अविरल यात्रा

Share:
  
- डा. सरोज धिताल
p14
 
 

प्रिय छोरी, 

जीवनका महत्वपूर्ण प्रश्नहरूबारे बाबु–छोरीको संवाद फेरि शुरू भएकोमा खुशी लागेको छ। तिमीले मेरो चिठी पढिदियौ भने मात्र पनि दंग पर्छु म, आफैं गहिरा कुरा गर्न उत्सुक भयौ भने त मेरो खुशीको सीमा नै रहँदैन।  
 
अघिल्लो चिठी पढेर तिमीले 'यी प्रश्न त हाम्रै मनमा खेलिरहेकै छन् नि, तपाईंले त बाटो पो देखाउनु पर्‍यो!' भनेको सुनेर फुरुङ्ग भएँ म। बाटो देखाइमाग्यौ भनेर हैन, बाटो त तिमी आफंै खोज्नेछ्यौ। मैले देखाएकै बाटोमा मात्र हिंडिरह्यौ भने त प्रगति कसरी होला र? तिमीले त विगतले कोरेका सीमाहरू भत्काउँदै अगाडि बढ्नु छ। त्यसमा तिम्रो सहयात्री हुनसक्नु नै ठूलो कुरा हुनेछ मेरा लागि। तिम्रो पर्वतारोहणमा भारी बोकेर हिंड्न सकें र आफूले थाहा पाएको भीर–पहरा र धरापहरूबारे तिमीलाई सचेत बनाउन सकें भने मेरो जीवनले सार्थकता पाउनेछ। मेरो खुशीको कारण त अर्कै छ― हाम्रा मनमा उस्तै उस्तै प्रश्न आउँदा रहेछन्। उमेरको यत्रो ठूलो खाडललाई जोड्ने पुलहरू हुनसक्ने रहेछन्, जीवनसँग जोडिएका प्रश्नहरू। 
 
कला, साहित्य, विज्ञान सबै कुरामा उत्तिकै रुचि राख्ने, कलिलै उमेरमा अत्यन्त गहिरो विचार गर्न सक्ने तिमी जस्तै मेधावी एक युवकसँग मेरो चिनजान भएको थियो। थोरै कुरा गर्दा पनि ती युवकभित्र बलिरहेको आगो, उनको मनमा उठिरहेको आँधीबेहरी र विचारको बाढीलाई स्पष्ट देखिरहेको थिएँ म। 'लोकतन्त्रको यात्रा मानिसको सम्यकतातर्फको यात्रा हो, त्यसैले यो अविरल यात्रा हो' भनेर मैले भन्ने गरेकोमा दिक्क मान्दै उनले चिठी लेखेका थिए। उनको अधैर्यलाई बुझन र अनुभूत गर्न सक्छु म। किनकि त्यो वय र त्यो अवस्थाबाट म पनि गुज्रेको छु।  
 
त्यतिखेर मलाई पनि गाह्रो हुन्थ्यो स्वीकार्न, जब प्रजातन्त्र र सामाजिक न्यायका निम्ति लडिरहेका अगुवाहरू दीर्घकालीन संघर्षको कुरा गर्थे। दिक्क लाग्थ्यो, कहिलेकाहीं झोंक चल्थ्यो। परिवर्तनको आशा देखाउने, अनि त्यसलाई कता हो कता टाढा लिएर जाने 'माछा माछा भ्यागुतो' जस्तो खेल पो गर्दैछन् यी अगुवाहरू जस्तो लाग्थ्यो। अहिले यो उमेरमा आएर बल्ल बुझदैछु― हतारो पनि कुनै बेला आलस्यकै रूप हुँदोरहेछ।  
 
(तर यति भनिसकेपछि, फेरि के भन्छु भने― मेरा ती युवा मित्र र मेरो चासो एउटै हो।)
 
तिमीहरूको जस्तो उमेरमा म हुँदा यो देशमा 'निर्दलीय पञ्चायत व्यवस्था' को नाममा राजाको तानाशाही चल्थ्यो। त्यो व्यवस्थाको अन्त्यका लागि अनेक आन्दोलन भइरहेका थिए― कहिले भूमिगत, कहिले खुला। परिवर्तनको निम्ति लागिपरेका आफू भन्दा जेठाबाठा दाइ–दिदीहरूको कुरा मन्त्रमुग्ध भएर सुन्थ्यौं हामी। भविष्य अहिले भन्दा सुन्दर हुनेछ र त्यसको निम्ति म पनि लागेको छु भन्ने आभासले अचम्मको सन्तोष र गर्व लाग्थ्यो। तर त्यसका निम्ति लामो संघर्षको आवश्यकताको कुरा जब हुन्थ्यो, चित्त बुझथेन। आफ्नै उमेर जम्मा १६–१७ वर्षको मात्रै थियो, क्रान्ति सम्पन्न हुन विभिन्न देशमा दशकौं लागेको कुरा सुन्दा 'ओहो! त्यो समय त कहिले आउने हो कहिले' भने जस्तो लाग्थ्यो। तर यथार्थ आखिर त्यही रहेछ। त्यो 'पञ्चायती व्यवस्था' को भारी फ्याँक्न नै कति लामो समय लाग्यो! त्यसपछि राजतन्त्रकै भारी गह्रौं लाग्न थाल्योर बोक्नै नसकिने भइसकेको त्यो भारी पनि एकदिन फ्याँकियो। खै त, अझै सकिएन यात्रा! 
 
'पञ्चायतकाल' देखि अहिलेसम्म आइपुग्दा समाज उस्तै पक्कै छैन, अकल्पनीय परिवर्तन भएका छन्। तर आजका हाम्रा नयाँ चुनौती र आकांक्षाका छेउमा ती परिवर्तनहरू एकदम अपर्याप्त लाग्छन्। 'यति परिवर्तन भइहाल्यो नि, अब आराम गरौं' भनेर मानिसले कहाँ सुख पाउँछ र? अनि यात्राले निरन्तरता पाउनु परेन? अबको यात्राको गति अझ् उच्च हुनेछ, झ्न् झ्न् उच्च हुँदै जानेछ।  
 
के कुरा बिर्सन भएन भने जीवनमुखी वा सकारात्मक परिवर्तनका हरेक प्रयत्नसँगै केही न केही उपलब्धि भइरहेकै हुन्छन्। दुःख छ, अन्धकार छ, तर त्यो सँगसँगै त्यसबाट पार पाउने उपायहरू पनि छन्। कर्मयोगीहरू रमाउने ठाउँ पनि छ। तिम्रो मनमा यतिबेला परिवर्तनको जुन तीव्र चाहना छ, त्यो आफैं यो देशका निम्ति उज्यालोको सम्भावना हो। अहिले देखिएको तात्कालिक वा क्षणिक अन्योल, दुरवस्था, गरीबीका तुलनामा तिमीभित्रको परिवर्तनको आकांक्षाको महत्व र त्यसमा लुकेको शक्ति कैयौं गुणा ज्यादा छ।  
 
मेरो किशोरावस्था र तिम्रो किशोरावस्थाका बीचमा, मेरो युवावस्था र तिम्रो युवावस्थाका बीचमा धेरै समय बितिसकेको छ। घडीको सुईको गति ऊ बेला जस्तो थियो अहिले पनि त्यस्तै हो, तर परिवर्तनको गति धेरै तीव्र छ। कुनै जमाना थियो जतिबेला मानिसले एकचोटि बुझेको कुरा, बुझेको 'एउटा सत्य' निकै दशकसम्म काम लाग्थ्यो, अहिले त्यस्तो छैन। यतिबेला पनि, तिमीलाई चिठी लेखिरहेकै यो क्षणमा पनि, संसारभरि लाखौं अनुसन्धानका परिणामहरू प्रकाशित भइरहेका होलान् जसले मानिसको ज्ञानलाई अझ् अगाडि धकेलिरहेका छन्। आज हामीले 'यूरेका' भन्दै रमाएर थाहा पाएको कुरा केही महीनामै पुरानो भइसक्छ। इतिहासको गति झ्न् झ्न् बढिरहेको छ। संसारभरि मानिसका जीवनशैली, प्राथमिकता, चुनौती, खतरा अभूतपूर्व रूपमा र अभूतपूर्व गतिमा बढिरहेका छन्।  
 
यस्तो बेलामा तिम्रो पुस्ताको निम्ति परिवर्तनको आकांक्षा अझ् तीव्र हुनु, मन अझै अधैर्य हुनु, स्वाभाविक हो। यति नभई कसरी परिवर्तन हुन्छ र! तर हेरी राख, तिमीपछिका पुस्ताहरूमा पनि परिवर्तनको बढ्दो आकांक्षा कायमै रहनेछ। तिनीहरूभित्र पनि आगो अझ् प्रज्ज्वलित, आँधी अझ् वेगवान, बाढी अझ् तीव्र र विशाल अनि यथास्थितिप्रतिको असन्तुष्टि अझ् चर्को हुनेछ। त्यो असन्तुष्टिबाट निस्केको ऊर्जा पनि त्यत्तिकै शक्तिशाली हुनेछ।  
 
असन्तुष्टिजन्य ऊर्जाले सही निकास पाउँदा ठूल्ठूला सकारात्मक परिवर्तन हुन्छन्। बेला बेलामा त्यसले आफैं निकास खोज्छ र त्यो हिंसात्मक 'क्रान्ति' का रूपमा विष्फोट हुन्छ। तर यस्तो विष्फोटले धेरै समस्याहरू ल्याउँदो रहेछ। 'क्रान्ति' लाई एकचोटि 'सम्पन्न' गरेपछि सब ठीक हुने भए त जस्तोसुकै मूल्य चुकाउन तयार भए पनि हुन्थ्यो। तर मानिसभित्र यथास्थितिप्रतिको असन्तुष्टि र परिवर्तनको चाहना शाश्वत हुन्छ,जहिले पनि जुन कालखण्डमा पनि भइरहन्छ। अनि कति मूल्य कहिलेसम्म चुकाइरहने? उज्यालोतर्फको अनवरत यात्राको कुरा गर्दा अनावश्यक बलिदानलाई कम गर्नैपर्ने हुन्छ। 
 
परिवर्तनको चाहना र हतारो युवाहरूको निम्ति अत्यन्त स्वाभाविक कुरा हो। तर त्यो हतारोको उचित व्यवस्थापन र उचित उपयोग नहुँदा, त्यसले सृजना गरेको ऊर्जाको उचित निकास नहुँदा, त्यसले ल्याउने एउटा खतरनाक समस्या हो― परिवर्तनका लागि भनेर जुनसुकै मूल्य, जुनसुकै उपाय अपनाउन तयार हुनु। जब कुनै उद्देश्य प्राप्त गर्न खराब उपाय अवलम्बन गर्नुपर्ने हुन्छ, त्यो उद्देश्यकै औचित्य समाप्त हुन्छ वा त्यसको भयानक अवमूल्यन हुन्छ। हिंसात्मक आन्दोलनहरूमा यस्तो हुँदै आएको छ।  
 
छोरी! तिमी र तिम्रो पुस्तामा रहेको परिवर्तनको चाहना, यथास्थितिप्रतिको असन्तुष्टिले जन्माएको त्यो महान ऊर्जा, फेरि पनि विध्वंसक विष्फोटमा हैन, सत्य र सम्यकताको दिशामा जाग्रत, सचेत, जीवनोन्मुख यात्रामा जारी रहोस् भन्ने चाहना हो मेरो। नयाँवर्षले यो यात्राका निम्ति दिशाबोध गराइरहोस्। मेरो हार्दिक शुभकामना!
 
बुबा 
 
पुनश्चः तिमीले यो पत्र पढिसक्दा, “यो त ठीक छ, तर दुष्ट, दुष्टता वा 'दुष्टात्मा' प्रति कस्तो व्यवहार गर्ने, त्योसँगको संघर्ष कस्तो हुने?” भन्ने प्रश्न मनमा आउला। म पनि त्यही प्रश्नसँग जुझ्िरहेको छु। मिलेछ भने, त्यसबारे पनि कुरा गरौं न, हुन्न ?

 

comments powered by Disqus

रमझम