१०- १६ जेठ २०७२ | 24-30 May 2015

गाउँका गायक

Share:
  
जन्मथलो झापाको गौरादहलाई गीत मार्फत देशैभर गुन्गुनाउने बनाएका ५७ वर्षे सीताराम ताजपुरिया ३३ वर्षको राजधानी बसाइपछि चूपचाप गाउँ फर्किएका छन्।

गोपाल गडतौला
झापा, गौरादहका निरक्षर बुधलाल ताजपुरिया गाउँको महाजनका गोठालो थिए। तर पनि उनले छोरो सीतारामलाई स्कूल जान कहिल्यै रोकेनन्।

गौरादहको बजारमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडी गयो।
२०३९ सालदेखि रेडियो नेपालबाट बज्न थालेको यो गीतले उनै सामान्य सीतारामलाई रातारात गायक सीताराम ताजपुरिया बनाइदियो।
'छिटको साडी चौबन्दी चोलीमा, माया बस्यो लजालु बोलीमा' जस्ता गीतले सीताराम रेडियोबाट सुनिरहनुपर्ने नाम बन्न पुगे।

'लौ गीत गा' सीतारामका लागि यो सजाय थियो, स्कूलमा पाठ नबुझाउँदा। कमजोर विद्यार्थी थिए, सधैं नै सजाय पाइरहने र प्रत्येक पटकजसो फेरि–फेरि गीत गाउनुपर्ने। १० कक्षाको परीक्षा दिएपछि केही साथीले सीतारामलाई रेडियो नेपालको फूलबारी कार्यक्रममा गीत गाउन हुटहुटी लगाए। जीवनमा रेडियो नेपालबाट गाउँलेलाई गीत सुनाउँछु भन्ने अठोट त्यहीबेला पलायो।

गाउँलेकै सल्लाहमा चन्दाको निवेदन बोकेर उनी गाउँका प्रधानपञ्च डिट्ठा नरबहादुर बस्नेत र अञ्चलाधीश लीलाराज बिष्टसामु पुगे। गीत सुनाए। गाउँको ठिटोले गायक बन्ने लक्षण देखाएपछि उनीहरुले पनि सहयोगको लागि तोक लगाइदिए। जेठ २०३७ मा चिउरा–भुजा, एकसरो कपडा र गायक बन्ने सपना बोकेर २२ वर्षको उमेरमा गाउँ छाडे।

आधा पेट खाएर रत्नपार्कको फलैंचामा उनले तीन महीना बिताए। दिनहुँ सिंहदरबारभित्रको रेडियो नेपाल पुग्थे, सुनिएका/देखिएका अनुहारलाई आफू गायक बन्न आएको भन्थे, र गीत पनि सुनाउँथे। तीन महीनापछि बल्ल उनलाई रेडियो नेपालले स्वर परीक्षा दिन पत्यायो। लोकलयतर्फ धानको बाला सुनौली खेतैमा... र आधुनिकतर्फ म आफ्नै आँखाबाट झारेको छु... गीत गाए। स्वर परीक्षामा उत्तीर्ण भए। तर, त्यसले पेट भरिंदैनथ्यो। धरहराको फेदमा सुस्ताइरहँदा भेट भएका शाक्य थरका एकजना सरकारी कर्मचारीले लगनखेलस्थित घरमा काम गर्न लिएर गए।

दशैं–तिहारमा गौरादह पुग्दा गाउँमा सीतारामको हाईहाई थियो। स्वर परीक्षामा उनले गाएको गीत फूलबारी कार्यक्रममा बजेको गाउँलेले सुनेका रहेछन्। “म त हिरो भइसकेको रहेछु”, उनी भन्छन्।

२ जेठ २०३९ मा भने सीतारामको दुःख र प्रतिभा दुवैलाई रेडियो नेपालले सुन्यो। उनले मासिक रु.२४० तलबमा लोकगीत शाखामा मुखियाको अस्थायी नियुक्ति पाए। त्यसपछि हो, सीतारामको स्वरले झनै लय समातेको। ६० भन्दा बढी जिल्लामा उनी गौरादहको बजारमा र छिटको साडी .... जस्ता गीत गाउँदै गुञ्जिए। झापा, मुगु र संखुवासभामा सम्मानित भए। लोक, आधुनिक र ताजपुरिया भाषाका समेत गरी २०० भन्दा बढी गीत रेकर्ड गराएका उनको स्वरको विशेषता जनजिब्रोमा झुण्डिने शब्द र लय हुनु हो। “धेरैले 'पहाड घर कहाँ हो?' भनी सोध्छन्। म झापा, गौरादह भनिदिन्छु”, उनी हाँस्दै सुनाउँछन्।

वरिष्ठ गायन अधिकृतको रुपमा १७ भदौ २०७१ मा सीताराम सेवानिवृत्त भए। र, असोजमै फर्के उही गौरादह बजार, जुन गीतको एक अन्तरामा उनले गायकै थिए, 'बिर्सिएर घरबार मन सधैं रुने, कसले पो माया गरी मन बुझाइदिने।'

“भुईंबाट उठेर यहाँसम्म पुगें” भरिलो स्वरमा सीताराम भन्छन्, “असन्तुष्टि केही छैन।”

गोपाल गडतौला

comments powered by Disqus

रमझम