१०- १६ जेठ २०७२ | 24-30 May 2015

ओझेलको संकट

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ र देबकी बिष्ट, भट्टेडाँडा, ललितपुर
दक्षिणी ललितपुरका पाँच गाविसका अधिकांश पीडितले राहत पाउन सकेका छैनन्।

डम्बरकृष्ण
मंगलसिंह बिक।

भट्टेडाँडा, ललितपुर।

डोलकेश्वर दाहाल।

१२वैशाखको महाभूकम्पले भत्काएको घरभित्रै पुरिएका भट्टेडाँडा–८, ललितपुरका डोलकेश्वर दाहाल (४०) लाई गाउँलेले खनेर निकालेका थिए। पहिरोले बाटो पुरेकाले उनलाई भोलिपल्ट मात्र टीकाभैरव अस्पताल पुर्‍याइयो। खुट्टा र टाउकोमा गहिरो चोट लागे पनि दाहालले पुरिएर बाँच्नुको अगाडि पीडालाई सामान्य मानेका छन्।

भट्टेडाँडाकी संगीता चौरेल (२५) को हात भाँचिएको छ। महाभूकम्पले घर गर्ल्यामगुर्लुम पारेको एक घण्टापछि बाथरुमबाट उद्धार गरिएकी उनी हिंडेरै बेलुका ७ बजे टीकाभैरव अस्पताल पुगेकी थिइन्। अहिले २०० गाउँलेसँगै सामूहिक बासमा रहेकी संगीता भन्छिन्, “शुरूको एकसातासम्म गाउँमा बाहिरबाट केही आउने अवस्था थिएन। मरेका गाईबस्तु गाउँले आफैंले झिके। गाउँलेले नसकेका पछि सेना–प्रहरी आएर झिकिदिए।”

हामी २७ वैशाखमा मकवानपुरसँग जोडिएको ललितपुरको वगुवा–२ पुग्दा मंगलसिंह बिक (५०) बाटोछेउमा टहरो बनाउँदै थिए। १० छोराछोरीका बुबा उनले परिवारलाई अब कसरी गाँस–बास जुटाउने भन्ने चिन्ता परेको बताए। “घरमा भएको सबथोक माटोमुनि छरियो”, बिकले भने, “काठपात तानेर हतारमा टहरो त बनाउँदैछु, तर बर्खा धान्ने खालको छैन।”

संगीता चौरेल।

तस्वीरहरुः देबकी बिष्ट
भत्किएको भट्टेडाँडा।

राजधानी नजिक भए पनि दक्षिणी ललितपुरका भट्टेडाँडा, माल्टा, घुसेल, इकुडोल र दलचौकी गाविस दुर्गम छन्। यी पाँच गाविस हेर्ने भट्टेडाँडा प्रहरी चौकीका इन्चार्ज सई भूषण कार्कीले महाभूकम्पले यो भेगका ९५ प्रतिशत घर बिगारेको बताए। “यो क्षेत्रका केही गाउँमा मात्र चामल र पाल पुगेको छ, त्यसमाथि बलौटे माटोका कारण अबको बर्खामा पहिरोको खतरा बढेको छ”, सई कार्कीले भने “कम्तीमा बर्खा काट्ने टहरो बनाउन गाउँलेलाई जस्तापाता चाहिएको छ।”

स्थानीय जनप्रतिनिधि नभएको र गाविस सचिवहरू पनि सदरमुकामतिरै रहेकाले महाभूकम्पको विपत्तिपछि गाउँलेको समस्या सुन्ने निकाय प्रहरी बन्यो। भूकम्पले ल्याएको पहिरोले बाटोघाटो पनि बन्द भएको अवस्थामा 'सीमित जनशक्तिको असीमित उपयोग' गर्दै उद्धारमा जुटेको सई कार्कीले बताए। भूकम्पको एकसातापछि गाविस पुगेका सचिव धु्रव थापाका अनुसार, भट्टेडाँडामा दुई बालकसहित पाँच जनाको मृत्यु भएको, ४३२ वटा घर ढलेका र २३ वटा चर्किएका छन्। “भौगोलिक विकटताका कारण गाउँमा राहत पनि पुगेको छैन”, सचिव थापाले भने।

भट्टेडाँडा निमावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद तिम्सिनाले 'बत्तीमुनिको अँध्यारो' यो क्षेत्रमा कान्ति राजपथ, खानीखोला जलविद्युत् परियोजना लगायतका पूर्वाधार विकासले आशा जगाउँदै गरेको समयमा महाभूकम्पले कहर बर्साएको बताए। “हवाईजहाज दिनरात हाम्रा छानामाथिबाट उड्छन्”, तिम्सिना भन्छन्, “कतिसम्म छायाँमुनि भने महाभूकम्पपछि यो क्षेत्रका सबैले एकसरो राहत पनि पाएका छैनन्।”

comments powered by Disqus

रमझम