१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

बलियो नेपाल

Share:
  
- शंकर तिवारी
महाभूकम्पपछि राहत कूटनीतिको महाजालमा परेको नेपाल त्यसभित्र सही बाटो ठम्याउँदै अगाडि बढ्न सफल भएको छ।

१२ वैशाखको महाविनाशबाट उठ्न विश्व प्रणालीको एउटा क्रियाशील सदस्य राष्ट्र नेपालले संयमित/मर्यादित शैलीमा अन्तर्राष्ट्रिय समुदायसामु सहयोगको आह्वान गर्‍यो– प्रधानमन्त्री दैवी प्रकोप राहत/उद्धार कोषबाट मात्र विदेशी सहयोग परिचालन गर्ने शर्तसहित। यसबाट तत्कालका लागि सरकारको आलोचना भए पनि दीर्घकालीन रूपमा राम्रै सुरुआत भएको छ।

त्यसअघिको उद्धार अभियानका क्रममा भारतीय विमान आफ्नो हवाई क्षेत्रमा उडेको भन्दै चीनले आपत्ति जनाएपछि बिग्रन लागेको माहोललाई नेपाल सरकारले हरेक उडानमा आफ्ना सैनिक अधिकृत राख्न अनिवार्य गरेर सामान्य बनायो भने चिनुक विमान प्रकरणले नेपालको निर्णय क्षमतालाई सर्वथा नयाँ रूपमा प्रस्तुत गर्‍यो।

भित्री कारण जे–जस्तो भए पनि बेलायतका तीन वटा सैनिक विमानलाई प्रवेश नदिने नेपालको निर्णयले अन्तर्राष्ट्रिय समुदायलाई मज्जैले झ्स्कायो। नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य रहेको आफ्नो २०० वर्ष पुरानो मित्र बेलायतलाई यो तहको वर्ताव देखाउनु साँच्चै झ्स्काउने विषय थियो। यो प्रकरणले नेपाली राष्ट्रियतामा अब 'गोर्खे पहिचान' बाँकी नरहेको पनि देखाएको छ।

संकटमा सुझ्बुझ्

कुनै पनि देशको सामर्थ्य त्यहाँ आइपर्ने संकटमा प्रकट हुन्छ। संकटको बेला सही निर्णय भएन भने देशको सन्तुलन बिग्रन पुग्छ। १२ वैशाखको महाभूकम्पले ल्याएको विपत्तिसँगै नेपालमा सहयोग कूटनीतिको चाप/दबाब बढ्नु स्वाभाविक थियो। भारतीय सैनिक हेलिकोप्टरले चिनियाँ सीमा मिचेको, चिनुक प्रकरण आदि यही चाप/दबाबको परिणाम थिए। नेपालको भौगोलिक अवस्थिति, क्षेत्रीय सन्तुलन र विश्व व्यवस्थालाई नियाल्दा यस्ता चाप/दबाबका पृष्ठभूमिहरू प्रष्टिन्छन्।

सुगौली सन्धिले नेपाललाई तत्कालीन ब्रिटिश–इण्डियाको विशेष प्रभाव क्षेत्रमा ल्यायो। २००७ सालपछि नेपालका प्रत्येक ठूला राजनीतिक घटनाक्रममा भारत निर्णायक रह्यो। नेपालको भुईंचालोप्रति भारतीय 'रेस्पोन्स' लाई यो कसीमा पनि राखेर हेर्नुपर्छ। भारतले ढिला गरेको भए चीन अगाडि हुन्थ्यो अनि विद्यमान क्षेत्रीय सन्तुलन र परम्परागत प्रभाव खल्बलिन्थ्यो। त्यसमाथि, मित्रराष्ट्रहरूको मानवीय उद्धार/राहत सहयोगसँगै विभिन्न तहका रुचिहरू हुन्छन्। नेपालले यस्ता सम्भावित रुचिहरूलाई बेलैमा ठम्याउने र तदनुरुप गर्ने सुझ्बुझ् देखाएको छ।

चाइना डेली का अनुसार, नेपालमा महाभूकम्प आएको ७२ घन्टाभित्रै उद्धार र राहतका लागि आधुनिक प्रविधिले सुसज्जित १ हजार ८८ सैनिक पठाउन पाएकोमा जनगणतन्त्र चीनले गर्व गरेको छ। उसको लागि यो पहिलो अवसर थियो, जसमा चिनियाँ सेना आफ्नो सरहद काटेर सार्वभौमसत्ता सम्पन्न अर्को देश नेपाल पस्न पायो। चीन र भारत दुवैले कम्तीमा एशियामा उपस्थित भएको मन नपराउने अमेरिकाले पनि करीब ३०० सैनिक नेपाल ओराल्यो।

महाभूकम्पका 'आफ्टरशक्' हरू घट्दै जाँदा उद्धारका लागि नेपाल आएका विदेशी सैनिकहरूको फिर्ती बढ्दो छ। चिनियाँ सैनिक त सबै फर्की नै सकेका छन्, १ हजार ४३७ भारतीय सैनिकमध्ये अब २२२ मात्र बाँकी छन्। त्यस्तै, अमेरिकी सैनिक १४ जना मात्र बाँकी छन्। विपत्मा सघाउन विदेशी सैनिकहरू आउन थालेदेखि नै नेपाल सरकारले अपनाएको कूटनीतिक सजगताका कारण फिर्ती सहज भएको हो।

नयाँ संकेत

भारतीय सैनिक हेलिकोप्टरले आफ्नो हवाई क्षेत्र अतिक्रमण गरेको भनेर आपत्ति गर्दागर्दै पनि चीनले नेपालको पुनःनिर्माण अभियानमा त्रि–देशीय (नेपाल–भारत–चीन) साझेदारी चाहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत महीना बेइजिङमा भएको भेटवार्तामा पनि नेपालले महत्व पाएको थियो। चीन र भारत कुनै न कुनै बिन्दुमा नेपालसँग यस्तो साझेदारी गर्ने सोचमा छन्। भूकम्पपछिको पुनःनिर्माण त्यसको प्रस्थानबिन्दु हुन सक्छ।

नेपालको राजसंस्थासँग राम्रो सम्बन्ध भएको चीनले नेपाल गणतन्त्र भएपछि भारत निर्णायक भएको स्वीकारेको छ। भारतले पनि नेपालमा बाहिरी शक्ति भन्दा बरु निकट छिमेकी चीनको प्रभावलाई सचेततापूर्वक सहज मान्छ। नेपालमा चीनको बढ्दो भूमिकाबाट भारत बेखुस नै भए पनि विरोध गरिहाल्न पनि सक्दैन। किनभने, चीनसँग उसको व्यापारिक लगायत अनेक स्वार्थ गाँसिएको छ। १९८९ को तियानमेन काण्डका बेला भारतसँग बाहेक बाँकी सबै प्रजातान्त्रिक देशसँग चीनको सम्बन्ध खराब थियो। त्यसले चीन–भारत सम्बन्धको आयाम देखाउँछ। यसमा महत्वपूर्ण कुरा के भने, यी दुई शक्तिले नेपालमा मिलेर काम गर्ने सन्देश दिएका छन्।

यस्तै, महाभूकम्पपछिको उद्धारमा जनस्तरबाट स्वतस्फूर्त रूपमा भएका प्रयासले नेपाल 'स्टेट ड्रिभन' नभई 'सिटिजन ड्रिभन' देश भएको देखाएको छ। यो भनेको सामाजिक सम्बन्ध तथा लोकतन्त्रको मजबुतीको प्रमाण मात्र नभई देशको पूँजी र सरकारलाई सजिलो पनि हो। त्यसमाथि भूकम्पपीडित जनता पुस्तौंदेखि चलिआएको अर्म–पर्म, अैंचो–पैंचोको माध्यमबाट पुनःनिर्माणमा जुटेका छन् र दलहरू प्नि साथ दिन पुगेका छन्। सबभन्दा मह140वपूर्ण पक्ष, महाभूकम्पले देशलाई एकजूट गराएको र राष्ट्रियताको भावना शक्तिशाली रूपमा बढाएको छ। बाँकी कुरा हुँदै जान्छ।

comments powered by Disqus

रमझम