चिहान बनाउने आत्मघाती काम गरेको यो साल प्रमाणित भयो, अब चेत्नुपर्छ। अब माटो जाँचेर, त्यसले कति तले, कति क्षेत्रफलको घर धान्छ, त्यही अनुसार डिजाइन गर्ने र बनाउने नियम कडाइका साथ लागू गरिनुपर्छ। काठमाडौंमा बहुतले व्यावसायिक भवन बनाउँदा माटो जाँच्ने चलन नभएको होइन, तर त्यो पनि रीत पुर्‍याउनमा सीमित भएको सबैको आँखाले छर्लङ्ग देखिसकेका छन्। नियम मिच्ने रहर गर्दा हामीले असाध्यै दुःख पाएका छौं। माटो चिन्ने र त्यसले धान्ने संरचना निर्माणको परम्परा थाल्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम