१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

आकाशको अत्यास

Share:
  
१२ वैशाखको महाभूकम्पलाई पाइलटद्वय सविना श्रेष्ठ र लविस चन्दले आकाशमै बेहोरेका थिए।

१२ वैशाख, शनिबार, बिहान ११:५० बजे। यती एअरलाइन्सको फ्लाइट नम्बर ६७८ पोखरा–काठमाडौंको करीब ९ किलोमीटर दूरी मात्र पार भएको थियो। क्याप्टेन लविस चन्दले पोखरा विमानस्थलको कन्ट्रोल टावरमा सम्पर्क गर्न खोजे। तर, कुनै जवाफ आएन। बारम्बारको प्रयासपछि बल्ल जवाफ आयो– 'भूकम्प, भूकम्प! यता नफर्कनू, उतै जानू।'

जहाजमा काठमाडौंसम्म पुग्ने इन्धन मात्रै बाँकी थियो। त्यही सोचेर उनी नगरकोटहुँदै उपत्यका पसे। “भुईंमा डुङडुङ्ती धूलो उडिरहेको थियो, वास्तवमै कोलाहल देखिन्थ्यो”, उनी सम्झन्छन्। आपत्कालीन अवतरणका लागि उनले भैरहवा विमानस्थलसँग सम्पर्क गर्न खोजे। तर, त्यहाँबाट पनि जवाफ आएन। “जे पर्ला, त्यही टर्ला भनेर जहाज त्रिभुवन विमानस्थलतिरै मोडेे”, उनी सुनाउँछन्। तर, भूकम्पले विमानस्थलको धावनमार्ग चर्किएको रहेछ भने चाहिं के गर्ने होला भन्ने चिन्ता भने उस्तै थियो।

त्यही बीच विमानस्थलमा रहेका दुई जना एअर ट्राफिक 'गायब' भए। टावरले अवतरणबारे कुनै निर्णय नदिएपछि जहाज ३५ मिनेटजति आकाशमै 'होल्ड' गरियो। यतिबेलासम्म जहाजका यात्रुमा पनि के भएको हो भनी हल्लीखल्ली शुरु भइसकेको थियो। तर, उनले 'आत्तिनुपर्ने अवस्था नरहेको' भन्दै ढाडस दिए।
त्यसबीचमा सिमि्रक एअरको किलो–सर्टकट हेलिकोप्टर मार्फत उनले धावनमार्गको स्थिति थाहा पाए। “टावरलाई आफ्नै 'रिस्क'मा अवतरण गर्छौं भनेर जहाज ल्यान्ड गरे, धन्न! केही भएन”, उनी भन्छन्।

ठ्याक्कै त्यही समय, यती एअरलाइन्सकै जेटस्ट्रिम ४१ मा क्याप्टेन सविना श्रेष्ठ काठमाडौं फर्कंदै थिइन्। काभ्रेको पाँचखालमाथि आइपुगेपछि उनले विमानस्थलमा सम्पर्क गर्न खोजिन्। तर, कुरा हुन सकेन। भक्तपुरतिर आइपुगेपछि उनले देखिन्– जताततै धूलैधूलो, ईंटाभट्टा पनि भाँचिए जस्तो। त्यही बेला कन्ट्रोलसँग सम्पर्क भएपछि सविनाले भूकम्प गएको थाहा पाइन्। २७ यात्रु र तीन जना क्रिउ सदस्य रहेको जहाजलाई पनि ४५ मिनेटसम्म 'होल्ड' गर्न भनियो। तर, सविनाले आफ्नै 'रिस्क' मा जहाज अवतरण गराइछाडिन्। “होल्ड गरुञ्जेल पनि जमीन हल्लिरहेको देखिन्थ्यो”, उनी भन्छिन्, “विमानस्थल अस्तव्यस्त थियो।”

सविनाको जेटस्ट्रिम नै महाभूकम्पपछि त्रिभुवन विमानस्थलमा अवतरण गर्ने पहिलो जहाज बन्यो।

सजना बराल

comments powered by Disqus

रमझम