१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

उत्तराधिकारी अभाव

Share:
  
- जीवन राई
वर्षौंको मिहिनेतबाट गाउँघरमा सानोतिनो शिक्षालय जस्तो कृषि फार्म स्थापना गरेका किसान पढैया छोराछोरी भए पनि उत्तराधिकारीविहीन बनेका छन्।

सिरहाको जिरोमाइल, धनगढीमा श्रीदेव चौधरी (७१) को ठूलो 'श्रीदेव नर्सरी' छ। २०४१ सालमा भूमिसुधार मन्त्रालयको जागीर छाडेर बिरुवा सम्हाल्न थालेका श्रीदेवले मध्य तराईको लिची र आँप खेतीमा महत्वपूर्ण योगदान गरेका छन्। गत २० वर्षमा उनले कति बिरुवा बेचे, कति बाँडे हिसाबै छैन। अहिले दुई बिघा जमीनमा फैलिएको उनको नर्सरीमा आँप, लिची, कटहर, अनार, रक्तचन्दन, श्रीखण्ड, अंगुर आदिका करीब दुई लाख बिरुवा तयार छन्।

तस्वीरहरुः जीवन राई
श्रीमतीका साथ श्रीदेव चौधरी।
श्रीदेवले यही नर्सरीबाट जमीन, घर लगायतका श्रीसम्पत्ति जोडे, सन्तानलाई हुर्काए, पढाए। अहिले जिरोमाइल क्षेत्रमै ५५ भन्दा बढी किसान छन्, जसले श्रीदेवलाई गुरु मानेर नर्सरी व्यवसाय गरिरहेका छन्। नेपालमा श्रीदेव नर्सरीमा नपुगेका वा श्रीदेव चौधरीलाई नचिनेका कृषि विशेषज्ञ र अगुवा किसान विरलै छन्। जीवनसँगिनीको सहयोगबाट सम्भव भएको यो सृष्टिबाट श्रीदेव चौधरी पूर्ण सन्तुष्ट र खुशी छन्। “नमज्जाको कुरा एउटै छ”, उनी भन्छन्, “भएको एउटा छोराले नर्सरी नसम्हाल्ने भयो।”

उनका छोरा घनश्याम काठमाडौंमा कस्मेटिक्सको थोक व्यापारमा जमेका छन्। घनश्यामका छोराछोरी शहरमै जन्मे–पढे–बढे, जो गाउँ जान त चाहन्छन् तर हजुरबुबा–आमालाई भेट्न र घुमघामको लागि मात्र। कहिलेकाहीं गाउँ आउँदा नाति आयुषले 'पछि बाजेलाई नै सघाउने' पनि भन्छ, तर त्यो सम्भव नहुने श्रीदेवलाई थाहा छ। “यहीं जन्मे–हुर्केको छोरो त शहर बस्न बाध्य भयो भने, शहरमै जन्मे–हुर्केका नातिनातिना आएर नर्सरी सम्हालिदेलान् भनेर सोच्नु बेकार हो”, श्रीदेव भन्छन्।

जिरोमाइलकै ठूला आँप किसान कुसुम मोक्तान (५६) को बगान पनि श्रीदेव चौधरीकै जस्तो उत्तराधिकारीविहीन हुन पुग्दैछ। १० बिघाको आँप बगानबाट वार्षिक रु.८ लाखसम्म आम्दानी गर्ने मोक्तान दम्पतीले तीन सन्तान हुर्काए, तर अहिले बूढाबूढी आफ्नै घरमा एक्लिएको महसूस गर्न थालेका छन्। “दुई छोरीको विवाह गर्‍यौं”, कुसुम भन्छन्, “छोरो काठमाडौंमा एमबीए पढ्छ, गाउँ फर्केर बगान र फर्निचर उद्योग सम्हाल्ला भन्ने आशै छैन।”

इन्द्रवीर र जमुना गुरुङ।

यस्तै, ब्रिटिश–गोर्खा पल्टनको क्याप्टेन पदबाट अवकाश लिएपछि रूपन्देहीको पक्लिहवामा व्यावसायिक कृषिमा जमेका इन्द्रवीर गुरुङ (६८) पनि आफ्नो फार्म आफ्नै जीवनसम्मका लागि मात्र भएको अनुभूति गरिरहेका छन्। पेन्सन पकाएपछि दायाँ–बायाँ नहेरी कृषिमा लागेका क्याप्टेन इन्द्रबहादुर र जमुना दम्पतीको माछा, बंगुर, कुखुरा, तरकारी, फलफूल र अरू अन्नबालीको ठूलो बहुमुखी व्यावसायिक खेती छ। उनीहरूसँग पर्याप्त जमीन, भवन र ढुवानीका लागि आफ्नै ट्रक छ। यो दम्पतीले वर्षेनि कम्तीमा तीन टन त माछै बेच्छन्। “तर, भएका तीन छोराछोरी विदेशमा छन्, उनीहरू यो खेतीपाती गर्न आउने भएनन्”, श्रीमतीले पहिल्यै थालेको कृषिमा जमेका क्याप्टेन इन्द्रवीर भन्छन्, “आमाबाबु त एक्लो भइसक्यौं, खेतीपातीको के कुरा!”

परिवर्तनको उल्टो असर

कृषिविज्ञ फणीन्द्रप्रसाद न्यौपाने (७४) पछिल्लो दुई दशकमा नेपालको आर्थिक–सामाजिक–पारिवारिक संरचनामा आएको परिवर्तनले धेरै छोराछोरीलाई बाबुआमाको पेशा अपनाउन नसक्ने बनाइदिएको बताउँछन्। उनका अनुसार, अवसरका नयाँ ढोका चियाउँदै जाँदा छोराछोरी कृषिमा फर्कन नसक्ने अवस्थामा पुगेका छन्। त्यसमाथि, नेपालमा कृषिलाई आधुनिक समयको पेशा मान्ने गरिएको छैन। कृषि विषय नै पढेकाहरू पनि धेरैजसो विदेशै जान्छन्।

कृषि मन्त्रालयमा लामो सेवा र सात वर्ष प्राध्यापन गरेका न्यौपाने स्वयम् पनि उत्तराधिकारीविहीन हुन पुगेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका आजीवन प्राज्ञ प्रा.डा. न्यौपानेका दुई छोरामध्ये जेठो क्यानाडा र कान्छो अमेरिकावासी भएका छन्। “छोरीले कृषि नै पढिन्, तर एग्रोनोमी, कीराफट्यांग्राबारे वास्तै छैन”, प्रा.डा. न्यौपाने भन्छन्,“पेशा त के मसँग भएका बौद्धिक सामग्रीको संरक्षण मेरै सन्तानले नगर्ने भए।”

कुसुम मोक्तान श्रीमतीका साथ।

विशिष्ट श्रेणीबाट अवकाश लिएका प्रा.डा. न्यौपानेका कृषि सम्बन्धी दुई दर्जन पुस्तक प्रकाशित छन्। प्राङ्गारिक खेती प्रणाली र जडीबुटीद्वारा कीरा नियन्त्रण सम्बन्धी उनका पुस्तक धेरै बिक्री हुनेमा परेका छन्। उनीसँग कृषि सम्बन्धी खोज–अनुसन्धानका १०० भन्दा बढी लेख–रचना र ५०० भन्दा बढी स्लाइड छन्। कीराको अध्ययन गरिएका स्पाइरल बाइन्डिङ उत्ति नै छन्। “आर्थिक, भौतिक, इज्जत–मर्यादा सबै रूपमा सन्तुष्ट छु, तर जीवनको उत्तरार्द्धमा बूढाबूढी एक्लै परियो”, भोजपुरमा जन्मेर ललितपुरको सातदोबाटोवासी प्रा.डा. न्यौपाने भन्छन्, “आफ्नो पेशा वा बौद्धिक सम्पत्तिको उत्तराधिकारीको त कुरै छाडौं, नातिनातिनासँग खेल्ने अवसर समेत पाइएन।”

comments powered by Disqus

रमझम