१०- १६ जेठ २०७२ | 24-30 May 2015

सरोद अर्थात् मोहनसुन्दर

Share:
  
सरोदको रूप–रङ मोहनसुन्दरलाई थाहा छैन। तर, अन्तर्यको मीठो धुन महसूस गर्ने उनी जस्ता कमै छन्।

काठमाडौं, नरदेवीका मोहनसुन्दर श्रेष्ठ ७२ वर्षमा पनि जवान झै दरबारमार्गस्थित होटल अन्नपूर्णमा सरोदसँग खेलिरहेका भेटिन्छन्। तर, सरोदको धुनमा रम्ने सबैलाई थाहा नहुन सक्छ, उनी दृष्टिविहीन हुन्। “यो सरोद नै मेरो आँखा हो”, उनी भन्छन्, “यो कस्तो छ, थाहा छैन तर सरोद नै मेरो सबथोक हो।”

वरिष्ठ सितार तथा सरोदवादक नारायणप्रसाद श्रेष्ठसँगको सान्निध्यमा मोहनसुन्दरले १२ वर्षको उमेरदेखि नै सरोद सिक्न थालेका थिए। तर, केही दिनमा उनले हिम्मत हारे। मेलोमेसो नै पाएनन्। गुरु नारायणप्रसादको विश्वास भने हारेन। उनले मोहनसुन्दरलाई डगमगाउन दिएनन्। ६ वर्षको निरन्तर साधनापछि मोहनसुन्दरले बल्ल सरोदका धुन ठम्याए।

उनी २०२६ सालमा राष्ट्रिय नाचघरमा जागिरे भए। २०३७ देखि २०६८ सम्म उनी करारमा रेडियो नेपालका संगीतकार बने। गायक शिवशंकरका गीतहरूमा सुनिने सरोद मोहनसुन्दरकै सिर्जना हो। तर, रेडियो नेपालले उनलाई विना सूचना अवकाशपत्र थमायो।

मोहनसुन्दरको सुअवसर, २०४२ सालमा राजा वीरेन्द्रसामु आफ्नो कला प्रस्तुत गर्न पाउनु थियो। कार्यक्रम सकिएपछि राजाले उनलाई दुःखसुख सोधे। “स्थायी जागिर पाए हुन्थ्यो भनेपछि राजाले दरबारमै आउनु भन्नुभयो”, उनी सम्झन्छन्, “त्यसपछि २२ वर्षसम्म दरबारका हरेक कार्यक्रममा बजाएँ।” यसबीच उनले सरोद धुन समेटिएको 'फेभरेट' र 'फेभरेट–२' अल्बम पनि निकालेका छन्।

सितारवादक उमा थापासँग अर्को अल्बमको तयारी गरिरहेका छन्। पछिल्लो समय सरोद बजाउनेको संख्या घटिरहेकोमा भने चिन्तित छन्।

आफूलाई दयाको पात्र बन्नबाट जोगाएको भन्दै सरोदप्रति कृतज्ञ छन्। तर, कृतज्ञ त सरोद हुँदो हो, मोहनसुन्दर जस्तो साधक पाएर।

सजना बराल

comments powered by Disqus

रमझम