संकटको बेलामा नै मान्छेको गुण–दोष, योग्यता र अयोग्यता देखिन्छ। नेताको क्षमता, प्रतिभा र नेतृत्व गुण जाँच्ने परीक्षा पनि संकटकै बेला हुन्छ। र, संकटकै बेला हामी बाँचिरहेको समाज र त्यसका सदस्यहरूको चरित्र र विशेषताका वास्तविकता पनि देख्न र बुझन पाइन्छ।
यसपालिको भूकम्पले पनि नेपाली समाजका चरित्र र विशेषताका विभिन्न पक्षलाई अझ् सतहमा ल्याइदिएको छ। समाजका विभिन्न तह र कुनाहरूमा लुकेर बसेका सकारात्मक र नकारात्मक पक्षहरू अझ् प्रष्ट रूपमा बाहिर आएका छन् र समाजशास्त्री तथा अध्येताहरूलाई अध्ययन र चिन्तनका लागि थप कुराहरू प्राप्त भएको छ।
सहअस्तित्व र सहिष्णुता
नेपाली समाज मूलतः हिन्दू, बौद्ध र किराँत संस्कृतिको सम्मिश्रणले बनेको छ। र, मुस्लिम, शिख, जैन लगायत अन्य धर्माबलम्वीहरू पनि आ–आफ्नो संस्कृति र जीवनशैली अनुरूप समान हैसियतमा सदियौंदेखि नेपाली समाजको सम्मिश्रण भित्रै रहेका छन्। तर विदेशी सहयोगमा केही वर्षदेखि आक्रामक ढंगले इसाई धर्मको जुन ढंगले प्रचार भइरहेको छ, त्यसको नकारात्मक पक्ष यसपल्टको भूकम्पले उत्पन्न गरेको संकटका बेला उजागर भएको छ।
भूकम्प पीडितहरूलाई बाँडिएको चामलको बोरामा बाइबल भेटिनु र केही क्रिश्चियनसँग नजिक संस्थाहरूले क्रिश्चियन धर्ममा लागेकालाई मात्र राहत बाँडेर अन्यलाई नदिनुले नेपाली समाजमा विदेशी प्रोत्साहनमा धार्मिक द्वन्द्वको बीजारोपण गर्न खोजिएको देखियो। संकटलाई धर्म प्रचारको मौकाको रूपमा प्रयोग गर्ने यस्तो नकारात्मक प्रवृत्ति नेपाली चरित्र होइन। यस्ता केही प्रवृत्तिलाई बेवास्ता गरिदिने हो भने यसपल्ट भूकम्पले उत्पन्न गरेको संकटलाई नेपाली समाजले मिलेर साझा संकटका रूपमा सामना गरिरहेको छ।
१२ र २९ वैशाख २०७२ को ठूला धक्का र सयौंको संख्यामा स–साना कम्पन बेहोरिरहेको नेपाली जनमानस भूकम्पको त्रास र आतंकबाट पूर्णतः मुक्त नभइसके पनि आफ्नो जीवन क्रमशः सामान्य बनाउँदो छ। जीवनले जस्तासुकै संकटहरूको पनि सामना गर्न सक्ने क्षमता मान्छेहरूमा उमार्दै र संकटमा पनि सामान्य हुन सिक्दै जान्छ।
त्रिपालमुनि टुँडिखेल, विभिन्न मैदान, चोक र फूटपाथहरूमा रात बिताउनेहरूको संख्या घट्न थालेको छ। तर महलदेखि डेरासम्मबाट त्रिपालमुनि सुत्न आउने क्रममा नेपालीले आफ्नो जीवन संस्कृतिमा रहेको साझापन, सहअस्तित्व र सहिष्णुतालाई फेरि एकपल्ट राम्रोसँग देखाइदिए। भूकम्पले हल्लाउँदा लहरै रहेका पालहरूमा मात्र हैन, एउटै त्रिपालमुनि रहेका मुस्लिमहरू अल्लाहको नाम लिइरहेका हुन्थे भने हिन्दूहरू रामराम जपिरहेका देखिन्थे। बुद्धमार्गीहरू 'बुद्ध हाम्रो रक्षा गर' भन्दै हुन्थे भने नास्तिकहरू एकैचोटि यस्ता दृश्यहरूको अनौठो अनुभूति गरिरहेका हुन्थे।
एउटा परिवारले बनाएको तरकारी अर्को परिवारले स्वाद मानी मानी चाखिरहेको हुन्थ्यो भने अर्को कुनै परिवारले दिएको चटनीमा जिब्रो फट्कारिरहेको हुन्थ्यो। कतिपय त्रिपालमुनि विभिन्न जातजातिका साझा भान्सा र भोजन चलिरहेको हुन्थ्यो। कोही रेडियोमा भूकम्पका समाचार सुनिरहेका हुन्थे भने कोही तास फिटेर खाल जमाइरहेका हुन्थे; कोही मोबाइलमा फेसबुक चलाउन मस्त भेटिन्थे त कोही किताबमा मग्न। एकातिर पुरुषहरूको राजनीतिक गफको अखडा चलिरहेको हुन्थ्यो भने अर्को कुनामा महिलाहरू गफको महफिल जमाइरहेका भेटिन्थे।
तिब्बती चिया र मःम, शेर्पाले बनाउने थुक्पा, मुसलमानले पकाएको सेवई र वैष्णव पन्थीले दिएका मिठाई र नेवारले बनाउने पिरो छोयला र नयाँ पुस्ताले मन पराउने कफी– सबैको स्वाद चाख्ने मौका एउटै त्रिपालमुनि पाइन्थ्यो। कतिपय तन्नेरीहरूले नयाँ साथी पनि त्रिपालबासमै बनाउन भ्याएका देखिन्थ्यो। अर्थात् भूकम्पले उत्पन्न असामान्य परिस्थितिमा पनि नेपालीले आफ्ना जीवनका सामान्य, सहज गतिविधि र आफ्ना स्वाभाविक जीवन्तता र बानीबेहोरा छोडेका थिएनन्।
आफ्ना दुःख र पीडाप्रति चिन्तित त्रिपालवासीहरू एकअर्काप्रति पनि चिन्तित देखिन्थे। डेरा भत्किएर पालमुनि आएकाहरूका लागि नयाँ डेरा खोजिदिन रैथाने र घर भएकाहरू आफन्तलाई मोबाइलबाट फोन गर्दै 'तिमीकहाँ कोठा खाली छ?' भनेर सोधिरहेका देखिन्थे भने उनीहरूका गाउँघरको अवस्था बुझिदिन लागिरहेका हुन्थे। अर्थात् भूकम्पले उत्पन्न गरिदिएका विभिन्न अप्ठेरा मिलेर सामना गरिरहेका थिए, त्रिपालवासीहरू। उनीहरूले भूकम्पले उत्पन्न गरेको झ्न्डै एकमहीने 'संकटकाल' लाई पराजित गरिदिएका छन्। एकअर्काको धर्म, संस्कृति, परम्परा र मान्यताको सम्मान र सहअस्तित्वमा जिउन मन पराउने र सहिष्णुतालाई आफ्नो जन्मजात स्वभावका रूपमा हुर्काएका नेपालीले 'सहअस्तित्व र सहिष्णुताः नेपाली विशेषता' को मान्यतालाई मलजल गरिरहेका छन्। समाजमा विद्यमान यो विशिष्ट गुणलाई बाह्य धार्मिक आक्रमण र अनेकौं अन्ध जातिवादले भत्काउन खोजे पनि त्यो बलियोसँग अझै कायम रहेको छ, जसलाई सम्पूर्ण नेपालीले भविष्यमा अझ् समावेशी र सहिष्णु बनेर सुदृढ बनाउनु आवश्यक छ। यो हाम्रो यस्तो विशेषता हो, जसलाई अझ् व्यापक, सुदृढ र समावेशी बनाउने हो भने भविष्यमा समृद्धिको एउटा प्रमुख आधार बन्न सक्छ।
आफ्नै स्रोतको परिचालन
भूकम्पको धक्का कालमा नेपाली समाजका अँध्यारा पक्ष पनि त्यत्तिकै देखिए। समाजमा विद्यमान जडता मात्र होइन अप्ठ्यारो अवस्था अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि भूकम्पको सामना गर्न आवश्यक तयारी नगर्ने राज्य संयन्त्र र आफ्नै लापरबाहीले पनि नेपालीले नोक्सानी बेहोर्नुपरेको छ।
भूकम्पले अघिल्लो दिनको करोडपतिलाई भोलिपल्ट सडकमा ल्याइदिएको छ। घर मात्र सम्पत्तिको रूपमा रहेका उपत्यकाका हजारौं रैथाने बासिन्दालाई गम्भीर चिन्ता र गहिरो आर्थिक संकटको भुमरीमा हुत्याइदिएको छ। बाह्र, पन्ध्र हजारदेखि बीस, पच्चीस हजारसम्म घरभाडा उठाएर जीविका चलाइरहेकाहरू र सानोतिनो जागिर गरेर पुस्तैनी घरमा बसिरहेकाहरू घर भत्किएर सुकुम्बासीको जस्तो अवस्थामा पुगेका छन्। यस्ता हजारौं मानिसहरू अन्योल र अनिश्चयको अवस्थामा छन्। शहर र ग्रामीण क्षेत्रका गरेर लाखौं निम्न मध्यमवर्गीय र मध्यमवर्गीय मानिसहरू आर्थिक रूपले खस्कँदै जाने अवस्था उत्पन्न भएको छ। त्यस्तै उपत्यकामा डेरा गरेर बस्ने कर्मचारी र विभिन्न सानातिना पेशा र व्यापार व्यवसाय गर्नेहरूले उपत्यका बाहिर सरुवा माग्नुपर्ने र आफ्नो पेशा र व्यापार छोडेर गाउँ फर्किनुपर्ने अवस्था उत्पन्न हुने हो कि भन्ने आशंका व्याप्त छ। यस्तो अवस्था आउन नदिन सरकारले तत्काल पुनर्स्थापना र निर्माणका कामहरू अघि बढाउनुपर्छ।
बाह्य सहयोग सकेसम्म नगद र अनुदान मात्र लिनुपर्छ। बाह्य ऋण थप्ने होइन बरु ऋण मिनाहामा जोड दिनुपर्छ। जस्तापाता, त्रिपाल, सडकका अवरोध पन्छाउन र सडक निर्माणमा आवश्यक मेशिनरी तथा सेनाका लागि आवश्यक पर्ने छरिता र सामान धेरै ओसार्न उपयोगी हुने हेलिकोप्टरहरू सहयोगका रूपमा माग गर्नुपर्छ। सरकारले दाता राष्ट्रहरूसँग आफ्ना आवश्यकता स्पष्टसँग राख्नुपर्छ र नेपाललाई अनावश्यक सामानको डम्पिङ साइट बन्न दिनुहुँदैन।
सरकारकै आर्थिक स्रोत र जनतासँग रहेको नगदलाई पनि राष्ट्रको निर्माणमा लगाउने बेला हो यो। राम्रो व्याजदरमा ऋणपत्र जारी गर्ने हो र आयको स्रोत नखोजी व्याजमा कर नलगाउने हो भने एक–डेढ खर्ब रुपैयाँ देशभित्रै उठ्न सम्भव छ भनेर अर्थविद्हरू भनिरहेका छन्। दाताहरूसँग माग्नैपर्ने हाम्रो बाध्यता छ तर सम्भावना भएका आन्तरिक स्रोतहरूको परिचालन गर्ने उपाय पनि हामीले गर्नै पर्छ। आफ्नो चाहना अनुसार आफैंले खर्च गर्न नपाउने हो भने सहयोग दिन समेत कञ्जुस्याईं गर्ने मनस्थितिमा दाताहरू देखिएका छन्।
सम्भव भएसम्म व्यवस्थित र दिगो विकासको नीति लिइनुपर्छ तर नीति र योजना बनाउने नाममा निर्माण र पुनःनिर्माणको काम ढिलो गर्नुहुँदैन। भत्काउनैपर्ने घरहरू धमाधम भत्काउने र नयाँ घरहरू छिटो बनाउन सकिएन भने आर्थिक शिथिलता मात्र होइन अरू अनेकौं प्रकारका सामाजिक र सांस्कृतिक जटिलता र विसंगतिहरू समेत देखापर्ने छन्। त्यसैले सरकार गतिरोध हटाउँदै युद्धस्तरमा क्रियाशील हुन आवश्यक छ। विभिन्न संकटलाई सामना गर्दै र पार लगाउँदै समाज परिष्कृत र समुन्नत पनि बन्दै जान्छ।