१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

रूदानेसँग आत्मालाप

Share:
  
- महेश थापा
'थाहा' अभियन्ता रूदाने अर्थात् रूपचन्द्र विष्ट, दामन नेपालको आत्मासँग वार्तालाप हुनलागेकोमा म रोमाञ्चित भएँ।

“विपत्को घडीमा पनि सम्साँझै घुर्छस्, भाते!”

एक पोको राहत हत्याउन ठूलो आहत बेहोरेर लखतरान भई पालमुनि घुसि्रएको बेला अप्रत्यासित आवाजले झ्सङ्ग बनायो। अन्यत्र थातथलो भएका जोरीपारीहरू तीनपुस्तेको नाममा राहत सामग्री पोल्ट्याएर उपियाँ झैं फड्किए पनि आफू पालवासी भइएको छ। चाउचाउको भरमा दिन काट्नुपरेको पीडाबीच 'भाते' सम्बोधनले मेरो पारो हलक्क चढ्यो। तर, बाहिर कोही नदेख्दा हतप्रभ भएँ।

“नडरा भाते! म थाहा दिन आएको हूँ”, अदृश्य कायाले कानैमा करायो।

“थाहाले त पारि गाउँमा घच्चीकै पोको बाँड्यो रे! आफू पुग्नै भ्याइएन”, मैले ओठ लेपार्दै भनें, “तिमी'नि राहत बाँड्न आएका हौ?”

“सुन् भाते! थाहाले दिने नभई थाहा पाउने कुरा हो। थाहा पाएर जानिफकार भए'सि आफूले पाउनुपर्ने भाग झ्कास्सँग पाइन्छ।”

“बाँड्छन् भन्ने जान्दाजान्दै पनि हिजो आफू फक्कड भइयो। खुस्केट पाराको गफ नजोत् न, जान्दैमा पाइँदो रै'छ त?” मैले अनुहार ठ्वास्स पारें।

“ठीक भनिस्, भाते! म नामले बौलाहा भए'नि तँ जस्तो मतिभ्रष्ट होइन।” “छुपेरुस्तम बनी फतौरा कस्ने को हौ तिमी?”

“म रूदानेको आत्मा!”

मुखाले स्वभाव भटाभट दुर्वचन बकिरहेको थियो। चेतनाहीन प्रजाको भेजा भरेर नागरिकमा रूपान्तरण गर्दै समाजको काँचुली फेर्ने लालसामा बूढाले झोलीतुम्बा भिरेरै जीवन तुरे। गणतान्त्रिक नेपालका 'अपग्रेडेड' नागरिकलाई झिनो राहतका लागि ठेउकेहरूले दीन–हीन बनाई ठिङ्गे लगाएको परिदृश्यले रूदाने मर्माहत थिए।

नेपाल देशमा आजकाल 'थाहा' अंकित गन्जीधारीहरूको चकचकी थामी नसक्नुभएको खबर कन्सुत्लेहरूबाट सुन्दा जिल् खाएका बूढा मर्त्यलोक र्झ्न कुत्कुतिएछन्। लोभीपापीहरूको बोलवाला बढ्नाले आफू जिम्दो छँदै मरुभूमिमा परिणत 'थाहा'रूपी वनमा एकाएक हरियाली छाएको समाचारले रूदानेलाई गच्ची ख्वायोे। आफूले रोपेको वनमा रूख/बुट्यानै टुसायो वा क्याक्टस र वनमाराले गाँज्यो, यकिन गर्नु बूढाको ध्येय रहेछ।

“अनेक जुगाड लगाएर नरकलोकबाट एकदिने छुट्टी मिलेको छ, अविलम्ब मलाई 'थाहा' मण्डली समक्ष पुर्‍या”, रूदानेले आदेश बजाए।

“नरकलोक रे!” म जिल्लिएँ, “सत्कर्म र त्यागको के भाउ रहेछ? परलोकमा झ्न् धेरै घपलाबाजी चल्छ कि क्या हो?”

“समाजलाई सिरीखुरी पारी ठालु पल्टिने आलुहरूको धतुरो झार्न स्वेच्छाले नरकलोकमा स्थानान्तरण गराएको हूँ”, रूदानेले स्पष्टीकरण दिए।

अन्ततः हामी 'थाहा' अंकित टी–सर्टमा टिम्किएर राहत बाँड्दै गरेका मण्डली छेउ पुग्यौं। चम्किला गाडी, टेलिभिजनका क्यामेरा र पत्रकारहरूको हुजूम अघिल्तिर भूकम्पले सन्तप्त गाउँले पसिना काढ्दै थिए। तामझामयुक्त मण्डलीका ओजस्वी नाइके कान्लामा उक्लेर बतियाउँदै थिए, “विकसित देशहरू विकासे बोको भएकाले सप्रेका होइनन्, थाहा पाएर सप्रेका हुन्। थाहा नपाउँदा अविकसित देशहरूलाई गरीबीको सनासोले खसी बनाएको हो।”

“मेरो भटभटे पछिल्तिर बसेर बगलीको मकै/भटमास बुक्याउँदै घिन्ताङ बजाउने यो ट्याम्केले के जादू गर्‍यो?” रूदाने विस्मित भए।

“यी ट्याम्के नभई नयाँ नेपालमा ऐश्वर्यको तिलस्मी उडान भरिरहेका घ्याम्पे हुन्! कुवेरको जस्तो धन र दानवीर कर्णको जस्तो मनयुक्त सम्माननीय व्यक्तित्व!” “जनताको मुरी हरेर महात्मा पल्टनेहरूको जगजगीले देशको दोजात्रा भएको कुरा एक थाल भातको लागि जिन्दगी फ्याँकिरहेको तँ भातेलाई के मालूम!” रूदाने बम्किए, “थाहाको झ्न्डा उठाउन धनबलले मात्र पुग्दैन, सत्य र इमानले लदालद नैतिक बल पनि चाहिन्छ!”

रूदानेको आत्मा राहतका निम्ति लामबद्ध कसैको शरीरमा प्रविष्ट भयो। उक्त व्यक्ति हठात् बोल्यो, “थाहा/थाहा भन्दै डुक्रिने जन्डुहरू हो, जनता जाननीय नभएसम्म कोही औतारी सम्माननीय हुन्न! सामान्यजनलाई थाहा देऊ, तिमीले के–कस्ता इलम गर्‍यौ? राज्यको ढिकुरोमा कति कर भर्‍यौ? पलभरमै कसरी वैभवको साम्राज्य खडा गर्‍यौ?”

'थाहा' फेसनधारीहरू दृश्यपटलबाट अलप भए। चितुवाहरूलाई बाख्रा गोठालो बनाई महाविपत्को जँघार तर्ने आशा पाल्न अभिशप्त नेपालीको नियति देख्दा रूदाने रुन्चे भए। मूड फ्रेस पार्ने उपायस्वरुप रूदानेको आत्मालाई उनको मूर्ति भएको स्थानमा पुर्‍याएँ। जीवनभर मूर्तिभञ्जक रहेका रूदानेलाई उल्टो असर पो गर्‍यो!

“यो मूर्तिलीला पनि तिनै चटकेहरूले रचे कि क्या हो?”

“हात्ती र हात्तीछाप चप्पल जस्तै मान्नुस्!”

आफ्नो मूर्तिलाई फेदै लगाएर ढाल्न रूदानेले अह्राए। मैले आदेश तामेल गरें। “तँ भाते पनि आजबाट अर्धपागल भइस्। जाली, फटाहा र आडम्बरीहरूको मायाजाल च्यातेर पूरै बहुलाएस्!”

रूदानेको आत्मा अन्तर्ध्यान भयो। म पनि भरङ्ग हुँदै सपनाबाट बिउँझिएँ।

comments powered by Disqus

रमझम