अभिलेख नहेरी भूकम्पविद्

Share:
  
- दीपक अर्याल
यस पटकको महाभूकम्पपछि हामी न विज्ञानसम्मत हुन, न पहिलेका घटनाक्रमका आधारमा विश्वस्त बन्न सक्यौं।

देबकी बिष्ट
१२ वैशाखको महाभूकम्पपछि नेपाली समाज, मिडिया र कतिपय सन्दर्भमा भूकम्पका विषयमा लेख–पढ गर्ने धेरैको अन्तिम सन्दर्भ सामग्री १९९० सालको भूकम्प हुन पुगेको देखियो, मानौं त्योभन्दा पहिले नेपालमा ठूलो भूकम्प आएको वा त्यसबारे कतै केही लेखिएको थिएन। ९० सालको महाभूकम्पको सन्दर्भ पनि ब्रह्मशमशेरको पुस्तक नेपालको महाभूकम्प (१९९१) मा गएर अड्कियो।

९० सालको महाभूकम्प झ्ेल्नेहरूका अन्तर्वार्ता त छापिए, तर परकम्प कति दिन वा महीना आएको थियो र अहिले त्यो कति महीनासम्म आउन सक्छ भनेर तत्कालीन समयको अनुभवलाई आधार मानिएन। ९० साल वा त्योभन्दा अगाडिका महाभूकम्पपछि चार–पाँच महीनासम्म परकम्प आएको र अहिले पनि त्यस्तै हुन सक्छ भनेर जानकारी दिने, सचेत बनाउने काम हुन सकेन। त्यसको एउटै कारण– हामीले उहिलेका भूकम्पहरूबारेको अभिलेख हेरेनौं, २ माघ १९९० को महाभूकम्पको १४ महीना पछाडि प्रकाशित ब्रह्मशमशेरको किताबमा त्यो जानकारी थिएन।

ठप्प थामिए, डर

९० सालको भूकम्पपछि कम्तीमा तीन महीनासम्म परकम्प आएको गोरखापत्र मा प्रष्टसँग उल्लेख छ। परकम्पबाट आत्तिएका जनतालाई आश्वस्त पार्न ४–११ वैशाख १९९१ को गोरखापत्र ले लेखेको छ– 'अझ्सम्म नेपालमा कहिलेकाहीं अलि अलि भुईंचालो जाँदैछ। यसमा सर्वसाधारणले आत्तिने कुरा केही छैन। वैज्ञानिकहरूका रायमा गत माघ २ गतेको भूकम्पले खलबल्याएको जमीन यस्तै हिसाबले विस्तारो173विस्तारो भूकम्प भएर मात्र मिल्दै जान सक्छ। गत ठूलो भूकम्पपछि, साना साना भूकम्प नभई, ठप्प थामिए, डरको कुरा हुन्छ।' हामीले ९० सालमा जानेको, भोगेको यति कुरा २०७२ सालमा बताउन सकेनौंवा ढिला गर्‍यौं। जापान लगायतका मुलुकहरूका उदाहरण दियौं, तर अन्य ठाउँका अनुभव वा उदाहरण नेपालको भौगोलिक बनोटसँग मिल्ने वा त्यस्तै हुने वैज्ञानिक आधार थिएन। विज्ञानले प्रमाणित गर्न वा बोल्न नसक्ने यो विषयको जानकारी ऐतिहासिक सन्दर्भ सामग्री र प्रमाणका आधारमा अनुमान गर्ने कामै नभएको ठहरियो।

अहिले जस्तै ९० सालमा पनि अर्को ठूलो कम्पन आउने अफवाहहरू फैलाइएको थियो। गोरखापत्र ले ९० सालको महाभूकम्पपछिको पहिलो हप्ताभित्र आत्तिएका मानिसहरूमाझ् 'आज यस्तो हुन्छ, भोलि यस्तो हुन्छ भनी अनेक किसिमका हल्लाहरू चलेको र मानिसहरूले पनि पत्याएको' उल्लेख गरेको छ। यस्ता हल्लाको पछि नलाग्न अनुरोध गरेको गोरखापत्र ले 'जापानमा यस्तो भइरहन्छ, त्यसैले आत्तिन हुँदैन' भन्दै 'गोर्खाली जातिले आफ्नो कर्तव्य तथा ईश्वरप्रति भरोसा गर्नुपर्ने' कुरा सम्झाएको थियो।

अभिलेखको उपयोग

१९९० सालअघि पनि विनाशकारी भूकम्पहरू आएका थिए र तीबाट हाम्रा पुर्खाहरूले आफूलाई जोगाएका थिए। ब्रह्मशमशेरको पुस्तकका आधारमा धेरैले नेपालको महाभूकम्पमध्ये वि.सं. १३१० को भूकम्पबारे लिखित जानकारी भएको मान्छन्। तर, महेशराज पन्त लगायतका इतिहासकारहरूले त्योभन्दा पहिले २४ डिसेम्बर १२२३ मा आएको महाभूकम्पको चर्चा गोपाल राजवंशावलीले गरेको बताएका छन्। नेपालमा रहेका यस्ता अभिलेखहरूको उपयोगमा ध्यान जानु जरूरी छ।

विज्ञानले धेरै कुरा भन्दाभन्दै पनि भूकम्पका विषयमा प्रष्ट्याउन नसकेको अवस्थामा अभिलेखहरू काम लाग्छन्। ७२ र ९० सालको महाभूकम्पका समानता, असमानता केलाउन पनि यी अभिलेख काम लाग्छन्। भूकम्पका विषयमा विज्ञानले नदिएका तथ्यहरू अभिलेखहरूले नै दिन्छन्। महेशराज पन्तका अनुसार, नेपालमा २४ डिसेम्बर १२२३ मा आएको महाभूकम्प गोपाल राजवंशावलीमा उल्लेख छ। नेपाली समाजले कम्तीमा ८०० वर्ष पहिलेदेखि भूकम्पबारे लेख्दै वा त्यसबारे जानकारी राख्दै आएको प्रमाण हो, यो अभिलेख।

इतिहासकार पन्तले ७ जून १२५५ को महाभूकम्पले नेपालमा एकतिहाई जनसंख्या मारेको जानकारी दिएका छन्, वंशावलीकै आधारमा। त्यो बेलाका राजा पनि भूकम्पमा परेको र प्रजाहरू एक महीनासम्म घर बाहिर बसेको बताउने दस्तावेजहरू भेटिन्छन्। यद्यपि, उतिबेलाका महाभूकम्पहरूको परकम्प चार महीनासम्म पनि आइरहेको जानकारी दिने अभिलेख/दस्तावेजहरू २०७२ सालमा पूर्ण बेवास्तामा परे। ऐतिहासिक अनुभव तथा दस्तावेजहरूका आधारमा परकम्पहरू यति समयसम्म जान सक्छन् भनेर मानिसलाई सचेत गराउन हाम्रो पुस्ता नराम्रोसँग चुक्यो।

comments powered by Disqus

रमझम