२४-३० जेठ २०७२ | 7-13 June 2015

जहाँ खेती, त्यहाँ बस्ती

Share:
  
- सुवास देवकोटा
एकीकृत बस्ती निर्माणको चुरो कुरो भनेको जमीनलाई कसरी अधिकतम सदुपयोग गर्ने भन्ने हो।

अनलाइन तस्वीर
भूकम्पपीडित पुनर्स्थापनामा बस्ती एकीकृत गर्नुपर्ने धारणा सुन्न थालिएको छ। एकै ठाउँ बस्ती पुनर्स्थापना गर्दा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बिजुली जस्ता आधारभूत सेवा पुर्‍याउन सहज हुने मात्र नभई सम्भावित प्राकृतिक विपत्तिबाट समेत सुरक्षित हुने तर्क गरिएको छ।

हिजोका दिनमा पहाड र हिमालका बस्ती योजनाबद्ध रूपमा बसाइएका होइनन्। गुजाराका लागि व्यक्ति आफैंले भूगोल निर्धारण गरे। त्यसैले, कुनै बस्ती घना छन् त कुनै पातला। बस्ती पातलो भएका ठाउँमा जीविकाका आधारभूत सुविधा पुर्‍याउन सरकारले धेरै लगानी गर्नुपर्छ। यसअघि पनि बेलाबेला एकीकृत बस्तीको आवश्यकताबारे चर्चा नचलेको होइन। तर, १२ वैशाखको महाभूकम्पले यसलाई सबैभन्दा सान्दर्भिक बनाइदिएको छ।

कहाँ सार्ने?

कहाँ बसाउने एकीकृत बस्ती? पुरानै थातथलो नजिकै वा तराईतिर? एकथरी विपत्तिका कारण पहाड र हिमाल जहिल्यै असुरक्षित रहेकाले तराईमा सार्नु सबैभन्दा उपयुक्त हुने तर्क गर्छन्। तर, यो तर्कमा खासै दम देखिंदैन। किनभने तराईले भोग्ने विपत्ति पनि कम छैन। भूकम्पकै कुरामा पनि तिब्बती र भारतीय प्लेटको घर्षण हुने 'फल्टलाइन' चुरे छेउछाउमै छ। आँधी, हुरी, बाढी तराईका स्थायी मित्र जस्तै देखिन्छन्। फेरि सबै बस्ती तराईमा सार्दा हिमाल र पहाड मानवविहीन हुने तथा त्यहाँको युगौंदेखिको मिहिनेत खेर जानेछ। पहाडी र हिमाली क्षेत्रमै आधारित नेपाली पर्यटन उद्योग पनि समाप्त हुनेछ।

हुन त प्राकृतिक, राजनीतिक, विकास, सामाजिक जस्ता कारण देखाई हिमाल र पहाडवासीलाई तराईमा योजनाबद्ध बसाइँ सारिएका उदाहरण नभएका होइनन्। तर, अहिले तराईमै पनि जनघनत्व बढेर जमीन अपुग छ। तर जोखिमका बस्ती नजिकै सार्ने सम्भावना नहुने अवस्थामा भने तराईको विकल्प खुला नै राख्नुपर्छ।

खै त योजना?

आर्थिक स्रोतसँग नजोडिएका बस्ती दिगो हुन सक्दैनन्। फरक हावापानीका कारण जीवन असहज बन्ने त छँदैछ, जंगल मासेर वा जमीन किनेर तराई सारिने बस्तीका लागि तत्काल रोजगारी वा खेतीयोग्य जमीन दिनसक्ने अवस्थामा सरकार पनि छैन। त्यस्तो अवस्थामा उनीहरू सुकुम्बासी बन्नेछन्।

एकीकृत बस्ती तराई सार्ने कुरा गर्दा हिमाल र पहाडका सम्भावना बिर्सनुहुँदैन। बरु, त्यसलाई उपयोग गरी समृद्धिको योजना बुनिनुपर्छ। कहाँ, कस्तो बाली लगाउने भन्ने कुरा प्रमुख हुनुपर्छ। बस्ती र खेतबारीको एक–दुई घण्टाको दूरी केही होइन। हो, उत्पादनको परिमाणमा पहाड र तराई एकै हुन सक्दैन। तर, तराईमा नफल्ने अन्न, तरकारी र फलफूल हिमाल र पहाडमा फल्छ।

अन्न, दाल, तेलहन, तरकारी, फलफूल एउटै परिवारले उत्पादन गर्ने परम्परामा अडिरहनु अब आवश्यक छैन। तरकारी, फलफूल र जडीबुटी उत्पादनमा मात्र ध्यान दिने हो भने हिमाल र पहाड समृद्ध बन्न समय लाग्दैन। नगदेबाली पहाडमा र बाँकी उत्पादन तराईमा गर्दा कृषि उत्पादनका धेरै समस्या हट्नेछन्।
पशुपालनमा हिमाली क्षेत्रका बासिन्दासँग कसैसँग नभएको अनुभव छ। पशुपालन नगद भित्र्याउने प्रमुख स्रोत हो। भूटान, भारत र पाकिस्तानमा जस्तै नेपालका हिमाली क्षेत्रले पनि अर्थतन्त्रमा गतिलो योगदान पुर्‍याउन सक्छ। त्यसमाथि, संसारका अग्ला चुचुराहरू नेपालमै हुनुको फाइदा त छँदैछ।

एकीकृत बस्ती स्थापनाको अवधारणामै हिमाल र पहाडको जमीनको उपयोग योजना बनाइनुपर्छ। पहाडी र हिमाली क्षेत्रमा सडक बाटोले पहिरोको जोखिम बढाएको हो भने केबुलकार यातायातको वैकल्पिक साधन बन्न सक्छ।

भूकम्पपछिको पुनःनिर्माण अभियानमा एकीकृत बस्ती निर्माणले मुलुककै अर्थतन्त्रमा थप गति दिन सक्छ। समृद्धि सहितको समाज निर्माण गर्न सक्छ। तर, त्यसका लागि अहिल्यै विवेक पुर्‍याउनुपर्छ।

comments powered by Disqus

रमझम