१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

पुनःनिर्माणकोकेन्द्रबिन्दु

Share:
  
- छिरिङ डोल्कर गुरुङ, बारपाक
१२ वैशाखको महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक 'बलियो' बनाउन स्थानीयवासी कटिबद्ध छन्।

तस्वीरहरुः बिक्रम राई
धनेराम गुरुङ (५९)।
महाभूकम्पको एक महीनापछि बारपाक गाउँ पुग्ने जो–कसैलाई लाग्न सक्छ, गाउँ खासै बिग्रेको रहेनछ, घरहरू मिलेकै छन्, भत्किएका छानोको ठाउँमा जस्तापाता छ, घर भत्किएको थुप्रो केही देखिंदैन। तर; यो टाढाबाट देखिने दृश्य मात्र हो।

भूकम्पबाट बारपाकका १४०० घरमध्ये १० घर मात्र सुरक्षित छन्। ७ मध्ये ६ वटा स्कूल, गाविस कार्यालय, स्वास्थ्य केन्द्र, पर्यटन केन्द्र कुनै पनि सग्ला छैनन्। १३० किलोवाटको लघु जलविद्युत् आयोजना र दूरसञ्चार कार्यालयमा पनि नराम्ररी क्षति पुगेको छ।

गोरखाको यो सुरम्य पहाडी गाउँमा केही खासै बाँकी छैन भने पनि हुन्छ। समुद्र सतहभन्दा १९०० मीटर उँचाइको बारपाक १२ वैशाखको भूकम्पअघिसम्म पश्चिमाञ्चलकै नमूना गाउँ मानिन्थ्यो।

एक महीनापछि पनि अधिकांश बारपाकवासी पालमै छन्। केहीले अस्थायी घर बनाएका छन् भने केही पुरानै घर मर्मतमा लागेका छन्। कारण, वर्षा आउन लागेको छ। अहिल्यै योभन्दा गतिलो विकल्प गाउँलेसँग छैन।

यत्रो विनाशबीच पनि वीरबहादुर घले आशावादी छन्। घलेकै नेतृत्वमा सन् १९९१ मा बारपाकमा ५० किलोवाटको लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो। जसले बारपाकलाई जिल्लामा बिजुली बल्ने पहिलो गाविस बनाएको थियो। घलेको लगातारको मिहिनेतले नै बारपाकलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाएको हो। आउने पुस्ताका लागि सुरक्षित बारपाक बनाउने यो नै उत्तम अवसर भएको उनको ठम्याइ छ। बारपाकका 'वास्तुविद्' वीरबहादुर भन्छन्, “यो विपत्बाट हामीले महत्वपूर्ण पाठ सिकेका छौं, शुरूदेखि नै राम्रो योजनामा ध्यान दिन्छौं, बाबुबाजेका गल्ती दोहोर्‍याउँदैनौं।”

१२ वैशाखको महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँ।
उनै वीरबहादुर अहिले भूतपूर्व गोर्खा सैनिक र उद्यमी समूहसँग मिलेर 'बारपाक बचाऊँ' अभियानमा जुटेका छन्, जसका लागि 'हेल्प बारपाक फाउन्डेसन नेपाल' संस्था गठन गरिएको छ। यो समूहले बारपाकको परम्परागत संस्कृति र सम्पदा कायम राख्दै सबै घरलाई भूकम्प प्रतिरोधी बनाउन सघाउनेछ। घलेको समूहले सडक, विद्यालय र आर्थिक गतिविधि जस्ता क्षेत्रलाई कसरी पुनःसिञ्चित गर्न सकिन्छ भन्नेतर्फ सोचिरहेको छ।

भूकम्पलगत्तै १० जनाको ज्यान लिने गरी वडा नं. ४ का चार वटा घरमा भएको आगलागीले पनि बारपाकवासीलाई चौडा सडक र खुला क्षेत्रको मह140व बुझ्ाएको छ। यहाँका साँघुरा गल्लीले काठमाडौंका पुराना बजार सम्झ्ाउँछन्। “सम्भावित विपत्लाई ध्यानमा राख्दै सडक चौडा पार्नेबारे हामी सोचिरहेका छौं, जसले आपत्का बेला गाडी चल्न अप्ठेरो नपरोस्”, घले भन्छन्।

हेल्प बारपाक समूहको नेतृत्व गरिरहेका पूर्व बेलायती गोर्खा सैनिक लोकबहादुर घले भूकम्पले तहसनहस बारपाक हेर्न आउन सबैलाई आग्रह गर्छन्। “बाहिरबाट हेर्दा क्षतिको अनुपात खासै ठूलो देखिन्न, यति त बारपाकवासीले आफैंले गर्न सक्छन् जस्तो पनि लाग्न सक्छ”, उनी भन्छन्, “तर हामीलाई सक्दो सहयोग चाहिएको छ।” ६० नाघेेका लोकबहादुरको घर पनि भूकम्पले छाडेन। बेलायत, काठमाडौं र बारपाक गरिरहने उनलाई सघाउन बेलायतबाटै आइपुगेका नातिनीहरूको बास पनि पालमै छ।

कामका लागि विदेशिएका गाउँका अधिकांश पुरुष भूकम्पपछि फर्किएका छन्। हङकङको एक रेस्टुरेन्टका म्यानेजर मुकुन्द घले साथीहरूसँग सहयोग रकम र राहत संकलन गरी गतसाता मात्र बारपाक आइपुगे। दुई सन्तानका बाबु उनी अहिले बाटो, खोला र अस्थायी शौचालय निर्माणमा खटिएको झ्न्डै ६०० जनाको स्वयंसेवी टोलीको नेतृत्व गरिरहेका छन्। “केही दिनअघिसम्म यो बाटो हिंड्नै सकिंदैनथ्यो, पुनःनिर्माणमा गाउँलेको उत्साह अचम्मको छ”, उनी भन्छन्।

भत्किएको विद्यालयको भग्नावशेष हटाउँदै बारपाकवासी।
विदेशिएकाको गाउँ फिर्तीले बारपाकवासीलाई ठूलो बल मिलेको गाविस सचिव चेपप्रसाद अम्गाईंको विश्वास छ। उनको विश्वासलाई भरथेग गर्ने प्रशस्त आधार पनि छन्। ९ जेठमा २०० भन्दा बढी गाउँलेको समूहले भूकम्पले खण्डहर बनेको वडा नं. ५ स्थित उच्चमावि भवन परिसर एकैछिनमा सिनित्त बनाए। नेपाली सेना अस्थायी विद्यालय बनाउन लागिपरेको छ। यस्ता काममा महिलाको सहभागिता उल्लेख्य छ।

गाउँमा पुरुषभन्दा महिला बढी भएकाले पुनःनिर्माण प्रभावित हुने कतिपयको तर्कमा वीरबहादुर भने सहमत छ्रैनन्। “महिलाले ईंटा र काठका बीम बोक्न नसक्ने कुनै कारण छैन, बलका काम पुरुषले मात्र गर्न सक्छन् भन्ने तर्क पुरानो भइसक्यो”, उनको भनाइ छ। हेल्प बारपाक समूहको पुनःनिर्माण अभियानमा महिला सशक्तिकरण पनि एउटा पाटो हो। यसबारे समूहले महिला गैरसरकारी संस्था टेवासँग छलफल गरिरहेको छ।

बारपाकको साख होमस्टेसँग पनि जोडिएको छ। जतिसक्दो चाँडो होमस्टे पुनः सञ्चालन गर्नु बारपाकवासीको अर्को प्राथमिकता हो। गत वर्ष मात्र यहाँ १२०० पर्यटक आएका थिए।

लोडसेडिङ अनुभव नै नगरेको बारपाक अहिले साँझ्को तीनघण्टा बिजुलीमा चित्त बुझ्ाउन बाध्य छ। ५० केभीएको डिजल जेनेरेटरको सहायताले बल्ने बिजुलीका लागि वीरबहादुरका अमेरिकी साथीहरूले सहयोग गरेका हुन्। ब्रोडलिंकले निःशुल्क वाईफाई सुविधा उपलब्ध गराएको छ।

महाभूकम्पको केन्द्रबिन्दुका रूपमा बारपाकले यतिबेला राहत, दातृसंस्था र सञ्चारकर्मी सबैको ध्यान खिचेको छ। तर, वीरबहादुरका भनाइमा जतिसक्दो चाँडो गाउँलेलाई बाहिरी दुनियाँसँग जोड्न सकिए त्यही गतिमा उनीहरू सामान्य जीवनमा फर्कन सक्छन्। “भूकम्पले हामीलाई मात्र होइन, सबैलाई असर गरेको छ, त्यसैले पनि हामी विस्तारै सामान्य हुनुको विकल्प छैन”, उनको ठहर छ।

comments powered by Disqus

रमझम