२४-३० जेठ २०७२ | 7-13 June 2015

नेपाल आउन वायसरायको जोड

Share:
  
- ज्ञानमणि नेपाल
देवशमशेरको अन्तर्मनमा राष्ट्रियता ओइलाई नसकेको हुनाले काठमाडौं आउने वायसरायको जोडबल काम लागेन।

देव शमशेर।
१९५७ फागुनमा महाराज वीरशमशेरको निधनपछि रोलक्रम अनुसार खड्गशमशेरको पालो आउँथ्यो तापनि उनलाई पहिल्यै धपाएर पाल्पा गौंडाको तैनाथीमा राखिएको थियो। खड्गपछिका भाइ बितिसकेकाले देवशमशेर प्राइममिनिष्टर बने। सधैंजसो मारकाट भइरहने देशमा देवशमशेरलाई सरक्कै सत्ता हस्तगत गर्दा मित्रराष्ट्र चकित थिए, रेजिडेन्ट पनि।

राणाशासकमा देवशमशेर सबभन्दा उदार कहिन्थे। नेपालमा जापानको जस्तो शासन पद्धति उपयुक्त हुन्छ भन्ने पहिलो शासक उनै थिए। शक्तिमा आउनासाथ ज्वाईं नाताका बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको सल्लाहमा उनले जनताका छोराछोरीका लागि भाषा पाठशाला खोले। देश विदेशका दैनन्दिनी घटना प्रचार गराउन नेपाली भाषाको पहिलो समाचारपत्र गोरखापत्र को प्रकाशन थाले। अघि बहादुर शाहले जस्तै उनले कर्मचारीको काम र विदाको समय निर्धारण गराए भने जग्गाको सट्टा नगदै तलब दिने नियम चलाउन खोजे। अघि मुख्तियार रङ्गनाथ पौडेलको पालामा यो कुरा उठ्दा ठूलो गडबड परेको थियो। देवशमशेरको शासन दिगो नहुनुमा यस्ता सुधार कार्यहरू पनि कारण बने।

अघि जङ्गबहादुर राजप्रतिनिधिको हैसियतले बेलायत गएकाले महारानी भिक्टोरियासँगै बस्न, हिंड्न र सलामी लिन पाएका थिए। उनले आफ्नो मानसम्मानसँगै स्वतन्त्र राष्ट्रको गौरव बढाए। जंगको राष्ट्रियता कति जब्बर थियो भने उनले आफ्ना पालामा नेपाली नौजवानहरूलाई विदेशी फौजमा भर्ना हुन दिएनन्। देशको धन बाहिर लगेर राख्न पनि दिएनन्।

४२ साले पर्व पछि भने जंगबहादुरका सन्तानको विनिपात र राष्ट्रियताको चुरो नै मरेको थियो। नेपाली नौजवानहरू लाम लागेर विदेशी सेनामा गए भने नेपालको धन पनि विदेशी ब्यांकमा जम्मा हुन थाल्यो। शरण पर्न नेपाल आएका सुखीमका राजालाई ब्रिटिश सरकारसमक्ष सुम्पिने जस्तो निन्दनीय काम पनि भयो। चाहेका सबै कुरा नेपालले पुर्‍याइदिएकाले ब्रिटिशहरू झ्न् हेपायस गर्न लागेका थिए। वायसरायको नेपाल आउने जोडबललाई पनि यही रूपमा लिन सकिन्छ।

नेपालको रेजिडेन्सीमा एकजना अंग्रेज डाक्टर रहन्थे, जो राणापरिवारको औषधोपचार र बालबालिकालाई खोप लगाउने काम गर्थे। धेेरैपछिसम्म पनि नेपालमा डाक्टर–कम्पाउण्डर थिएनन्। वैद्यहरू विफरको खोप दिन्थे। खोप बिग्रियो भने धेरै बालबालिका सखाप हुन्थे, कि त छ्याँके बन्थे। महाराज देवशमशेरले १९५८ जेठमा लैनबाट डा. आर्मस्टाङ्गलाई बोलाएर दरबारका बालबालिकालाई खोपाएपछि आफ्नी रानीलाई पनि खोपाउन खोपीमा लगेर अरूलाई तलै बस्न भने। वायसराय तराईमा शिकार खेल्न आएको बेला उनी आफू नगएर चीफ चन्द्रशमशेरलाई पठाएका थिए। डा. आर्मस्टाङ्ग पनि वायसरायको शिकार टोलीमा गएकोले देवशमशेरलाई उनीबाट कुरा बुझनुपरेको थियो।

वायसरायले नेपालको राजधानी आउन प्रबल इच्छा गरे पनि नदिएकोमा हेला जस्तो मानेका रहेछन्। डाक्टरले 'उहाँ आउँदा नेपाल देशमा के हानि हुन्थ्यो र' भनेपछि महाराज देवशमशेरले 'मर्यादाक्रम मिलाउन गाह्रो हुन्छ, राजाले रेजिडेन्सीमा भेट्न जान पनि मिल्दैन, वल्कन (उल्केर) ल्याउन पनि भएन स्वतन्त्र देशको मर्यादामा आँच पर्छ' भने। 'तपाईं नै वल्कन जाँदा भइहाल्छ, राजाको आसनमा सँगै बस्ने कुरा पनि हुँदैन, हाम्रो नेपाल लिने इच्छा छैन किन डराउनु' भनेर डाक्टरले बहुत जोड लाउँदा पनि महाराजले मानेनन्, बरु 'जागीर छाडेपछि आउँदा पनि हुन्छ, म सबै देखाइदिन्छु, पहिले पनि यो कुरा चलेको हो नहुने भएपछि वायसरायले अब जोड गर्नुहुने छैन' भनेर अस्वीकार गरे। यसमा अब कुरो उठ्यो भने यही भनिदिनू भनेर महाराजले डाक्टरलाई सम्झाए।


वायसरायलाई नेपाल ल्याउन नमिल्ने, हातहतियार पाए तिब्बतसँग लड्ने र पतिया पाउँछौ भनेपछि गोर्खाली सेना अंग्रेजको तर्फबाट चीन युद्धमा जाने कुरा

५८ साल जेष्ठ वदी ७ रोज ७ मा

सन् १९०१ मे मैन्हाको १० तारीख

श्री ३ बाट बाबुसाहेब मैयां साहेबहरूले खोपायाको घाउ नीज डाक्टरलाई देखाइ डाक्टरलाई पनी बगीमा हाली थापाथली लगी मेरा माहारानीलाई देखाउ छू अरुहरू नआऊ यही बस भन्या हुकुम भै निज डाक्टरलाई ली माथी कौसीको खोपीमा सवारी भयो अंदाजी १ घन्टा जति राज् भै निज डाक्टरसंग कुरा कहानी गरिबक्सीयो. आज नीज डाक्टरसंग कुरा कहानी भयाको कम्माण्डर इन चीफ चन्द्रशम्शेर जंग राणा साहेबबाट मर्जी गरी बक्स्याको तल लेखियाको छ– श्री ३– साहेबसंग भ्वायसरायेबाट कस्ता कुरा गर्नु भयो, नेपालको बाबको (बारे) कुराको पनी केही उठान् गर्नु भयो की...१

डा. आर्मष्ट्राङ्ग– यसपाली सीकारमा भ्वायसरायसंग नेपालको बाबमा धेरै कुरा कहानी मसंग गर्नू भयो...२

याहा काठमाडौंमा आउन नदियाकोमा भ्वायसरायले हिट (हेला) समझनु भयाको छ...३

श्री ३– भ्वायसराय याहा आउनु भयो भन्या श्री ५ माहाराजधिराजबाट रजीडन्सी सवारी हुनुपर्‍यो, फेरी भ्वायसरायबाट रिटरंभिजिट् गर्नु पर्छ. तेसो भयो भन्या येस् मुलुकको इन्डिपेन्डेन्समा हानी हुने सम्भव छ...४

आर्मष्ट्राङ्ग– पछी म ठूलो भयां भने इनीहरू पनी बेलायत् जानु आउनु पर्ला. मलाई अैले इनीहरूको मुलुक हेर्न जानालाई येसो गर्छ भने मपनी राम्रो रिसेप्सन् इनीहरूलाइ गर्नेछैन नी भनी भ्वायसरायले भंनुहुथ्यो...५

म यिनीहरूको मुलुक्मा आयेर क्या हानी हुन्छ र भंन्या कुरा पनी भ्वायसरायले गर्नुहुन्थ्यो...६

श्री ३– भ्वायसराय याहा आउनु भयापछी श्री ५ महाराजधिराजसंगभेट मुलाकात गर्नु होला. वांहाका सीट् (सिट) को बन्दोबस्त गर्नु पनी अडवड छ...७

आर्मष्ट्राङ्ग– भ्वायसराय आउनु भयो. भन्या जस्तो लार्ड रावार्ट सर्चार्त्स येलीयटहरू आयाथ्या सोही माफिक् उनीहरूलाई गरेजस्तो गर्नुपर्छ. श्रीमाहाराजधिराजको रजीडन्सी सवारी नभया पनी हुन्छ...८

तपाइले कालीमाटीसम्म जनाव् भ्वायसरायेको इस्तक्वाललाई जानुभया पुग्छ. भ्वायसराय श्री ५ महाराजधिराजसंग येकै ठाउं गद्दीमा ता बस्नु हुदैन तेसो भयो भने के हानी छ. केही हानी देखदीन... ९

श्री ३– होइन. भ्वायसराय अब नेपालतराइमा सीकार खेल्न जाने हुनुभयो. मेरो मन्मा त अब नेपाल् जाने आइडिया भ्वायसरायबाट छोड्न भयाको बुझ्दछू भन्या बेहोराको चिठी जनरल बाइलीले स्वर्गेवासी माहाराज्लाई लेख्याको थियो. तेसो हुनाले अब भ्वायसरायले याहां आउनु हुने आइडिया छोडनू भयो की भन्या मेरो मन्मा पनी लागेको थियो साहेब तेसो भंछौ...१०

आर्मष्ट्राङ्ग– होइन. यो तपाइले पक्का मान्नुहोला की भ्वायसरायबाट याहा आउनाको आइडिया छोड्नु भयाको छैन. पक्का आउने मन् गरेको बुझिन्छ...११

श्री ३– वाहाको आजसम्म पनी त्यो आइडिया छोड्नु भयाको छैन भनि साहेब भन्नुहुन्छ तेसो हो भन्या भ्वायसरायको बदली भयापछि याहा आउनु भया पनी हुन्छ. जाहासम्म हुन सक्छ. वाहालाई सबै देखाउन म बांकी राख्ने छैन. तेसो गरी आउनु भयो भन्या बहुतै बढिया होला भने चित्तले देख्दछ...१२

आर्मष्ट्राङ्ग– सो कुरा होइन सक्ने (इन्पोसिबल) हो किन भने यक् मुलुकमा २ राजा कैल्हे हुन्थ्यो र हाल्का भ्वायसराये याँहाबाट नगै अर्को भ्वायसराय आउदथया तेसो गरी कैल्हे आउनु हुन्थ्यो. नहोइसक्ने कुरा हो...१३

श्री ३– तपाई अब सिम्ला जानुुहुन्छ लाठसाहेबसंग पनी भेट गर्नु भयो भन्या यस्को ज्वाफ्मा जो स्वर्गेबासी महाराज्ले पनी मन्जुर गर्न नसक्नु भयाको र मैले पनी मन्जुर गर्न नसक्ने कारणहरू सबै राम्रो पाठसंग भ्वायसरायका जुनाफमा जाहेर गरी दीनुहुन्यैछ भन्या उम्मेद राखेको छू. सो कारणहरू सबै तपाईलाई बील्लकूल थाहै छ...१४

आर्मष्ट्राङ्ग– हुन्छ. म सिम्ला पुग्यापछी भ्वायसरायसंग भेट् गर्न पाये भने सबै कुरा गरुला. तर भेट गर्न पाउछू पाऊं दिन...१५

यो कुरा हुन ता तपाईले गरे हुने कुरा हो. किन भन्या तपाईको जाहासम्म पावर छ की अैल्हे किङलाई पनी डिपोज गर्न सक्नुहुन्छ. तर मेरो मन्मा ता तपाईलाइ भाईहरूको डर्मात्र छ की भने लाग्छ...१६

श्री ३– सोही कारण हुनाले म पनी लाचार्छू. सबैको चीत्त बुझाइ काम गर्नुपर्छ...१७

दुनियां भारदारहरूको चीत्त नबुझ्ने काम गर्नालाई डर राख्नैपर्छ याहां नेपालको प्राइमिनिष्टरको पोष्ट यस्तो डेलिकेट छ भन्या सबै साहेबलाई थाहै छ...१८

आर्मष्ट्राङ्ग– गवर्मेन्ट अफ् इण्डियाको नेपाल लीने मुरादा ता होइन नेपाललाई बफर इष्टेट राख्नाको मुराद छ. जस्तो काबुललाई राखेको छ. काबुल पनी १ बफर इष्टेट छ. तेस्तै नेपाललाई पनी राख्नाको मुराद छ. वेष्टर्न टिवेटतर्फ रसीयाको कब्जा (इन्फ्लेन्स) पुग्ने हीसाब देखीयाको छ. यस पक्षमा नेपालले लडी देलान् की देवैनन् भन्या इत्यादि कुरा भ्वायसरायबाट मसंग सोध्नु हुन्थ्यो. मैले इनी गोर्खालीहरू बहुतै लडाकी छन्. तग्मा पाउनाको बहुतै खायस राख्दछ. लड्न मंसुवा पनी गर्दछन्. इनीहरू खुब लड्नेछन् भनी वाहालाई ज्वाव दियां. मैले भ्वायसरायलाई ज्वाव् दिया ठीक् भयो भयेन...१९

श्री ३– हो. किन नलड्नु. बृटिससर्कारबाट हतियार खर्चहरूको पुरा मद्दत पायौ भन्या लडदछौ. भोटेसंग लड्नलाई केही मान्दैनौं. जैले पनी लड्न सक्तछौं. फेरी जैले न्यूं झिकु भन्या पनी न्यू नीकाल्न सक्तछौं...२०

आर्मष्ट्राङ्ग– हाम्रा गोर्खाली पल्टन् चीनमा पठाउदा खेरी पनी इनीहरूले केही उजुर (अबजेक्श्न) गर्लान्की तिमी नेपालमा धेरै बसेका छौ तिमीलाइ थाहा होला. बुझी लेखी पठाऊ भनी तेस वेलामा भ्वायसरायद्वारा साइफर्टेलीग्राफद्वारा मलाई सोधनी भै आयाको थियो. मैले इनि गोर्खाली पल्टनहरू चीन जानालाई केही उजुर गर्दैनन्. इनीहरू लडाइ गरन जान खुसी छन्. लडायींमा गयापछी तक्मा पनी पाउदछौं भनी खुसीसाथ जान्छं भनी भ्वायसरायलाई जवाफ् पठायां...२१

श्री ३– याहां नेपालमा जानको बहुतै प्रेजुडिस् (वाहियात खयाल) हुनाले चीनमा जाने गोर्खाली पल्टनहरूले पहीले गाह्रो मानेका हुं. तर फेरी याहाबाट बृटिश गवर्मेन्ट हाम्रा दोस्त हुन्. उनीका निमीत्त लडाइमा चीनमा गयाकोमा तिमीहरूको जान्मा केही खलल हुने छैन जाउ भन्यापछी पर गयाका हुन्...२२

आर्मष्ट्राङ्ग– म येक् कुरा तपाईसंग गर्दछु कालकला (कुनैबेला) भ्वायसरायबाट म फलाना तारीखमा ताहा काठमाडौंमा आइपुग्छु भनी येकद् लेखी पठाया भन्या कस्तो गर्नु हुन्छनी...२३

यस्मा ज्वाव् वक्सीयेको केही थाहा भयेन डाक्टर फर्की गयापछी फेरी यो कुरा उठाया भन्या मेरो दुख दर्दको हाल फेरी वाहालाई जाहेर गरी पठाउला. मैले मन्जुर गर्न नसक्ने कारण सबै वाहाबाट बुझ्नु भयापछी वाहाबाट पनी खयाल रहन्यै छ भन्या उम्मेद राखेको छू भन्या ज्वाव् दीनुपरला भन्या हुकुम भयो.

डा. आर्मष्टङ्गलाई आफु र बडामहारानी होइबक्सनुभयाको फोटो १ पनी बक्सनु भयो.

comments powered by Disqus

रमझम