१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

लामा गुरुको सक्रियता

Share:
  
- फुर्पा तामाङ
बौद्ध धर्मका लामा गुरुहरू महाभूकम्पमा ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिका लागि दीप प्रज्ज्वलन–प्रार्थना मात्र गरिरहेका छैनन्, बाँचेकाको उद्धार र राहतमा पनि सक्रिय छन्।

चौतारीडटकम
१२ वैशाख दिउँसोबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौंका क्षतिग्रस्त भवनहरूमा थालेको उद्धार कार्यमा गेरुवा बस्त्रधारी लामा गुरु र तिनका शिष्यहरू पनि देखिन्थे। लामा गुरुहरू मानव समुदाय र सृष्टिमा आइपरेका विपत्तिमा पनि खटेर काम गर्छन् भन्ने उदाहरण हो, यो।

काठमाडौंको बौद्ध फूलबारीस्थित सेतो गुम्बाले उपत्यकाभित्र र बाहिरका जिल्लामा आफ्ना लामा तथा भिक्षुहरूलाई खटाएर राहत सामग्री बाँडिरहेको छ भने स्वयम्भूको ठूलोभर्‍याङमा रहेको पहेंलो गुम्बाले रसुवाको लाङटाङबाट ल्याइएका गाउँले सबैलाई आश्रय दिएको छ। मानवीय सहयोगमा लाग्ने गुम्बा धेरै छन्। लामाहरूले आफ्नो गुम्बा चर्के पनि पहिलो प्राथमिकता भूकम्प पीडितहरूलाई दिएका छन्।

यी लामा गुरु तथा शिष्यहरूले बौद्ध, गैर–बौद्ध नभनी उद्धार–राहतमा समान हात र साथ दिएका छन्। दुर्गम गाउँघरसम्म आफैं राहत बोकेर पुगेका छन्। उनीहरूको असल अभ्यासबाट सबैले पाठ सिके नेपाल उन्नत हुन धेरै समय लाग्ने छैन। अझ्, कुल जनसंख्यामा ८० प्रतिशत ओगट्ने हिन्दू धर्मका गुरु तथा शिष्यहरू पनि यसरी नै खटे त धेरै जाती हुनेथियो। धर्म भनेको धार्मिक पुस्तक वा ग्रन्थ वाचन तथा प्रवचन मात्र कदापि होइन। औंसी, पूर्णिमा वा एकादशी जस्ता तिथि पारेर पूजा–आराधना गर्नु मात्र कर्म होइन। विपत्को बेला सहयोग गर्न अग्रसर हुनु ठूलो धर्म र कर्म हो।

शिष्यको रूपमा लामा विद्या पढ्नेहरूलाई सानै उमेरमा बौद्ध गुम्बामा ल्याइएको हुन्छ। पहिले घरको माइलो छोरो र माइली छोरी अनिवार्य रूपमा भिक्षु र भिक्षुणी बन्नुपर्ने चलन थियो। अचेल अनिवार्य छैन, तर बाबु वा आमामध्ये कसैको मृत्यु भएर परिवारमा आर्थिक समस्या र स्याहारसम्हारमा कठिनाई आइपर्दा बालबालिकालाई गुम्बामा राख्न लगेको देखिन्छ। कतिपयले भने आमाबाबु दुवै हुँदा र आर्थिक अवस्था राम्रो भए पनि बौद्ध दर्शन तथा लामा विद्या अध्ययनको लागि बाबुआमाले नै सन्तानलाई गुम्बामा पुर्‍याउँछन्।

गुम्बामा उठेदेखि सुत्नु अघिसम्म त्रिलोकमा भएका सारा पक्षको चिन्तन गर्दै बौद्ध धर्मशास्त्र अन्तर्गतको लामा विद्या सिकाइन्छ। अरूलाई खुशी बनाउनु र यो जगतमा शान्ति ल्याउनु त्यस्तो सिकाइको उद्देश्य हुन्छ। यस्तो शिक्षा समाजोपयोगी भएको अहिले देखियो।

ठूलो भार्खु, रसुवा

comments powered by Disqus

रमझम