१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

पालमुनि प्रजनन्

Share:
  
- डा. सुमनराज ताम्राकार
महाभूकम्पपछि उद्धार, राहत र पुनःनिर्माणलाई महत्व दिंदा प्रजनन् स्वास्थ्यलाई बिर्सनुहुँदैन।

डम्बरकृष्ण श्रेष्ठ
यौन स्वास्थ्य, आकस्मिक गर्भनिरोध, परिवार नियोजन, गर्भवती स्वास्थ्य, प्रसवोत्तर स्वास्थ्य, महिला स्वास्थ्य आदि प्रजनन् स्वास्थ्यको दायरामा समेटिन आउँछ। महाभूकम्पपछि पालमुनि समेटिएकाहरूको प्रजनन् स्वास्थ्य तथा यसका जटिलताहरूले महिलाको जीवनमा प्रतिकूल असर पार्न सक्ने अवस्था छ।

यौनक्रीडा र मदिरा सेवनले तनाव कम गर्छ भन्ने आम बुझाइ छ, तर पालमुनिको असुरक्षित जीवनचर्या यी दुवै कार्यका लागि प्रतिकूल छ। यस्तो अवस्थामा अनिच्छित गर्भ तथा यौन हिंसाका घटना बढ्न सक्छन्। यस्तो प्रतिकूल वातावरणमा विवाहित जोडीका महिला पार्टनरले यौन सम्बन्ध राख्न नचाहने हुनाले यौन हिंसा बढ्न सक्छ। पुरुष पार्टनरको चाहना चूपचाप पूरा गराउन चाहँदा अनिच्छित गर्भ रहन सक्छ। यसबाट अर्को समस्या थपिन सक्छ।

पालमुनि सामूहिक जीवन बिताउनेमा किशोरीहरूको संख्या पनि उल्लेख्य छ। यो अवस्थामा यौन दुर्व्यवहार तथा बलात्कारका घटना सम्बन्धी समाचार प्रकाशमा आइसकेका छन् भने किशोरीहरूलाई महीनावारीको उचित व्यवस्थापन गर्न कठिन हुनु अस्वाभाविक होइन। भूकम्पको त्रासका बीच किशोरी स्वास्थ्यमा आइपर्ने अप्रत्याशित समस्याले 'मास हिस्टेरिया' निम्त्याउन सक्छ।

महाभूकम्पपछि गर्भवती, सुत्केरी र नवजात शिशुहरूको अवस्था निकै दयनीय भएको छ। चिसो भुईं, कम गुणस्तरका अपर्याप्त खाना एवं उचित आरामको अभावमा प्रसवपछिका महिलाले मानसिक तनाव समेत बेहोर्नुपरेको छ। यसले नवजात शिशुहरूलाई कुपोषण र मृत्युको जोखिममा पारिदिएको छ।

विद्यालयहरू समेत पालमुनि नै संचालन गर्नुपर्ने बाध्यता छ। यस्तोमा शौचालयको अभाव र महीनावारीको कारणले छात्राहरू विद्यालय जान सक्ने अवस्था छैन। महाभूकम्पपछिको प्रतिकूलताहरूले थुप्रै महिला तथा किशोरीहरूमा मानसिक तनावको अवस्था सिर्जना गरिदिएको छ। यसले धेरै महिलाको महीनावारीमा गडबडी ल्याउन सक्छ।

गर्नुपर्ने काम र होशियारी

भूकम्प पीडितहरूको उद्धार, राहत तथा पुनःनिर्माणको जिम्मेवारी सरकारको हो, तर यसमा निजी तथा गैर–सरकारी संस्थाहरूको पनि दायित्व छ। पालका अस्थायी बस्तीहरूमा स्वास्थ्य सेवा पुर्‍याउने काम गर्ने बेला हो, यो। त्यस्ता बस्तीहरूमा स्वास्थ्य शिविर चलाउनेदेखि कण्डम वितरणसम्म गर्नुपर्छ।

आफन्तको मृत्यु, धनजनको क्षति तथा आँखै अगाडिको त्रासदीले अहिले धेरै मानिस मानसिक त्रास र तनावमा छन्। उनीहरू सबैलाई योजनाबद्ध मनोपरामर्शको खाँचो छ। नेपालमा मनोचिकित्सक तथा मनोपरामर्शदाताहरूको संख्या सीमित रहेकोले अन्य स्वास्थ्यकर्मीले पनि आफ्नो सम्पर्कमा आएका भूकम्प प्रभावित व्यक्तिहरूलाई उच्च मनोबल बनाउने सल्लाह–परामर्श दिनुपर्छ।

तत्कालै बासस्थानको व्यवस्था गर्न नसक्ने अवस्थामा रहेका युवा दम्पतीहरूले गर्भनिरोधका लागि तीनमहीने सुई लिनु उपयुक्त हुन सक्छ। यस्तो निर्णय गर्नुअघि यसले महीनावारीमा ल्याउन सक्ने गडबडीबारे पनि सोच्नुपर्छ। तीनमहीने सुई लिएर पटक–पटक हल्का रक्तस्रावको समस्या भोगिरहेकाहरूले चिकित्सकको सल्लाह लिन ढिलो गर्नुहुँदैन। गर्भवतीहरूले जति नै हप्ताको गर्भ भए पनि नजिकको स्वास्थ्य संस्थामा गएर भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गराउनु बुद्धिमानी हुनेछ।

गर्भवती र सुत्केरीहरूलाई अप्ठ्यारो समय भए पनि तयारी खानेकुराको साटो घरेलु खाना खुवाउनुपर्छ। तयारी परिकारमा पनि भटमासको सर्वोत्तम पीठो जस्तो पौष्टिक खाना रोज्नुपर्छ। गर्मीयाम भएकोले झाडापखाला, हैजा, टाइफाइड, जन्डिसको सम्भावित महामारीप्रति विशेष होशियारी अपनाउनुपर्छ। व्यक्तिगत सरसफाई महामारीबाट जोगिने सबभन्दा राम्रो उपाय हो।

comments powered by Disqus

रमझम