के लाग्छ र !

Share:
  
- केदार शर्मा

छोराछोरी नर्सरी कक्षामा हुँदाको कुरा हो, 'विपरीतार्थक' पढाउने गुरुमाले 'आमा' को विपरीतार्थक 'बाबा' र 'महिला' को विपरीतार्थक 'पुरुष' पढाउनुभएछ। यी शब्दहरू विपरीतार्थक होइनन् भन्ने बुझाउन हामीलाई निकै गाह्रो परेको थियो।  

'महिला' शब्दमा भएको राजनीतिको सबभन्दा खराब पक्ष के हो भने यसले महिला र पुरुषको कित्ताकाट गरिदिएको छ। 'महिला विरुद्धको अपराध' धेरै सुनिने वाक्यांश हो, तर यसले सही अर्थ बोक्न सक्दैन। कुनै अपराध न महिला विरुद्ध मात्र हुन्छ, न त पुरुष विरुद्ध मात्र।। अत्याचारबाट व्यक्ति मात्र होइन परिवार र समाज नै प्रताडित हुन्छ। हो, अत्याचार महिलामाथि नै बढी हुने गरेको देखिन्छ तर त्यसलाई सभ्यता विरुद्धको अपराध ठान्नुपर्छ, परिवारहरूका विरुद्धको अपराधका रूपमा लिनुपर्छ।  
 
बर्दिया, गुलरियाकी किशोरी शिवा हास्मीलाई पेट्रोल छर्केर जिउँदै जलाइयो। ट्युसन पढ्न हिंडेकी बारा, प्रस्टोकाकी छात्रा विन्दु ठाकुरको जलेको शव फेला परुर्‍यो। वैदेशिक रोजगारी पीडित भोजपुरकी एउटी महिलालाई काठमाडौं विमानस्थलस्थित नेपालको मूल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीले लुटे। लुटेनन् मात्र, बलात्कार समेत गरे। भारतको दिल्लीमा बसमा यात्रारत एउटी युवतीलाई बलात्कारीहरूले योनीबाट फलामको रड पसाएर भित्री अङ्गहरू समेत क्षतविक्षत पारिदिए। यस्ता घटना गनिसाध्य छैन। महिलामाथिको अत्याचारका समाचार नआएको कुनै दिन छैन, तर ती समाचार अलिअलि मात्र हुन्। बलात्कारका घटना प्रायः बाहिर आउँदैनन् भन्ने हामी सबैलाई थाहा छ।  
 
बाहिर आइसकेको अपराधमा पनि केही भएको छैन। दिल्लीमा बसमा भएको अत्याचार विरुद्ध धेरै आवाज उठ्यो, भारतमा महिला सुरक्षाबारे नयाँ बहसको थालनी नै भएको छ। नेपालको अध्यागमन अत्याचारका कारण पनि धेरै कुरा अगाडि आउन थालेको छ। चुप लागेर सहनुभन्दा बोल्न गाह्रो हुन्छ तर बोल्न थालेपछि मात्र प्रतिकार गर्ने क्षमता बढ्छ। 
 
कोही बेला ठूल्ठूला घटना त्यत्तिकै सेलाउँछन्। केही वर्षअघि एकजना महिला प्रहरीलाई आधा दर्जन पुरुष सहकर्मीले बलात्कार गरेको समाचार आयो जसमा तहकिकातभन्दा बढी राजनीति भयो। परारसाल नेपालको बसमा बलात्कृत भिक्षुणीका बारेमा उठ्नुपर्ने जति कुरा उठेन। प्रहरीले दोषीहरूलाई समात्न चाहिं समाते। कसैलाई लाग्ला, अपराधीहरूले सजाय पाए, भइहाल्यो नि, बेकारमा हल्ला मच्चाएर के फाइदा? तर हैन, यो एकदम हल्ला हुनुपर्ने विषय हो। मान्छेले मान्छेसित डराउनुपर्ने परिस्थिति यसै पनि मानव सभ्यतामा कलङ्क हो। प्रेमजन्य व्यवहार यौनलाई अपराधीकरण गर्ने, नाबालिकाहरूलाई समेत शिकार बनाउने र त्यतिले पनि नपुगेर हत्या समेत गर्ने व्यक्तिहरूले कठोर सजाय पाउनुपर्छ। मृत्युदण्डकै माग गर्न त नमिल्ला तर उनीहरूले मरे बराबरको बदनामी बेहोर्नुपर्छ। घटनाहरू चर्चामै आएनन् भने अपराधीहरू त्यसै छुट्छन्। त्यो भनेको निरपराधहरूको तेजोबध हुनु हो।  
 
म अहिले दिल्लीमा भएको भए रुर्‍यालीहरूमा भाग लिएर बलात्कार लगायतको हिंसाको विरोधमा लाठी खाइरहेको हुनेथिएँ। काठमाडौंमा भएको भए प्रधानमन्त्रीमाथि पटक्क पत्यार नभए पनि बालुवाटारमा भेला भएर सरकारी कर्मचारीहरूबाट भएको ठगी र बलात्कारको विरोध गरिरहेको हुनेथिएँ। म जहाँ छु त्यहाँबाट लेख्न सक्छु, लेख्दैछु।  
 
मलाई पुरुषका रूपमा जन्मिएका नामर्दहरूले महिलालाई जित्न अपनाएका बलजफ्तीहरूप्रति जति ग्लानि छ, महिलालाई आक्रमण गरेर समाजलाई पुरुर्‍याएको क्षतिलाई 'महिला विरुद्धको अपराध' का रूपमा सीमित पारिएकोमा त्यत्तिकै असन्तोष लागेको छ। 
comments powered by Disqus

रमझम