“बुबाआमा र बहिनीलाई धेरै सपना देखाएर चार वर्षअघि विदेशिएको थिएँ। बुबा घरको प्रमुख भए पनि हामी दाजुबहिनीका लागि आमा नै सर्वस्व हुनुहुन्थ्यो। आमाको हँसिलो अनुहारभित्रको पीडा र परिश्रमले हामी उहाँका छोराछोरी हौं भनेर गर्व गर्न सक्ने भयौं। एक महीनामा आएर नयाँ घर बनाउने अनि बहिनीको विवाह गरिदिने भनेको भोलिपल्टै आएको फोनले अँध्यारो पारिदियो। १२ वैश्ााखको महाभूकम्पले आमालाई खाएछ। आमाले जहिल्यै बहिनीको कुरा गर्नुहुन्थ्यो, सधैंको लागि मेरो जिम्मा लगाएर जानुभएछ। अब बहिनीलाई कुनै तरीकाबाट इटली लैजान पाए म नेपाल फर्कन्न।”
यो भनाइ ललितपुर, हरिसिद्धिका सरोज महर्जनको हो। उमेरले सात दशक पार गरेका फुजेल–१ गोरखाका भीमबहादुर श्रेष्ठ महाभूकम्पकै कारण देश छाड्न खोज्दैछन्। दुइटा घर भत्किएको र राहतको खानाले छाक टार्ने समस्या नटर्ने भएर माइलो छोरासँग अमेरिका जान लागेको उनले बताए। सेम्जुङ–४ धादिङका लोन्द्रो कामीको विवशता भने अलि फरक छ। आर्थिक अवस्था सुधार्न विदेशिएका बेला दुई छोरी छाडेर श्रीमतीले अर्कै घरजम गरेपछि शान्ता सुनारसित विवाह गरेर उनी फेरि विदेश लागे।
यस पटक लोन्द्रोलाई महाभूकम्पले घर फर्कायो। घर भन्नु मात्रै, भग्नावशेष मात्र थियो। लैनो भैंसी, १० वटा बाख्रा, १० वटा कुखुरा र सबै अन्नपात पुरिएको थियो। अब त चाहेर पनि स्वदेश बस्न नसकिने लोन्द्रोले बताए।
महाभूकम्पपछि विदेशमा रहेका लाखौं नेपालीलाई आफन्तजन र गाउँघरको अवस्थाले तान्यो। तर, यही कारण विदेशिने तयारीमा रहेका नेपाली पनि रहेछन् भन्ने उदाहरण हुन्; सरोज, भीमबहादुर र लोन्द्रो।
गाउँको अवस्था
भूकम्पपछिको नेपाल विदेशिएका युवा शक्तिको प्रतीक्षामा छ। नेपालमा भूकम्पपछि युएई, कतार लगायतका खाडी मुलुकहरूले नेपाली कामदारलाई विदा दिएकाले थुप्रै युवा गाउँ फर्कन पाए। मलेशिया लगायतका देशले भने यस्तो विपत्मा पनि विदा दिएनन्। यद्यपि, तड्पिएका नेपाली खाई–नखाई पैसा पठाएर गाउँघरको पीडामा मल्हम लगाउन पछि परेनन्। अमेरिका बस्ने बसन्ती न्यौपाने हुन् या इजरायलकी भगवती बस्नेत र कल्पना पौडेल; थुप्रैले मासिक तलब पठाए, भूकम्पपीडितहरूका लागि। लन्डनमा साकेला नाच देखाएर, डेनमार्कमा नेपाली खाना बेचेर, कतार र दुबईमा कन्सर्ट गरेर पैसा पठाए।
विदेशमा रहेका नेपालीले अनेक गरेर करोडौं रकम पठाए पनि गाउँघरले भने सन्तानकै उपस्थिति खोजेको छ। विपत्तिमा मलामी भएनन्। मरेका बस्तुभाउ निकाल्ने पाखुरी नहुँदा पीडित सिनोको गन्धमा बस्न बाध्य छन्। बर्खा लागिसक्दा खण्डहरबाट काठपात थुतेर अस्थायी ओत बनाउने छोराछोरी विदेशमा छन्। बूढा हात–पाखुरीमा घरको भग्नावशेष खोस्रेर अन्न निकाल्ने ताकत छैन। यस्तोमा धमिलिएका आँखाहरू विदेशिएका छोराछोरी फर्कने बाटातिर हेरिरहेका छन्।