यता नेपालमा पनि त्यतिन्जेलसम्म राजधानी काठमाडौंमा भएको महाविनाशको समाचार टेलिभिजन र सामाजिक सञ्जालमा 'भाइरल' भइसकेको थियो। काठमाडौंको 'ल्याण्डमार्क' धरहरा र बसन्तपुर दरबार क्षेत्रका भग्नावशेषका दृश्यहरूले महाभूकम्पको क्षति अनुमान गर्न कठिन रहेन। भूकम्पले बिहारमा पुर्याएको क्षति बिहार सरकार आफैंले व्यवस्थापन गर्न सक्ने बुझ्ेका भारतीय प्रधानमन्त्री मोदीले सम्पूर्ण ध्यान नेपालतिर लगाए।
मोदीले आफ्ना नेपाली समकक्षी प्रधानमन्त्री सुशील कोइरालासँग सीधै टेलिफोन सम्पर्क गर्न खोज्दा उनी इण्डोनेशियाबाट नेपाल फर्किरहेको जानकारी पाए। त्यसपछि उनले राष्ट्रपति डा. रामवरण यादवलाई फोन गरेर सक्दो सहयोगको आश्वासन दिंदै धैर्य गर्न आग्रह गरे। यसरी विपत्मा ऐक्यबद्धताको सन्देश पुर्याएर प्रधानमन्त्री मोदी नेपालमा तत्काल उद्धार र राहत अभियान चलाउने रणनीतिमा जुटे। यसरी नेपालमा महाभूकम्प आएको २४ घन्टाभित्रै काठमाडौंमा भारतीय वायुसेनाका विमानहरू उत्रिए।
मौकाको 'मुआयना'
२००७ सालपछि नेपालको केन्द्रीय राजनीतिमा निर्णायक रहँदै आएको नयाँदिल्लीलाई नेपाली जनतालाई नचिढ्याई मन जित्ने मौका पहिलो पटक प्राकृतिक विपदाले उपलब्ध गराएको थियो। पछिल्ला वर्षहरूमा नेपालमा बढ्दो चिनियाँ प्रभावबाट दिल्ली त्यसै पनि सशंकित थियो। महाभूकम्पले जुराएको त्यो अवसरमा नचुक्न प्रधानमन्त्री मोदीले मुख्यतः चार वटा अभीष्ट पूरा हुने गरी सक्रियता देखाए– नेपालको सेवा भनेको हिन्दूहरूको सेवा हो भन्ने सन्देश दिने, विपत्मा नेपाललाई साथ दिने भारत मात्र हो भनेर देखाउने, चीनको सक्रियतालाई भरसक रोक्ने र दीर्घकालीन पुनःनिर्माणको ठेक्कापट्टा भारतीय कम्पनीहरूको हातमा पार्ने।
एउटा कटुसत्य के भने, भारतको राष्ट्रियतामा पाकिस्तानको विरोध एउटा अभिन्न पक्ष भए जस्तै नेपालको राष्ट्रियतामा पनि भारत विरोध एउटा जबर्जस्त अंशको रूपमा रहेको छ। त्यसैले, भारतले जति उदार दिलले सहयोग गरे पनि नेपाली संवेदनशीलतामा सानो उपेक्षा हुने वित्तिकै प्रत्युत्पादक हुने गरेको छ। यसरी जति सहयोग गर्दा पनि जस नपाइने कुराले भारतीय नीतिनिर्मातालाई पिरोल्ने गरेको छ।
अवगालमा मिडिया
संचारकर्मीहरूलाई रिपोर्टिङ गर्दा नेपालको सार्वभौमसत्ताको सम्मान गर्न र नेपालीको राष्ट्रिय भावनाप्रति चनाखो रहन सचेत गराएको थियो, तर खास गरेर टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) को दौडमा रहने टेलिभिजनकर्मीहरूले त्यो संवेदनशीलताको ख्याल गर्न सकेनन्। त्यसो त, यो विपत्मा नेपाललाई भारतले दिल खोलेर सघाउनुपर्छ भन्नेमा भारतीय मिडियाहरूबीच मतैक्य नै थियो, तर विदेश भ्रमणका क्रममा पुराना नजिरलाई बेवास्ता गर्दै सञ्चारमाध्यमलाई स्थान नदिएकोमा रुष्ट पत्रकारहरू यसपटक आफ्ना प्रधानमन्त्रीसँग बढी नै खुशी भएका देखिए।
भारतीय रिपोर्टरहरूले 'काठमाडौं मे हुवा तवाही' भन्दै कहालिलाग्दो रिपोर्टिङ गर्दा टेलिफोन, बिजुली, सडक, विमानस्थल लगायतका काठमाडौंको 'लाइफलाइन' सुचारु रहेको कुरालाई नजरअन्दाज गरे। कसरी हुन्छ नेपालको स्थिति नाजुक रहेको र भारत एकमात्र उद्धारकर्ता भएको देखाउन उद्यत उनीहरूले नेपालमा भारतसहित ३४ देशका उद्धार–राहत टोली सक्रिय रहेको बताउने कुरै भएन।
ठूला घटना (जस्तो; दरबार हत्याकाण्ड, जनआन्दोलन) हुँदा आफ्नै प्रबन्ध र खर्चमा नेपाल आउने गरेका भारतीय पत्रकारहरू यो पटक सैनिक जहाज चढेर काठमाडौं ओर्लेकाले अलि बढी नै आत्मविश्वासमा देखिए। उनीहरूमा पनि विशेषगरी टेलिभिजनकर्मीहरूले भूकम्प पीडितहरूलाई निकै संवेदनहीन प्रश्नहरू सोधे। परिणाम, ट्वीटरको ह्यासट्याग 'इण्डियन मिडिया गो होम' ट्रेन्डिङ विश्वभरकै टप ट्रेन्ड बन्न धेरै समय लागेन। भारतकै प्रतिष्ठित पत्रकारहरूले पनि भारतीय टेलिभिजन च्यानलहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला घर्कन लागेको औंल्याउन थाले, सम्पादकीय/विचार विविध पृष्ठमार्फत। इतिहासकार रामचन्द्र गुहाले त नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीले महाभूकम्पको जानकारी आफूबाट पाएको भन्दै ट्वीट गर्नु नै अशोभनीय भएको सार्वजनिक टिप्पणी गरे।
कतिपय भारतीय टेलिभिजन पत्रकारहरू काश्मीरमा बाढी आउँदाको रिपोर्टिङका लागि पनि निकै आलोचित भएका थिए। दिल्लीबाट सेनाको हेलिकोप्टर चढेर काश्मीर उत्रिएका रिपोर्टरहरूले 'भारतीय सेना आपका उद्धार कर रहा है, कैसा लग रहा है?' भनेर सोध्दा बाढीपीडितहरूले 'भारतीय नागरिकको भारतीय सेना उद्धार नही करेगा तो कौन करेगा?' भन्दै उल्टो प्रश्न गरेका थिए। टेलिभिजन च्यानलहरूको यो शैलीबाट भारतीयहरू नै आजित छन्। यस पटकको 'नेपाल रिपोर्टिङ' बाट भने उनीहरूले रचनात्मक पाठ लिनुको विकल्प देखिंदैन, आफ्नै सरकारको उपलब्धिमा चिसो पानी खन्याएको भन्दै आलोचित भएकोले पनि।