२४-३० जेठ २०७२ | 7-13 June 2015

पीएपन्ती विकास गरम्

Share:
  
- महेश थापा
देश र जनताको लागि अपहत्ते गर्न तयार म जस्तो महावीरलाई जस्तापाता खाएको बात लगाएर मरे।

हिन्दी सिनेमाका टपोरी छविधारी एक नायकका सुपुत्रले हालसालै बलिउडमा धाँसु 'इन्ट्री' मारे। काठमाडौंको राजनीतिमा पनि चुट्कीको भरमा रैफाँडो लगाएर व्यवधानहरू पन्छाउने त्यस्तै कुनै मुस्तण्डा अवतार होस् भन्ने लालसाले नेपाली आँत हरहरिएको धेरै भइसको। हिरोपन्ती हेर्ने जनजनको यो अभिलाषा मरियल हुँदै गएर मरेको बेला मैले पीएपन्तीबाट भए'नि आशावाद जोगाउने लेठो मोलें, तर सतीले सरापेको देश न परो, भ्यागुतोवादीहरूले खुट्टो खैंचेर डेग चल्न दिएनन्।

जनता जनार्दनले नै बताइदिनुस्– जस्तापाता पनि कहीं खाने जिनिस हो? जस्तै खौवाको पनि पाचन प्रणालीमा बाह्र रीक्टरको भूकम्प छुटाएर धाँजा फटाउँदैन र यो धारिलो जिनिसले? म बबुरोमाथि फत्तुर कस्नेहरूले जस्तापाता हजम् गरी देखाउन्, ग्वान्टानामो जेलमा कैद भुक्तान गर्न तयार छु। तर, कस्ता–कस्ता टिरिक जानेका बैरीहरू 'जस्तापाता नखाए'नि कर्कटपाता चाहिं हसुर्‍यौ कि? कर्कटेको चाल पनि अलिक टेढै हुन्छ' भन्दै बेपत्तासँग उडाउँछन्।

ह्वाँ आफ्नो पुर्ख्यौली सम्पत्ति सम्हाल्न नसकेर जात्रा छ, जाबो जस्तापाताको अवगाल लगाउँछन्! नेपालका चौधरी, खेतान, गोल्छाले आ–आफ्नो सम्पत्ति सम्हालेर मात्र दायाँ–बायाँ हेर्छन्। भारतका टाटा, विडला, अम्बानीदेखि अमि्रकाने विल गेट्स र वफेट साहेबसम्मले सम्पत्तिको गुटुरो सुमर्न भ्याएकै छन्। यता बिस्कुन झैं सुकाएको सम्पत्तिलाई छारष्ट छाडी राजनीतिमा अधमरिने म भुच्चुकले चाहिं फोकटमा पोपट हुनुपरेको छ। अलिक ठूलो काण्डमा मुछिन पाएको'भे पनि थोरबहुत इजेत रहन्थ्यो, तर आइलागेर मर्‍यो– राहत सामग्रीमा लामो हात गरेको आरोप। यस्तो 'बायोडाटा' बोकेर अब कुन मन्त्रीको पीए बन्नु? त्यत्रो दौलत र हैसियतलाई बेवास्ता गर्दै देशका खातिर अर्थमन्त्रीको पीए बस्न मञ्जुर गरेको मैले छुसी राहत डकारे हूँला त?

अर्थतन्त्रमा रोजगारीको रोलबारेको गुप्ती भुटिभाङ नजानेको भीड भूकम्पपीडितलाई दिन नुवाकोट पुर्‍याएको जस्तापाता किन काठमाडौं फर्काउन खोजिस् भन्छन्। एउटा ट्रीपराँ राहत सामग्री नुवाकोट पुर्‍यायो, फेरि काठमाडौं फर्कायो, जिरी डुलायो, अनि त्यसलाई तातोपानी घुमाए'सि के हुन्छ? ढुवानी व्यवसाय चम्किन्छ, ड्राइभरी पेशा फस्टाउँछ र भूकम्पले थिलथिल्याएको पर्यटन क्षेत्रलाई पनि टेको लाउँछ। चारै दिशामा राहत सामग्रीको गन्ध फैलिंदा भूकम्प प्रताडितहरूमा आशावाद उर्लने बोनसको अर्को हिसाब निस्कन्छ। डीडीआरसीलाई सुइँको नदिई राहत बाँड्नाले एकद्वार प्रणाली खुला सीमा माफिक भरिभङ्ग भएको तर्क पनि सरासर तुइलामे नै हो। प्रधानमन्त्रीको जिग्री भएको देखिनसहेका आरिसे मन्त्रीहरूले छोटे सरकारको उपमा धराएका पूजनीय काकाश्रीको निगाहप्राप्त म भतिजश्री प्यूसो सरकारको समकक्ष भएकाले एकद्वारमा प्रश्न उठाई द्वारेहरूले विभिन्ड्याइँ गर्न पनि मिल्ने कुरा हैन।

ब्यांकको छाप लागेको राहतको जस्तापाता बजाराँ बिक्री हुनै नसक्ने भनेर आदरणीय काकाश्री माने माननीय अर्थमन्त्रीज्यूबाट सफाइ पाइसक्दा पनि त्यसमा लामो हात गरेको फत्तुर कसिरहनु त सरासर पाप उद्योग संचालन गर्नु हो। र पनि, आरोप लाउने अबुझ्हरूलाई माफी मिनाह गरेकै हुम् क्यारे! यस्तोमा भरसक 'ज्यू' भन्नु, नसके लोकतान्त्रिक ढंगले आयोजना गरेको पत्रकार सम्मेलनमा चियापान गरी भद्रतापूर्वक मौन धारण गर्नू। तर, छुसीहरूले छुस्स–छुस्स प्रश्न सोधेर माहोललाई जोकतान्त्रिक बनाउन खोजे।

अझ् सबूत/प्रमाणै देखाउँछु भन्दै बम्केर त्यत्रो कियाधरामा पानी फेरिदिन खोजे'सि बूढो लोकतान्त्रिक दलका तरुणहरूले वाक् स्वतन्त्रतालाई 'न्युट्रलाइज' गर्ने उद्देश्यबाट वशीभूत भई हल्का लात स्वतन्त्रताको अभ्यास गर्नै पर्‍यो, गरेकै हुन्। पितुर्केहरूले यस्तो झिनो विषयलाई लिएर हायतौबा मच्चाउँदैमा सगर खस्ने पनि होइन। अब उपरान्त सार्वजनिक सरोकारका विषयमा यस्ता पितुर्के प्रश्न उठाउने अलोकतान्त्रिक हर्कत नहोस् पनि। राहतका कुरामा विधि, प्रक्रिया, नियम र आचारको भाउँटो तेर्स्याएर आहत तुल्याउने दुस्साहस कुनै माइकालालमा नपलाउनु नै अच्छा हो। नत्र, पीएपन्तीको ट्रेलरलाई हियाउने अटेरीहरूलाई धमलाजीको अड्डामा लगेर पूरै फिलिम देखाउने प्रबन्ध मिलाइनेछ।

सकल दर्जाका तरुण मिली पीएपन्तीलाई पन्थकै रूपमा विकास गरम्। भरसक नयाँ नेपाललाई प्रजातान्त्रिक समाजवादको भार नबोकाम्।

comments powered by Disqus

रमझम