झ्ाापा र दक्षिणकोरियाका युवाको समूह कोही नपुगेको ठाउँका भूकम्पपीडितलाई राहत पुर्याउन कस्सिएपछि सिन्धुपाल्चोकको थाङपालकोट जाने सल्लाह भयो। बिहान सबेरै गएर साँझ् फर्कने भन्दै राहतसामग्री लिएर हिंडेका हामीलाई त्यताको भौगोलिक अवस्था थाहा थिएन। २९ वैशाखको दोस्रो ठूलो कम्पनले आहत बनाएकाहरूलाई थोरै भए पनि मद्दत गर्न चाहेको समूह २ जेठमा काठमाडौंबाट धुलिखेल, मेलम्चीहुँदै जिरोकिलोबाट बायाँ मोडिएर भोटेनाम्लाङ गाविसको तिपेनी भएर थाङपालकोट पुग्यो।
१०५ किलोमीटर लामो दूरी छिचोल्दा बाटाका धेरै ठाउँमा कहालीलाग्दा दृश्य हेर्नुपर्यो। मेलम्चीबाट थाङपालकोट जाने भनेको ट्रीपर र मोटरसाइकल मात्र थिए। सिङ्गै चट्टानले थिचेका घर, खस्दै गरेका चट्टान, पहरामा उड्दै गरेको धूलो, मूल फुटेर हिलाम्मे भएको बाटो, भग्नावशेषहरूबाट आइरहेको सिनोको गन्ध कहालीलाग्दा थिए। मोटरसाइकलमा जाँदाजाँदै रात पर्न थालेकोले हामीलाई बाटोको अनुमान पनि हुन छाडेको थियो। बिहान हेर्दा देख्यौं, समथर ठाउँमा बसेको सुन्दर थाङपालकोटलाई महाभूकम्पले ढुट्टो पारेको। यहाँ १० जनाले ज्यान गुमाएछन्।
थाङपालकोटपछि हामी साँगाचोक पुग्यौं। साँगाचोक गाविसको अवस्था झनै कारुणिक थियो। १२ वैशाखमा जोगिएका यहाँका सबै घर २९ गतेको कम्पनले ध्वस्त पारेछ। यो गाविसमा १५८ जनाले ज्यान गुमाएका छन्। बाँचेकाहरू चोकको पीपल छहारीमा जम्मा भएर बसेका थिए। तिनैमध्येका एक अनिश तामाङले भने, “छापगाउँ जानुस्, झन् हरिबिजोग छ।”
नभन्दै, ३ जेठमा छापगाउँ पुग्दा बारीमा महाभूकम्पले ठूल्ठूला चिरा पारेको देखियो। वडा नम्बर ४ मा पर्ने यो गाउँमा घरहरूले पुरेर १० जनाको ज्यान गएछ। सबै ठाउँका गाउँलेहरू महाविपत्तिबाट बौरिंदै, पीडा पिउँदै टहरा बनाउन हतारिन थालेका दृश्यले भने हामीलाई ढाडस नै दिइरह्यो।