१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

मजलिसको आँखा– १५ तीनओटा चारबुर्जा दरबार

Share:
  
- क.दी.
अर्वाचीन नेपाली वास्तुकलाको इतिहासमा 'चारबुर्जे' या 'चारबुर्जा' नामधारी भवन राजधानीभित्र तीनओटा बनेछन्, एउटा जंगबहादुर महाराजले भारतीय शरणार्थी रानी चाँदबिबीका लागि १९०७ सालमा थापाथली कम्पाउण्डमै बनाइदिएको, अर्को १९४२ सालपछि महाराज वीरशमशेरले आफ्ना काइँला छोरा रुद्रशमशेरका लागि ठमेल क्षेत्रमा निर्माण गराएको र तेस्रो राणाहरूका मामाखलक शिवप्रतापशमशेर थापाले आफ्नै लागि बनाएको, कमलपोखरीको दक्षिणपट्टिको भवन।

१९११ सालपछि रानी चाँदबिबी पञ्जाबै फर्किन्। त्यसपछि त्यो पहिलो 'चारबुर्जे' भवनमा महाराजले आफ्ना अड्डाअदालतहरू राखिदिए। नब्बेसालको भूकम्पमा त्यो भवन कामै नलाग्ने गरी नष्ट भयो। अनि बेवारिसी जस्तो रहेको त्यो खण्डहर सरकारले परोपकारका दयावीरसिंहलाई दान दियो। उनले भारतीय दूतावाससँग सहयोग मागी त्यस ठाउँमा प्रसूतिगृह खोलिदिए। यो भयो पहिलो चारबुर्जे भवनको कथा।

चारबुर्जा दरबार पहिले र अहिले।

देबकी विष्ट

दोस्रो'चारबुर्जा' चाहिं रुद्रशमशेरलाई पाल्पा धपाएपछि जुद्धशमशेरले आफैंले अँठ्याए र महिला छोरा बहादुरशमशेरलाई बकस दिए। अनि त्यो दरबार 'बहादुर भवन' कहलाउन लाग्यो। तर त्यसले बहादुर भवन भएर पनि धेरै वर्ष रहन पाएन। सात सालको क्रान्तिपछि तेजहीन भएका बहादुरशमशेरले त्यो भवन कलकत्ताका होटेलियर बोरिस लिसानोभिचलाई 'लीज' मा दिए अनि 'चारबुर्जा' रातारात 'रायल होटेल' बन्यो। तेस्रो 'चारबुर्जा' शिवप्रतापको निधनपछि उनका छोरा नरप्रताप थापाको भएको थियो तर भारतमा राजदूत भएका उनी विमान दुर्घटनामा परेर गएपछि त्यसको एउटै बुर्जा पनि बाँकी नरही लाखापाखा लागेको बुझिन्छ।

बोरिसले राम्रैसँग चलाएका थिए भनिन्छ, रायल होटेल। आधुनिक होटेलको नामै नसुनेको नेपालले रायलमार्फत विश्व–ख्याति समेत कमाएको थियो एकताका। तर अरूले उन्नति गरेको देखिनसहने नेपाली स्वभावले गर्दा बोरिसलाई के कसरी हो रायलबाट निकालियो र भग्नहृदय भएका उनी चाँडै नै कालकवलित भए। बहादुरभवनको दरबार र १८० रोपनी जति जग्गाजमीन पनि बहादुरशमशेरका सन्तानहरूको अंशबण्डामा परेर खण्डखण्ड भयो, स्वामित्व बाँडियो र बेचियो। ठिङ्गो एउटा 'चारबुर्जा' मा भने कसरी हो, सरकार लाग्यो।

सरकारी स्वामित्वमा आइसकेपछि पनि त्यो चारबुर्जे बहादुरभवनले धेरै रूप फेरुर्‍यो। कैले के भयो यो, कैले के। निर्वाचन आयोगको मुख्य कार्यालय भएपछि चाहिं यसमा केही स्थायित्व आएको छ। तर अझै यसको रूपान्तरण हुन पुगेको छैन जस्तो गरी २०६२ सालमा नेपालमा गणतन्त्र छिरेपछि नयाँ बनेको उपराष्ट्रपतिको कार्यालय बस्ने ठाउँ नपाएको देखी निर्वाचन आयोगले त्यसलाई आफ्नो भवनको आधा भाग उपलब्ध गराएर राखेको छ। यो अन्तरिम व्यवस्था कैलेसम्म रहन्छ, हेर्दै जाऊँ।

अब, भविष्यका कुरा भविष्यैलाई नै छाडेर हामी अलिकति भूतकालको कुरा गरूँ, 'चारबुर्जा' को। भनिन्छ यो भवन पैले महाबौद्धनिरै ऐलेको वीर अस्पताल रहेको स्थानमा बन्नलाई शिलान्यास पनि भैसकेको थियो रे! तर रुद्रशमशेरले नै शहरबजारको सारै नजिक भयो भनेर त्यो ठाउँ मन पराएनन् र उनैले छानेको ऐलेको जग्गामा बनाइएको अरे!

महाराज वीरशमशेरले यो 'चारबुर्जा' बनाउन पनि आफ्नो मन परेका स्थापत्यविद् नेपाली 'इन्जीनियर' जोगलाल स्थापितलाई जिम्मा दिएका थिए। उनले पनि फुर्माएर त्यस भवनका चारैतिर बुर्जा (सानु छानु भएको गोलकौसी) हरू राखी बनाइदिए। तिनै चारतिरका बुर्जाहरूले गर्दा त्यसको नाम 'चारबुर्जा' रहेको भनिन्छ। त्यो चारबुर्जा दरबार 'बहादुरभवन' भैसकेपछि एकपटक अलि हल्लामा परेर बदनाम पनि भएको थियो भन्ने कुरो 'हिमाल खबरपत्रिका' का पाठकहरूले ('मजलिसघरबाट' ७ र १३ मा) पढिसक्नुभएको छ। पछि त्यो हल्ला मात्र थियो वास्तविकता थिएन कि भन्ने पनि चर्चा भैसकेको हो। त्यसैले त्यो कुरो त्यत्तिकै।

दोस्रो 'चारबुर्जा' बारे यतिका हल्ला चलाएपछि, अलिकति हल्ला पहिलो 'चारबुर्जे' भवनको पनि उडाइहालूँ, अनि यो प्रकरण टुंग्याउँला। भनिन्छ भारत फर्केर जाने बेलामा रानी चाँदबिबीले, आफूलाई जङ्गबहादुरले बनाइदिएको भवन त्यतै कुरियागाउँतिर बस्ने एक जना ब्राह्मणलाई दान दिएकी थिइन्। तर, आफ्नै दरबार कम्पाउण्डभित्र बाहिरिया 'दुनियाँदार' लाई बस्नदिनु उचित नभएकाले महाराजले स्वयं ती बाहुनबाजेसँग त्यो घर निखनेर लिएका हुन् रे! यी चाँदबिबी पञ्जाबकेशरी महाराज रणजीतसिंहकी रानी हुन्। 'म्यूटिनी' मा यिनी पनि अंग्रेजहरूका विरुद्ध लागेकी थिइन् र त्यसमा आफूहरू हारेपछि भागेर नेपाल पसेकी थिइन्। नेपाललाई अंग्रेजहरूले 'चाँदबिबी हामीलाई सुपुर्द गर' भनेर दबाब दिए तर महाराजले 'हामी शरणको मरण गर्दैनौं' भन्ने जवाफ दिएर उनलाई फिर्ता गर्न मानेनन्, बरु उल्टै ल्याएर आफ्नै दरबारभित्र घर बनाई बास दिएका हुन् रे! इति आजको चारबुर्जे पुराण।

comments powered by Disqus

रमझम