टिप्पणीकार अजयभद्र खनालले भूकम्पपछिको युवापुस्ताको सक्रियतालाई नयाँ युगको उदयको रूपमा अर्थ्याएका छन्। ट्वीटमा उनी लेख्छन्, '२०७२ साल 'उत्तर भाग्यवाद' युग उदयको वर्ष बनेको छ। युवापुस्ताले बुझ्ेका छन्– हामी चीजहरू नियन्त्रण गर्न सक्छौं, परिवर्तन गर्न सक्छौं, नयाँ युगको शुभकामना!' हिमाल को यो समाचार तिनै स्वयंसेवी विवेकी युवाका प्रतिनिधिमूलक सत्कार्यको झ्ल्को हो। नायकहरूको खोजीको सुरुआत मात्र हो।
नेपाल नायक
भूकम्प आउँदा सुदन गुरुङ (२८) ठमेलमा एक्लै हिंडिरहेका थिए। जसै कम्पन रोकियो, उनले सुने, धरहरा ढल्यो। नभन्दै धरहरा भुईंतिर हेर्नुपर्ने भइसकेको रहेछ। देखे, एक युवा माटोभित्रै छट्पटाइरहेका थिए। रगतपच्छे युवालाई ट्याक्सीमा राखेर वीर अस्पतालको ट्रमा सेन्टर पुर्याए। त्यहाँ हेर्छन् त बिरामीहरू पानी...! पानी...! भनिरहेका थिए। तुरुन्त केही पानी र चाउचाउ किनेर बिरामीलाई बाँडे। १३ वैशाखमा उनलाई साथ दिन पाँच जना साथी थपिए।
ट्रमा सेन्टरमै 'आई टु वी टीम' बनाएका सुदनसँग अहिले ५०० जना स्वयंसेवकको टोली छ। उनीहरूले वीर अस्पताल र ट्रमा सेन्टरको शौचालय सफा गर्नेदेखि बिरामीलाई रगत खोजिदिनेसम्म गरिरहेका छन्। सुदनको टोलीले ललितपुरको खोकना, धादिङ, सिन्धुपाल्चोक र गोरखाका भूकम्पपीडितलाई खाना र लुगा उपलब्ध गराएको थियो।
महाभूकम्पलगत्तै असन, मखनटोलको '२५ वडा युवा क्लब' ले आफ्नै पहलमा प्राथमिक उपचार केन्द्र खोल्यो। “तारिणी क्लिनिकले डाक्टर र औषधि जुटाइदिएको थियो”, क्लबकी एञ्जिला रञ्जित (१८) भन्छिन्।
प्रेसिडेन्सियल बिजनेस स्कूलका छात्र सुवीन्द्र मानन्धर 'बाइकर' हुन्। त्यसैले उनी गाडी नपुग्ने गाउँमा मोटरसाइकलबाटै राहत र औषधि पुर्याइरहेका छन्। 'बाइकर्स फर रिलिफ, नेपाल' नामक फेसबुक पेज खोलेयता सुवीन्द्रलाई साथ दिने बढेका छन्। उनी भन्छन्, “सकेसम्म धेरै ठाउँमा पुग्ने प्रयास गरिरहेका छौं।”
चितवन, रासस रोडमा 'अब्बु मेडिकल सप्लायर्स' सञ्चालन गर्ने आशा भण्डारीले भूकम्पयता समस्याग्रस्त जिल्लाहरूमा बेबी डाइपर र डेलिभरी प्याड पठाउँदै आएकी छन्। धादिङ, गोरखा, नुवाकोट लगायत प्रभावित जिल्लामा सामान पठाउँदै आएकी आशा भन्छिन्, “पैसा दुरुपयोग होला भन्ने डर लाग्यो, त्यसैले जिन्सी दिएकी हुँ।” अहिलेसम्म उनले ६ बोरा यस्ता सामग्री बाँडिसकेकी छन्। भूकम्पलगत्तै गठित 'नेपाल राइजेज्' समूह अहिले काठमाडौंको जीतपुर, चौगाउँको सरस्वती प्राथमिक विद्यालय पुनःनिर्माणमा लागेको छ। दीपा राई (३२) नेतृत्वको यो समूह १४ वैशाखलगत्तै पीडितको उपचार र राहतमा खटेको थियो। नेपाल राइजेज्लाई यस कार्यमा स्मार्ट पानी, रोट्रयाक्ट क्लब, यल्लो हाउस, एक्सन एड, नेपाल साइक्लिस्ट राइड टु रेस्क्यु आदिले सहयोग गरिरहेका छन्।
१५ वैशाखमा टुँडिखेल पुगेका चित्रकार मिलन राई (३०) त्यहाँको अव्यवस्था देखेर अत्तालिए। “महिलाहरू दिसापिसाब गर्न रात पर्खेर बसिरहेका थिए, दिसा–पिसाब नआओस् भनेर नखाई बस्नेहरू पनि भेटिए”, उनी सुनाउँछन्। लगत्तै उनले साथीहरूसँग रु.४० हजार ऋण लिएर बाँस र प्लास्टिक किने। र, १६ गते नै ४५ वटा अस्थायी शौचालय निर्माण गरे। ५० जना स्वयंसेवीका साथ उनले ललितपुरको खोकना र धादिङमा गरी १३० वटा अस्थायी शौचालय बनाइसकेका छन्। मिलनको टोली अहिले झुल बाँडिरहेको छ।
१२ वैशाखको महाभूकम्पको दिन दन्तचिकित्सक दीपक श्रेष्ठ सिन्धुपाल्चोकमै थिए। काठमाडौंमा रहेको उनको परिवार उनलाई तत्काल घर फर्कन भनिरहेको थियो, तर उनी थप आठ दिन सिन्धुपाल्चोक बसे। “काठमाडौंबाट स्वास्थ्यकर्मी साथीहरू बोलाएँ, भग्नावशेषभित्रै छिरेर जाँच गर्यौं”, प्रस्तावित पिपल्स मेडिकल कलेजमा आबद्ध दीपक भन्छन्।
विश्व वन्यजन्तु संघ नेपालले सञ्चालन गरिरहेको नेपाल प्रकृति पाठशालाले पनि रसुवा र धादिङका तीन वटा गाउँका १७० घरलाई जस्तापाता र खाद्यान्न बाँड्यो। विभिन्न शिविर र अस्पतालमा रहेका बालबालिकामाझ् अन्तरक्रियात्मक कार्यक्रम पनि गर्यो। पाठशालाकी सञ्जीवनी योञ्जन श्रेष्ठ (३५) लाङटाङ र धादिङमा सामुदायिक केन्द्र स्थापनाको दीर्घकालीन लक्ष्य लिएको बताउँछिन्।
भूकम्पपीडितको सहयोगका लागि स्वयंसेवक चाहिएको छ भने आलोक कोइराला (१९) हाजिर छन्। गएको साता मात्र आलोक र उनका १२ जना साथीहरूले रोट्रयाक्ट क्लब मार्फत कीर्तिपुरमा भत्किएका घरका ढुंगा र ईंटा पन्छाए। “जहाँ आवश्यक पर्छ, त्यहीं जान्छु, यस्तो बेला चूपचाप के घर बस्नु?” भर्खरै प्लस टु सिध्याएका आलोक भन्छन्।
विपत्मा बूढानीलकण्ठ अल्मुनाई पनि जागेको छ। अल्मुनाईले सिन्धुपाल्चोक, दोलखा, धादिङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक र ललितपुरका विभिन्न ठाउँमा पुगी ९ हजारभन्दा बढी पाल र खाद्यान्न वितरणका साथै स्वास्थ्य शिविर र बालबालिकालाई अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो। अल्मुनाईका सदस्य विजय सिवाकोटी (३१) संस्थाका पाँच हजार सदस्यबाट रु.२ करोड जति जम्मा भएको र यो रकम भूकम्पपीडितको दीर्घकालीन सहयोगमा खर्च गरिने बताउँछन्।
उज्ज्वल गुरुङ (२५) र उनका साथीहरूले महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविसमा रु.३ लाख ५० हजार बराबरको जस्तापाता र काँटी पुर्याइसकेको छ। हेल्प बारपाक फाउन्डेशन नेपालसँग मिलेर काम गरिरहेका उज्ज्वल विद्यालय निर्माणमा पनि जुटेका छन्। “बारपाकमा दीर्घकालीन योजना सञ्चालनबारे सोचिरहेका छौं”, नेपाल इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिजमा अनुसन्धान अधिकृत उज्ज्वल भन्छन्। २०४५ सालको भूकम्पबाट ठूलै क्षति बेहोरेको धरानका युवाहरू पनि विभिन्न समूह बनाएर भूकम्प प्रभावित गाउँ गाउँ पुगे। सडक नपुगेका ठाउँमा राहत सामग्री डोकोमै बोकेर घरघरै पुर्याए।
जब देश दुख्यो
१२ वर्षदेखि बेलायत बस्दै आएकी बालुवाटार, काठमाडौंकी बबिता लामा (४३) २१ वैशाखमा जन्मथलो ओर्लिइन्। 'मिसन टु हेल्प' संस्थाकी अध्यक्ष लामा केही औषधि, लुगा र खाद्यान्न बोकेर गोरखा र सिन्धुपाल्चोकका गाउँ पुगिन्। निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन्। उनी अहिले बसन्त चौधरी फाउन्डेशनसँगको सहकार्यमा एक सय घर बनाइदिने अभियानमा सहभागी छिन्।
१९ वैशाखमा नेपाल ओर्लिएका स्वीट्जरल्यान्ड निवासी निराजन श्रेष्ठ (३२) आई गोविन्द संस्था मार्फत तत्काल राहतमा जुटे। संस्थामा जम्मा भएको रु.१० लाख रसुवा र नुवाकोटमा त्रिपाल, औषधि र खाद्यान्न वितरणमा खर्चिए।
“देशलाई विपत् परेका बेला परदेशबाट रमिता हेर्न सकिंदोरहेनछ”, ६ वर्षदेखि अष्टे्रलियामा रहेका दर्शन सुब्बा (३४) भन्छन्। १७ वैशाखमा १४ वटा टेन्ट, ३० केजी औषधि र १२ वटा स्लिपिङ ब्याग बोकेर नेपाल फर्किएका उनले ती सामान साँखुका पीडितलाई बाँडेका थिए। आर्किटेक्ट र इन्जिनियरसँगको सल्लाहमा दर्शनको समूहले 'हाम्रो गाउँ' अभियान अन्तर्गत शंखरापुर, विशम्भरा–६ मा १० वटा घर बनाइदिएको छ। समूहको नेतृत्व गरिरहेका मनिष कोइराला अभियानलाई निरन्तरता दिने बताउँछन्। आफूहरूले बनाउन लागेका घरको नमूना लिएर ११ जेठमा प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटे। “प्रधानमन्त्रीले 'केही सहयोग गर्नुपर्छ कि?' भनी सोध्नुभयो तर हामी त उहाँलाई सहयोग गर्न गएका थियौं”, प्रधानमन्त्री राहत कोषमा रु.२५ हजार सहयोग गरेका मनिष भन्छन्।
अमेरिकास्थित नेपाली समाज टेक्सासबाट स्वास्थ्यकर्मी, इन्जिनियर र स्वयंसेवक सम्मिलित १७ जनाको टोली पनि मातृभूमिको पीडा सम्झ्ेर वैशाखको तेस्रो साता राजधानी आइपुग्यो। र, विभिन्न जिल्लामा राहत बाँड्यो। यो समूह यतिबेला जस्तापाता, औषधि, खाना, ब्ल्याङ्केट, टर्चलाइट भएको 'रिलिफ बक्स' बाँडिरहेको छ। “रु.१ करोड ५० लाख बराबरको राहत सामग्री आलोपालो नेपालमा वितरण गर्ने योजना छ”, समाजका उपसभापति बाल जोशी भन्छन्।
२० वर्षदेखि हङकङ बस्दै आएका धरानका विशाल लिम्बू वेघा (३६) को समूहले नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका भूकम्पपीडितलाई पाल, ह्याम्मर, काँटी, खाद्यान्न बाँडेको थियो। विशालले व्यक्तिगत रु.३ लाखसँगै साथी र संस्थाहरूको सहयोग जोडेर रु.८ लाख खर्च गरे। उनले आफ्नै खर्चमा तीन सय स्थायी घर बनाउने पनि सोचेका छन्। “त्यसका लागि पैसा बचाउन थालेको छु”, उनी भन्छन्।
अमेरिकाको हवाइमा हिमालयन किचन सञ्चालन गर्दै आएका काठमाडौंका सुमन बस्नेत (३७) ले १२ वैशाखदेखि नै रेस्टुरेन्टको १५ प्रतिशत कमाई भूकम्पपीडितको राहतका लागि छुट्याएका छन्। साथीहरूसँगको प्रयासमा जम्मा भएको रु.५५ लाख बराबरको सहयोग सुमनले सिन्धुपाल्चोक र भोजपुरका भूकम्पपीडितमाझ् पुर्याए। “सिन्धुपाल्चोकका ६०० र पनौतीका ३०० परिवारलाई जस्तापाता बाँड्यौं, खोलाको पानी गाउँसम्म ल्याउने व्यवस्था पनि मिलायौं”, सुमन भन्छन्। ५ जेठमा अमेरिका फर्किनुअघि सुमन भीमटार गाउँमा 'डे केयर स्कूल' निर्माणमा व्यस्त थिए। न्यूयोर्कका कासाङ थिङ र क्यालिफोर्नियाका ईश्वर सापकोटाले पनि समुदाय र साथीहरूसँग संकलित राहत बोकी पीडितसम्मै पुगे। न्यूयोर्ककी झ्रना शेर्पाले फेसबुकबाटै आर्थिक संकलन गरेर नेपाल पठाइन्। बेलायतका नेपाली युवाको समूह हेल्पिङ युको एउटा टोली सिन्धुपाञ्चोकमा ७० घर बनाउन १८ जेठमा आइपुग्दैछ।
अमेरिका बस्दै आएका १० विद्यार्थीको समूह 'फर नेपाल इन निड' ले भूकम्पपीडितकै लागि रु.४ लाख पठाइसकेको छ। “शुरूमा पकेट मनी पठाएका थियौं”, समूहका तोकिन श्रेष्ठ भन्छन्, “पछि, गिटार, आइफोन, साउन्ड प्लेयर, डाइनिङ टेबुल बेचेर पठायौं।” तोकिन र उनका साथीहरू 'मोःमो फेयर नेपाल' कार्यक्रम आयोजना गरी उठेको रकम रोट्रयाक्ट क्लब र साथीहरू मार्फत अति प्रभावित जिल्लामा पुर्याउने तयारी गरिरहेका छन्।
मातृभूमिमा महाभूकम्प दुःख सुन्न नसकी बेलायतमा बसिरहेका पुनम राई, सुनिता राई, सरला थापा, स्मिता राई, भावना लिम्बू र उज्ज्वल गिरीको समूह यतिबेला नेपालमा छ। सिन्धुपाल्चोकको ठूलोपाखर, मानेश्वर र थाङपालधाप गाविसमा यो समूहले रु.७ लाखभन्दा बढीको राहत बाँडिसकेको छ।
दुर्लभ पूँजी
भर्खरै महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस पुगेर फर्किएका समाजशास्त्री डा. गणेश गुरुङ समाजप्रति गैरजिम्मेवार, उदासीन र व्यक्तिगत स्वार्थका लागि पलायन भएका भनिएका युवाहरूको सक्रियता देखेर चकित छन्। भन्छन्, “साउदी अरबदेखि बेलायतबाट समेत फर्किएका युवाले गाउँ बनाइरहेको देखें, यसखालको सहभागिताले उनीहरूप्रतिको सामाजिक सोच बदलिएको छ।” अर्का समाजशास्त्री डिल्लीराम दाहाल मानवीयता र देश सम्झ्ेर जुर्मुराएको नयाँ पुस्ताबाट जातीय सद्भाव र धार्मिक सहिष्णुता समेत कायम भइरहेको तर्क गर्छन्। भन्छन्, “जात, धर्म, पार्टी केही नभनी जसले जहाँबाट जे सक्छ त्यही गरेर परिवर्तनको उदाहरण प्रस्तुत गरिरहेका छन्।”
'मह' का हरिवंश आचार्य परेको बेला एक हुने नेपालीको बानी महाभूकम्पको विपत्ले जागृत गराएकोे देख्छन्। विवेकी नयाँ पुस्ता सरकारको मुख नताकी उद्धार र राहतमा सक्रिय भएकाले पीडितलाई सहज भएको उनी बताउँछन्। “यसरी हेर्दा मैले देशको भविष्य उज्ज्वल देखें”, हरिवंश भन्छन्। मदनकृष्णको भनाइमा पनि सहयोगी, मानवीयताको नेपाली मौलिक संस्कार जहाँ गए पनि मेटिंदैन भन्ने उदाहरण पुनः पुष्टि भएको छ। “महाभूकम्पपछि देखिएको नेपाली पहिचान र एकता छिन्नभिन्न हुन दिनुहुन्न”, उनी भन्छन्।
मानवशास्त्री सुरेश ढकाल यसपटकको राष्ट्रिय विपत्मा युवामा 'नेपाली हुनु' को गम्भीर र विवेकी समझ् पाइएको बताउँछन्। सामाजिक सञ्जालमा दूषित राजनीति र नेताका प्रवृत्तिलाई गाली गरिबस्ने जमात पनि परिआए मैदानमा सक्रिय हुने रहेछ भन्ने भूकम्पपछिका दिनहरूमा देखिएको उनको विश्लेषण छ। “यो ठूलो राष्ट्रिय पूँजी हो। यसलाई दीर्घकालीन पुनर्स्थापनामा लगाउन ढिला गर्नुहुन्न”, ढकालको सुझाव छ। उनी यसका लागि राष्ट्रिय योजना आयोगले दलका भ्रातृ संगठनलाई नीति र योजनामा समेट्नुपर्ने आवश्यकता औंल्याउँछन्। भन्छन्, “सरकारले गाविस र वडास्तरका पुनःनिर्माणमा त्यहाँ सक्रिय युवा सञ्जाललाई समेत सहभागी गराउनुपर्छ।”
भूकम्पलगत्तै राहतकर्मी बनेका पत्रकार प्रतीक प्रधान युवामा देखिएको यो सकारात्मक चेतनाले नेपाली समाजको नयाँ आयाम देखिएको बताउँछन्। “आपसमा लड्ने मात्र होइन, परिआएमा जुट्ने सन्देश पनि हो यो”, उनी भन्छन्।
अबका दिनमा देश हाँक्ने जिम्मा युवालाई नै दिनुपर्ने बताउँदै हरिवंश भन्छन्, “फूटबलमा एउटा खेलाडी थाक्यो वा राम्रो खेल्न सकेन भने अर्कोलाई ठाउँ छाडे जस्तै सबै नेताले युवालाई नेतृत्व छाड्नुपर्छ भन्ने संकेत हो, यो।”
'देशलाई हाम्रो खाँचो छ'
अब देशलाई बनाउने जिम्मा हाम्रो।
हामी थाकेका छौं, हारेका छैनौं
देशलाई हाम्रो खाँचो छ।
'द कन्ट्री निड्स अस्' फेसबुक पेजमा यस्ता नारा लेखिएको प्लेकार्ड बोकेर तस्वीर खिचाइरहेका युवाको समूह देखिन्छ। यी अनुहार भूकम्पपछि स्वस्फूर्त स्वयंसेवक बनेका युवाको हो। तस्वीर चाहिं स्वयंसेवाबापत उनीहरूलाई दिइएको धन्यवाद।
फोटोग्राफीमा सक्रिय अजय रानाभाट (३४), विशाल गौतम (४३) र अभिषेक शाह(३५) भूकम्पलगत्तै आफ्नै पहलमा कीर्तिपुर, साँखु, बुङमती क्षेत्रमा भग्नावशेषमा पुरिएका खाद्यान्न र लुगाफाटो निकाल्ने काममा लागेका थिए। तर, एक्लो प्रयासले उद्धार प्रभावकारी नहुने देखेपछि उनीहरूले 'देशलाई हाम्रो खाँचो छ' नामक समूह बनाए। अनि फेसबुक मार्फत स्वयंसेवक आह्वान गरे। विस्तारै स्वयंसेवी थपिए।
समूहमा आबद्ध कलंकीका दिदी–बहिनी रजनी (२१) र रेश्मा सिंह (२६) 'देशको दुःखमा चूपचाप बस्न नसकी स्वयंसेवामा लागेको' बताउँछन्। पाटनका राजेश श्रेष्ठ (२१) मन थाम्न नसकेर मैदानमा उत्रिएको बताउँछन्। २९ वैशाखमा दोस्रो शक्तिशाली भूकम्पमा यो समूह भत्केको घरभित्रै थियो।
समूहका विशाल गौतम आफ्नै खल्तीबाट रु.२०/३० हजार निकालेर काम शुरू गरेको बताउँछन्। अहिले यो समूह बुङमतीमा २३ वटा बाँस र जस्ताका अस्थायी घर बनाइदिएर छत्रेदेउराली, धादिङका १६ परिवारलाई ओतको व्यवस्था गर्न लागिपरेको छ। “बेघर भएका व्यक्तिका आँखामा खुशी देख्दा आनन्द आउँछ”, अजय भन्छन्।
भूकम्पले घर धूलो–पीठो बनाएपछि खुला आकाशमा रात बिताएकी बुङमतीकी सानुमैयाँ शाक्य (५७) को १३ जनाको परिवार अहिले नयाँ अस्थायी घरमा बस्छ। “कहिल्यै नदेखेका, नचिनेका भाइबहिनी हाम्रो लागि भगवान बनेर आए”, शाक्य भन्छिन्।
युवा तत्काल नतीजा चाहन्छन्
समाजको एउटा वर्गले 'बेकामे' ठानेको युवा पुस्ताको जागरुकता हेर्दा सरकारी संयन्त्र र राजनीतिक दलले उनीहरूको मनोभावना 'ट्याब' गर्न नजान्ने रहेछन् भन्ने प्रष्ट भएको छ। समाजले यो पुस्तालाई साँच्चै नचिनेकै रहेछ।
युवापुस्ता राजनीतिप्रति उदासीन हुनुमा राजनीतिको संरचना परम्परागत हुनु नै हो। यो पुस्ता तत्काल नतीजा चाहन्छ। तर, अहिलेको ढर्राको राजनीतिबाट त्यो सम्भव देखिन्न। निराशाको कारण यही हो। उदाहरण त देखिहालियो नि, भूकम्पपछि उद्धार र राहतमा सरकारी र राजनीतिक संयन्त्र तत्काल सक्रिय नभएको देखेपछि युवा आफैं अघि सरे।
म पनि राष्ट्रिय योजना आयोगमा बसें। तर, आयोगले जहिल्यै नीति बनाउने र सरकारले त्यसलाई लागू गर्ने काम मात्र गर्यो। तर, योजनामा युवा सोच र चाहना बुझ्ने काम कहिल्यै गरिएन। अब युवालाई नै देश बनाउन दिनुपर्छ। आफ्ना लागि कस्तो देश चाहिन्छ, त्यस अनुसारको नीति र योजनाका खाका उनीहरू आफैं बनाउँछन्।
उद्धारका नायक
नेपाली सुरक्षाकर्मीहरू पर्याप्त स्रोत–साधनविनै भग्नावशेषबाट चारमहीने शिशुदेखि ७५ वर्षे वृद्धासम्मलाई जीवितै उद्धार गरेर प्रशंसित भएका छन्।
ल सजना बराल
१२ वैशाखमा महाभूकम्प आएको आधा घण्टाभित्रै नेपाली सुरक्षा निकायका ठूल्ठूला समूह आ–आफ्नो इलाकामा उद्धारका लागि 'मूभ' भइसकेका थिए। उनीहरूमध्ये धेरैसँग आफ्नै सुरक्षाका लागि पञ्जा वा हेलमेट समेत थिएनन्। बारम्बार आइरहेका 'आफ्टरशक्' छिचोल्दै उनीहरू पुरिएका मान्छे खोज्न भग्नावशेषभित्र छिरेका थिए। “भित्र जिउँदो मान्छे छ भन्ने थाहा भएपछि त केहीको पनि डर हुँदोरहेनछ”, विपत् व्यवस्थापन गण, सुन्दरीजलका सेनानी उपेन्द्र पुडासैनी (३३) भन्छन्, “मनमा उसलाई सकुशल निकाल्ने ध्याउन्न मात्र हुन्छ।”
उनको कमाण्डमा रहेको टोलीले भक्तपुर, मूलढोकामा चारमहीने बालक सोनित अवाललाई २२ घण्टापछि उद्धार गर्यो। अवस्था कस्तो भने, पूरै ध्वस्त पाँचतले घरको भग्नावशेषमा स्काभेटर समेत लगाइसकेकाले बच्चा जीवित होला भन्ने आशा अति कम थियो। तर, अभिभावकले लासै भए पनि निकाल्दिनोस् भनेपछि सुवेदार दीपक राई (३१) सहितको टोली साँझ् ५ बजे भग्नावशेषमा छिर्यो। राति ११ बजेसम्म खोस्रँदा पनि बच्चा फेला नपरेपछि खोजतलासको काम अर्को दिनलाई थाती राखियो।
१३ गते बिहान पाँच बजे पुनः भग्नावशेषमा छिरेको सुवेदार राईको टोलीले साढे सात बजेतिर बच्चा रोएको सुन्यो। त्यसपछि होशियारीपूर्वक तर द्रुतगतिमा खोस्रेर ट्रयाक बनाउने काम भयो। नौ बजेतिर सुवेदार राई नजिकै पुग्दा बच्चा आफ्नै दाहिने हातको सिरानी बनाएर कुर्सीमुनि पल्टिरहेको भेटिए। उनलाई कुर्सीले नै बचाएको रहेछ। “त्यति सानो बच्चालाई त्यो अवस्थामा देख्दा भक्कानो छुट्ला झै भयो”, ओखलढुंगाका राईले भने, “आफूलाई सम्हाल्दै उसलाई उचाल्दा ऊ मुसुक्क मुस्कुरायो।”
महाभूकम्पमा सुवेदार राईका भाइको खुट्टा भाँचिएको छ भने सेनानी पुडासैनीले चार जना आफन्त गुमाएका छन्। उनीहरूको कार्यालय पनि पालमुनि सरेको छ। यस्तो बेला पनि सैनिक टोली आफ्नो समस्या बिर्सिएर अहोरात्र काममा खटियो। “देशको विपत् साम्य भएपछि परिवार हेरौंला”, सेनानी पुडासैनीले भने। दत्तात्रेय मन्दिर क्षेत्रमा खटेको श्री ज्वाला गणका सिपाही गोपाल बिक (३२) को टोलीले पनि दिउँसो साढे २ बजेबाट खोस्रेर साँझ् पाँच बजे १४ वर्षीया श्रेया ग्वाच र उनका आमाबुबालाई बचायो। श्रेयाका भाइ भने मृत अवस्थामा भेटिए।
हातैले खोस्रेर उद्धार
१२ वैशाखमा महाभूकम्प जाँदा भक्तपुरस्थित श्री ज्वाला गणका सह–सेनानी मनोज थापा (३०) कार्यालयमै थिए। त्यसको आधा घण्टामा ४० सदस्यीय टोली लिएर गोलमडी पुगेका थापाले दुई तला बाँकी रहेको साततले घरबाट इना र दीपेश मुललाई उद्धार गरे।
त्यसपछि इनाचो पुगेको थापाको टोलीले दिउँसो एक बजेबाट एकै ठाउँ थुप्रेको चार–पाँच वटा घरको भग्नावशेष खोसि्रन थाल्यो। ५/६ मिटर तल पुगेेपछि इनार भेटिएसँगै स्वाँ–स्वाँ सास फेरेको आवाज आयो। “त्यहाँ जिउँदो मान्छे रहेको पक्का भयो”, सह–सेनानी थापाले भने, “तर कहाँनिर छ भन्ने यकिन नभएकाले खाली हातले खोसि्रन थाल्यौं। केहीछिनपछि नै सारीको फेरले अनुहार ढाकेकी ७५ वर्षीया शिवकुमारी कार्कीको टाउको भेटियो। तर, ईंटा, माटो र काठपातले ड्याम्मै पुरिएकी उनलाई निकाल्न सजिलो थिएन।”
सैनिकहरूले अर्को आधा घण्टामा उनलाई जीवितै निकालेर तुरुन्त अस्पताल पठाए। भीडले ताली बजाएर सेनालाई स्याबासी दियो। २१ वैशाखमा भक्तपुर, महेश्वरी खेलमैदानको बाटो हिंड्दै गर्दा थापाले तिनै वृद्धालाई भेटेछन्। “उहाँलाई अचानक देख्दा खुशी लाग्यो”, सह–सेनानी थापा भन्छन्, “आफूले उद्धार गरेको मान्छे त निकटको आफन्त जस्ता लाग्दा रहेछन्।”
सशस्त्रको आँट
महाभूकम्पलगत्तै उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मणबहादुर बस्नेत (३१) को टोलीले नयाँ बसपार्कका भग्नावशेषबाट तीन जनालाई उद्धार गरेको थियो। सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम केन्द्रमा प्रशिक्षक रहेका बस्नेत, ७.८ म्याग्निच्यूडको महाभूकम्प आउनासाथ ३० जनाको टोली लिएर फिल्डमा उत्रिएका थिए। १३ वैशाख साँझ् ५ बजेतिर गोंगबु पुगेको बस्नेतको टोली चार वटा होटल रहेको साततले घरको भग्नावशेषको ढलान काट्दै १३ घण्टामा दोस्रो तलामा पुगेको थियो।
त्यहाँको भर्याङछेउ बीमले दाहिने खुट्टा च्यापिएका जोन केसी (२०) देखिए। तर, एकदमै साँघुरो ठाउँ भएकाले तत्काल उनीसम्म पुग्ने अवस्था थिएन। इन्स्पेक्टर बस्नेतले लट्ठीको टुप्पामा पानी र रुमाल बाँधेर उनलाई दिए। त्यो लिएपछि केसीले 'च्यापिएको खुट्टा काटेर भए पनि बाहिर निकाल्दिनुस्' भने। “मैले 'हामी तपाईंकै लागि आएका हौं, ननिकाली जाँदैनौं' भनेपछि उनी सुँक्कसुँक्क रोए”, इन्स्पेक्टर बस्नेत भन्छन्, “हाम्रो पनि गला अवरुद्ध भयो।”
त्यसपछिको १० घन्टा केसीलाई निकाल्ने ठाउँ बनाउन लाग्यो। त्यसरी उनलाई बाहिर निकाल्नासाथ टर्किस उद्धारकर्ताका स्वास्थ्यकर्मीहरूले पहिलो उपचार गरेर अस्पताल पठाए।
बस्नेतको टोलीले सोही दिन सयपत्री गेस्टहाउसमा पुरिएका ऋषि खनाल (२८) लाई पनि उद्धार गर्यो। चार तला मात्रै जमीनमाथि देखिएको ६ तले भवनको दोस्रो तलामा च्यापिएका थिए, खनाल। तेस्रो तलाबाट दोस्रो तलाको झयाल फुटाएर भित्र छिर्दा दुई जनाको शवमुनि खनाललाई भेटेको इन्स्पेक्टर बस्नेतले बताए। लगातार कम्पन आइरहँदा पनि भग्नावशेषमा छिरेर खनाललाई १५ गते राति साढे १० बजे बाहिर निकालियो। “जोखिम नलिइकन त कहाँ अरूको ज्यान जोगाउन सकिन्छ र!” इन्स्पेक्टर बस्नेत भन्छन्।
अन्तिम 'सर्भभाइभर'
नेपाल प्रहरीको विपत् व्यवस्थापन महाशाखाका इन्स्ट्रक्टर, प्रहरी निरीक्षक ढकेन्द्र खतिवडा (३५) को टोलीले गोंगबुको न्यु जनसेवा गेस्टहाउसमा पुरिएकी बर्दियाकी कृष्णकुमारी खड्का (२४) लाई १२८ घण्टापछि जीवितै उद्धार गरेको थियो। १२ वैशाखको महाभूकम्पले काठमाडौंमा भत्काएका भवनबाट जीवितै उद्धार गरिएकी अन्तिम व्यक्ति थिइन्, खड्का।
स्थानीयवासीले गेस्टहाउसभित्र जीवित मान्छे रहेको बताएपछि नेपाल प्रहरीको विपत् व्यवस्थापन केन्द्रको टोली ढलान काट्दै भग्नावशेषभित्र पसेको थियो। “६–७ घण्टाको निरन्तर प्रयासपछि एउटा शव भए ठाउँमा पुग्यौं”, टोलीको नेतृत्व गरेका खतिवडा भन्छन्, “कृष्णकुमारी त्यही शवमुनि थिचिएकी थिइन्।”
प्रहरी निरीक्षक प्रदीपबहादुर क्षेत्री (३६) ले कमाण्ड गरेको स्क्वाड–२ ले भने २५ शव निकाल्यो। यो टोलीले १२ वैशाखको दिउँसो साढे १ देखि साढे ७ बजेभित्रमा बसन्तपुर वरिपरिबाट १४ शव निकालेको थियो।
जनतालाई साथ
ध्वस्त गाउँमा राहत पुग्न थाले पनि अस्थायी बसोबासको व्यवस्था गर्ने जनशक्ति थिएन। त्यो देखेपछि पौडेलको टोली टहरा बनाउनतिर लाग्यो। देश–विदेशका मनकारीहरूको सहयोगमा गोरखाको पालुङटार–८ मा ५३ अस्थायी टहरा बनाएको र अरू ५०० वटा बनाउने तयारी थालेको पौडेलले बताए। “मेची–महाकालीका युवा–विद्यार्थी जुटे ध्वस्त पूरै संरचना उठाउन कठिन छैन”, उनी भन्छन्।
युवा संघ नेपालको टोलीले सिन्धुपाल्चोकमा १८१ वटा टहरा बनायो। काभ्रेमा ६५ र भक्तपुरमा ५० टहरा बनाएको संघका सचिव रमेश पौडेलले बताए। एमाओवादीका नरेन्द्र न्यौपाने, सुदीप कुँवर, मानुषी यमी भट्टराई लगायतको टोली पनि १८ वैशाखबाट निरन्तर उद्धार, राहत र पुनर्वासको काममा खटिएको छ। टोली ललितपुरको बुङमती र खोकना पछि गोरखा पुगेको छ। यस्तै, अनेरास्ववियुमा आबद्ध विद्यार्थीले काभ्रेको जोरसल्लास्थित श्रीकृष्ण निमाविका लागि अस्थायी कक्षा कोठा तयार पारे।
काममा होड
पुनर्वासको व्यवस्था मिलाउन २९ वैशाखमा दोलखा पुगेको अनेरास्ववियु सचिव भक्तकुमारी लामाको समूह दिउँसो ७.३ म्याग्निच्यूडको 'आफ्टरशक्' आएपछि उद्धारमा जुट्यो। २९ वैशाखपछि प्रमुख दलहरू कांग्रेस, एमाले र एमाओवादीले पुनर्स्थापना अभियान घोषणा गरेर हजारौं युवा–विद्यार्थीलाई गाउँ–गाउँमा परिचालन गरेका छन्।
नेविसंघले एक हजार अस्थायी टहरा, अनेरास्ववियुले १०० विद्यालय र अनेरास्ववियु क्रान्तिकारीले १७ जिल्लामा टहरा बनाउने भएका छन्। अन्य पार्टीका विद्यार्थी संगठनले पनि पुनर्वासका लागि सहयोग गर्ने तालिका सार्वजनिक गरेका छन्। कांग्रेस र एमालेले एक महीना र एमाओवादीले १५ दिने पुनःनिर्माण अभियान थालेका छन्।
पीडितलाई राहत सहित शीघ्र पुनःस्थापना गराउने कार्यमा नीतिनिर्माता पनि लागिपरेका छन्। मधेशी जनअधिकार फोरम नेपालका सभासद् अभिषेकप्रताप साहले एक वर्ष र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद् पवनकुमार शारडाले १६ महीनाको तलब पीडितलाई दिने भएका छन्। एमालेका युवा नेताहरू निरज आचार्य, लक्ष्मण लम्साल लगायतले अति प्रभावित क्षेत्रमा १०० वटा नमूना घर बनाइदिने भएका छन्।
उद्योगमन्त्री महेश बस्नेतको अगुवाईमा खटिएको एमाले टोलीले भक्तपुरमा १५० वटा अस्थायी टहरा बनाइसकेको छ। कांग्रेस नेता गगन थापा पनि पुनःस्थापना अभियानमा सक्रिय छन्। एक वर्षको पारिश्रमिक दिने घोषणा गरेका सभासद् थापाको टोली मकवानपुरको कुमरीमा ४८ वटा अस्थायी टहरा बनाएर धादिङतिर लागेको छ।
नाम अनुसारको काम
महाभूकम्पलगत्तै सक्रिय भएको विवेकशील नेपाली पार्टीले 'उद्धार, राहत, पुनःस्थापना, पुनःनिर्माण र पुनरुत्थान कार्ययोजना' बनाएर काम गरिरहेको छ। पार्टीकी काठमाडौं जिल्ला प्रमुख रञ्जु दर्शना कहाँ के आवश्यक छ भन्ने जानकारी हटलाइनबाट लिएर व्यवस्थित काम गरेको बताउँछिन्। भूकम्प प्रभावित जिल्लाहरुमा संयोजक तोकेपछि काम गर्न सजिलो भएको दर्शनाले बताइन्। पार्टीले शुरुमा उपत्यकाका अस्पतालहरूसँग सहकार्य गरेर घाइतेलाई निःशुल्क औषधि, पानी उपलब्ध गराउनेदेखि व्यवस्थापनसम्मको काम गर्यो। अहिले अस्थायी टहरा बनाउन लागेका विवेकशीलका स्वयंसेवकहरू १३ जिल्लाका सयभन्दा बढी गाविसमा खटिरहेका छन्।
सइन्द्र राई