स्वदेश फर्क

Share:
  
- रघु पन्त
स्वदेश फर्किएका युवालाई पुनः विदेशिनबाट रोक्न सरकारले तत्काल विशेष योजना ल्याउनुपर्छ।

डम्बरकृष्ण श्रेष्ठ
मलेशियाबाट नेपाल एअरलाइन्सको उडानमा स्वदेश फर्कंदै गरेका नेपाली।
नेपाली श्रमबजारको कामदार अभाव यतिबेला झ्नै थपिएको छ। निर्माण क्षेत्रमा दक्षसँगै अदक्ष कामदारको माग समेत बढेको छ। यस्तो अवस्थामा महीनाको रु.१५–२० हजार कमाउन विदेशमा कठोर श्रम गर्ने युवा अब स्वदेश फर्कनुपर्छ। विदेशमा गरेजत्तिकै श्रम गर्ने हो भने महीनाको रु.२५–३० हजार कमाउने अवसर स्वदेशमै प्रशस्त छ।

शहरमा रोजगारी खोजिरहेका शिक्षित र अर्धशिक्षित युवा पनि गाउँ फर्किनुपर्छ। उनीहरूलाई कृषिकर्ममा लगाउन सरकारले विभिन्न सुविधा सार्वजनिक गर्नुपर्छ। शहरका भौतिक सुविधा गाउँमै उपलब्ध गराउनुपर्छ। गाउँमा स्थानीय कच्चा पदार्थ, कृषि उब्जनी र वनमा आधारित उद्योग खोल्न युवालाई प्रेरित र प्रोत्साहित गर्नुपर्छ। वनमा आधारित उद्योग र कृषि उब्जनीमा आधारित घरेलु र आधुनिक उद्योगको व्यापक सम्भावना ग्रामीण क्षेत्रमा छ तर यसतर्फ न सरकारको ध्यान जान सकेको छ न उद्यमीको। नयाँ शहरको निर्माण बढाउन र पुराना शहरमा जनसंख्याको चाप घटाउन यस्ता उद्योगले मह140वपूर्ण भूमिका खेल्न सक्छन्।

युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने नीति बनाउन जति जरूरी छ, त्यसलाई सफलतापूर्वक कार्यान्वयनमा उतार्नु उत्तिकै आवश्यक। विदेशमा काम गरिरहेका थुप्रै युवा भूकम्पपछि स्वदेश फर्किरहेका छन्। यसरी स्वदेश फर्केका युवा पुनः विदेश नजाउन्, उनीहरूको श्रम र सीपको उपयोग नेपाली भूमिमै होस् भन्ने चाहने हो भने उपयुक्त नीति र योजना ल्याउन ढिलो गर्नु हुन्न। युवाहरूले पनि स्वदेशमै सम्भावना र गाउँठाउँको उपयोगिता खोज्नुपर्छ।

स्वदेशमै श्रम गरेर कमाइने मासिक रु.२५ हजार र विदेशमा कमाइने उत्तिकै रकमबीच तुलना हुनै सक्दैन। परिवारमै बसेर कमाएको पैसाको मूल्य ५०औं हजारभन्दा बढी फलदायी हुन्छ।

शारीरिक श्रमप्रतिको हेयदृष्टिकै कारण हाम्रो समाजमा श्रमिकले सम्मान पाउन नसकेका हुन्। श्रमको सम्मान र मूल्यांकन गर्ने परिपाटी बसाल्ने बेला अब आएको छ। देशको नवनिर्माणमा नीतिनिर्माता र कार्यान्वयनकर्ता मात्र हैन, मैदानमा पसिना बगाउने श्रमवीर समेतको ठूलो खाँचो छ। यसका लागि सरकारले तत्काल वातावरण बनाइहाल्नुपर्छ।

बेघरका बेथा

भूकम्पपछि डेरा पाउन गाह्रो पर्न थालेको छ। पाइहाले पनि भाडा चर्कोसँग बढेको छ। संकटको घडीमा घरधनी पनि मानवीय बन्न जरूरी छ। 'जसरी पनि तिर्छन् र बस्छन्' भन्ने सोचाइका घरधनीलाई सरकारले कारबाही गर्नुपर्छ। घरभाडामा एकरूपता कायम गर्दै ठाउँ अनुसार दर तोक्न सके झ्नै राम्रो हुनेछ।

भूकम्पले उपत्यकाका निम्न र मध्यमवर्गीयलाई विलखबन्दमा पारिदिएको छ। पुरानो घरमा बसेका र भुईंतलामा व्यवसाय गर्दै आएकाहरू घर भत्केपछि बासस्थानका साथै पेशाबाटै विमुख हुन पुगेका छन्। कतिपय घर बनाउन त परै जाओस्, भग्नावशेष समेत हटाउन नसक्ने स्थितिमा पुगेका छन्। बेघर उनीहरू तनावमा बाँचिरहेका छन्। गाउँ छोडेका विस्थापितको समस्या झ्नै विकराल छ। भूकम्पको विशाल भौतिक क्षति त आँखाअघि छर्लङ्गै छ, यसले अनेकौं मानवीय, सामाजिक र आर्थिक संकट पनि निम्त्याएको छ। यस्ता थुप्रै कष्ट राजधानीले नै हटाउनु छ।

यस्तो अवस्थाको मौका छोपेर अवाञ्छित तत्वहरू उपत्यकाका खाली ठाउँ र नदी किनारका जमीन कब्जा गर्नेतिर लाग्न सक्छन्। यसप्रति प्रशासन, स्थानीय निकाय मात्र होइन, स्थानीयवासी समेत चनाखो हुनुपर्दछ। टोलका सार्वजनिक भवन, खुला ठाउँ जोगाउनेतर्फ ध्यान दिनुपर्छ।

प्रकृति सिर्जित अनेकौं संकटको सामना मानव जातिले परापूर्वकालदेखि नै गर्दै आएको र गरी नै रहनेछ। त्यसैले प्रत्येक बस्ती र टोलवासीले एकअर्काको दुःख कसरी कम गर्न र साथ दिन सकिन्छ भनी सोच्नुपर्दछ। टोलका खुद्रापसले, चियापसले र अन्य रोजगारी गर्नेलाई टोलभित्रै उपयुक्त स्थान दिएर पेशामा फर्कन सक्ने वातावरण बनाउनुपर्छ। स्थानीयको सहयोग, एकता र क्रियाशीलता भए धेरै समस्याको समाधानमा सरकारको मुख ताक्नै पर्दैन।

टुँडिखेल खाली गर

टुँडिखेल राजधानीको यस्तो अमूल्य ठाउँ हो, जहाँको हरियो चौर हेर्दा आँखा शीतल हुन्थ्यो। पहिले त्यसको खुला भूभागलाई आर्मी क्लब बनाएर खुम्च्याउने काम सेनाले गर्‍यो। अहिले टुँडिखेल भूकम्पपीडितका पालले भरिएको छ, त्यसको एकछेउमा भग्नावशेष थुपार्न थालिएको छ। पालको भीडले हरियो चौर छोपेको छ, प्रदूषण बढाएको छ। विपत् पर्दा तत्काल टुँडिखेल विकल्प बन्यो तर त्यो स्थायी हुनै सक्दैन। सरकारले तत्काल टुँडिखेलका भूकम्पपीडितको व्यवस्थापन गर्नुपर्छ र उनीहरूलाई सामान्य दैनिक गतिविधिमा फर्काउनुपर्छ। टुँडिखेलको बास अस्थायी हो भन्ने तथ्य बताउनै पर्छ।

अव्यवस्थित निर्माण र शहरीकरणले कुरुप उपत्यकालाई भूकम्पले झ्न् कुरुप बनाएको छ। हेर्दा राम्रा ईंटा र माटोले बनेका अधिकांश पुराना घर ध्वस्त भएका छन्। तिनलाई अब ईंटा र सिमेन्टले विस्थापन गर्ने पक्का जस्तै छ। सिमेन्टका अग्ला घरहरूबीच च्यापिएका पुराना घरका ठाउँमा अग्ला घरहरू बन्ने सम्भावना छ। छिमेकीको घरले थिचिने डरले पनि अग्ला घर बन्नेछन्। भूकम्पले अव्यवस्थित शहरीकरणलाई थोरै भए पनि व्यवस्थित बनाउने मौका दिएको छ। यो मौकाको सदुपयोग गर्न सक्नुपर्छ।

विपत्तिले संकट, त्रास र विनाश एकसाथ ल्याएका हुन्छन् तर मान्छेको चेतना, योग्यता र क्षमताले त्यसलाई नयाँ अवसरको रूपमा बदलेका उदाहरण थुप्रै छन्। यतिबेला हाम्रासामु यस्तै संकट छ, तर सँगै सम्भावना र अवसर पनि। समयलाई ठीक ढंगले सम्बोधन गर्न सक्छौं, सक्दैनौं? हामीमै निर्भर छ।

comments powered by Disqus

रमझम