२४-३० जेठ २०७२ | 7-13 June 2015

कलाकारको कमलो मन

Share:
  
- सजना बराल
दर्शक–श्रोतालाई मनोरञ्जन दिलाउँदै हिंड्ने कलाकार अहिले गाउँ–गाउँ पुगेर भूकम्पपीडितलाई मल्हम लगाइरहेका छन्।

मुलुक महाभूकम्पको चपेटामा परेको सुन्ना साथ अमेरिका भ्रमण छोट्याएर फर्केका हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले त्यहाँ कमाएको रु.१६ लाख ५० हजार पनि भूकम्पपीडितको सहयोगमा लगाउने निधो गरे। त्यो सहित अरू पनि सहयोग जुटाएको यो जोडीले काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, धादिङ र नुवाकोटका गाउँहरूमा राहत बाँडे भने सिन्धुपाल्चोकमा ५० वटा चर्पी बनाइदिए। “ढुंगा–माटो र बाँसका तीन–चार वर्ष टिक्ने चर्पी बनाइदिएका छौं”, कलाकार कट्टेलले भने।

गिटारिस्ट बबी लामा।

अभिनेत्री केकी अधिकारी।

गायक अशेष डंगोल।

नुवाकोट, ओखरपौवा–६ मा उनीहरू सहित 'भद्रगोल' टेलिश्रृखलाका १५ कलाकारले श्री महाकाली निमाविका लागि सातकोठे भवन बनाइदिएका छन्। उनीहरूले ११ जेठमा भवन उद्घाटन गर्दा २५० विद्यार्थीलाई किताब, कापी र कलम राखिएको झोला वितरण गरे। “हामीले हँसाउने गरेको जमात अहिले रोइरहेको छ”, कट्टेल भन्छन्, “तिनको पीडामा मल्हम लगाउने कर्तव्य सम्झेर हामी सक्रिय भएका हौं।”

दुई दशकअघि स्थापना भएको अशेष एण्ड निखम ब्याण्डले अल्बम बिक्रीको रकममा साथीभाइबाट पाएको सहयोग थपेर भक्तपुरको तौलाछीःका १५ परिवारको गाँस, बास र कपासको जिम्मा लिएको छ भने सिन्धुपाल्चोकबाट विस्थापित भई दुवाकोट आएका १० परिवारलाई पनि हेरेको ब्याण्डका गायक तथा गिटारिस्ट अशेष डंगोलले बताए। ललितपुरको बुङमती र सिन्धुपाल्चोकका केही गाउँमा ८०० जस्तापाता बाँडेको यो ब्याण्ड टहरा बनाउन भने चाहँदैन। “आफू सुहाउँदो टहरा या घर बनाउने काम सम्बन्धितलाई नै दिनुपर्छ”, डंगोलले भने।

भावुक योगी
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे।

कलाकार मनोज गजुरेल।

गायक निर्णय श्रेष्ठ।

यस्तै, र्‍याप गायक निर्णय श्रेष्ठ महाभूकम्प आएको दोस्रो साताबाट बुङमतीमा सक्रिय भए। उनी चार साथीसहित भत्किएका घरबाट ईंटा र काठपात निकाल्दै तिनलाई व्यवस्थित गर्न खटिएका छन्। 'नेपाल बने हामी बन्छौं' भन्ने नारा सहित स्वयंसेवामा जुटेको यो टोलीले भक्तपुरमा समेत गरी ४० वटा घरका भग्नावशेषबाट सामग्रीहरू निकाल्न सघाइसकेको छ। आफ्नो 'एजुकेशनल टुर' अन्तर्गत विभिन्न जिल्लाका विद्यालयमा कापी–कलम बाँडेका र्‍यापर श्रेष्ठ भन्छन्, “धेरैलाई विपत्तिले गाँजेको बेला आफू सकुशल छु भनेर बस्न मिलेन।”

अर्का हास्यकलाकार मनोज गजुरेल सिस्नोपानी नेपाल, गायत्री परिवार लगायत संस्थाका स्वयंसेवीहरूसँगै अति प्रभावित जिल्लामा पुगिरहेका छन्। अरूले राहत बाँडिरहेकोले आफूहरू भने पीडितहरूमा आत्मविश्वास र आत्मनिर्भरताको भावना जगाउने अभियानमा खटिएको उनले बताए। गजुरेल भूकम्पग्रस्त ठाउँहरूमा मान्छे भेला पारेर विपत्सम्बन्धी भ्रम हटाउने कार्यक्रम गर्छन् भने टोलीमा रहेका मनोचिकित्सक र काउन्सिलरहरूले मनोबल बढाउने तरीका सिकाउँछन्। यस्तै, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, केकी अधिकारी, गायक दीप श्रेष्ठ, सांगीतिक समूह नेपथ्य आदि पनि राहत र पुनर्वासको काममा जिल्ला–जिल्लामा सक्रिय छन्।

हेलिकोप्टर चार्टर

सांगीतिक समूह 'मंगोलियन हार्ट' का गिटारिस्ट बबी लामा सिन्धुपाल्चोककै हुन्। मेलम्चीबाट ५० किलोमिटर टाढाको उनको गाउँ भोताङलाई महाभूकम्पले सोत्तर बनायो। भोताङमा मृत्यु भएका ५१ जनामध्ये अधिकांश लामाका आफन्त थिए। आफ्नो गाउँ, आफन्त र इष्टमित्र सकिएको दुःख, बाँचेकाहरूलाई सहयोग गरेर बिर्सन खोजेको उनले बताए। गाउँमा भूकम्प जाने बित्तिकै उद्धारकर्ता जुटाउन थालेका लामाले विभिन्न टे्रकिङ एजेन्सी, देश–विदेशका साथीभाइ, आफ्ना कार्यक्रम आयोजक आदिको सहयोग र व्यक्तिगत लगानीमा त्रिपाल वितरणदेखि स्वास्थ्य शिविर संचालनसम्म गरे। अमेरिकाको 'नाना ग्रुप' र 'नर्सिङ एशोसिएसन अफ नेपाल' का गरी ६० जना नर्सको समूह लिएर उनी सिन्धुपाल्चोकका विकट गाउँबस्ती पुगे।

यस्तैमा उनले लार्के गाउँकी मंगली तामाङलाई घरको भग्नावशेषमा च्यापिएर मेरुदण्डमा गम्भीर समस्या भएको जानकारी पाए। बिरामीको उपचार न गाउँमा हुनसक्थ्यो, न स्ट्रेचर र गाडीमा अस्पताल ल्याउन मिल्ने! यसको लागि बबी लामाले थप सहयोग परिचालन गर्नु पर्‍यो। “अनि हेलिकोप्टर चार्टर गरेर २४ र २५ वैशाखमा लार्केकी श्रीमती मंगली तथा यार्सा र छुमती गाउँका तीन जनालाई काठमाडौं ल्यायौं”, लामाले भने।

comments powered by Disqus

रमझम