१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

पैसाले किनेको पीडा

Share:
  
- मिलन बगाले
मैले भेटेका अधिकांश घरधनीले भूकम्पीय सुरक्षामा ध्यान नदिंदा, ढलान घर त्यसै बलियो हुने ठानेर तला बढाउन जोड दिंदा, निर्माण क्रममा इन्जिनियरलाई सुपरभिजनमा नबोलाउँदा र गतिलो ठेकेदार नखोज्दा अहिले पछुताउनुपरेको बताए।

महाभूकम्पले क्षतिग्रस्त धापासीस्थित पार्क भ्यू अपार्टमेन्टले वरिपरिका बस्तीलाई त्रस्त बनाएको छ।

गोपेन राई
घर कसरी बनाउनुभा'थ्यो?

सकेसम्म सस्तो उपाय लगाएर।

किन?

दिमागमा भुइँचालो थिएन। ढलान घर अलिअलि सस्तो गरे पनि के नै भैहाल्ला र भन्ने भयो।

के के कच्चा काम गर्नुभो?

साढे पाँचतले घरलाई डबल डीपीसी गरिनँ। बाहिरी, भित्री सबै गारो चार इन्चको लगाएँ। सिल र लिन्टल ढलान (झयाल तल र माथिको ढलान) गरिनँ। मसलामा बालुवा चलनचल्तीभन्दा बढी हालियो। सिमेन्ट पनि सस्तो रोजियो। पानीट्यांकी राख्ने भाग ढलान गर्दा त टुक्रा डण्डीबाट काम चलाएँ। कम्पाउण्ड पर्खालमा जग, टाईबीम, पिलर केही नहाली गारो उठाइदिएँ।

यत्रो मनपरी गर्दा पनि केही भएन?

घरका पर्खालहरू चर्किएका छन्, कम्पाउण्ड पूरै गयो। भुइँचालो आएको दिनबाट घरमा बसेको छैन। परिवारलाई गाउँ पठाएर मचाहिं पालमा बसेको छु।

अब घरलाई के गर्ने?

के गर्ने, गर्ने। बलियो छैन, आफैंलाई थाहा छ। बेस्सरी चर्किएको, ढल्किएको भए अर्कै सोच आउँथ्यो होला। बेचौं भने कसले पो किन्ला र? बडो तनावमा छु। यस्तो धराप घर अरूलाई बेच्ने?

अब प्राविधिकलाई देखाउँछु अनि जे भन्छन्, खुरुखुरु मान्छु।

सकेसम्म 'कच्ची'

बलबुताले भ्याएसम्म 'कच्ची' घर बनाएका घरधनीहरूको साझ्ा मनोदशा झ्ल्केको छ, यो संवादमा। काठमाडौंमा 'यति तले' बिल्डिङ बनाएका धेरै घरधनी अहिले टाउकोमा हात लगाएर बसेका छन्, तर पछुतोले समस्या समाधान गर्दैन। विस्तृत रूपमा घर जँचाउनु र प्राविधिकको कुरो मान्नुको विकल्प छैन।

सरसर्ती घर जाँच्ने काम लगभग सकिएको छ। अब स्ट्रक्चरल इन्जिनियरहरूलाई विस्तृत अध्ययन गराउनुपर्छ। इन्जिनियरको परामर्श–सुपरभिजनमा बनेका घरलाई उनीहरूले हेरेर बस्न योग्य भनेका छन् भने त्यसमा सचेततापूर्वक बस्दा हुन्छ। माथि भने झैं सकेसम्म 'कच्ची' बनाइएको छ भने चाहिं त्यो बाहिरबाट जे जस्तो देखिए पनि भित्रभित्रै ध्वस्त भएको हुन सक्छ। बनाउँदा जे–जे बद्मासी गरिएको छ, ती सब इन्जिनियरलाई खुलस्त पारेर पुनःनिर्माण गर्नुपर्छ। रोग पाल्नुभन्दा फाल्नु नै राम्रो।

कमजोरको आतंक

काठमाडौंका धेरैजसो अपार्टमेन्ट भवनहरूले जीर्ण रूखजस्तो ढल्न ठिक्क परेर छिमेकीहरूलाई आतंकित पारिरहेका छन्। साना भूकम्पमा सग्लै रहनु, मध्यम भूकम्पमा मर्मत गरेर बस्न मिल्नु र महाभूकम्पमा चिराचिरा परे पनि, लच्किए पनि गर्ल्यामगुर्लुम नहुनु र मानवीय क्षति नहुनु भूकम्प 'प्रतिरोधी' भवनका विशेषता हुन्। भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालले पनि आफ्ना प्रकाशनहरूमा यसै भनेको छ। यो अवस्थालाई हेर्दा अब अग्ला अपार्टमेन्ट बनाउन दिइनुहुन्न भन्ने तर्क सही देखिंदैन।

मुख्य कुरा, प्रचलित मापदण्ड अनुसार भवन बन्नुपर्‍यो, घना आवासीय क्षेत्र बीचमा बडेमाको अपार्टमेन्ट बन्न दिएर छिमेकीलाई आतंकित पार्नु भएन। बहुतले भवनलाई सुरक्षित तरीकाले भत्काउने उपाय पनि हामीसँग छैन। स–साना टुक्रा जग्गामा बनेका अपार्टमेन्टहरू ढल्दा आफ्नै कम्पाउण्डभित्रै सीमित हुने अवस्था छैन। अपार्टमेन्ट चाहिन्छ, महाभूकम्पले पढाएको पाठ पनि पढ्नैपर्छ। यहाँको माटोले धान्न सक्ने बलिया अपार्टमेन्टहरू बनाउनुपर्छ।

१२ वैशाखको महाभूकम्पपछि काठमाडौंका अधिकांश सडक, सहायक सडक र गल्लीलाई ढल्न लागेका पर्खाल र लच्केका घरहरूले 'डेथ ट्रयाप' बनाएका छन्। जग, टाईबीम र पिलर केही नराखी कमसल मसलाको जोडाइले अग्लो कम्पाउण्ड पर्खाल बनाउने चलन छ, शहरमा। टालटुले निर्माणमा सघाएर घरधनीलाई 'उपकार' गर्ने ठेकेदारहरू बेफुर्सद हुने शहरमा यस्तै हुन्छ। त्यही टालटुले काम यतिखेर काल बनेको छ। दरबार हाईस्कूलको बूढो पर्खालले ८ जनाको ज्यान लियो। यस्ता पर्खाल शहरभरि देखिन्छन्। यस्ता धराप हटाउन अब टोलवासी उठ्नुपर्छ। पर्खालमा पल्किएको कालले आफैं र आफ्नालाई पनि खान्छ। शहरलाई 'डेथ ट्रयाप' बाट मुक्त बनाउनेको जय होस्।

comments powered by Disqus

रमझम