हामी सबैमा माया, ममता र मानवता लगायतका मानवीय गुण छन्, जसलाई हामी हुर्केको समाज र संस्कारले घटी–बढी बनाएको छ। हामी सबै यी गुणहरू बोकेर आफ्नो र परिवारको भौतिक सुख–शान्तिको लागि दौडिरहेका हुन्छौं। हामी मनको समाजसेवी–परोपकारी गुणहरूलाई थामथुम पार्दै धन–सम्पत्ति आर्जनको दौडमा रहन्छौं, तर सकेपछि, भ्याएपछि गरौंला भन्दाभन्दै जीवन बितिसक्छ। महाभूकम्पले हामीलाई माया, ममता र मानवता सम्झाएको छ।
हामीमध्ये धेरैसँग आफ्नो ब्यांक खाता छ। खाताको रकममा पछाडि शून्य थप्नमै हाम्रो जीवन बितेको रहेछ। महाभूकम्पपछि पालमा बसेर करोडौंको आफ्नो घर टुलुटुलु हेर्दै र प्रियजनहरूसँग लुटपुटिंदै अर्को कम्पन कुर्दा भने जीवनमा सम्पत्ति मात्र भएर नपुग्ने रहेछ भन्ने ज्ञान भयो। महाभूकम्पको 'आफ्टरशक्' सकिएर जनजीवन सामान्य बनेपछि हामी फेरि ब्यांक खाताको रकममा शून्य थप्ने चक्करमा फर्किनेछौं। समाजसेवामा मात्र लाग्दा व्यावहारिक जीवन चल्दैन पनि, तर महाभूकम्पले केही न केही गर्नै पर्ने पाठ पढाएको छ। त्यसैले अब सबैले अरूको पीडामा मल्हम लगाउन आ–आफ्नो नाममा पुण्य खाता पनि खोलौं, जसको आनन्दले महाभूकम्पले दिएको तनाव बिर्साओस्।
परोपकारलाई दैनिक जीवनको एउटा सानो हिस्सा बनाएर आफ्नो मनलाई सदा आनन्दित राख्न मैले पुण्यार्जन कोषको अवधारणा ल्याएको छु। हामी रात–दिनको मिहिनेतबाट आएको रकम ब्यांक खातामा राख्छौं। त्यसमा एउटा शून्य थपौं भन्ने सबैको ध्याउन्न हुन्छ। कतिको त जीवनको सम्पूर्ण लक्ष्य नै ब्यांक खातामा जम्मा रकममा शून्य थप्ने भएको हामीले देखेका छौं। पुण्यार्जन कोषमा भने पैसा होइन, परोपकारी कार्यको फल जम्मा हुन्छ।
फाइदै फाइदा
ब्यांक खाता खोल्न पैसासँगै विभिन्न कागजात चाहिन्छ, तर पुण्यार्जन कोष खोल्न माया, ममता र मानवता भएको मन भए पुग्छ। ब्यांक खाताको स्टेटमेन्ट लिएर आफ्नो आर्थिक स्थिति हेर्ने गरिन्छ। पुण्यार्जन कोषको अवस्था भने मानसिक विश्लेषणबाट गर्न सकिन्छ। ब्यांक खाताको स्तर वृद्धिले तपाईंलाई भौतिक सन्तुष्टि–सुरक्षा दिन्छ भने पुण्यार्जन कोषको प्रगतिले अलौकिक आनन्द। पुण्यार्जन कोषले तपाईंलाई मानसिक तनावरहित बनाउँदै भित्रैदेखि आनन्दित गराउँछ र नसर्ने रोग लाग्ने सम्भावनाबाट जोगाउँछ।
ब्यांक खाताको रकम नष्ट भएर जिन्दगी टाटै पल्टिन सक्छ, तर पुण्यार्जन कोषको फल अक्षय रहन्छ। ब्यांक खाताको गलत प्रयोगले सन्तति बिग्रन सक्छन्। पुण्यार्जन कोष छ भने त्यसले सन्ततिलाई पनि परोपकार, माया र दयाको संस्कार दिन्छ। ब्यांक खाताको रकम भागबण्डा गरेर लिने सन्ततिलाई अभिभावकको पुण्यार्जन कोषले नैतिक कसीमा खरो उत्रिन सिकाउँछ। असल सन्तानले सदा यो कोषलाई अझ् ठूलो बनाउने कोशिश गर्छ।
पुण्यार्जन कोषमा सबैखाले परोपकारी काम र त्यसबाट प्राप्त नतीजाहरू जम्मा हुन्छ– तपाईंले दिएको आर्थिक वा जिन्सी चन्दा, निःशुल्क व्यावसायिक सेवा, सीप, ज्ञान, सल्लाह, समर्थन, प्रोत्साहन अनि तपाईंले अरूको भलोको लागि गरेको प्रार्थना–शुभकामना सबै। समाजमा सेवाभाव र करुणा सहितको सामाजिक संस्कार विकास गर्ने पुण्यार्जन कोषले परोपकारी संस्कारको पुर्ख्यौली हस्तान्तरण गर्छ, जसबाट राष्ट्रिय विपत्तिमा पनि सहयोगी हातहरूको पहिचानमा सरलता हुनुको साथै प्रत्येक व्यक्तिलाई व्यवसायमै रहेर समाजसेवी, परोपकारी बन्न प्रेरित गर्छ।
जहाँसम्म मेरो कुरा छ, मैले धेरै अघि नै पुण्यार्जन कोष खोलेको छु, जसको विवरणले मलाई सधैं आनन्दित बनाउँछ। मेरो व्यावसायिक तनावलाई यही विवरणले सामसुम पार्ने गरेको छ। यो कोषको वृद्धिसँगै अरूको गुण र असल कुरामाथि ध्यान जान थाल्छ, कठिनाईमा धैर्य गर्न सघाउ पुग्छ। म आशा गर्छु– यहाँहरू पनि अब आ–आफ्नो पुण्यार्जन कोष खोल्नुहुनेछ र पहिल्यै खोलेकाहरूले त्यसलाई अझ् फराकिलो पार्नुहुनेछ।