१०- १६ जेठ २०७२ | 24-30 May 2015

पशुपक्षीले पहिल्याएको बाटो

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
भीरमाहुरीले चाका लगाएका भीरहरू भूकम्पमा पनि भत्कँदैनन्। किनभने पशुपक्षी कीटपतंगले प्रकृतिसम्मत जीवन बाँच्न जानेका छन्। तर, हामी आफ्नै जमीनको प्रकृति नबुझेर बनाइएका घरभित्रै त्रसित छौं।

२२मे, विश्व जैविक विविधता दिवस यस वर्ष पनि पात्रोसँगै पल्टेर आइपुग्यो। तर, हामीकहाँ भने समय पल्टेर महाभूकम्पको मारमा देश उत्तानो टाङ परेको छ। दिवसको यस वर्षको नारा 'दिगो विकासका लागि जैविक विविधता' भन्ने छ। दिगो विकासका जग र जरा नै हल्लाइदिने भूकम्पीय प्रकोप हामी बिर्सनै सक्दैनौं किनभने हामी भूकम्पमाथि र भूकम्प हामीमाथि बसेको छ।

जैविक विविधताका तीन पक्ष विचारणीय छन्। पहिलो जीव, प्राणी, वन, वनस्पतिका जातीय विविधता जसमा हामी निकै धनी छौं। दोस्रो, जीव–प्राणीका वंशाणुगत विविधता, त्यसमा पनि हाम्रो सम्पदा अनुपम छ। तेस्रो चाहिं जीव प्राणीका बासस्थानको विविधता। बासस्थान अर्थात् आफ्नो धरती, पाइतालाको संसार। नेपालीको धरतीमा विश्व सर्वोच्च शिखरदेखि पहाड, तराई, मधेश, चुरे, महाभारत लगायत सबै भूसम्पदाका विविधता छन्। भूस्वरुप अनुसार बासस्थानमा जीव–प्राणी र वनस्पति मौलाउँछन्। प्राणीहरू बासस्थान अनुसार विकासको बाटो पहिल्याउँछन्। गाँस–बास बासस्थान अनुरूप नै तय गर्दछन्।

तराई मधेशको घाँस खाएर सिमसार र दलदलमा आहाल खेल्दै गैंडा जीवनयापन गर्छ। हिउँसँग लडीबुडी खेल्दै कस्तूरीमृग रमाएका हुन्छन्। हावा र हुरी सजिलै खप्न सक्ने गुँडमा तोपचरी सुरक्षित छन्। भीरमाहुरीले चाका लगाएका भीरहरू किन भत्कँदैनन् भूकम्पमा पनि? किनभने हाम्रा पशुपक्षी कीटपतंगले प्रकृतिसम्मत जीवन बाँच्न जानेका छन्। आफ्नो जमीनको प्रकृति नबुझ्ेर बनाइएका घर, भवन र अन्य संरचनाले थिच्ला भनेर आज हामी त्रसित छौं। आफ्नै घरभित्र असुरक्षित छौं। यस्तो विकासलाई कसरी दिगो विकासको परिभाषाभित्र अर्थ्याउने? दिगो विकासको हाम्रो परिभाषा यो महाभूकम्पले बदलिदिएको छ। अब कता जाने, के गर्ने, सुरक्षित भविष्य कसरी कोर्ने भन्ने चिन्तामा नेपाली जनता, सरकार, सरोकारदाता र विश्व समुदाय एकजुट भई लाग्नुपर्ने अवस्था आएको छ।

कुरा मात्रै

महाभूकम्पले जनमानसमा एउटा कुरो भने स्पष्ट पारेको छ, हाम्रो देश लगायत सम्पूर्ण हिमाली देश, प्रदेश भौगर्भिक चलखेलको मारभित्रको भूगोलमा छौं। तर १९९० सालको भूकम्पका बेला जस्तो अज्ञानताको अँध्यारोमा हामी छैनौं। तत्कालीन श्री ५ को सरकार, त्रिभुवन विश्वविद्यालय लगायतका अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत भूगर्भविद्, भूकम्पविद् तथा भूगोलशास्त्रीले नेपालको भूकम्पीय जोखिमबारे थुप्रै सोधखोज, अध्ययन एवं विमर्श गरिसकेका थिए। तर, विशेषज्ञ र वैज्ञानिकको चहलपहल आ–आफ्नै क्षेत्रमा सीमित रह्यो। विकास निर्माणको सतहसम्म पुग्न सकेन। जनचेतनाका कुरा पनि व्यावहारिक तहसम्म पुग्न सकेनन्।

उदाहरण थुप्रै छन्। अहिले मेरासामु काठमाडौं उपत्यकाको एउटा भौगर्भिक नक्शा पल्टिरहेको छ। सन् १९९८ मा प्रकाशित यो नक्शाको नाम 'इन्जिनियरिङ एण्ड इन्भाइरोन्मेन्टल जिओलजिकल म्याप अफ काठमाडौं' हो, उपत्यकाका सतही माटोका बनोट र तिनका प्रकार, भित्री तहका अमोठ माटो र अझ् भित्रका चट्टानी भागबारे विस्तृत नक्शांकन पाइन्छ। त्यही नक्शामा भूकम्पीय जोखिम क्षेत्र जनाउने 'लिक्विफाक्सन' नक्शा पनि छ। हालैको भूकम्पबाट क्षतिग्रस्त क्षेत्रहरूको अध्ययन गर्न थाल्यौं भने कुनै पनि इन्जिनियरिङ कम्पनीले उक्त नक्शाको प्रयोग गरेको अनुभूति दिंदैन।

काठमाडौंको बीभत्स क्षतिको कारण भ्रष्टाचारको जगमा उभिएको छ भन्ने प्रष्ट विश्लेषण सूर्यनाथ उपाध्याय र दिपेश घिमिरेको लेखले (नेपाल १० जेठ २०७२) उजागर गरेको छ। हुन त १२ वैशाखको भूकम्पले धरहरा समेत ढालिदियो। तर, के यसले चुलिएको भ्रष्टाचारको धरहरा ढाल्न सक्ला? यसो भइदिए मात्र यो भूकम्पको अर्को सान्दर्भिकता हुनेथियो।

जैविक विविधताको परिप्रेक्ष्यमा बासस्थान विविधताको चर्चा उठाउन चाहन्छु। बासस्थानको विविधताबारे पनि नेपालमा थुप्रै अनुसन्धान भइसकेको छ। आजभन्दा ३५ वर्ष पहिले नै नेपालको भूसम्पदा नक्शांकन परियोजनाले थुप्रै नक्शा तयार पारिसकेको छ। नेपालको पर्यावरणीय विविधताको नक्शा नेपाली र फ्रान्सेली वातावरणविद्ले बीसौं वर्ष पहिले नै प्रकाशित गरिसकेका छन्। अन्य स्थानीय नक्शा र तिनका विवरण पनि यथेष्ट पाइन्छ।

विगत बीस–तीस वर्षभित्र भए/गरेका अध्ययन र अनुसन्धानको व्यापक अध्ययन गरेर नेपालमा सुरक्षित बासस्थानको पहिचान गर्नु परेको छ। भोट, हिमाल, पहाड, उपत्यका, महाभारत, चुरे, मधेश, तराई आदि विभिन्न भूबनोटभित्र सुरक्षित स्थानहरूको छनोट गरेर सोही अनुरूप विकास निर्माण र पुनःनिर्माणका खाका तयार गरेर एकीकृत नयाँ नेपालको संरचनातिर लाग्नलाई यो महाभूकम्पले प्रेरित गरेको छ। जात, धर्म, भाषा, वर्ण आदिको भुत्ते धारले विखण्डन गर्ने राजनीतिलाई सदाका लागि धरासायी गर्ने परकम्प पनि यही महाभूकम्पको शक्तिभित्र निहित रहोस् भन्ने मनोकम्पन पनि उठ्दो छ, १२ वैशाखको मूल कम्पनपछि।

comments powered by Disqus

रमझम