प्रत्येक पाइलो प्रतिरोधी

Share:
  
- मिलन बगाले
१२ वैशाखको भूकम्प र त्यसका 'आफ्टरशक्' हरूले हाम्रो भवन निर्माण संस्कृतिका कपटी पाटाहरूलाई छताछुल्ल बनाइदिएको छ।

मिलन बगाले
नेपालमा भवन निर्माण सम्बन्धी मापदण्डलाई ठट्टा बनाइएको यो वर्षको शुरूमै थाहा भयो। भव्य देखाइएको ढलानका घरहरू केही सेकेन्डमै धूलोपीठो भएका दृश्यहरूले निर्माणअघि माटो जाँच, भूकम्पन थेग्ने डिजाइन र इन्जिनियरिङ सुपरभिजन नगरेको छर्लङ्ग पारिदिएका छन्। हाम्रो मापदण्ड रहेछ– 'मेरो जग्गा, मेरो मर्जी। जस्तो मन लाग्छ त्यस्तै र त्यत्रै बनाउँछु।'

नियमनकारी निकाय चूप बस्दा या बिकाउ बन्दा हाम्रो सिंगो निर्माण संस्कृति आत्मघाती बाटोमा लम्किएको रहेछ। १२ वैशाखपछि भने माहोल फेरिएको छ। घरको भित्तामा देखिएको सानो चिरो जँचाउन इन्जिनियर गुहार्न थालिएको छ। जनधनको ठूलो क्षति पछि नै सही, यस्तो प्रयासको प्रशंसा गर्नै पर्छ। सरकारी निकायहरूले भवन निर्माण मापदण्डलाई कडाइका साथ लागू गर्ने बेला यही हो। नबिर्सौं– आफ्नो घर मात्र बलियो बनाएर मान्छे सुरक्षित हुँदोरहेनछ, गाउँ–शहरका सबै संरचना बलियो हुनुपर्ने रहेछ।

१९९० सालमा धेरै घर भत्किए। पहिलो दिनको धक्काबाट जो बाँच्यो, ऊ खुला ठाउँमा निस्किएर सुरक्षित भयो, तर अहिले त्यस्तो छैन। हरेक 'आफ्टरशक्' मा हामी साँघुरा चोक–गल्ली र धक्कामाथि धक्का खाएका संरचनाभित्र आत्तिंदै दिन बिताउन बाध्य भयौं। ढल्न ठिक्क परेका घर–पर्खाल छेउबाट हिंड्नु परिरहेको छ। बरु गाउँमा कामकाज र बासस्थान घर बाहिर भएपछि ज्यानलाई अलि ढुक्क छ।
यता शहरका अफिस, कलकारखाना, विद्यालय, किनमेल केन्द्र, सम्पदास्थल, आराधनास्थल सबैतिर असुरक्षा कायम छ। आकाश छुन निस्केका जस्ता लाग्ने बडेबडे भवन छिमेकीको घरतिर कोल्टिएको दृश्य टोलटोलमा देखिएको छ। कतै छिमेकीको कमजोर घरले किचेर अर्को सद्दे घर कामै नलाग्ने बनेको छ। चर्किएका बहुतले अपार्टमेन्ट वरपरका बासिन्दा रातदिन आतंकित भएर बसेका छन्। निर्माण संस्कृति फेरिएन भने यस्तो दिन सकिने छैन, बरु आई नै रहनेछ।

काठमाडौं उपत्यकाभित्र गरिने निर्माण सम्बन्धी मापदण्ड―२०६० ले भवन बनाउँदा सडकतिर न्यूनतम १ मिटर 'सेटब्याक' छाड्नुपर्ने व्यवस्था गरेको छ, तर, कम्पाउण्ड पर्खाललाई नै घरको भित्तो बनाएको धेरै ठाउँमा देखिन्छ। जस्तो, काठमाडौंको रानीवनस्थित नर्सरी चोकको एउटा विद्यालयले कम्पाउण्ड पर्खालमा कक्षा कोठाहरू जोडेको रहेछ। (हे.तस्वीर) विद्यालयले सडकसँग जोडिएको अन्दाजी १० फीट अग्लो पर्खालको आधा भाग भत्काएर बटुवाहरूलाई सजिलो पार्दा त्यो कमजोरी पनि देखियो। कम्पाउण्ड पर्खालमै टाँसिएको यो घर लडेको भए सडकमा मानवीय क्षति हुनसक्थ्यो। यस्तो बद्मासी जताततै देखिन्छ। आफ्नो टोलमा यस्ता संरचना छन् भने स्थानीय निकायलाई भनेर भत्काउन पहल गरौं। धेरैले आरसीसी घरको उमेर ३५ देखि ५० वर्ष मानेका छन्। बीमा सम्बन्धी संस्थाहरूले चाहिं ४० वर्ष मानेको पाइन्छ। उमेर तोक्ने जिम्मा स्ट्रक्चरल इन्जिनियरको टीमलाई दिन सकिन्छ। अब नक्शापासमै यति साल, महीना, गते यो घरको उमेर सकिन्छ, अनि यति महीनाभित्र भत्काउनेछु भनेर कबूल गर्नु/गराउनुपर्छ।

भत्किने उमेर पहिल्यै तोकिएपछि नधानिने गरिको अग्लो/ठूलो घर बनाउने आत्मघाती तुजुक हट्नेछ। अब बलियो अनुगमन गरेर उमेर निखि्रएका घरहरू भत्काउने अधिकारसम्पन्न स्थायी निकायको व्यवस्था पनि हुनुपर्छ। यति हुन सक्यो भने अहिले बनेका संरचना भोलि काल बन्ने छैनन्। भुईंचालोको थर्कन थेग्न सक्षम संरचना निर्माण गरेर प्रत्येक पाइलो सुरक्षित बनाउन हातेमालो गर्नेको जय होस्।

comments powered by Disqus

रमझम